कथा : नयाँ वर्ष- जून ओर्लिएको रात

~लारा राई~Laxmi Rai 'LARA'

रिपल्स वे, साउथ चाईना समुद्रको किनारमा भखर्र जूनको छाँया ओर्लिएको छ। नरिवलका पातजस्तै भएका वृक्षहरु अर्ध ढल्किएका छन् यो समुद्री किनारै, किनार। ती वृक्षहरुका लामा, लामा पातहरुसँग लुकामारी खेल्दै जूनको त्यो छाँया मेरो काखसम्म फैलिन आइपुग्यो। म औधी प्रेम गरिरहेकी छु यो छाँयालाई।

दिनभरको व्यस्ततापश्चात् समद्रको यो किनारमा साँझपख, क्षितिजमा डुब्दै गरेको घामको लालिमा हेर्दै रमाउनुको आनन्द नै बेग्लै हुन्छ। अहिलेभने, रात्री-बीबीक्यु भोजमा छौं हामी। समुद्री किनार नजिकैरहेको ब्यस्त विविक्यु स्पटमा। नयाँ वर्षको आगमनलाई स्वागत गर्दै। सँगै छन् साथीहरु। सँगै छ मन। हावा चलिरहेको छ। समुद्री हावा। हावासँगै बीबीक्युको गन्ध। बीबीक्युको गन्धसँगै छुट्दै गइरहेका छन् समय, साथ र उमेरहरु। नयाँ वर्षको आगमनसँगै वास्तवमा हामी आफैंले, आफ्नो मृत्युका दिनहरु कुरिरहेका हुन्छौं। हेक्का राख्दैनौं यद्यपि सामान्यतया अनदेखा यथार्थहरु। जे होस्-

सबै बिर्सिए पनि अरु दिन विशेषतः चाडपर्व/नयाँ वर्षहरुमा आफन्त र साथीहरुलाई शुभकामना सम्झेसम्म पठाउने गर्थें। केही वर्ष यतादेखि भने, निक्कै निष्कृय बन्दै गइरहेकी छु। उमेरसँगै सायद जाँगरहरु पनि सेलाउँछन् सम्पर्कमा रहिरहन। यद्यपि, सञ्जालले हिजोआज सहज बनाउँदै लगेका छन् मान्छेका दिनचर्याहरुलाई। भ्याउने कतिबेला। जिम्मेवारी, व्यस्तता पनि संभवतः थप पक्षहरु हुन्। साथीहरु धेरै छन् मेरा। तीमध्ये स्कूले जीवनदेखि नै हांगफरी लिम्बू, -हिउँकी रानी अरे नामको अर्थ लिम्बूभाषामा) यस्तै केही भनेकी थिई। असाध्यै गोरी छे हरि। बज्यैले त्यसैले हिउँजस्ती सेती भनेर राख्नुभएको रे त्यो नाम। हाम्रो मित्रता आजपर्यंत आत्मीय र न्यानो रहँदै आएको छ। हांगफरी तर, साथी संगाती र सबैले माया गरेर “हरि” भनेर बोलाउँछौं उसलाई। उनीसँग पनि सम्पर्क टुटेको निक्कै भएछ। करिब तीन वर्षपश्चात्, कुन झोंकमा हो अस्ति नयाँ वर्षको शुभकामना पठाएँ।

साथी,
धेरै मित्रहरुका हुलमा ल है मिसिन आइपुगें लामो अन्तरालपश्चात् म पनि, भन्नलाई-”नयाँ वर्ष २०६६ सालको हार्दिक शुभकामना। ”

मलाई रुचाउनेहरुको हुलमा मिसिन आएछौ, स्वागत छ साथी। थप लेना, देना त्यस्तै हो तर यतिका समयसम्म “गुमनामी” का कारणहरु धरानमा छु यतिबेला। तिम्रो मेलको कुरा गरेकी थिएँ चिनारुहरुसँग। सबैले सोध्या छन् तिमीलाई। भेडेटार क्याम्पिङ जाँदैछौं हामी नयाँ वर्षको पिकनिकको अवसरमा। बहानामात्रै हो नयाँ वर्ष पनि। भेडेटारको पिकनिक। उमेर पनि ढल्कँदै गएन र यार -धरानमा प्रायः निकट साथीहरुसँग यार भनेर बोलिने चलन छ) तिम्रो के छ नि हङकङमा नेपाली नयाँ वर्षको तयारी ?

तिम्रो लंगौटी मित्र।

मेल लामै लेखेकी रहिछे-

भेडेंटारको पिकनिकको प्रसंगसँगै किशोरावस्थाका स्मृतिका पानाहरु फर्ररर एकपटक पल्टाएकी रहिछे। हरिलाई राम्ररी थाहा छ, फागुनी मौसम र आरुका फूलहरुप्रतिको मेरो मोह। नोष्टाल्जिक अनुभूतिहरु पनि अनौठो हुँदो रहेछ बल्झिरहने। हरिसँग गाँसिएका सम्झनाहरु बल्झिए…………खुशी एवं दुखी दुवै हुँदाका क्षणहरु। नेपाल छोडेयता भुसुक्कै बिर्सिएकी थिएँ। उपलब्धि बिनाको ब्यस्तता आफ्नै पनि पत्याई नसक्नु छ। केही वर्षयता ठ्याम्मै सम्पर्कविहीन हरिलाई अस्ति खै कुन्नि Û कुन झोंकमा मेल गरें।

विदेश बसेर स्वदेशका साथीहरुलाई माया मारेको भन्ने आरोप लगाएकी रहिछे।

सकरात्मक सोचसँगै जुझारु एवं स्वावलम्बी ब्यक्तित्वकी हरिको मित्रतालाई मैले सधैं गर्व गरेकी छु। मुलुकमा विद्यमान तमाम समस्याका वावजूद पनि नेपालमा केही गर्न सकिन्छ भन्ने उसको प्रवल धारणाप्रति मेरो सदैव समर्थन रहँदै आएको छ। नेपालको भविष्य सम्झेर त्यति हतोत्साही नबनेकी तर दक्षशिल्पीहरु मुलुकदेखि पलायन हुँदै गएको अवस्थाप्रति चिन्ता ब्यक्त गर्छे। उसको चिन्तालाई म के भनेर सम्झाउन सक्छु र ! म आफैं विदेशमा बस्छु। मुलुकमा बसेर भोग्नेहरुलाई नै थाहा हुन्छ यथार्थका आँकडाहरु।
हरि, म समिक्षक होइन। न त राजनैतिक बहस मेरा बशका विषयहरु हुन्। कयौं प्रतिभा र शैक्षिक ब्यक्तित्वहरु नेपालमा बस्न र केही गर्न चाँहदाचाँहदै पनि प्रवास पलायन भएका छन्। बस् राजनैतिक धारणा एवं वर्तमान अवस्था जस्तै रहेको होस् समग्रमा, जात, धर्म एवं इलाकाको आधारमा मुलुक विभाजित हुनुहुँदैन। सुन्या छु, धरान लिम्बूवान प्रदेश भा छ रे आफ्नै झण्डा पनि देखेकी थिएँ एउटा वेबन्यूजमा। हार्दिक श्रद्धा छ मेरो भिन्दाभिन्दै हरेक जनजातिहरुका आ-आफ्नै कला, धर्म-संस्कृति, धारणा इत्यादीप्रति। धरानको त्यो आँगन, जहाँ छमछम नाचेर म ठूली भएँ कथंकदाचित् साथी Û तिमीलाई भेट्न धरान (लिम्बुवान) आउँदा “भिसा” लिनुपर्ने नियति मैले भोग्नु पर्‍यो भने ? पाइलाहरुसँगै मेरो मुटु कति बोझिलो हुन्छ होला हगि ! यस्ता धेरै अप्ठेरा तथ्यहरु जेलिन सक्छन् हाम्रा अघिल्तिर जातीय पहिचान, धर्म-संस्कृति आदि/आदि। तर्क र अड्कलबारे यो भन्दा बढी बोल्न चाहान्न म।

टुप्लुक्क कहाँबाट आइपुग्यो फैलिएर जूनको यो छाँया मेरो काखसम्म ? हरिपनि आई सँगै अदृश्य। भौगोलिक भिन्नता न हो जूनको उपस्थिति। भेडेंटारको त्यो पठार जमिनमा पनि ओर्लिएको हुनुपर्छ यतिबेला जूनको यो छाँया। हरिले तर मलाई सम्झेकी छ कि, छैन होला कुन्नि ! म भने सबै, सबै सम्झन्दैछु-

किशोरावस्था हुँदै वितेका हाम्रा यौवना क्षणहरु।

मधेश, तराई हुँदै धरान अनि काठमाडौँसँगैको बसाई सराईक्रमको क्रममा सबै प्रकारको जनजीवनप्रति म परिचित छु भन्ने हेक्का हरिलाई राम्ररी थाहा छ तसर्थ, मेरो जिब्रो शौक र स्वादप्रति हरि दंगपर्दै औंला टोक्थी। मधेशको झालमुरीदेखि, धरानको कालो बंगुरको मःमः काठमाण्डौंको छोयला सबै, बनाएर चखाएकी छु मैले। अनेकन शौक र सपनाभित्र बाँच्ने जिद्दी केटी म। हरिले सँधै मेरो उट्पटयांग ब्यवहारलाई साथ दिएकी थिई तर कुकिंङको सन्दर्भमा, उ भन्थी-भाँडा माझ्न सघाउँछु, कुकिंङ ? नो वे प्लिज ! काठमाडौँ कलेज पढ्न बस्दाका नितान्त निजी दैनिक उतार-चढावहरु।

वास्तवमा, तीन नमुना सँगै बस्थ्यौं हामी। राजधानीको एउटै डेरामा। सिरियस हरि। विन्दास लारा। रोमाण्टिक भारती। शालिन एवं भद्र ब्यक्तित्वकी धनी हरि। पारिजातको कृतिको प्रशंसिका एवं पाठक। हिउँदको पारिलो घाममा घरको छतमा सुकुलमा पल्टिएर सुन्तला खाँदै बच्चाजस्तै “कमिक्स” पढ्ने शौक मेरो। टाढा बाट हेर्नेले खुस्किएको दिमागजस्तो देखिने, एक्लै हाँस्दै कमिक्स पढिरहेकी हुँन्थें म। भारती, ढाड फर्काएर “मिल्स एण्ड वुन” को रोमाण्टिक उपन्यास रोमाञ्चकासाथ पढ्दै गरेकी हुन्थी। अंग्रेजी बोल्नु पर्ने ढर्रा उसको अन्ततः अंग्रेजी मुलुक नै पलायन भई। अमेरिका बस्छे हिजोआज। म कमिक्स पढ्थें। त्यही पनि हिन्दी भाषामा। हाँसो लाग्छ, हिन्दी गतिलै सिकिएछ। बोलिन्छ मज्जैले। कण्ठै आउँछन् कमिक्सका पात्रहरुका नाम अझै पनि। हिन्दी प्रभावित भएर होइन। जानी, नजानी अम्मली भइयो कलेज पढ्दासम्म हिन्दी कमिक्स पढ्ने। मान्छेका रुचि, स्वभावहरु पनि कस्ता, कस्ता। अलिक उट्पटयाङे विन्दास स्वभावकी थिएँ म क्यार !

कतिसम्म भने, एकताका क्याम्पसमा केटीहरुको कपालको मेहन्दीको चमक कस्को गाढा बन्ने फेशन चलेको थियो। उक्साउने बदमास म थिएँ। भारतीले लगाई। फैशनेबल जो थिई। राति लगाई। सुत्ने बेलासम्म सुक्ने कुरा भएन हिउँदको चिसोमा। जति लामो समय लगायो उति गाढा। मेरो अर्को थप बदमासी सल्लाह। टाउको बाँधेर त्यतिकै सुतिई बिचरी। के हुन्थ्यो ! तकियाको सेतो खोलसँगै स्वास्थ्य पनि बिगारी। अनि, तीन दिनसम्म चिसोले ज्वरो आएर ईन्तु न चिन्तु भएर ढलेकी थिई। मेरो उट्पट्यांग उक्साहटलाई कम्ती गाली गरेनन् दुवै साथीले। हरिले सिरियली नै चिन्ता ब्यक्त गरि-भारती साँच्चै साह्रै नै बिमार भइदिएकी भए ? संभव नहोला भन्न सकिंदैन। काठमाडौँको जाडो अनि प्रदूषित पानीको कमाल। चार दिनपश्चात् भारती दुरस्त/तन्दुरस्त भई। मैले हल्का अनुभव गरें।

सिरियस हरि। विन्दास लारा। रोमाण्टिक भारती। तीन अलग नमुनाहरु शहरका। अब सँगै छैनन् तीन जना। अलग, अलग मुलुकमा बस्छन्। जूनलाई साक्षी राखेर फूलसित प्रेम गर्नेहरुजस्तै हाम्रो मित्रता, प्रेम जहींरहे पनि आ-आफ्नै ढंगले सम्झिरहेका हुनेछौं भन्ने तय आफ्नै प्रकारको थियो हाम्रो।

जूनको छाँया ओर्लिएको नयाँ वर्षको यो सुखद रात। मध्यरातमा, ओर्लिएर आएका छन् जूनका छाँयासागै मेरा अभिन्न मित्रका यादहरु पनि। साउथ चाईनाको यो समुद्री किनारसम्म। त्यसैले, मैले औधी प्रेम गरेकी हुँ, मेरो काखसम्म फैलिन आइपुगेको जूनको यो छाँयालाई। वातावरणमा नरिवलका पातजस्तै लामा पातहरु हल्लिरहेका छन्। अनवरत् समुद्री हावाको झोंकाले। आउँछन्/जान्छन्। ओहोर/दोहोर गरिरहन्छन् सम्झनाहरु पनि पोलेको पखेटा, रिब्स चपाउँदै गर्दा। बल्झिन्छन् एकैचोटि शिव झट्टा, शेरा खोला, भेडेंटारमा साथीहरुसँग मनाएका/खाएका नयाँ वर्षका वनभोजहरु।

प्रिय पाठकहरु !
दिक्क लाग्ला तपाईहरुलाई। नोष्टाल्जियाको बखान गर्छे सधैं लारा। प्रवासमा जो बस्छन्। उनीहरुका लागि नोष्टाल्जिय एक मिठो प्रेम र अनुभूति हो। लाग्छ, जीवन आफैंमा एक “नोष्टाल्जिया” हो। नोष्टाल्जियाका त्यहि अनुभूतिहरु यसरी बल्झिन्छन् त कस्को के लाग्छ ?
लमतन्न यो समुद्री बगर। रेडवाइन पिएर झुमिरहेको नयाँ वर्षको रात। विगतका ह्यांगओवरसँगै मदहोश लाग्दैछन्। किनारसम्म आउँदै/फर्कँदै जिस्किरहेका छन् समुद्रका छालहरु। लाग्छ, समुद्री संगीतका धुनहरु हुन् छालका ती लहरहरु पनि। थोरै वाइनको नशा, थोरै लहरका धुन तर धेरै यादहरु बाँचेर साथी, आफन्त तथा परिवारहरुका, गुन्गुनाइरहेकी छु म यतिबेला- “जसो गर जे भन जतासुकै लैजाउ मलाई ………..यो मन त मेरो नेपाली हो…………..।”

समयसँगै बुढ्यौली उक्लंदै गरेका हाम्रा उमेरहरु, फर्केर आउने अब कुनै गुञ्जायस रहने छैनन्। समयसँगै पैंयु फुलेजस्तै सेताम्मे क्रमशः फुल्नेछन् हाम्रा कपालहरु अनि उमेरसँगै चाउरिएका गालाहरुभित्र किंवदन्ती बन्ने छन् एकदिन हाम्रा मित्रताका कथाहरु पनि। मात्रै यसरी फर्कंदो रहेछ-सम्झनाहरु भने बारम्बार। नयाँ वर्ष- जून ओर्लिएको रात।

April 16th, 2009

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.