~कात्यायन~
– हामी पशुपतिनाथको पूर्वपट्टि बटर-फ्लाईको बेन्चमा बसेर दिन घटाइरहेका थियौं | आर्य-घाटमा जलाइएका लासका गन्ध भनौं या दूर्गंध, अरूहरूले झैं मैले पनि महसुस गरिरहेको थिएँ |
– मृत्यूको वास्तविकताले कतै घोचे जस्तो पनि भइरहेथ्यो | चिताले कतै मेरै शरीर जले जस्तै भान हुन्थो र म आफ्नै हात र पाखुराहरू मोहले सुम्सुमाउन पुग्थें | कतै त्यो अग्निले मलाई पनि भष्म गरेर राख बनाउने त हैन ! मलाई मेरो शरीरको साह्रै माया लागेर आयो र संगै बसेकी श्रीमतीलाई हिंड्नलाई संकेत गरें |
– त्यस्तैमा लंगडाईको अभिनय गर्दै सर्बांग मदिराले नुहाइएको भिखारी हामी सामुन्ने लरबरिंदै उभिन्छ र अधिकारले चूपचाप कटौरा तेर्साउंछ | उसका खुट्टा, हात-पाखुरा तथा निधारदेखि टाउकासम्म, आलो घाऊ झैं देखिने रातो रंग मुछिएका पट्टिहरू बाँधिएका थिए | उसको दैनिक अभिनय जारी थियो | मैले नदेखे झैं गरें |
– मास्कले पुरिएको नाकलाई अझ सुरक्षित पार्दै मेरी श्रीमती आफ्नो पर्समा खोज-खाज गर्दै पाँच रुपैंया निकालेर उसको बटुकोमा राखिदिन्छे | पूण्य कमाएको अनुभूतिले गदगद हुन्छे !
– प्राप्त मात्र पाँच रुपैंयाले उसको प्यास मेटिनेवाला थिएन | अतिरिक्त आशले ऊ अझै खडा हुने प्रयास गर्दै थियो |
– केहि थपिदिने संकेत गर्दै श्रीमती मतिर हेर्छे | ऊ प्रफुल्लित हुन्छ, मानो अगाडिको आगोले उसलाई छुन सकेको छैन!
– म आफ्नो सबै खल्तिहरू टकटकाएर गन्छु, पन्चान्नब्बे रुपैंया मात्र रहेछन् मसंग | र, सोच्दै नसोची म भिखारीको बटुकोबाट पाँचको नोट फिर्ता लिन्छु र आफ्नो खल्तीमा राख्छु | अब मसंग पनि सय हुने भयो !
– म अगाडि लम्किन्छु, खै: कतिबेला त्यो चित्ताग्नी पनि नाघिसकेछु !
२०७३/०१/३०
चाबहिल, काठमाडौँ – ७ |
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)