बाबुराम लामिछानेका अठार मुक्तकहरु

~बाबुराम लामिछाने~baburam-lamichhane

केही हैन भन्दै छाडेको परिप्रेक्ष्यमै म रमाइरहेको छु
जस्तो भए पनि आफ्नै झालपात म समाइरहेको छु ।
आशाको लहरोमा जिन्दगीको फूल कतै झुन्डिएकै छ
जे होला, जरामा आस्थाको मलजल म चढाइरहेको छु ।।

म त्यहाँसम्म आउने बाटो खोजिरहेको छु
प्रेमपुष्प चढाउने अवसर खोजिरहेको छु
कुन किरण समातेर आकाशगंगा पारगर्नु
पंख उचाल्दै आफ्नो शक्ति जोखिरहेको छु

सूर्यका किरणले सखारैसखारै ध्यान तान्छन् जसरी
जलवायुका कणले नबोलीनबोली ध्यान तान्छन् जसरी
गुरुत्वाकर्षणजस्तो कसैनकसैले बिस्तारै तानिरहेकै छ
लुकीलुकी जिउने प्रीतिका प्रसंगले ध्यान तान्छन् जसरी

कसैनकसैलाई त यो खर्पन अर्पण गर्नु नै छ
कहींनकहींको अविराम यात्रा कति गर्नु नै छ
हतार किन आऊ एकछिन विश्राम गरौँ यहाँ
बेसर्त जिउनु छ अनायास गुनगुनाउनु नै छ

जमिनमा गडेर हेर्दा लाग्छ घरको जग हुँ जस्तो
आकाशमा उठेर हेर्दा लाग्छ घरको छत हुँ जस्तो
भित्र,बाहिर जहाँ राख्न मनलाग्छ राख्नुहोस् मलाई
कोठाचोटा पुगेर हेर्दा लाग्छ घरको प्रकाश हुँ जस्तो

अनन्त आकाशमा जता जान मनलाग्छ जाम
पंखेटाहरु फटफटाउँदै पराकाष्ठा नाघेर जाम
के हुन्छ र चराचुरुंगीसंग यै ठाम भन्ने कुरा
सबभन्दा प्यारो प्राण हो हत्केलामा लिएर जाम ।

दु;खकै चिन्तनले भरिएको हुन्छ जब झोला
सुखको कुनै किरण खै कहाँबाट उदित होला
प्रकाशमा रमाउने जीवनको स्वभाव हो तर
विषादमा अल्झेको मन कसरी प्रमुदित होला ।

यी बोक्रा एवं आवरण लाग्छ अब छाड्नुपर्छ
साजसज्जा र कलेवरबाट लाग्छ अब भाग्नुपर्छ
तर्क र विचारको भरिया बनिरहन सकिन्न सधैँं
ढिलै भए पनि ए बाबु आफ्नो सामना गर्नुपर्छ ।

सिद्धान्तमा अडिग छौ तिमी, जमिन तिमीलाई किन चाहियो ?
टुप्पामा खूब फूल, फल जरा र फेद तिमीलाई किन चाहियो ?
पंचतत्व नै फेरेर सर्वाङ्ग अभिनव बन- मलाई आपत्ति छैन
आत्माको कुरा किन चाहियो ? हृदयको सुरा किन चाहियो ?

म एक भाव, विचार- भर्खर त शब्दमा आएको छु
छन त यस्तै छु तर कति मगज खल्बल्याएको छु
म आकाश हुन नसकुँला, म प्रकाश दिन नसकुँला
लोकतन्त्रकै हैसियतले प्रतीकमा कहीं त आएको छु

एक्लैएक्लै हिंड्दै छु आफ्नै माया लागेर आइरा छ
झुत्रो भनेको जिन्दगि पनि प्यारो लागेर आइरा छ ।
जिन्दगीलाई कहिल्यै धन्यवाद दिन पनि जानिएन
अनायास आज मलाई किन गुनगुनाउन आइरा छ ।।

पढ्न छुटाएको अक्षर एकदिन जब म खारिदिन्छु
दिगम्वरजस्तो आडम्वरसाडम्वर म छाडिदिन्छु ।
अहिले त अरुकै भरमा, अबलम्वनमा दुगुर्दै छु तर
भारी गह्रुंगो भए कति चिज बाटामै म फालिदिन्छु ।।

धन्य हो तपाईं, आफूलाई आधा त चिन्नु भएछ
धन्य आफ्नो बाधा आफै हो भन्ने बुझ्नु भएछ ।
एउटा खोटो बुद्धि लिएर दुनियालाई पिरोल्नु भन्दा
आफूतिर फर्कन, आफूलाई नियाल्न थाल्नु भएछ ।।

जिउनु भनेको साँच्चैको बोली र व्यवहारजस्तो लाग्छ
जिन्दगी भनेको सत्यको खोली र किनारजस्तो लाग्छ
पाखापाखा डुलेर नाना भाँती कुरा गर्न आउंदैन मलाई
अनेकौं डुबुल्की लगाउँदाखेरि यो अपार जस्तो लाग्छ

भर्याङ ओर्लंदा प्रेमले खसाएको हाते रुमाल हुँ म
प्रेमीको शिरमा फूलझैं वर्षाएको हाते रुमाल हुँ म ।
तिनीहरुको त्यो प्रेम कहीँ जीवित होला, नहोला तर
प्रेमकै कारणले जीवित रहेको एक हाते रुमाल हुँ म ।।

कलम, कागज मेरो जीवनका सच्चा साथी भए
मन, पेट सबै पोख्ने अक्षरहरु प्यारा संगाती भए ।
सुरासौन्दर्य जे भए पनि संसार बेसुरा भए पनि
म यस्तो कविता भएँ कि अक्षर सबै शराबी भए ।।

तिमिसँग के छैन र उदास, निराश देखिनु त्यस्तो
गरे के हुन्न र केही गर्न पनि हिचकिचाहट कस्तो ।
तिमीले गरेको भए गर्न नसक्ने कुरा त थिएन त्यो
तर अरुले गरे हीरालाई दर्सनढुंगा बनाउँछौ कस्तो ।।

कतै बिसाएर एकछिन आफैलाई यसै हेरे पनि हुने
दृश्य र गतिविधि देखेर मनमनै मुस्कुराए पनि हुने ।
तर लाग्छ अचेल मान्छेलाई हेर्ने पनि फुर्सद छैन
जत्ति माया लाए पनि प्यारले बोलाए पनि के गर्ने ।।

नवलपरासी,
हाल : बलम्बु, काठमाडौँ

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.