~निराजन राजालिम ‘बतास’~
हे मनुष्य,
म तिमीलाई ईशारा गर्दै छु
अमुक भाषामा
यी कोमल हातहरुले
तिमीलाई उपदेश दिदैछु;
यो खुला पन्जाले जनाउछ
म,तिमी
अनी हामी
सबै खाली हात
यस् धर्तिमा आयौ
केवल खाली हात
नत बिल गेट्सले
कुनै सम्पत्ति लिएर आए
नत जर्ज बुशले
कुनै शक्ति लिएर आए
तर के तिमीलाई थाहा छ?
धिरुभाइ अंबानीले
कति सम्पत्ति आफुसँग लगे?
सद्दाम हुसेनले
कति शक्ति आफुसँग लगे?
पृथ्वी नारायणले
कति जमिन आफुसँग लगे?
हिटलर, मुसोलिनी, जंग बहादुरहरुले
के के कुम्ल्याए?
जब प्राणी यो नश्वर शरीर त्याग्छ
तब फगत: खाली हात फर्कन्छ
यो ध्रुब सत्यलाई
गोजिमा लुकाएर
किन यत्रो अशान्ति मच्चाउछौ?
एकले अर्काको हत्या,
छल कपट,
मारपिट,
त्राहिमाम्
अहो! कति बिभत्स छ,
कति कुरुप छ।
यि सब द्रिटिगोचर गर्न
असमर्थ मेरा
नाजुक नयनहरु
बन्द छन्।
सबैजना भ्याए सम्म
हरेक कुरा
आफ्नो मुट्ठिमा पार्न
कति हैरान,
कति परेशान।
नेतालाई हेर
कसरी सत्ता
आफ्नो मुट्ठी भित्र पार्ने धाउन्न,
ब्यापारिलाइ हेर
सारा सम्पत्ति
आफ्नो मुट्ठी भित्र पार्ने लालशा।
मेरो दोस्रो हातको मुट्ठिले
यहि कुराको इंगित गर्छ।
तिमी बस्
ईशारा बुझ्ने प्रयास गर;
हामी खाली हात आयौ
र खाली हात जान्छौ।
संसारको हरेक बस्तु
हिजो न त मेरो थियो
न त भोली मेरो हुनेछ
भने, किन आज म
मुट्ठिमा बाध्ने प्रयास गरुँ?
कृपया;
तिमी पनि दोस्रो हातको
मुट्ठी खोल्ने प्रयास गर।
तिमीले अलिकती,
मैले अलिकती,
उसले अलिकती,
त्यसले अलिकती
मुट्ठी खोल्दै जाने हो भने
भोली यो संसार सुन्दर बन्नेछ।
जहाँ मैले
शान्ती सँग
अलिकती
श्वास फेर्न सक्नेछु।।
October 30, 2008
(स्रोत : माइ संसार डट कम)