~लक्ष्मण श्रेष्ठ~
मध्यान्हको चर्को घाममा
निधारबाट टप्किरहेका
पसिनाका थोपाहरूलाई
उत्साही हत्केलाले पुछ्दै,
बिहानीको झण्डा बोकेर
नव युगको आह्वान गरिरहेको
त्यो तिम्रो खबर हो
त्यो तीम्रो आकृति हो
त्यो तिमी हौ।
थाहा छ मलाई
तिमी यसरी नै उर्लन्छौ
जसरी उर्लन्छ सुनामी सागर
विश्वास छ मलाई
तिमी त्यसरी नै कुर्लन्छौ
जसरी कुर्लन्छ वर्षाको मेघ
हरेक तिम्रा उर्लाइहरूमा
परिवर्तनको ज्वारभाटा हुन्छ
हरेक तिम्रा कुर्लाइहरूमा
विद्रोहको हुँकार हुन्छ
तिम्रा हरेक पाइलाहरूले
बन्धनका सीमा नाघिदिन्छन्
तिम्रा हरेक कदमहरूले
मुक्तिको ऐलान गर्छन्
छातीभरि देशको नक्सा बोकेर
आँखाभरि भोलिको सपना पोतेर
आजको दिन
नयाँ युगको गीत गाइरहेको
त्यो तिम्रै्र स्वर हो
१२ किमि के दूरी हो?
तिमी हजार माइल हिंड्न सक्छौ
एकदिन पनि के समय हो?
तिमी हजार वर्ष जुझिरहन सक्छौ
सङ्घर्षको नक्सा कोरिएको तिम्रो मुहारमा
म जहिल्यै
आशाको किरण भेट्छु
अन्योलको अँध्यारा पलमा पनि
म तिम्रो आँखामा
भोलिको चमक देख्छु
तिम्रो आँखा राखेर आफ्नैमा
म दुनियाँको उथलपुथल हेर्छु
धैर्यको सगरमाथा तिम्रो मन
आफैमा गाँसेर
म अर्को पाइला उचाल्छु
ओहो ! कति खुसी छु म आज
हर्षले पुलकित
मेरो आँखाको नानी हेर
त्यो तिमै्र चमक हो
मेरो बोलीमा कान थाप
त्यो तिमै्र आवाज हो
नियालेर हेर मेरा पाइलालाई
त्यो तिमै्र कदम हो
तिमी म हौ
म तिमी हुँ
र यो आकास चिसिरहेको
गगनभेदी आवाज मेरो हो
तिम्रो हो
हाम्रो हो।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)