संस्मरण : नेपथ्यको पर्दामा दृश्यान्तर

~प्रकाश सायमी~Prakash Sayami

सर्पिलो पीच फैलिएको थियो, उकालोतिर । यो उकालोको नाउँ के हो ? साथमा पैदलयात्रा गरिरहेका साथी स्पेन्सर केही भन्न खोज्दैथिए, अचानक हामी दुईछेउ भयौँ, थ्रीह्विलर आएकाले । बम्बईको हँकाइ यस्तै हो ।

हामी दुई एउटै समयका पागल सिनेप्रेमी । ऊ दक्षिण भारतको एक कुनाबाट, म भारतको उत्तरी छिमेकबाट । आनन्द भवन पुग्यौँ । राष्ट्रपति भवन जस्तो देखिने त्यो महल अभिनेता, फिल्मकार, चलचित्र उद्यमी देव आनन्दको थियो । मेरा आमा, हजुरआमा र हजुरबुबासम्मका प्रिय अभिनेता, मेरी हजुरआमाले वीरसिक्काको कथा झै सुनाएका नायकको आँगनमा म थिएँ ।

कालो सूट लगाएका देव आनन्दलाई देख्दा केटीहरू बाल्कोनीबाट हाम फाल्थे रे ! म बुझने नहुँदै हजुरआमाले सुनाएको यो कथा उहाँले कुन च्यानलबाट, कसरी सुन्नुभो र मसम्म आइपुग्दा कति सम्पादन वा विस्तार भो भन्न सकिन्न । देव आनन्दले सुरैयालाई औँठी दिन गएको रात के भो ? सुरैया–देव आनन्द प्रेमकथा हजुरआमाको यौवनकालको लोकप्रिय ‘स्क्यान्डल’ रहेछ । तिनै सुरैयाका पूर्वप्रेमी देव आनन्दसित आज हजुरआमाको खुल्दुलीबारे सोध्नुछ ।

ढोकैमा रोके, गोर्खेले । जसरी हामी सबै पश्चिमालाई अम्रिकन भन्छौं, त्यसरी नै भारतीयहरू पहाडबाट झ्रेर इमानदार द्वारपालको पहिचान बनाएकाहरूलाई बहादुर वा गोर्खे भन्छन् । भारतीय साहित्यका कमजोर लेखकहरूले यो कुराको बयान गर्दा मर्माहत भएका छौं हामी कतिचोटि । हिन्दी सिनेमा घरवाली बाहरवाली त्यसको एउटा उदाहरण हो । अरविन्द अडिगाको उपन्यास द ह्वाइट टाइगर अर्को उदाहरण । “कहाँ से हो ?” गोर्खेले सोधे ।

“यो सोझे मान्छे देवसाहबलाई भेट्न नेपालबाट आएको हो । देवसाहबसँग नेपालमै पनि यसको भेट भइसकेको रहेछ”, स्पेन्सरले भाँती पु¥याएर भने । स्पेन्सरको बयानले मलाई १५ वर्ष अगाडिको स्कूले जीवनतिर धकेल्यो । हामी स्कूलको नियमित एसेम्बलीमा दाँत, नङ, कपाल, जुत्ता र ड्रेस जँचाएर हरे राम हरे कृष्ण को सुटिङ्गस्थल पुग्थ्यौं । म हरेक दिन साथीहरूलाई ‘हिँड्, देव आनन्द भेट्टाइदिन्छु’ भन्दै लान्थेँ ।

जावलाखेलस्थित तिब्बती शरणार्थी शिविरको डाँडोमा एकदिन मैले देव आनन्दलाई जीनत अमानसँग देखेर भीडबाटै सोधेँ, “मिष्टर देव आनन्द, हाऊ ओल्ड आर यू ?” यो हजुरआमाको प्रश्न थियो, मैले सोधी दिनुपर्ने । उनले हेरे, तर कहाँ देख्नु ? म त भीडमा हराएको थिएँ । तैपनि, हात हल्लाउँदै जवाफ दिए उनले, “आइ एम फोर्टी सेभेन इयर यङ्ग ।”

यो जवाफ हजुरआमासम्म पु¥याउन नपाउँदै मैले अभिभावकबाट हत्केला र पैतालामा चार–चार लौरो पाएँ । अब मेरो सुटिङको कक्षा तुरियो । लट्ठीको डाम लिएर देव आनन्द जस्तै हल्लिँदै स्कूल जान थालेँ । आज देव आनन्दको आँगनमा त्यो अतीत सम्झ्ँदासम्झ्ँदै ढोकेले हामीलाई सानो जानकारीसहित बिदा गर्न चाह्यो, “देवसाहब दुई साताका लागि डेनमार्कमा छन् । पछि समय मागेर आउनू, यसरी भेट्न पाइँदैन ।” त्यसपछि म उनलाई भेट्न कहिल्यै गइनँ । बम्बईमा कसैलाई भेट्न जानु पनि माग्न गए जस्तो हुँदोरहेछ ।

देव आनन्दलाई आदर चैं गरिरहेँ । उनले आफ्ना सिनेमामार्फत नेपालका सुन्दर भूभागलाई विश्वकरण गरिदिएका छन् । नेपाली भाषाको सौन्दर्यलाई गीतहरूमा घुसाइदिएका छन् । उनैले नेपाली धुन (यो खोलाको सङ्लो पानी, ए कान्छा ठट्टैमा) सँगै नेपाली बाजा मादललाई हिन्दी पाश्र्वसङ्गीतमा प्रविष्टी दिए जुन हरेक हिसाबले नेपाल र नेपालीप्रति सम्मान थियो । नेपालबाट गएका दार्जीलिङका एक सङ्गीतकर्मी रञ्जित गजमेरको सङ्घर्षलाई पनि उनैले संरक्षण दिएका हुन् ।

यस्तो धेरै मायाले हेरिएका देव आनन्द मे २००८ मा लेखकका रूपमा नेपाल आए । काठमाडौंमा हुने उनको पुस्तक रोम्यान्सिङ्ग विथ् लाइफ को विमोचनमा मलाई वक्ता छानिएको थियो । रमाइलो कुरा, ४७ वर्षको उमेरमा उनलाई नेपालमै देखेको थिएँ, उनी ७४ हुँदा फेरि यहीँ भेट्दैछु । ४३८ पृष्ठको पुस्तक पढ्दै जाँदा अनगिन्ती प्रश्नहरू आए, अझ्ै सोध्न बाँकी हजुरआमाको प्रश्नहरू गौण हुन थाले । कति साहसले बनेका रहेछन् यी मान्छे, म त अवाक् भएँ ! मैले देव आनन्दलाई परिचयकै क्रममा “तपाईंले आफ्नै हातले लेखेको हो त ?” भनेर सोधेको थिएँ । उनले यसको जवाफ भरिसभामा दोहो¥याएर दिए, “यो पुस्तकको एक–एक पङ्क्ति आफ्नै हातले लेखेको हुँ ।”

मैले लिखित भनाइ राखेँ, त्यही मञ्चमा । उनले मेरो कडा टिप्पणीलाई तीखो भनेनन् । बरु अत्यन्त राम्रो भन्दै प्रेमपूर्वक त्यो मन्तव्य मागे । मेरो प्रश्नैप्रश्नले जेलिएको समीक्षापत्र आज उनको घरमा सुरक्षित होला । मसँग पनि उनले ६० हजार रुपैयाँको मो ब्लाँले हस्ताक्षर गरेको रोम्यान्सिङ्ग विथ् लाइफ सुरक्षित छ ।

(स्रोत : हिमाल खबर १६ असोज १५ कात्तिक २०६८)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.