कथा : त्यो एक रात !

~पदम काफ्ले ~padam-kafle

जुलुस बिस्तारै भूटानबासी नेपालीका निम्ति अभिशाप बन्दै आयो । भूटानमा जुलुस भएको करिब तीन हप्तापछि देखि गाउँका सोझासाझा जनतालाई जेल लान प्रारम्भ गरियो । आर्मीले घरघरबाट निरीह जनता पक्रन थाल्यो ।

“ अस्तिको जुलुसमा भाग लिएको हो …? तिमीहरू मानवअधिकारको कुरा गर्छ रे….तिम्रो मानवअधिकार जेलमा छ,… हिँड” आर्मीले यस्तै आरोप लगाउँदै र भन्दै जेल लैजान थालेका छन् । जुलुसमा भाग लिएको आरोपमा आर्मीले घोक््रयाउँदै टीकाराम बराललाई तीन दिनअघि मात्र जेल लगेको छ । जेलमा पिट्ने तथा नगरेका कुरामा पनि जबर्जस्ती हो भनी कबुल समेत गराउने गरेको खबर सुनिन्छ । राति राति आर्मी जनताको घरमा आएर अति दु:ख दिन थालेपछि गाउँघरमा बस्न गाह्रो भएको सबैले महसुस गर्न थालेका छौँ ……..।

साँझ सात बजेको छ । आज पनि आर्मीबाट बच्न राति घरमा नसुत्ने विचार छ । आज पनि हतारले घरमा बेलुकाको खाना खाइयो । बुबा र दाजुहरु आर्मीको कुटाइ र लुछाईबाट बच्न आज राति कता गई लुक्के भनी सल्लाह गर्दै छन् । राति घरमा सुत्दा ज्यान जोगाउन मुस्किल भएको छ आजभोलि । जङ्गल र भीरपाखातिर लुक्न नहिँडे आर्मीको लुछाइमा परिन्छ अचेल ।

रोड र बाटातिर आर्मीको आवतजावत कम भएका बेलामा घरमा आई खाना खाएर फेरि जङ्गल पस्ने चलन करिब एक महिनादेखि दैनिकी भएको छ हाम्रो परिवारको । यो मेरो घरको मात्र दैनिकी बनेको छैन अपितु प्राय लामीडाँडा र चिराङका अधिकांश गाउँका लोग्ने मानिसको रात्रिचर्या भएको छ जङ्गलतिर पस्ने र लुक्ने कार्य । गाउँमा अहिले विशेष गरी लोग्ने मानिस घरमा नबसी लुक्तैछिप्तै ज्यान जोगाउन बाध्य भएका छन् । यति नगरे राति घरमा आर्मी आएर कुट्ने, पिट्ने अनि बाँधेर लैजाने क्रम तीव्र रूपमा बढेको छ । जवान छोरा घरमा नभेट्दा सत्तरी नाघेका बाबुबाजेलाई नै आर्मीले कुट्तै “छोरो कहाँ लुकाईस्..?” भन्दै र घिसार्दै जेल लगिरहेका छन् । अझ यी निर्दयी र पापी आर्मीहरु राति घर रुँगेर बसेका छोरीचेलीको अस्मिता लुट्न पनि पछि परेका छैनन् ।

आखिर आर्मी भनाउँदाहरुलाई पनि त कुनै नारीले नै त जन्म दिएका हुन् नि भन्ने लाग्छ यिनको क्रियाकलाप देख्ता..। यिनका मनमा किन दया माया नभएको होला ? किन यिनीहरूले गाउँका सिधासाधा अवलाहरुको शरीर लुछ्तै हिँडेका होलान्…? आर्मीद्वारा गाउँका छोरीचेलीमाथि गरिएका बलत्कारका दर्दनाक घटना समेत सामान्य बन्न थालेको छ लामीडाँडामा आजभोलि……….।

तीनदिन अघिको कुरा हो । आर्मीहरु राति भोजराज दाजुका घरमा आएर लोग्ने मानिस जतिलाई खाँबामा बाँधेर छोरी र बुहारीलाई लुछेका थिए … । भोलिपल्ट बिहानै म पनि घटनास्थलमा पुग्दा बिचरा भोजराजनी भाउजू र छोरी मूर्छा परेकै अवस्थामा देखिन्थे । त्यसै दिन छिमेकी पण्डित यशोधरकी छोरीलाई आर्मीले जबर्जस्ती उठाएर लगेका पनि छन् । अहिलेसम्म अत्तोपत्तो छैन पण्डितकी छोरीको …। यो कुराको विरोध गर्ने कसैले आँट गरेन….। यदि कोही हिम्मती निस्किएर विरोध गरिहाल्यो भने पनि उसले सिधा जेल जानुपर्ने र जेलको पिटाईले मृत्युवरण गर्नु मात्र हो भन्ने सबैले ठहर गरेर नै होला हिम्मत कसैको जुटेको देखिँदैन थियो त्यहाँ । सबैका मनमा आर्मीको विरोध गर्नु भनेको फेरि पनि नौबागे गोलाईको हत्याकाण्ड मच्चिनु हो भन्ने पसेको छ मनमा …..। त्यसै भएर नै गाउँमा अत्याचार गर्ने मनोबल मिलिरहेको छ आर्मीहरुलाई….ती पिशाचीहरुलाई………….. ।

अरू दिन म पनि बेलुका भएपछि प्राय घरमा खाना खाएर आर्मीदेखि बच्न दाजु र कहिले बुबासँग परालको कुन्यु, खोल्सातिर, जङ्गल र पाखाका ओढारतिर जाने गर्थेँ तर आज मलाई साँझ पर्नु अगाडि नै आमाले “राति आर्मीको गाडी घरमास्तिर रोकिएको चाल पाउने बित्तिकै खोल्माको परालभित्र गएर लुक्नुपर्छ है भाइ…., तँ राति कतै नहिँड…। फेरि तँ पनि लुक्न अन्तै गइस् भने म र तेरा दुई भाउजू मात्र घरमा हुन्छौँ । डर पनि त लाग्छ नि हामी आइमाईलाई….। एक जना केटा मानिस घरमा भएको बेस हुन्छ” भन्नुभएको थियो । त्यसैले बुबा र दाजुहरु आर्मीबाट अदेख हुन रातेखोलाको ओडारतिर गएका छन् भने म चाहिँ घरमा नै आमा र भाउजुहरुको साथी बसेको छु आज । मलाई अति नै डर लागेर आउँछ घरमा बस्न….। दिनहुँ जस्तो गाउँबाट कसैनकसैलाई आर्मीले बाँधेर लछार्दै लगेका छन् र यस्तो दृश्य धेरै पटक प्रत्यक्ष देखेको पनि छु मैँले….। आज आफ्नो त्यै हालत नहोला भन्न सकिन्न । आर्मीको के विश्वास । मैँले त जुलुसमा भाग लिएको पनि छु । नभएको आरोप लगाई त लान्छन् भने मैँले त भाग लिएको छु जुलुसमा….। मनमा ढ्याङ्ग्रो बज्दै छ मेरो ।

गाउँमा आर्मीका अत्याचारले सीमा नाघिसकेको छ । दिनमा कम र विशेष गरी रातमा नेपालीभाषीहरुका घरमा आर्मीले छापा मार्ने काम सामान्य बन्दै आएको छ । गाउँबासीलाई आन्दोलनमा लागेको, पार्टीमा सम्लग्न भएको तथा पार्टीलाई चन्दा दिएको आदिइत्यादि आरोप लगाउँदै भटाभट पक्रँदै जेल लाने गरेका छन् । अस्तिको जुलुमा भाग लिएको आरोप लगाउँदै मानिसलाई घर बाटो जहाँ भेटे पनि सैनिकले पाता फर्काउँर्दै मरणासन्न हुने गरी पिटेका पनि छन् । गाउँमा आर्मीद्वारा गरिएको अत्याचारको प्रतिवाद जनताले गर्ने आँट गर्नु त परै जाओस् सिधा नजर गरेर आर्मीका अगाडि बोल्यो भने पनि विष बन्न पुग्दछ ।

बुबा र दाजुहरु लुकीछिपी रात बिताउन गएको करिब एक घण्टा हुनलागेको होला …। भर्खरै हाम्रो घरमाथिको गोलाईमा धुर्र..धुर …गर्दै आर्मीका गाडी आएर रोकिएका छन् । आमा, म र भाउजूहरु कोही निदाएका छैनौँ । गाडी आउनुपूर्व आआफ्नै बिछ्यौनाबाट सबै बोलिरहेका थियौँ । गाडीको आवाज सुन्ने बित्तिकै सबै चुपचाप भएका छौँ । म सिरानीबाट मुन्टो उठाएर मास्तिर रोडबाट आउने आवाजलाई निक्र्योल गर्न चाहँदैछु । बेलाबेला रोडमा मानिस बोलेको अस्पष्ट आवाज सुनिँदै पनि छ । एकाएक आर्मीले लगाएका बुटका आवाज टक..टक..टक सुनिन थाल्यो हाम्रो घरमास्तिरको नस्पातीका फेदमा ….। अनि आँगनमा धेरै मानिस हिँडेको र जुत्ताको आवाज सुनिँदै पनि छ….। सास थुनेर सुतेका छौँ हामी घरभित्र…। आमाले मलाई खोल्माको परालमा गई लुक्ने कुराको सजग गराउन पनि भुल्नुभएछ आर्मी आउनु अगाडि …..। अब त समय पनि छैन घरबाट निस्केर परालको कुनोतिर गई लुक्ने । दाइ र बुबा भागेर जोगिनुभएको छ भन्ने मनमा सोच्दै पनि छु । कि आज मेरो पालो …? .यिनले मलाई कुट्तै लगेर जेल हाले भने मेरो हालत के होला ? काँपिरहेको मनमा यस्तै कुरा बारम्बार सोच्दैछु म….।

घरमन्तिरको निबाराको रुख छेवैको बाटामा बुटका आवाज झन् उँधै उँध्रै गएको सुनियो र छिनभरमा नै कुनै आवाज सुन्न छाडियो । मेरो मन केही हल्का भएको जस्तो त भयो तर फर्केर आउँदा हाम्रा घरमा पस्न पनि त के बेर ती आर्मीहरु १ मन बुझउन गाह्रो भएरहेको छ अहिले….। दाजु र बुबा घरमा नभेट्दा आमा, भाउजू र मलाई नै लगे भने….? आज कसलाई चाहिँ लुस्छन् र जेल लान्छन् यिनले । आज आर्मीहरु गाउँमा कसको चाहिँ सिकार गर्न आएका हुन् भन्ने मेरो त्रसित मनले भनिरहेको छ………….।

बाहिरको वातावरण सुनसान भएको केही बेरपछि “भाइ निदाइस् …?” सानो स्वरमा पल्लो बिछ्यौनाबाट आमाले मलाई सोध्नुभयो । “छैन निदाएको”, केही रुन्चे स्वरमा जवाफ दिएँ मैँले । उता काइली भाउजूलाई पनि घरभित्र त्यति बोल्दा सादर भएछ क्यार एक पटक ख्याँस्स खोक्नुभयो । घरभित्र फेरि उही मौनता र अँध्यारो पनमा आआफ्ना सोचाइका साथ हामी मूढो जस्तै हल न चल भएर बिछ्यौनामा पल्टिहरेका पल्टिरह्यौँ ।

आज त झन् निद्रा लाग्ने कुरै भएन । आर्मीले मेरा घरमास्तिर गाडी रोकेर तल्तिर छिमेकीका घरमा कसैलाई नङ्ग्याउन र कसैलाई कुट्तै र लछार्दै लैजान आएका छन् । हाम्रा आँगनबाट आमी गएको एक घण्टाबाट पनि नाघेको छ……..।

निबारोको फेदमा फेरि आर्मीका बुटको आवाज सुनियो टक..टक..टक । कोही मानिस ठसठस कनेको जस्तो आवाज पनि सुनिदै छ । हुँ….हुँ …..हुँ र घुँक्कघुँक्क रोएको जस्तो आवाज पनि हाम्रा आँगनका ढिलमा सुनिन थाल्यो….। ड्याम…ड्याम हिर्काएको आवाज पनि आर्मीका जुत्ताको टक..टक आवाजसँगै सुनिँदै छ…। अहिले त सिरानीबाट मन्टो उठाएर बाहिरको वातावरण बुझ्ने हिम्मत पनि हराएको छ मेरो । केवल धुसाभित्रबाटै सास विस्तारो फेर्दै बाहिरको वातावरण अनुमानमात्र गर्दैछु…..। फेरि आँगनको मास्तिरको डिलमा बनाइएका सिँढीमा जुत्ताको आवाज सुनियो । नस्पातीका रुखबाट पनि रोडतिर हिँड्दै जानलागेको अनुमान लगाएँ…..। रोडमा गाडीको ढोका ड्याम…ड्याम लगाएको आवाज आयो अनि गाडी स्टार्ट भएर धुररर…..गर्दै कामी गोलाईतिर घुइँकिएको सुनियो । बल्ल ठुलो सास फेरेँ मैँले । धन्न आज हाम्रा घरमा कुनै घटना हुनबाट रोकियो भन्ने लाग्यो मनमा……।

आर्मीका गाडी गएको निकै बेरपछि आमाले म निदाएको छु भन्ने लागेछ क्यार । अन्तरी भाउजूलाई स्याउती स्वरमा “ अन्तरी बुहारी तँ र भाइ घरमा नै बस्तै गर । म र काइली बुहारी धिताल्नी दिदीका घरसम्म पुगेर आउँछौ । आर्मीले धिताल भिनाजुलाई लगेकी भन्ने मलाई शङ्का लागेको छ” भन्नुभयो । “आमा ढोका लगाएर सबै जाऔँ न”, मैँले आमालाई भनेँ । म निदाएको रहेनछु भन्ने आमालाई लाग्यो मैँले त्यति भन्दा.. । “ सबै नै जाऔं न”, फेरि पनि दुवै भाउजूले सुतेकै बिछ्यौनाबाट भन्नुभयो । “बाटामा अरू आर्मी त छैनन् त होला नि….?” भन्दै बल्ल आमाले घरभित्र धिप्री बाल्नुभयो । झ्याल ढोका बन्द गरी सानो टर्च लाइटको उझ्यालोमा अघि आर्मी हिँडेकै बाटो हामी ठुल्यामा र अरू छरछिमेकीका घरतिर घटना पत्ता लगाउन लाग्यौँ । कता कता मानिस रोएको जस्तो आवाज चैँ अलिअलि सुनिरहिएको छ ।

हैन के अचम्म…….! अहिले ठुल्यामाका आँनगमा पचास जति छरछिमेक भेला भएका रहेछन् । कोही आपसमा बोलेको भने देखिँदैन …। यत्तिका मानिस भेला भएका स्थानमा त होहल्ला हुनुपर्ने हो भन्ने मनमा लाग्यो.. । धिप्रीको पिलपिल उज्यालोमा नतमस्तक भएर केही उभिएका र केही मानिस आँगनमा नै टस्यासटुसुक बसेका देखिन्छन् । भेला भएका छिमेकीहरूको अनुहार नियाल्न मलाई धौधौ पर्यो …।
घरको मूल ढोकाको छेउमा बिचरा ठुल्यामा इन्तुनचिन्तु भई घोप्टो परेर घ्यार..घ्यार गर्दै गरेको देखियो । आमा छेवैमा गई ठुल्यामालाई सुम्सुम्याउन थाल्नुभयो । उता आँटमा मैँले झन् दर्दनाक दृश्य देखेँ । ठुल्यामाले सानैदेखि छोरीभन्दा पनि माया गरेर पालेकी उषा दिदीको शरीरमा लगाएको लुगा जताततै च्यातिएकोे देखिन्छ । लगाएका कपडाले उनको शारीरिक लाज छोप्न सकेको छैन । कपाल फिंजाएर ती दिदी एकतमासले घरको छानातिर हेर्दै गरेको मात्र देखिन्छ । हलनचल छिन् बिचरा उषा दिदी । यस्तोे अवस्था देख्ता आर्मीद्वारा उनी लुछिएकै हुन् भन्ने मलाई लाग्यो……।

त्यहाँ सबै कुरा बुझ्दा भर्खरै उषा दिदीको शरीर लुछेपछि ठुला बालाई मिथ्या आरोप लगाउदैँ आर्मीले डम्फु जेल लगेका रहेछन् ।
“खाए है खाए पापीले………लुछे , सके……, मेरा बुढालाई मार्न लगेका छन् ….” घोप्टो परेकै अवस्थामा ठूल्यामाका मुखबाट यस्तै शब्द बेलाबेला निस्किरहेका छन् । त्यहाँ घटना स्थलमा अएका सबैलाई नजिक गएर नियाल्दा सबै नै सुक्कसुक्क गरी रोएको मात्र पाएँ मैँले……। त्यो अवस्था देख्ता धेरैले डाको छोडेर रुन थाले पनि । मैँले आफ्नो मन थाम्न सकिनँ……..म पनि ह्वाँ………..ह्वाँ डाको छोडेरै रोएँछु…….। केही आफन्त भन्दै थिए “ धेरै हल्ला भयो भने फेरि लुटाहा पिशाच आउन बेर छैन ।”

आमा ठुल्यामाकै घरमा बस्नुभयो । ठुल्यामालाई आइपरेको भयानक मानसिक चोटमा मलमपट्टी गर्नु सायद आमाको कर्तव्य थियो । म र दुई भाउजू डराउँदै उही पिलपिले टर्चको उज्यालोमा राति दुई बजेतिर घर फर्कियौँ ।

मज्जाले निदाउन नपाएको महिनौ भइसकेको छ मलाई…..। झन् आज त आँखा झिम्म गर्ने कुनै अवसर नै मिलेन …..। बिहानको रातीको तीन बजेछ अहिले । खाटमा ढल्किएर सोचिरहेको छु- सरकारी अत्याचार खप्नुपर्दा कस्ता देशमा जन्मिन पुगिएछ जस्तो पनि लाग्छ मनमा । यो गाउँ..ठाउँ …देश मेरो पनि त हो नि…। मेरा पुर्खाले पनि त आफ्नो रगत र पसिना बगाएर अर्जेको देश हो भन्ने पनि मनमा लाग्छ…………। अनि हामी गाउँबासीले किन आँसु पिउँदै बाँच्न बाध्य हुनुपरेको होला….? भविष्य अँध्यारो देखिन्छ । जीवनमा कुनै विकल्प निस्किएला त ….? यस्तै अत्याचार भइरहने हो भने कतिदिनसम्म बाँचिएला र …?

– सिड्नी, अस्ट्रेलिया

(स्रोत : भुटानिजलिटरेचर डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.