~कुमार काफ्ले~
नेपाली साहित्यको प्रयोगवादी धारका क्रियाशील स्रष्टा अमर त्यागी मूलत: सूत्रसृजनाका क्षेत्रमा प्रतिष्ठित छन् । नेपाली कविता, गजल,तांका,हाइकू,मुक्तक, सेदोका,निबन्ध, समालोचना आदि विविध विधागत लेखनमा आफ्नो महिमाशाली पहिचान स्थापित गरेका त्यागीको विशेषत: नेपाली गजल,सूत्रकविता र सूत्रकथाको समुन्नयनमा विशिष्टता रहेको छ । उनको ‘मातृत्व’ सूत्रकथाको यहाँ सम्यक् विश्लेषण गर्ने प्रयत्न गरिंदै छ ।
सूत्रकथाको पूर्ण पाठ:
– डमरूको स्वामीत्वलाई लिएर बाघ र बघिनीबीच घमासान युध्द हुन्छ ।
– सम्पूर्ण जनवारहरूले बाघकै बहादुरी र विजयको जयजयकार गर्छन् ।
– अन्त्यमा घाइते बघिनी डमरूलाई खोकिलामा राखेर स्तनपान गराइरहेकी हुन्छिन् !
* ‘मातृत्व’ सूत्रकथाको संरचनागत विश्लेषण:
‘मातृत्व’ तीन वाक्यमा संरचित सूत्रकथा हो । यस सूत्रकथाको पहिलो वाक्यमा नौं शब्द,दोस्रो वाक्यमा आठ शब्द र तेस्रो वाक्यमा नौं शब्द गरी जम्मा छब्बिस पदवर्ग रहेका छन् । यस सूत्रकथामा पहिलो वाक्यले कथानकको आरम्भ, दोस्रो वाक्यले कथानकको उत्कर्ष र तेस्रो वाक्यले कथानकको मूलमर्म सम्प्रेषित छ । सूत्रकथाको सृजनागत स्वरूपका आधारभूत मान्यताअनुसार पहिलो वाक्यमा अस्तित्वगत स्वामित्वको मूल्य कथ्यवस्तु रहेको छ भने अस्तित्वरक्षाको युध्दगत स्वरूप परिवेश रहेको छ । दोस्रो वाक्यमा पात्रहरूको चरित्रगत विशेषता शक्तिपूजक तथा परम्परागत पितृसत्ताप्रतिको मोह यथावत् रहेको देखाइएको छ। तेस्रो वाक्यमा कथ्यवस्तुको मूलभावको रूपमा मातृत्व वा स्वामित्वको सर्वोपरि महत्तालाई अनावृत्त गर्दै मातृत्व वा स्वामित्वमै यो संसार र जीवनको अस्तित्व अन्तर्निहित रहेको हुन्छ भन्ने सन्देश संवाहन हरिएको छ ।
* ‘मातृत्व’ सूत्रकथाको विषयगत विश्लेषण:
एउटा ठूलो जंगलमा डमरूमाथि बाघको स्वामित्व रहने कि बघिनीको रहने भन्ने विषयमा विवादसँगै बाघ र बघिनीबीच घमासान युध्द हुँदा बाघकै विजय हुन्छ । अर्थात् पितृसत्ताको विजय र मातृसत्ताको पराजय हुन्छ । सम्पूर्ण जनावरहरू बाघको वा शक्तिको वा पितृसत्ताको जयजयकार गर्छन् । पितृसत्ताकै पूजा गर्छन् । तर अन्त्यमा डमरू पितृसत्ताकोन कठोरतामा टिक्ननसकेर मातृत्व वा मातृसत्ताकै खोकिलामा रमाउन पुग्छ । पराजित घाइते मातृसत्ता वा मातृत्वमै डमरूले जीवन पाउँछ । यसरी सूत्रकथाको विषयगत कथ्यका आधारमा सृजना र जीवनको मूल स्रोतनै मातृत्व हो र मातृत्व सधैं मूल्यवान् वा महत्तावान् हुन्छ भन्ने तथ्य प्रकटन गरिएको छ । यो तथ्य पनि स्वयंमा महत्तावान् रहेको छ ।
खासमा भन्दा यो प्रतीकात्मक स्वरूपमा संरचित सूत्रकथा हो । सो सूत्रकथामा प्रतीकात्मक अर्थ अन्तर्गभित छ । हालै अमेरिकामा सम्पन्न चुनावनै यस सूत्रकथाको प्रतीकात्मक कथ्य हो । यस सूत्रकथामा डमरू सत्ता, ट्रम्प बाघ, हिलारी बघिनी र चुनावलाई घमासान युध्दको प्रतीकको रूपमा प्रयुक्त छ । बाघ वा ट्रम्पको विजय शक्तिको वा पितृसत्तको विजय र बघिनी वा हिलारीको पराजय मातृसत्ताको पराजयको रूपमा चित्रण गरिएको छ । विकसित र समाजवादी मुलुक अमेरिकी जनता अझै पनि शक्तिपूजक रहेको वा उनीहरूको अन्तश्चेतबाट अझै पनि पितृसत्तात्मक शक्तिप्रतिको मोह हट्न नसकेको तथ्य प्रतीकात्मक रूपमा सम्प्रेषित गरिएको छ । अन्त्यमा बघिनीले नै डमरूलाई आफ्नो स्तनपान गराएर जीवन संरक्षण गरेको तथ्यका आधारमा सत्तासंचालनमा अनुभवहीन ट्रम्पभन्दा अनुभवी हिलारीकै महत्व र भूमिका सर्वोपरि रहने थियो भन्ने तथ्य सूत्रकथामा व्यक्त गरिएको छ ।
‘मातृत्व’ सूत्रकथाको सन्देशगत विश्लेशण:
‘मातृत्व’ सूत्रकथामा स्वामित्वको महत्तालाई प्रतिविम्बित गर्दै मातृत्वको सर्वोपरि महिमालाई प्रतिध्वनित गरिएको छ । मातृत्वनै सृजना र जीवनको मूलस्रोत रहेको यथार्थको प्रतिविम्बननै यो सूत्रकथाको सन्देशगत मूल कथ्य हो । साथै जस्तोसुकै शक्तिको सामु पनि मातृत्व महत्तावान् वा जीवनदायी रहने भाव प्रक्षेपण गर्नुनै यो सूत्रकथाको मूल मर्म हो । विकसित र समाजवादी मुलुकमा पनि पितृसत्ताप्रतिको मोह हट्न नसकेको एवं मातृसत्ता वा स्वअस्तित्व अझै पनि निरीह नै रहेको वास्तविकता प्रबोधन यो सूत्रकथामा गरिएको छ । समानता,स्वतन्त्रता,सहभाव र स्वअस्तित्वको पहिचानगत मान्यता अब नाराबाट माथि उठेर व्यवहारिक रूपमा प्रतिष्ठापित हुनुपर्ने भाव नै यो सूत्रकथाको मूल सन्देश हो । अमर त्यागीका सूत्रकथाहरू हेर्दा वा पढ्दा सामान्य लाग्छन् वा देखिन्छन् तर त्यसभित्र गहन चिन्तन वा विचार वा भाव अन्तर्गर्भित रहेका हुन्छन् । यस्तै भावको अन्तर्गुम्फननै सूत्रकथाको मूल विशेषता हो ।
निष्कर्ष:
‘मातृत्व’ अमर त्यागीको प्रतीकात्मक सूत्रकथा हो । प्रकृति र जीवलाई मानवीकृत गरेर यो सूत्रकथामा उनले मातृत्वको उच्चतम् आदर्शलाई अति सूक्ष्मरूपमा सम्प्रेषित गर्नाका साथै मातृत्वको शाश्वत महत्तालाई अति लघुत्तम संरचनामा आख्यानीकृत गरेका छन् । अमर त्यागीका सूत्रकथाहरूमा जीवनभोगाइका विविध स्वरूपहरू सूक्ष्मरूपमा अभिव्यक्त भएका हुन्छन् ।
********************************