कथा : फर्कनभन्दा मर्न निको मान्नेहरू

~गुमनाम सापकोटा~

अस्ताउँदै गरेको घामको पछिल्लो किरण थेम्सको धमिलो पानीमा मिसियो। एक हुल चराले नदीको किनारलाई छोडे र बस्तीतिर हानिए। उसले लन्डन ब्रिजमा उभिएर आकाशमा फट्फटाइरहेका चराका पखेटाहरू परसम्म हेरिरही। चराहरू अग्ला घरहरूले होच्याउँदै गरेको सन्नाटाभित्र कतै छेलिए र उसका आँखाहरू लुत्रुक्क नदीमुनि पोखिए। साँझको मन्द सितलो हावाले उसको कपाल लथालिंग पार्दै थियो, तर ऊ बेपर्वाह थिई। धेरै बेर उसका आँखा थेम्सको पानीमा डुबिरहे, ब्रिजको टुप्पामा नीलो बत्ती पिलपिलायो। उसले पातला कुर्कुच्चे जुत्ताका तुना कसी र बाटो लागी।

धेरै वर्षअघि गाउँकै स्कुलमा पढ्दा दस कक्षा पढ्ने ठिटाहरूको आँखाका तारा थिई ऊ। त्यस्तो उत्पातै राम्री त होइन। तर, निकै फरासिली वा उखर्माउली जे भने पनि हुन्छ। तर, उसमा एउटा अद्भुत विशेषता थियो, चोक-चोकमा कुरेर जिब्रो पड्काउने हुन् या नदेखेझैँ गरेर सिटी बजाउने ठिटाहरूलाई ‘मुर्दार चप्पल खालास्’ भन्ने त्यतिबेलाका केटीहरूको चल्तीको गाली कहिल्यै कसैलाई फर्काइन। बरु मुसुक्क हाँसेर हिँडी। बिस्तारै केटाहरूले उसलाई जिस्क्याउन छाडे। ऊ झन् फरासिली भई। मैले उसलाई त्रिचन्द्रको क्यान्टिनमा भेटेको थिएँ, एसएलसीपछि। ऊ पहिलो श्रेणीमा पास भई भन्दा म गाउँमै चकित परेको थिएँ।

‘रुबीले ६५ प्रतिशत ल्याइछ,’ कसैले सुनायो। मैले पत्याउँदै पत्याइनँ। तर, त्रिचन्द्रमा भेट्दा उसैले भनी, पत्याउनैपर्‍यो। ऊ साइन्स पढ्न थाली, म समाजशास्त्र। भेट त्यति भएन। तर, कलेजभरि उसको जलवा निकै समयसम्म चल्यो। रुबी एकाएक हराई, कहाँ गई कसैले पत्तो पाएनन्। उसकै ब्वाइफ्रेन्ड रेन्ड भनेर कहलिएको केटोले समेत चाल पाएन। पछि गाउँ पुगेका बेला सुनियो, रुबी त एउटा एनआरएनसँग बिहे गरेर लन्डन सुइँकिछ। नेपालमा रुबीको कहानी यत्ति हो। तर, लन्डन आएपछि उसको कहानी कति लम्बिएछ, कति?

ती कलेज पढ्न आएका मसिना केटाहरू लरीमा छोपिएको दुई हप्तापछि पदमपाणिले भेट गराएको थियो रुबीसँग। उसकै घरमा। रुबी उस्तै फरासिली तर एक्ली। एनआरएन दुलाहा बिहे गरेको सात वर्षमै गोरीसँग सल्केछ।

‘त्यस्तो चुतियासँग के सँगै बस्नु,’ उसले भनी, ‘तर डिभोर्सपछि यो घर मेरै भागमा आयो।’

ग्रिनविच पार्कपछाडि थेम्सकै किनारमा रहेको आलिसान महल नजिकै थियो सानो ब्युटिपार्लर। रुबीको जिन्दगी चल्ने बाटो। पदमपाणि र म उसको घर पुग्दा ऊ बाहिर गार्डेनमा मनी प्लान्टका मसिना झाललाई पानी दिँदै थिई। उसलाई देखेर म दंगदास भएँ, ऊ मलाई हेरेको हेर्‍यै भई। ‘तिमी बुढो भएछौ,’ उसले भनी। म केही बोलिनँ। म पनि उसलाई हेरेको हेर्‍यै भएँ। रुबी झन् बुढी देखिन्थी मभन्दा। कपाल अलिअलि फुलेछ। आँखामा गाजल त लगाएकी थिई। तर, बाहिरपट्टिको छाला चाउरी परेको प्रस्टै देखिन्थ्यो। रुबीले रेड वाइन भर्दा म अक्क न बक्क भएँ। कति सजिलै ‘चियर्स’ भनी।

स्कुल पढ्दा पदमपाणि लट्टु भएर लागेको थियो, रुबीको पछाडि। तर, केके चाँजोपाँजो मिलेन, संयोग हुन सकेन। केटाकेटी उमेरमै जाँड खान सिकेको पदमपाणिको उपाध्याय बाहुनकी छोरी ताक्ने ताकतको म सधैँ कदर गर्छु। वाइन पिउँदै गर्दा उसले प्याट्ट भनी, ‘यो पदमपाणि अहिले पनि मलाई मन पराउँछ।’ पदमपाणि खिस्स हाँस्यो, केही बोलेन। मैले पदमपाणिकी ब्राजिलियन श्रीमती लाउरालाई सम्झेँ। लाउराको उद्दण्डता अर्कै किसिमको छ। त्यो रात हामीले अबेरसम्म रेड वाइनको चुस्की लगायौँ। रुबी निकै फरासिली भई। दुई हप्ताअघि युरोप छिर्ने ती तीनजना मसिना ठिटा रुबीकै घरमा बसेका थिए, दुई वर्ष भाडामा।

‘तिमीहरूलाई भनुँ,’ उसले भनी।

‘के?’ मैले सोधेँ।

‘ती केटाहरूलाई मैले आधा भाडा पनि लिइनँ, छोराहरू जस्तै भएका थिए। तिनीहरूलाई भगाउन मैले नै पदमपाणिलाई भनेकी,’ उसले सरर भनी र रेड वाइन सुरुप्प पारी।

‘त्यता बरु तिनिहरूको जिन्दगी सहज होला,’ ऊ भन्दै गई, ‘एउटा त नेदरल्यान्ड पुगेको रहेछ सबै राम्रोे छ अन्टी भनेर फोन गरेको थियो, अलि अस्तितिर।’

हामी रुबीको घरबाट बाहिर निस्कँदा रातको २ बजेको हुँदो हो। जाँडले लट्ठ परेका हामी डेडफोर्ट ब्रिजको पछाडि रहेको पदमपाणिकै घरमा पुगेर पसारियौँ। मलाई त्यो समाचारको कुनै पत्तो थिएन। यो लन्डन शहर नै त्यस्तै। जोसँग पैसा छ, उसले पनि गल्लीगल्लीमा पैसाको थुप्रो देख्छ। जोसँग छैन, उसले पनि यो शहरको कुनाकुनामा पैसाका बिटा देख्छ। जसरी हुन्छ पैसा उत्पादन गर्ने मेसोमा हुन्छन्, शहरका दुवै वर्ग। मजस्ता यी दुवै वर्गमा पर्न नसकेका जन्तुहरूलाई चाहिँ पैसा सोहोर्ने कल्पनामै दिनरात बितेको पत्तो हुँदैन। त्यसैले मलाई त्यो समाचारको बारेमा कुनै पत्तो भएन। जब मैले रुबीको फोन पाएँ, मेरो दिमागमा केही झर्‍यामझुरुम भयो, काँचको झ्याल फुटेझैँ।

ऊ टेलिफोनमा एकचोटि सुँक्क गरी र भनी, ‘भेटौँ न।’

‘किन के भो र?’ मैले सोधेँ।

‘त्यो हल्यान्ड पुगेको बाबुले अस्ति आत्महत्या गरेछ ।’ ऊ ह्वाँ-ह्वाँ रोई।

मैले ‘आजै भेटौँ’ भनेर फोन राखेँ।

त्यही साँझ हामीले लन्डन ब्रिजमा भेटेका थियौँ। उसका आँखा सुन्निएका थिए। धेरै बेर बोलिन। हेरेको हेर्‍यै भई। मैले त्यो फुच्चेलाई सम्झेँ, केही समयअघि त हो त्यसलाई पदमपाणिको कोठामा भेटेको।

भनेको थियो, ‘मरे पनि यतै मर्ने हो दाइ, नेपाल त के थुतुनो लिएर जाने।’ नेदरल्यान्डको सरकारी घरमै आत्महत्या गरेछ। त्यहाँको दफ्तरले उसलाई नेपाल फिर्ता गर्ने तयारी गरेको थाहा पाएपछि त्यसै राति झुन्डिएको रहेछ ऊ। मलाई हिजै जस्तो लाग्यो, तिनीहरूलाई लरीमा खाँदेर फर्किएको। लरीभित्र खाँदिदा राम्रोसँग बिदा हुन पनि सकेको थिएन, मात्र पुलुक्क हेरेको थियो। रुबीले एउटा टिस्यु निकालेर फेरि आँशु पुछी, मलाई निकै पछुतो लाग्यो।

नेदरल्यान्डका एनआरएनहरूले उसको शव नेपाल पठाउने तयारी गर्दै छन्। ‘कस्तो भो देशको हालत, देश फकिर्नुभन्दा मर्न रुचाउने भए मान्छेहरूले,’ रुबी बिस्तारै गुनगुनाई। उसले पातला कुर्कुच्चे जुत्ताको तुना कसी र ग्रिनविचको बाटो समाती। मैले थेम्सको धमिलो पानीलाई हेरेँ। मसिना छालहरू शान्तसँग चलमलाइरहेका थिए। चराहरू अघि नै उडिसकेकाले थेम्सको किनार एकतमासले शान्त देखियो।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.