बिस्नु प्रवा सापकोटाका छब्बीस मुक्तकहरु

~बिस्नु प्रवा सापकोटा~bishnu-prawa-sapkota

सबै उकालाहरु ओरालो छोएर टुङ्गिन्छन्
सबै ओरालाहरु उकालो छोएर टुङ्गिन्छन्
जिन्दगीको चक्र पनि घुम्छ यस्तै यस्तै गरि
मैदानहरु पनि सधैं भिरालो छोएर टुङ्गिन्छन ।।

मैदानहरु छन,हिमालहरु छन् डाँडाहरु पनि छन्
फूलहरु छन्,पातहरु छन् काँडाहरु पनि छन्
यो अक्करे ठक्करे जिन्दगीको राजमार्ग वर पर
आफन्त छन्,साथिहरु छन्,गतिछाडाहरु पनि छन् ।।

फूलहरु फेरिएर काँडा बने पनि
आफ्न्तहरु रिसाएर टाढा बने पनि
विस्वास गर,बाचा भुली हुँदिन अरुको
मैदानहरु अग्लिएर डाँडाँ बने पनि ।।
(January 17, 2010)

लासहरु कुहिए पछि माटो बन्दो रै छ
त्यही माटो खने पछि बाटो बन्दो रै छ
धेरै वर्ष बिते पछि बल्ल आज बोध भयो
ॐ शान्ति जप्ने मान्छे लाटो बन्दो रै छ ।।

रसमा मौरी भुलाउन जरामै मल जल गर्नु पर्छ
फूलको बैंस खुलाउन जरामै मल जल गर्नु पर्छ
जरा विना हराभरा कसरी हुन्छन् यी बोटहरु
लकुनाहरु फुलाउन जरामै मल जल गर्नु पर्छ ।।

खुकुरी अन्तै छोड्यौ केवल दाप लिएर आयौ
आगो निभिसके पछि चिसो राप लिएर आयौ
जुन दिन म फुलकै धारले रेटेर घाईते भएं
हो, त्यही दिन तिमी रातो गुलाव लिएर आयौं ।।
(January 8, 2010)

कायरहरु सधैं गाह्रो भीरको कुरा गर्छन्
हरुवाहरु सधैं दुःख पीरको कुरा गर्छन्
जो सपनामा पनि हार देख्न चाहदैनन्
हो,उनिहरुमात्रै रातो अविरको कुरा गर्छन् ।।

देवता खोज्न मूर्ति पछि लागे जस्तै भयो
मरुभूमिवीच कतै प्यास जागे जस्तै भयो
समयमै नयाँ संविधान पाउने आसा त–
बाख्राले बाघसंग गुहार मागे जस्तै भयो ।।

उ सारा अधर्महरुसंग, बेनाम युद्ध लडेर आउँछ
उ सारा जगत चाहरेर, हर दुनिया पढेर आउँछ
उ सत्य हो, सत्यको जीत एक दिन अवस्य हुन्छ
त्यो भुँइ झरेको शीत होस, फेरि पात चढेर आउँछ ।।
(December 28, 2009)

माटो
जहाँ पहाडले चुल्ठोमा,गुराँस सजाएको हुन्छ
जहाँ झरनाले पहरामा, बाजा बजाएको हुन्छ
हो, त्यही म जन्मेर हुर्की खेलेको आगन जहाँ–
तालमा आफ्नै मुहार हेर्दै,हिमाल लजाएको हुन्छ ।।

मुटु
बाँधि राखु भन्छु मन, फुक्छ कता कता
धरा छोडि बादल पारी, पुग्छ कता कता
न छाम्दा भेटिन्छ, न त हेर्दा देखिन्छ
एउटा घाउ भित्र भित्रै, दुख्छ कता कता ।।
(December 22, 2009)

जरै पाई बनस्पती, ढल्दाको दिन
हिउँ माथी आगो, बल्दाको दिन
यो हिमाल कसरी अटल हुन्छ र ?
ढुङ्गा माटोबीच युद्ध, चल्दाको दिन ।।

वलुवाको पुलले नदी, तर्न खोज्दै छौं
हामी डोका भरि दुध, भर्न खोज्दै छौं
लक्ष्य प्रप्ती त, कहिले हुन्छ कुन्नि ?
तलबाट भर्र्याङ सफा, गर्न खोज्दै छौं ।।

कहिले हिउँ झैं, पग्लीन मन लाग्छ
कहिले हिमाल झैं, अग्लिन मन लाग्छ
जब आकार फेर्छ, बादल जस्तै रहरले–
अनि फेरि सागर भै, सङ्लिन मन लाग्छ ।।
(December 17, 2009)

बसन्त आँउछ र नाङगा डालीमा पात गाँसेर जान्छ
शरद आँउछ र सुकिला पातमा धुलो टाँसेर जान्छ
ऋतुहरुमा पनी त द्वन्द चक्र चलेकै छ निरन्तर–
शिशिर आँउछ र तिनै डालीका पात नासेर जान्छ ।।

प्रश्नको गर्भाघारण, पर कतै उज्यालो देख्नु हो
प्रश्नको जवाफ भेट्नु, सफलताको शिर टेक्नु हो
यि सारा प्रगती प्रश्नका जवाफहरुको नतिजा हुन
प्रश्नको हत्या गर्नु,केवल उन्नतीको बाटो छेक्नु हो ।।

म चैतको खडेरी, तिमी एक झर झरी हौ सायद
म चिसीदो कफि, तिमी उडदो वाफ सरी हौ सायद
हाम्रो मिलन यस्तै भ्रमर चुम्वन मात्रै रहेछ क्यारे–
म बुढो सुयोगवीर, तिमी पृय सकमबरी हौ सायद ।।
(January 4, 2011)

जहाँ माछी र ताल हुन्छ
त्यहाँ माझी र जाल हुन्छ
कस्ले भन्छ ? फूल छेउ–
भमराको अनिकाल हुन्छ ।।

घर जाँदा परको याद
पर जाँदा घरको याद
जीवन भन्नु यादै रै छ–
महल भित्र खरको याद ।।

कतै देउसी भैलो छ
कतै हिलो मैलौ छ
हाल खवर देशको–
केवल भाँडभैलो छ ।।
(December 15, 2010)

~फूलको बारेमा~
आजभोली फूलहरु आँफै ससस्त्र छन्
फूलका सनातन आस्थानै अस्त्र छन्
फूलको बस्त्रमा काँडाको खेती गर्नेहरु
गल्ली चोक चोकमा यत्रतत्र सर्बत्र छन् ।।

ढुंगै ढुङ्गाको शहरमा गएपनि
लाटो बुङ्गाको शहरमा गएपनि
आफ्नो दुख्ख आफैसँग हुँदो रैछ –
फूलको थुङ्गाको शहरमा गएपनि ।।

~पहिलो डेटिङ प्यारको~
मैले छुँदा तिमी लज्जावती झैँ झस्केकी थियौ
सामु पुग्दा तिमी रक्तिम गुराँस मस्केकी थियौ
त्यो दिन मैले बिसाएथें गुलाबी सवाल प्यारका
तिमीले पनि खुबै रुमानी जवाफ पस्केकी थियौ ।।
(November 23, 2010)

सम्झनाको भेटी राखी रित्तो मनको भाँडामाथि
म फेरुला सास फेदिमा तिमी पुग्नु डाँडामाथि
जुन धर्तिमा तिम्रो कोमल पाउ चल्मलाउछ
फूलै फूल होस् जतततै मै हिंडुला काँडामाथि ।।

औंसिको रात आकाशमा जुन आए जस्तै भयो
चिनी राखी तरकारीमा नुन आए जस्तै भयो
आनायसै तिमी आउँदा गोधुलिमा मेरो सामु
भुइँ ढलेको मुढोलाई मनसुन आए जस्तै भयो

न त सुगम छौ तिमी
न त दुर्गम् छौ तिमी
र पनि यस्तो लाग्छ-
साह्रै अनुपम छौ तिमी ।।
(November 12, 2010)

बिस्नु प्रवा सापकोटा
दमेक~१, कुश्मीसेरा, बाग्लुङ

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.