छन्द कविता : मेरो बास कहाँ थियो र पहिले

~प्रविण अर्याल~ pravin-aryal

छन्द : शार्दूलविक्रीडित

ऽ ऽ ऽ । । ऽ । ऽ । । । ऽ ऽ ऽ । ऽ ऽ । ऽ
मेरो वास कहाँ थियो र पहिले ऐले यहाँको भएँ ।
जाँला लौ कुन लोकमा र पछि त्यो जान्ने म आफू भएँ ।।
यो मेरो अनि भोगको र हकको आफ्नो र अर्को गरी ।
कालान्तर् विच मोहका जकडमा बल्झेर भुल्न्या भएँ ।।

आएँ औ कसरी धरातल महाँ उद्देश्य कस्तो लिई ।
यो चोला नरको र जीव गतिको के के छ मायाँ मति ।।
यी सारा विधि जाल के किसिमका आधारमा छन् पनि ।
भन्न्या लौ शुभ तर्कना पनि यहाँ खुल्दैन कस्तो परी ।।

यै हो एक विशाल मोह सवको यै एक कारण् पनि ।
मायाँले सव जीवका उपरमा प्रत्यक्ष वाधा दिने ।।
तस्मात् यो नर नामले विविधता बोकेर कैले अनि ।
आफ्नै उद्गम वा मुहान पनि जो जान्दैन जान्ने पनि ।।

के के छन् गति जीवका र कति छन् आकार प्रकार ती ।
मेरो जीवनको कहाँ छ अव त्यो गन्तव्य भन्न्या पनि ।।
थाहै छैन भने यहाँ म यसरी यो सृष्टि जञ्जालमा ।
मेरै अस्तित्त्वको निमित्त कसरी झेल्दो छु बाधा कहाँ ।।

जो हो जीव उसै सरासर नयाँ पाएर चोला सदा ।
आफ्नै कारणमा खडा छ अनि औ गै जान्छ गन्तव्यमा ।।
मेरो वास तसर्थ लोक गतिका आदर्श सिद्धान्तमा ।
कालान्तर् विच् चक्रका किसिमले त्यो आउन्न शब्दार्थमा ।।

शार्दूलविक्रीडित छन्द, -म स ज स त त गु ।
१२ – ७ मा विश्राम – १९ अक्षर

#KP_Aryal
@Pravinaryal20
प्रविण अर्याल
कावासोती-८, नवलपरासी (हाल काठमाडाैं)

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.