~केशव तमखू~
किताबमा पढेको र मिडियामा देखे–सुखेको नेपालसँग साक्षात्कार गर्ने भित्री मनको चाहना ज्यूँदै थियो। तापनि विभिन्न कारणले काठमाडौं नै सीमित हुनुपरेको यथार्थ तीतो सत्य थियो।
भलै विद्यालय जीवनको पोखरा भ्रमण तातोपानी–दोलखा भ्रमणजस्ता सुगम र छोटो दूरीको यात्राले काठमाडौं बाहिरको अवस्थाबारे आङ्कलन गर्न मनलाई हौस्याए पनि वास्तविकतातर्फ डोर्याउन ती पर्याप्त थिएनन्।
गत साल सुदूरपश्चिमाञ्चलको भ्रमणबाट नेपालका तराईं र सिमानामा नेपालीले विस्तारवादी भारतको दादागिरी अनुभव नगरिएका होइनन् तर यसपालिको मध्यपश्चिमाञ्चल (कालीकोट–जुम्ला) भ्रमणले पहाडी जीवनका विविध अप्ठेरा र चुनौती तथा सम्भाव्यता र सकारात्मक पक्षहरू अनुभव भयो।
नेक्रायुसङ्घको राष्ट्रिय सम्मेलन ऐतिहासिक तथा सामरिक रुपले महत्त्वपूर्ण कर्णाली अञ्चलको सदरमुकाम जुम्लामा गरिने प्रचारप्रसारको आरम्भसँगै जुम्लामा पुग्ने मेरो सुषुप्त चाहना जागृतको जमघट र कार्यस्थलमा पनि यसको बारेमा चर्चा भएको थियो।
प्रायः सम्पूर्ण राजनैतिक सङ्गठनलगायत विभिन्न सङ्घ संस्थाले आफ्ना कार्यक्रमहरू भौगोलिक तथा यातायातलगायतका हिसाबले सुगम केन्द्र वा सहरमा गरिरहेको परिवेशमा युवा सङ्घको यो सम्मेलन एक हाँकको रुपमा उपस्थित थियो।
धेरै दिनको छलफल र सल्लाहपछि जुम्ला जाने निधो गरियो। सुरुका दिनभर तम्सिने कतिपय साथीहरू कोही परिस्थितिवस त कोहीले उक्त ठाउँको वर्णनपश्चात् जाने आँट गर्न सकेन। आखिरमा म विद्यार्थी भाइहरूको सम्पर्कमार्फत् कटुञ्जे गाविसबाट हिंड्ने गाडीमा गएँ। गाडीमा नै नयाँ साथीभाई बनाउने उद्देश्यका साथ एक्लै गन्तव्यमा लागें।
सौन्दर्य र केन्द्रको रुपमा परिचित जुम्लासम्म हिंड्ने भएपछि रारा ताल पनि नपुगी फर्कन उचित नहुने निष्कर्षका साथ रारा पुगेर सम्मेलन भ्याउने कार्यक्रमसहित चैत २० गते भक्तपुरबाट गन्तव्य लाग्यौं। अपरान्ह हिंडेका गाडी रामगढमा खाना खाई नारायणघाटमा नै बास बस्ने गरी रोकियो।
२१ गते चितवन बन्दको हल्लाले गर्दा यात्राको रोमाञ्चमा तगारो लाग्यो। तैपनि बिहान ६ बजे गाडी गन्तव्यतर्फ गुड्यो। विभिन्न ठाउँमा बन्दको हल्लासँगै बाँकेको कोहलपुर हुँदै सुर्खेततर्फ जाँदै गर्दा बन्दकर्ताहरू भेटिए। जो बन्दको आह्वान गर्दै स्वयम् भने मोटरसाइकलमा सवार थिए। बन्दको हल्लाले गर्दा पूर्व–पश्चिम राजमार्गजस्तो सडककमा पनि गाडीले आफ्नो स्वाभाविक गति लिनसकेन। जसले गर्दा काठमाडौंबाट हिंडेको दोस्रंो दिनसम्म पनि हामीले सुर्खेत जिल्लालाई छोड्न सकेनौं। काठमाडौंबाट हिंडेको दोस्रो दिनसम्म पनि हामीले सुर्खेत जिल्लालाई छोड्न सकेनौं। अब निर्धारित कार्यक्रम पूरा नहुने स्थिति पूर्वानुमान यात्रारत सबैलाई धेरथोर महसुस भइसकेको अनुभव गर्न मलाई गार्हो परेन। दोस्रो दिनको बास सुर्खेतको खड्कावाडामा नै भयो।
कर्णाली नदीको पहिलो दृश्य–दर्शन पनि यसैक्रममा गरियो। यसपछिको यात्रा कर्णालीको किनारैकिनार हुँदै अगाडि बढ्यो।
भोलिपल्ट अर्थात् तेस्रो दिन चिया खाई बिहानै यात्रा सुरु गर्यौं। तेस्रो दिनको यात्रासँगै नियमित पिच बाटो छोडियो। अब कहिले पिच बाटो त कहिले पिच बगाइएकोले पुनः बनाएको कच्ची बाटो हुँदै तल्लो दुङ्गेश्वर–राकमबाट अगाडि बढ्यौं। यस बीचमा कहिले पिच त कहिले कच्ची बाटो हुँदै खिट्कीज्यूला पुगियो। जुन ठाउँमा दैलेख–अछाम र कालीकोटको सीमा जोडिएको रहेछ। यसभन्दा अगाडि गाडीको टायरमा समस्या देखिएकोले टायर मर्मत गरियो। रामागाढ (जहाँ भारतीय कम्पनी जीएमआरले माथिल्लो कर्णालीमा जलविद्युत निर्माण गर्ने सम्झौता भएको थियो) बाट करिब १ घण्टा पैदलको दूरीमा पर्दछ। टायर मर्मत स्थलबाट मलगायत केही विद्यार्थी साथीहरू पैदल हिंडेर रामागाढसम्मको सडक पैदल पनि नाप्यौं। टायर मर्मत केन्द्रपछि एकैपटक कालीकोटको मान्ममा मात्रै पायौं।
खिट्कीज्यूलाभन्दा परको बाटोमा भने हामीले पीच देख्न पाएनौं। खाना खाएको बेला राकम कर्णालीमा स्थानीय साथी मानबहादुर सिजापतिसँगको भेटघाटबाट नयाँ तथ्य थाहा पायौं। सोही ठाउँबाट अछाम जोड्ने पुलको लागि पिलर ढलानको कार्य हुँदै रहेछ। यहींबाट मध्य पहाडी राजमार्ग राकमसँग जोडिंदै सुर्खेत आउने रहेछ। अब अगाडिको बाटो तुलनात्मक रुपमा बढी कच्ची भएको अनुभव सबैले गर्दै थिए। एक दुई मोड त सार्है डरलाग्दा खालका थिए। तर अचम्मलाग्दो कुरा यस्तो बाटोमा पनि त्यहाँको स्थानीय यातायातका सवारीसाधन बेतोडले गुड्ने रहेछ।
कालीकोट जिल्लाको सदरमुकाम मान्म बजार उर्लिनु पूर्वका दुई घुम्टीमा त सबैका हंसले ठाउँ छोड्ने गरी गाडी चलाउनु पर्नेरहेछ।
कर्णाली केन्द्र जुम्लाबाट बगेको तीला नदी पार गर्दै मान्मका लागि गाडी उक्लियो। मेरो गन्तीमा १८ वटा घुम्ती थिए। घुम्ती चढ्दै मान्मा पुग्दा भने न्यानो स्वागत पाइयो।
कालीकोट जिल्लाका नेमकिपा अध्यक्ष नन्दबहादुर शाहीले सम्मेलनको लागि कालीकोट पुगेको पहिलो गाडीका सम्पूर्ण महानुभावलाई रातो टीका लगाई स्वागत गर्दा अगाडि महसुस गरेको डर र त्रासयुक्त यात्रालाई बिर्सिएँ। साढे ४ बजेतिर पुगेको हाम्रो टोली स्थानीय सुझावअनुसार बजार र टुँडिखेल घुमेर त्यहीं बस्ने निधो गरी आराम गर्न गयौं।
दुई दिनदेखि बत्तीको झलक पाउन नसकेर आ–आफ्ना मोबाइल चार्ज गर्न पाइने भनेर खुसी भएका हाम्रा सहयात्रीहरू मैनबत्तीको उज्यालोमा खाना खाई सुत्नुपर्दा भने केही खिन्न देखिए। त्यहाँ पनि दुई दिनदेखि बिजुली थिएन।
भोलिपल्ट बिहान अर्थात् चैत २३ गते सबै सहयात्रीहरू पूरा जोश र जाँगर संगालेर कालीकोट जिल्लाको अर्को महत्त्वपूर्ण गाविस नाङ्माको लागि हिंडियो। नाङ्मा बजारमा खाना खाई त्यहाँबाट राराको लागि प्रस्थान गर्ने जाँगर लिई अगाडि यात्रा थालियो। हामीसँगै भक्तपुर नपा वडा नं. १७ बाट हिंडेका गाडी पनि साथै थियो। सदरमुकाम मान्मबाट नाङमासम्मको बाटोको बारेमा यात्रा थाल्नुभन्दा अगाडि सुनेजस्तै कर्णाली राजमार्गको सबैभन्दा कठिनत्तम भागको रुपमा यसलाई अनुभव गरियो। यसै बीचमा खारा (जहाँ द्वन्द्वकालमा माओवादी आक्रमणमा नेपाली सेनाको ठूलो धनजनको क्षति भएको थियो) मा नास्ता गरी अगाडि बढ्यौं।
नाङ्मा बजारमा हामीलाई स्वागत गरियो। गाविसका पूर्व (निर्वाचित अध्यक्ष) का ऐनबहादुर शाही स्वयम् उपस्थित हुनुहुन्थ्यो।
खाना खाइसकेपछि ऐनबहादुर शाहीलाई हामीले आफ्नो कार्यक्रम तालिकाबारे अवगत गरायौं। उहाँले राराको बाटोमा हामी यात्रारत गाडी बढ्न नसक्ने बताउनुभएपछि साथैको मनमा चिन्ताको रेखाहरू देखिन थाल्यो। यसैलाई बुझेर उहाँले त्यहाँ चल्न सक्ने चार गियर भएको गाडीसँग कुराकानीसमेत गरी हामीलाई रारा पुर्याउन भरमग्दुर कोसिस गर्नुभयो। तर सार्थक हुन नसकेपछि अब के गर्ने भन्ने चिन्ता सबैमा जाग्यो। किनभने आज भर्खर त २३ गते भयो, २५ गते दिउँसोको कार्यक्रमको लागि जुम्ला गएर बस्न पनि स्थानीय साथीहरूलाई अप्ठेरो पर्नसक्ने फेरि हिंडेर रारा जान पनि कार्यक्रमको लागि नभ्याउने चिन्ता।
अन्तमा गन्तव्य रारा परित्याग गरी जुम्ला जाने निधो भयो र सोही दिन झिसमिसेमै तिलाको तिरैतिर जुम्ला पुगियो।
पूर्व निर्धारित कार्यक्रमभन्दा दुई दिन अगाडि नै जुम्ला पुग्दा सहयात्रीहरूमध्ये कोही जुम्लाको सौन्दर्यदेखि लठ्ठिए भने कोही रारा पुग्न नपाएकोमा खिन्न देखिए। बेलुकी खानापछि छलफल भएअनुसार उद्घाटन कार्यक्रम सकेरमात्र राराको लागि प्रस्थान गर्ने सहमति बन्यो।
केही साथीहरूलाई धैर्य भएन भनौं या नजिकै आइरहेको बिस्केट जात्राले तान्यो भनौं भोलिपल्ट (२४ गते) एकटोली ६/७ जना राराको लागि प्रस्थान गर्यो। जसमध्ये २ जना बीचबाटोबाटै कार्यक्रम परित्याग गरी पुनः जुम्ला फर्किए।
२३ गते साँझ जुम्ला बजार घुमेर हेर्दा सायदै कसैले सोचेको होला कि कालीकोटजस्तो विषम भूगोलको भित्रतिर जुम्लाजस्तो सौन्दर्य पनि लुकेको होला। जहाँ सबैले अघिल्ला दिनमा भोगेका दुःखकष्टलाई भुले।
कर्णालीमा रहेको यस सौन्दर्यपूर्ण र शान्त जुम्लालाई यति धेरै आकर्षण र साम्य बनाउन त्यहाँ बग्ने तीला नदीको महत्त्वपूर्ण भूमिका छ जसको दायाँ–बायाँ आकर्षक फाँटहरू फैलिएका छन्। अझ चैत महिनाको सट्टा भदौ असोजमा त्यहाँ पुग्दो हुँ त देशैभरि नाम कमाउन सफल जुम्ली स्याउको स्वाद लिन पाइन्थ्यो। अहिले भने स्याउको सुकुटीले नै चित्त बुझाउनुपर्ने अवस्था थियो।
कर्णालीको सदरमुकाम जुम्ला नेपालकै एक व्यस्त सदरमुकाममध्येमा पर्दोरहेछ। बजार क्षेत्रका प्रायः घरमा पसल खोलिएबाट यो ठाउँको व्यस्तता सहजै अनुमान लगाउन सकिने अवस्था थियो। कर्णाली जुम्ला जिल्लाको लागि मात्र नभएर आसपासका अन्य क्षेत्रको लागि पनि जुम्ला बजारले रामै्र सेवा दिएको अनुमान गर्नसकिन्छ।
जुम्ला बहुमुखी क्याम्पस, कर्णाली प्राविधिक शिक्षालय, चन्दननाथ उमाविलगायत तीला पारी पूर्वमा समेत उमावि सञ्चालन भएको देखिन्छ। यसबाट जुम्ला बजार, शैक्षिक रुपले तुलनात्मक रुपमा पछाडि नपरेका अनुमान लगाउन सकिन्छ। मध्यपश्चिमका यी शैक्षिक संस्थामा पूर्व झापादेखि दार्जिलिङसम्मका शिक्षकहरू रहेको कुराबाट भौगोलिक र क्षेत्रीय तथा जातीय गरी नथाक्ने कठिन नेताहरू र बुद्धिजीवी भनाउँदाहरूलाई गतिलै जवाफ दिइरहेको छ।
हवाई सेवाको स्तर पनि तुलनात्मक रुपमा रामै्र देखिन्छ।
चैत २४ गते आदरणीय नेता नारायणमान बिजुक्छेंको स्वागतपछि मात्रै सहयात्री मित्रहरूको मनमा उब्जेका अनेक शङ्का–उपशङ्का निराकरण भयो। किनकि यात्राको क्रममा सम्मेलन तयारी समितिका संयोजक उकेश कवां र पूर्वअध्यक्ष तथा सभासद् जग्यबहादुर शाहीले गाडी दुर्घटनाबारे सबै साथीहरू सूचित थिए।
एयरपोर्टमा नेमकिपाका अध्यक्ष रोहितलाई स्वागत गरेपछि साथीहरूमा नौलो आशा पलाएको आभाष भयो। सोही बिहान सरसफाइ कार्यक्रम सम्पन्न गरी अपराह्न पत्रकार सम्मेलनसम्मको माहोल अवलोकनपश्चात् नेमकिपाले चेतनाको विजारोपण गरेको कर्णालीमा नयाँ रक्त सञ्चार भएको महसुस सर्वत्र गरियो। पत्रकार तथा अन्य जिज्ञासुले भरिएको पत्रकार सम्मेलनको दृश्यले यस्तै सङ्केत गरिरहेको थियो।
साँझ भोलिको मुख्य कार्यक्रमको उद्घाटन तथा सभाको पूर्वतयारीस्वरुप गरिएको दीप र्यालीले रौनकता थप्ने काम गर्यो। प्रज्ज्वलित दीपसहित बाजागाजाको सुमधुर ध्वनीले जुम्ला बजारलाई कार्यक्रममा सक्रिय सहभागिता जनाउन सूचित गर्दै थियो। तर र्यालीमा जुम्ला बजार क्षेत्रका जनताको मेरो अपेक्षाअनुरुप सहभागिता नदेखिएपछि मनमा उब्जेका प्रश्नहरूसँगको साथीमाझ राख्दा यसको उत्तर भोलि पाइने जवाफ पाएँ।
नभन्दै उद्घाटन सत्रभन्दा अगाडि जम्मा भएको जुम्लाको गाउँ गाउँबाट उठेको आवाजबाट त्यसको जवाफ पाइयो। वास्तविक जुम्ला चैत २५ गते उद्घाटन जुलुसमा भेटियो। जुन जुम्ला बजारभन्दा भिन्न छ। लवाइखवाइमा, जीवनयापनमा र सबैभन्दा महत्त्वपूर्ण कुरा वैचारिक अडान र धरातलमा जसले नेमकिपालाई जुम्लामा अझै निश्चल र निष्कपटपूर्ण बनाई स्वाभिमानको जीवन सिकाइरहेको छ।
जुम्लाको विभिन्न गाविसलगायत छिमेकका जिल्लाहरूबाट जम्मा भएका र विभिन्न जिल्लाबाट त्यहाँ पुगेका प्रतिनिधि, पर्यवेक्षक तथा अन्य पार्टी समर्थक तथा शुभचिन्तकहरूको त्यो सागरले जुम्लामा नेमकिपालाई पुनःएकपटक राम्रोसँग स्थापित गरिदिएको छ। जुम्लामा राजमार्ग त भर्खर खुलेको हो। तर वैचारिक राजमार्ग निर्माणको लागि नेमकिपाले गरेको योगदानलाई यो क्षेत्रमा कसैले नकार्न सक्दैन।
अझ रमाइलो कुरा के थाहा पाइयो भने कर्णाली क्षेत्रका हरेक राजनैतिक पार्टीमा काम गर्ने नेता भनाउँदाहरूका प्राथमिक स्कूलिङ नेमकिपाबाटै भएको र समयको अन्तरालसँगै तिनीहरू अवसरको खोजीमा आफूलाई राजनैतिक रुपमा जन्माउने पार्टी नेमकिपा छोडेर अवसरवादी प्रमाणित भएका हुन्। जसले तिनीहरूले न त पछिल्लो पार्टीमा राम्रो स्थान पाइरहेका छन् न त पहिलाको जस्तै प्रतिष्ठा र मान सम्मान बस्न जानेका छन्। यसले के कुरा प्रमाणित गर्न मद्दत गर्छ भने वैचारिक रुपमा नेमकिपा अझ पनि पहिलो पार्टी हो। जसलाई त्यहाँको अन्यले पनि अनौपचारिक भेटमा स्वीकार्ने गरेका छन्।
खर्चको हिसाबले अहिलेसम्मकै सबैभन्दा महङ्गो कार्यक्रम होला सायद। त्यसैले यसको महत्त्व चिरकालसम्म रहने विश्वास गर्दछु। चेतनाको विजारोपण गरेको यस ठाउँको सम्मेलनले गाउँठाउँका जनता बिउँझाउने वास्तविक कार्य कसले गरिरहेको छ भन्ने प्रश्नको उत्तर दिन्छ। आफूलाई हात्ती पार्टी दाबी गर्दै अरुलाई मुसा देख्ने प्रवृत्तिको विरुद्धमा यो एक गतिलो झापड पनि हो।
अन्तमा देशको यस्तो महत्त्वपूर्ण स्थानमा सम्मेलनको आयोजना गरी देश दर्शन गराउने महत्त्वपूर्ण कार्य गरेकोमा सम्मेलन आयोजक समिति धन्यवादको हकदार छ। जुम्ला वास्तवमै सम्भावनाको क्षेत्र हो भन्ने कुरा त्यहाँ तीव्र रुपमा विकास भइरहेको आवास तथा बजारले पनि प्रमाणित गर्छ। सँगै जुम्लाको रक्तसञ्चार तीला नदी र अन्य सहायक खोलाहरूमा देखिन थालेको प्रदूषणलाई समेत बेलैमा सम्बोधन गर्नु अत्यन्त आवश्यक छ।
(स्रोत : मजदुर दैनिक)