कथा : मोहभंग

~सुषमा मानन्धर~Shushma Manandhar

दिलप्रसाद पचास दशकको, त्यस्तै पचपन्नको हाराहारीका मान्छे। तिल-चामल कपाल अनि भरिलो जिउ। केही वर्ष भयो उसले अहिलेको प्रोजेक्टमा काम गर्न थालेको। यो भन्दा अघि ऊ एउटा स्कूलमा मास्टरी गर्थ्यो। निकै भनसुनपछि उसले प्रोजेक्टमा काम पाएको हो, मान्छे चिनेको यहीँनिर काम लाग्यो उसलाई। दुई फरक विषयमा डबल एम.ए गरेको उसमा महत्वाकांक्षा हुनसम्म कै थियो भने अरुको सामु ध्वांस देखाउनु पर्ने बानीमा कुनै कमी पनि थिएन। उसको यही बानीले निकै पल्ट उसलाई आर्थिक क्षति नगराएको पनि हैन तर आफ्नो प्रभाव देखाउन उसले त्यसलाई हाँसेर व्यहोरेको थियो। एक छोरा, एक छोरी र श्रीमती, सानै परिवार हो उसको तर आफनो सानो परिवारभित्र बाँड्न उसँग त कहिलेकाहीँ थोरै समय पनि बाँकी रहन्नथ्यो। सेमिनार, मिटिङ्ग ,ओभरटाइम… … खै के के हो के के। उसले महिनाको दुई चार चोटी बाहिर मिटिङ्गमा चिया पिएकै हुन्छ या नभए चियाकफी र सानो भेटलाई मिटिङ्गको नाम दिएकै हुन्छ। कहिले रोशना म्यामसँग मिटिङ, कहिले बासु सरसँग, नभए अफिसमा कामको सर्टिङ गर्नुपर्ने भनी दुई चार चोटी ढिलो ऊ बसेकै हुन्छ।

उसकी श्रीमती मैंयालक्ष्मी, बिल्कुलै घरेलु स्वभावकी गृहिणी। श्रीमानलाई अफिस र केटाकेटीलाई स्कूल पठाएर घरको कामधन्दामा आफूलाई डुबाउनु भन्दा बढी रहर उसले कहिल्यै गरिन। बिहानमात्र सारीको सप्को औंलामा बेर्दै फुकाल्दै उसले दिल प्रसादलाई भन्दै थिई, “सुन्नुस न, छोरालाई एउटा ज्याकेट लिइ दिनु पर्ने, जाडो आइसक्यो। लाउन हुने स्वीटर नै छैन उसको।” दिलप्रसादले केटाकेटीको जाडो दुई मुठ्ठी मात्र हुने र अहिले त्यत्ति जाडो बढी नसकेकोले पुरानै स्वीटरले काम चलाए हुने तर्क दिंदै श्रीमतीको मुखमा बुजो लगाइदिएको थियो। नलाउनु पनि किन ? हजार रुपिंया त उसले रुवीको अनुरोधको लागि छुट्टै अलग्याएको थियो। रुवी उसको प्रोजेक्टमा रिसेप्सनिस्ट,कल्कलाउँदो उमेरकी। भर्खर दश जोड दुई पढ्दै गरेकी। हिजो कस्तरी “सर, सर ” गर्दै लाडिएर सभागृहमा हुन लागको संगीतमय साँझको २ टिकट किनिदिन अनुरोध गर्दै थिई। एउटा टिकटको पाँच सय, महँगै हो। तर कतिपय ठाउँमा पैसा गौण हुन्छन् शोख र चाहनाको अगाडि। किनेको टिकट एउटा रुबीलाई नै दिने कल्पनामा ऊ आफै मख्ख पर्‍यो।

“साथमा छ भने चानचुन पैसा अलि छाडी जानुस न है, किनमेल गर्नुछ। गएको महिनाको पनि बत्तीको पैसा तिरिएको छैन” मैंयालक्ष्मीले श्रीमान निस्कन लागेको बेला दौडदै आई भनी। अस्ति भर्खर दिएको पैसा के भयो भनी दिलप्रसादले खै गर्‍यो श्रीमतीलाई। त्यही पैसामा दाल तरकारी आएको छ र महंगीले सँधै अकासिने भन्दा घट्ने नाम लिएको छैन, यो सम्झिन चाहेन उसले। श्रीमानको हप्काईले गर्दा मनभित्रको उत्कण्ठा पोख्ने कुरामा विराम लाग्यो मैयाँलक्ष्मीको। गीतसंगीतको साह्रै शोख छ उसलाई। निकै दिनदेखि श्रीमानलाई संगीत साँझ हेर्न जाउँ भन्ने इच्छा थियो उसको। बोलिन। दिलप्रसादले बुझेन ऊभित्र के थियो। बाहिर निस्कन लागेकै बेला टोकस्ने नराम्रो बानी, गन्गनाउँदै दिलप्रसादले भटभटे कुदायो। अफिसको कुरा मगजभरि घुमिरहँदा कहाँ बत्ती, पानी र तरकारीको कुरा, हँ, उसलाई आफ्नी श्रीमती कहिल्यै आकर्षक लागेन, सधैं भान्छामै अल्मलिरहने। न रिझाउने कला जान्दछे न राम्री हुन नै। अफिसमा एकभन्दा एक राम्रा र यौवना… … , फेरि कत्ति जानेका मस्केर कुरा गर्न। लोग्नेमान्छेलाई अरु के चाहियो र ? दिलप्रसादले पर्स छाम्यो, आज रुबीलाई टिकटको पैसा दिनुछ। भोलि त शो, रमाइलो हुने भो।

अरुले टिकट किन्न भनेको भए दिलप्रसादको कानमा बतास लाग्ने थिएन। संगीत कार्यक्रम र नाटकसाटक तिर खासै रुचि भएको मान्छे पनि थिएन ऊ। पहिले पहिले कहिलेकाहीँ फुटबल म्याच सम्म हेर्न जाने गर्थ्यो। अहिले त्यो पनि छुटेको छ। हिजोआज त, प्रायःएक पेग लडायो अनि टिभी अगाडि झुण्डियो। नभए दुई तीन जना साथीहरुसँग बसी बाह्र सत्ताइस राजनीतिको गफ चुट्यो बस्। कुरा त रुबीको पर्‍यो। टिकटको ठूलो प्याड नै ल्याएकी थिई उसले। प्रायः सबलाई एक दुई टिकट ल्याएर थमाइदिई । “सरले त दुईवटा टिकट लिनै पर्छ।” मेरो अनुरोधमा एउटा अनि अर्को सरको राजीखुशीमा। त्यस्तो हिसी पारेर भनेपछि बिचरा दिलप्रसादले कसरी अस्वीकार गरोस। श्रीमतीको इच्छा ओझेलमा पर्‍यो। आँखामा रुबीको अनुरोध र छातीमा अव्यक्त उत्तेजना। तातो भयो ऊ।

“सरसँग अरु को आउनु हुने हो त शो हेर्न,” रुबीले आँखा कर्के पार्दै दिलप्रसादलाई सोधेकी थिई। उसले प्रकटतः आउन लायकका कोही नभएको बतायो र त्यो टिकट उसले रुबीकै निमित्त किनिदिएको भन्ने विश्वास दिलाउन खोज्यो। रुबी मुख छोप्दै हाँसी र आफूलाई टिकट नचाहिने कुरा बताई। शोको समय भैसकेको थियो। आज दिलप्रसादले घरमा श्रीमतीलाई आफू एउटा मिटिङ्गमा जानुपर्ने र खाना बाहिर नै खाई आउने बताइसकेको थियो। रुबीले भटभटेमा उसँग लिफ्ट मागी चांडै जानुपर्छ भनेर। उसलाई के खोज्छस् कानो, आँखो भयो। एकछिन उसले आफ्नो उमेर बिर्स्यो, दायित्व र जिम्मेवारी बिर्स्यो। छोरो भन्दा केही वर्षमात्र जेठी रुबी र आफ्नो उमेरको स्पष्ट खाडल उसले देखेन- देख्यो, केवल एउटै तृष्णा,यौवनमयी तरुनी, मृगमरिचिका। रुबीले शो हुने ठाउँभन्दा अलि वर नै धन्यवादसहित रोक्न लगाइ उसलाई, त्यहाँ रुबीको समवयस्क अर्की युवती उभिरहेकी थिई।

दिलप्रसाद के गरुँ के नगरुँको अन्यौलको स्थितिमा भटभटे अडाएर त्यहीँ उभिरह्यो तर उसका कान दुई युवतीका गफतिरै केन्द्रित थिए। “कोसँग आएकी तँ ?” यो रुबीकी साथीको सानो स्वरमा प्रश्न थियो।” हाम्रै अफिसका एक स्टाफ हुन्, बाउको उमेरका छन् तर अलि कन्या राशी टाइपका क्या। केटीहरु भने पछि हुरुक्कै हुने। चाँडै आउनुपर्छ भनी लिफ्ट मागी आएकी। अहिले नरेश पनि आउँदैछ, उसको अघि यस्तो उस्तो कुरा नगर नि तैंले फेरि।” दिलप्रसाद छाँगाबाट खसे झैँ भयो। त्यो भन्दा बढी उसले अरु कुरा सुन्न सकेन। आफू उभिएको जमिनमाथिको आकाश उसलाई साह्रै गहुँगो लाग्यो र त्यो भारले थिचिएर उसले टाउको उठाउन सकेन। “बाउको उमेर अनि कन्या राशी” बाट आफूलाई दिइएको उपमामा उसले स्वयंलाई निकै पुड्को देख्यो। एकैछिनमा निकै कमजोर र प्रौढ महशुश गर्यो उसले आफूलाई। मनभित्र हुर्किरहेको तृष्णाप्रति ग्लानी भयो। निकै समयदेखि उसको आँखामा लागेको जालो हट्यो। धुम्म परेको हुस्सु हटेर दिन छयाङ्ग भए झै भो उसको सामु। धेरै कुराहरु चलचित्रसरि आए उसको आँखामा। छोराको स्वीटर, श्रीमतीको चिसो र खस्रा हात, छोरीको च्यातिएको स्टकिङ, धाराको बिल, बिजुलीको महशुल सवै फर्फर गर्दै सम्झँदै गयो उसले। मैंयालक्ष्मीले दुई तीन सय माग्दा पनि पैसा छैन भनी बेवास्ता गरी हिंडेको अपराधबोध तातो भुल्को बनी आँखाभित्र रसायो। मुटुमा केही गांठो पर्‍यो। आफ्नो सुखी संसार छोडेर ऊ क्षणिक सुख र खुशीको लागि तातो भेट्न धेरै टाढा दौडेको थियो। तर यसरी बाटो विराउँदा आफनो गन्तव्य नै छुट्न सक्छ भन्ने हैक्कै राख्न सकेन उसले।

शो शुरु भैसकेको थियो तर ऊ हलभित्र गएन, जान पनि चाहेन उसले। फर्क्यो। बाटो पनि लामो लाग्यो, जाँदा खेरी भन्दा पनि। ऊ आहत भयो आज मनैभित्रबाट ,एउटा सत्यबाट र सत्य प्रायः तीतै हुन्छ। अपराधबोधले निरीह बन्यो ऊ। घरमा पुगेर सिधै खाटमा पल्टियो। घाँटीसम्म सिरक ओढेर आँखा बन्द गरी बसिरह्यो। साँच्ची भन्ने हो भने घटनाक्रमहरुलाई उग्राइरह्यो उसले। मैयाँलक्ष्मीले पीर मानेर “के भयो” भनी सोधी। भरिएको गलामा उसले टाउको दुखेकोले छिटै घर फर्केको बतायो। साँझ आफूलाई खाना पकाउनु भनेको थिएन उसले। खाना थिएन, भोक पनि लागेन उसलाई। भान्छाको धन्दा सकेर आएकी श्रीमतीलाई हेर्‍यो उसले पहिलोचोटी नियालेर। आफू सरह प्रौढ देखिसकिएकी मैंयालक्ष्मी आज उसलाई निकै राम्री लाग्यो। श्रीमतीको साह्रै माया लाग्यो उसलाई। ऊप्रति आफूले गरेको व्यवहारमा आफै खिन्न भयो ऊ। “यता आऊ न” खाटमा पल्टिएकी श्रीमतीलाई मायालु वनेर तान्दै उसले भन्यो। मैंयालक्ष्मीको हात चिसो थियो र जाडोले फुटी खस्रा भएका। दिलप्रसादले श्रीमतीको हात मुसार्‍यो मायाले र उसको कानमा साउतीमा भन्यो, “मैंया म तिमीलाई माया गर्छु” ऊ प्राय यस्तो भन्दैनथ्यो ,श्रीमतीसँग रातको तातो साट्दा पनि भन्दैनथ्यो। तर आज के अचम्म ,मैयाँलक्ष्मी तीनछक्क परी। एउटा प्रश्नचिन्हले हेरी श्रीमानको आँखामा। त्यहाँ अगाध माया थियो र गुलाबी डोराहरु। ऊ लजाई र श्रीमानको छातीमा लपक्कै टाँसिइ, मानौं त्यो उनीहरुको पहिलो मधुमास थियो।

February 9th, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.