निबन्ध : डाँडा माथिका जूनहरुको सात समुद्र पारीको यात्रा

~रितु कार्की~

छिमेकी दाइभाउजुकोमा ८४ वर्षीया आमा आउनुभएको थियो। आमाको अमेरिकाको यो भ्रमण पहिलो भने थिएन। आमाले बेलायत र थाइल्यान्डमा पनि केही समय बिताइसक्नु भएको थियो। तपाईँलाई लाग्दो हो बुढीलाई त मस्ती रहेछ। तर आमालाई भने हामीले सोचेको जस्तो मस्ती छैन। आमा मस्तीको लागी भन्दा पनि बाध्यताले बेलायत, अमेरिकाको यात्रा गर्नुहुन्छ। छोराछोरी बढे, पढे, अनि सँगसँगै राम्रो कामको खोजीमा विदेशिए। सँगै मर्ने बाँच्ने कसम खाएका बुढाले पनि १५ वर्ष पहिला नै छोडेर गए। बुढीको गाउँमा न टेक्ने लौरो रह्यो, न समाउने लहरो नै। सकुञ्जेल त एक्लै बस्नुभो। जब बुढा ह‌ड्डीहरुले साथ दिन छोडे, आमाको केही लागेन। अनि त फरिया, चोलो र बाह्र हाते पटुकी सँगै आमा पनि विदेशिइन्।

आमा जहाज जस्तो उडेर आफ्नो गाउँबेसी त पुग्न सक्नुहुन्न। तर उहाँको मन भने दिनरात गाउँबेसीमा नै हुन्छ। जीवनको सबैभन्दा धेरै समय बिताएको घर अनि गाउँबेसी सम्झँदा आमाको मन रोइरहन्छ। मनको पीडा पोखिँदा आमा भन्नुहुन्छ, “छोराछोरी पढाएर गल्ती गरेछु। बाँचेका धेरैजसो मेरा दौँतरीहरु कोही विदेशिए त कोही सहर पसे। हाम्रा पल्लाघरे दाइ चाँहि भाग्यमानी रहेछन्। गाउँमा नै छन्। उनका छोराछोरीले पढेनन्, अनि मैले जस्तो उनले गाउँ पनि छोड्नुपरेन। हाम्रो चाँहि बुद्धि पुगेन।”

अब त हाम्रो गाउँमा पनि देउराली छिचोल्दै उकालो लागेको बस आँगनमा नै पुग्छ रे। बुहारीले पँधेरोमा पानी लिन जानु पर्दैन रे। घरैपिच्छे पानीको धारा पुगेको छ भन्छन्। बिजुली बत्ती त म हुँदै आएको थियो, अब त हाम्रो गाउँ पनि गाउँ रहेन। अमेरिका नै भएको छ। एक दिन सेताम्मे हिउँ परेको थियो। घरमा एक्लै बस्दाबस्दा दिक्क भएर छोराबुहारीलाई थाहै नदिइ आमा मलाई भेट्न निस्कनु भएछ।

दुई वटा घर पर रहेको मेरो अपार्टमेन्टमा आमा आइपुग्नु भएन। उता घरमा पनि हुनुहुन्न। चिसो त्यो जाडोमा बुढी मान्छेलाई खोज्दाखोज्दा घरका मान्छे आजित भए। तर उहाँको कतै पत्तो थिएन। अपराह्न ३ बजे उहाँलाई स्थानीय कम्युनिटी सेन्टरमा फेला पार्न सकियो। बाटो बिराएर हराएकी आमालाई गस्तीमा रहेको पुलिस भ्यानले भेटेर त्यहाँ पुर्‍याइदिएछ। अँग्रेजी भाषा नजान्ने आमाको नेपाल भन्ने शब्द बुझेर उनीहरुले नेपाली ट्रान्सलेटरको सहयोगमा घरमा ख़बर गरेका थिए।

उहाँलाई भेट्टाएकोमा हामी सबै खुशी थियौँ तर हराएकी आमा भने हराउन पाएकोमा। केही समयदेखि मान्छेको मुख नदेखेकी आमाले त्यो दिन सेन्टरमा एकैसाथ धेरै मान्छे देखेकी थिइन्। अनि आमा भोलि पनि त्यहाँ जान पाए भन्दै हुनुहुन्थ्यो।

यस्ता घटना यहाँका प्रायः नेपालीहरुको घरघरमा हुने गर्छ। मेरै घरको कुरा गरौँ। घरदेखि चोक र चोकदेखि घर दिनको दश पल्ट गर्ने मेरो ससुरा यहाँ भने कोठामा नै थन्किनु परेको थियो। घरमाथिको आकाशमा कति प्लेन उड्छ भन्ने लेखाजोखा गर्दै उहाँले यहाँको दिन बिताउनु परेको थियो। छोटो समयको लागि आएकी मेरी आमा चाँहि बाहिर मान्छे देखिए कि देखिएनन् भन्दै झ्यालबाट बाहिर चिहाउँदै बस्नुहुन्थ्यो। जे जस्तो कारणबाट यहाँ आए पनि बुढाबुढीको बसाई भने निक्कै कष्टकर रहने गर्दछ।

बाहिर निस्कँदा मान्छेसँग कसरी बोल्ने, अनि जता हेरे पनि उस्तै देखिने यहाँको बाटो र घरहरु बिराइने डरले बुढाबुढी एक्लै बाहिर निस्कँदैनन्। त्यसैले बुढाबुढीले धेरै समय कोठामा नै बिताउँछन्। अनि जता जाँदा पनि आफ्नै सवारी साधन चाहिने हुँदा निस्कनै आँट गर्नेको पनि जाने बाटो छेकिन्छ। सँधै बस्नलाई होस् या थोरै समयको लागि आएका हुन्- उनीहरुलाई घरको यादले निकै पिरोल्छ। छोराबुहारीको भने कामबाट फुर्सद कमै हुन्छ। उनीहरुले बाबुआमाको लागि समय दिन सक्दैनन्। त्यसैले बुढाबुढीले बाहिरको मज्जा कामबाट छोराबुहारीको छुट्टीपछि मात्र पाउँछन। त्यसैले उनीहरु त्यो दिनको प्रतीक्षामा हातको औँला भाच्दै कुरिरहेका हुन्छन्।

-रितु कार्की/अमेरिका
October 20th, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.