~दिलीप आचार्य~
शहरको एउटा छापाखानामा उनीहरू दुई जनाको निकै बेरसम्म कुराकानी, वाद-विवाद र सर-सल्लाह भयो। आफूले सरकारी कार्यालयको हजारौँ प्रति पर्चा छाप्ने काम दिलाए बापत प्रेसवालाले उनलाई राम्रै ‘हिस्सा’ दिनुपर्ने दावा कर्मचारीको थियो भने कागज, रङ्ग र छपाइ सामाग्रीको मूल्य वृद्धिका कारण ‘पुरानै दररेट’ भन्दा बढी दिन नसक्ने प्रेसवालाको निचोड थियो ।
केही समयको भाउताउ र मोलतोल पछि निश्चित रकममा दुबैको कुरा मिल्यो । कर्मचारीले आफ्नो फाइलबाट छपाउनु पर्ने पर्चाको एउटा नमुना निकाले र प्रेसवालाले सो नमुनालाई आफ्नो कम्प्युटरमा उतार्न लागे। पर्चामा लेखिएको थियो :- “घुस दिनु र लिनु महापाप हो !”
(स्रोत : रचनाकारको ब्लगबाट सभार)