~बिजेता~
‘को हो र त्यो बच्चा?’
‘ए, त्यो मेरो एकजना साथीको छोरा हो।’
‘नेपालीको?’
‘होइन, आमा फिनिस हो, तर बाबु कतातिरको बिदेशी हो।’
‘हेर्दा कस्तो नेपालीजस्तो त, आँखा कपाल सप्पै कालै।’
‘कालो कपाल त हामी एसियनहरुको मात्रै होइन, अरुको पनि हुन्छ नि। मेक्सिकन, ब्राजिलियन अरु पनि थुप्रै देशहरु छन् जहाँका मान्छेहरुको कपाल कालो हुन्छ।’
‘के भन्दैछ र उसले?’
म घरमा एक्लै हुँदा काहिलेकांही खेल्न आउथ्यो यहाँ। पर्सि आमासँगै स्पेन जाँदै रै’छ। त्यही भएर यहाँ छुटेका खेलौनाहरु लिन आ’को। यति भनिसक्दा बिनोदले खेलौनाहरु बटुलेर एउटा प्लास्टिकको झोलामा राखिसकेको थियो। झोला त्यै बच्चालाई दिदै फिनिस भाषामा खै के -के भन्यो सबिताको दिमागमा एउटै कुरा पसेन। अनि त्यो बच्चाले खेलौना भएको झोलाबाट एउटा नरम भुत्ला भएको सेतो रङको कुकुर निकाल्दै गर्दा बिनोदले उस्लाई पछाडिबाट जुरुक्क उचालेर आफ्नो काखमा लियो। अनि उस्को गालामा म्वाईँ खाँदै केही भन्यो। त्यो बच्चाले पनि उसैगरी बिनोदको गाला र निधारमा म्वाईं खायो।
कस्तो मायालाग्दो बच्चा, ईंग्लिश बुझ्छ? सबिताले सोधी।
ईंग्लिश त बुझ्दैन, अलिअलि नेपाली बोल्छ।’ बिनोदले त्यै बच्चातिर फर्केर सोध्यो- ‘तिम्रो नाम के हो?’ मुसुक्क हाँस्दै उस्ले भन्यो- ‘मेरो नाम रोज हो।’ सबिता दङ्ग परि। ‘हजुरले सिकाउनु भा’को हो? अरु के-के भन्न जानेको छौ तिम्ले?’ रोज केही बोलेन। ‘धेरै त जान्दैन। अलिअलि मात्रै। नमस्ते, धन्यवाद, हुन्छ, मिठो छ भन्न जानेको छ।’
‘हेइ हेइ’ भनेर हात हल्लाउदै रोज बाहिर निस्कन लाग्दा सबिताले हाँस्दै ‘हेइ हेइ’ भनी।
त्यै दिन चार बजेतिर घण्टी बजेर सबिताले ढोका खोल्दा रोज बाहिर उभिइराखेको थियो। एसपल्ट उस्को साथमा एउटी राम्री बिदेशी आईमाई पनि थिई।
हेल्लो, आइ थिंक यू आर सबिता, एम आइ राईट?’सबितालाई देख्ने बित्तिकै उस्ले भनी।
‘एस आइ एम’ सबिता अली अलमलमा परी।
‘ आइ एम एल्सी, इट्स् रिअल्ली नाइस टु सी यू इन फिन्ल्यान्ड’ उस्ले थपी।
सबिताले उनीहरुलाई भित्र बोलाई। एल्सी र बिनोद कुरा गर्न लागे। उनीहरुको भाषा बेग्लै थियो। तर पनि अनुहारको हाउभाऊ हेर्दा लाग्थ्यो उनीहरु कुनै गम्भिर बिषयमा कुरा गर्दैछन्। सबिताले उनीहरुको भाषा बुझ्दिन भन्नेप्रति वास्तै गरेनन्। सबिताले बिनोदसँग ‘चिया बनाउ?’ भनेर सोधी। प्रतिउत्तरमा बिनोदले एल्सिसँग अंग्रेजीमा सबिताले उस्लाई चिया पिलाउन चाहान्छे भनेर जानकारी गरायो।’ धन्यवाद, आज म अली हतारमा छु, अर्कोपल्ट है’ उस्ले मुस्कुराउदै सबितालाई भनी। एकैछिनमा ऊ निस्केर गई।
‘कुराकानी सुन्दा त उस्लाई केही समस्या पर्या जस्तो थियो है।’
‘ओहो, एक हप्तामै तिम्ले फिनिस बुझ्न लागिसक्यौ, गूड’ बिनोदले जिस्काउने पाराले भन्यो।
‘हैन, अनुहारको एक्स्प्रेसशनले तेस्तै बताइरा’थ्यो।’
‘त्यस्तै हुन् यिनिहरुका समस्या’ छोटो उत्तरमै प्रसंगलाई टुङ्गाउदै बिनोदले भन्यो।
जाडो सकिएर अलिअलि घाम देखिनासाथ अचानक नाटकीय पारामा धर्तीको रंग सेतोबाट हरियोमा बदलिदै गयो। फूलहरु फुल्दै गए। जताततै रमाइलो हुँदैगयो। नेपालबाट आएको दुई महिनामै सबिताले भाषा सिक्ने स्कुलमा भर्ना पाई। बिनोद एउटा सफाइको कम्पनीमा काम गर्थ्यो। सबितालाई फिन्ल्यान्ड नआउदासम्म बिनोदले के काम गर्छ भन्ने बिषयमा राम्रोसँग थाहा थिएन। नेपालमा सबैलाई यतिमात्र थाहा थियो- बिनोद फिन्ल्यान्डको पि .आर (स्थायी बासिन्दा)हो। त्यती भएपछी सबै दङै थिए। ‘बिदेश बस्ने केटो’ मै इस्टमित्र, आफन्त र घर परिवार सबैको चित्त बुझ्यो। त्यो भन्दा अगाडि गएर न त कसैले बुझ्न खोजे, न त बुझाउनुपर्ने परिस्थिती नै आइलाग्यो।
एकदिन स्कुलबाट फर्केर घरमा पस्ने बित्तिकै सबिताले बिनोदलाई रोजसँग खेल्दै गरेको भेटी। देख्ने बित्तिकै उस्ले खुशी हुँदै सोधी- ‘ओहो, कहिले आएको स्पेनबाट?’
‘हिजो आ’को, उसको नाम सबिता हो।’ बिनोदले फिनिस भाषामै रोजतिर फर्केर भन्यो
‘फिनिस बोल्न बिर्सेंको त छैन स्पेन गएर?’ सबिताले सोधी। सबिता पनि सामान्य फिनिस बोल्न सक्ने भैसकेकी थी। त्यसोहुँदा उस्लाई रोजसँग कुरा गर्न अरु बढी रमाइलो लाग्दै थियो।
‘छैन म आमासँग सधैं फिनिस भाषामै कुरा गर्छु। भाषा बिर्सिएला भनेर नै फिन्ल्यान्ड फर्केर आएको।’
‘अब जान पर्दैन स्पेन फेरी?’
‘म अब जान्न। तर आमालाई अझै एक बर्ष उतै बस्नुपर्छ।’
‘किन?’
आमाको जागिर अझै एक बर्ष बाँकी छ।’
‘अनी तिमी कोसँग बस्छौ त यहाँ?’
‘बुवासँग’
कहाँ हुनुहुन्छ त बुवा अहिले?
‘तिमिलाई थाहा छैन र? यही त हो मेरो बुवा’बिनोदलाई देखाउदै रोजले भन्यो।
सबिताको अनुहार रातो भयो। मुटुको धड्कनको गति तीब्र हुनलग्यो। उसले काँपेको स्वरमा बिनोदतिर फर्केर भनि-’के हो र यो सब?’
बिनोद केही बोलेन। ‘तिमी जिस्केर भनेको हो? बिनोद कसरी तिम्रो बुवा हो त?’ यसो भन्दै गर्दा सबिताको आँखा रसाएर गालाको बाटो हुँदै आसुँ च्यापुको किनारमा पुगेर भुइँतिर तपतप खस्दै थियो।
‘मैले जिस्केर भनेको होइन। बिनोद नै मेरो बुवा हो। पहिला हामी यै घरमा संगै बस्थ्यौ। यहाँ भएको कुकुर पनि मेरी आमाले नै किनेको हो। गएको डिसेम्बरमा बुवा नेपाल जानुभन्दा पहिला मेरो बुवा र आमाको झगडा परेर सम्बन्ध बिच्छेद भयो। त्यसपछि म आमासँग बस्न लागेको हो।’
‘मलाई तेस्तरी झुक्याउनु भयो? मैले के बिगारेकी थे’र?’ भन्दै सबिता बेस्सरी रुन लागी। रोज अलमलमा पर्यो। एकैछिन चुप बसेपछी बिनोदतिर हेरेर ‘सबिता किन रोएकी हो र?’ भनेर सोध्यो। अहिले पनि बिनोद केही बोलेन।
सबिता एकोहोरो रोइराखी। ‘भयो अब चुप लाग।’ अलि झर्किएको आवाजमा धेरैबेरपछी बिनोदले भन्यो।
‘हजुर यस्तो बेइमान हुनुहोला भन्ने त मैले मेरो सपनामा पनि सोचेकी थि’न’ सबिताले रुदै भनी।
‘यो मेरो रहर होइन, बाध्यता थियो। तिमी बुझ्ने कोशीस गर। त्यसै बच्चाजस्तो रोएर समस्याको समाधान हुन्छ र? तिमी त अली बुझ्ने छौ होला भन्ने लागेको थियो मलाई त। फेरी बिग्रेको नै के छ र? एक बर्षसम्म त हो नि रोज हामीसँग बस्ने। आमा आएपछी उसैले लैजान्छे। तिमी कुरालाई धेरै ठुलो बनाउन खोज्दैछौ त्यसै।’ सबितालाई एकदमै रिश उठेर आयो। माफ मग्नु, फकाउनु त परै जवोस् के नै भा’को छ र? भन्ने पाराले कुरा गर्दै थियो बिनोदले। दुबैको बेस्सरी भनाभन भयो।
सिनेमाको पर्दामा र कथाहरुमा भेटिने जस्ता घटनाहरु उस्को आफ्नै जीवनमा पनि घट्न सक्ला भन्ने सबितालाई कहिले लागेको थिएन। सबैकुरा राम्रै चलिरा’को थियो। राम्रो स्तरको जागीर त थिएन बिनोदको। तर पनि वरपर रहेका नेपालीहरुलाई हेरेर बिनोदको जागीरप्रति सबिताको चित्त दु:खाई थिएन। उस्ले राम्ररी बुझेकी थी राम्रो स्तरको काम पाउन यहाँ कमचुनौतिपूर्ण छैन भनेर। नेपालतिर पनि सबै दङ्गै थिए। वरपर छर छिमेकमा छोरी फिन्ल्यान्डमा छ भनेर गफ गर्नलाई बाटो बनेकी थी ऊ। बिनोदका घरमा पनि कम फूर्ति गर्दैनथे। उस्को बिहे हुने बेलामा ठूला-ठूला खान्दानी घरका थुप्रै छोरीहरु हेरेर तिनीहरुमध्ये छनौटमा परेकी थी सबिता। बिहे भएको चार महिनामै फिन्ल्यान्डको लागि भिसा लाग्यो उस्को। त्यसपछिका दिनहरु रमाइलोसँगै बित्दै आएका थिए।बिनोद साँझ र बिहान काममा जान्थ्यो। सबिताले आउने बित्तिकैबाट भाषा पढ्न थाली। राम्रोसँग भाषा सिकेपछी नर्सको पढाई पढ्ने उनीहरुको योजना थियो। नर्सको पढाई गर्न सके काम पाउन सजिलो हुने हुँदा उनीहरु यसप्रति आकर्शित थिए। तर आज एउटा तीतो सत्य सबिताको सामु छर्लङ हुनआयो। जसले गर्दा उसका सम्पूर्ण सपनाहरु डगमगाउन लागे। मनबाट बिनोदकाप्रति रहेका सम्पूर्ण आस्था, श्रध्दा र विश्वाश अचानक उडेर कता पुगे कता। जता हेर्यो अध्यारो मात्रै आँखा अगाडी आउनलाग्यो।
साँझको छ बज्नलाग्यो। बिनोदको काममा जाने बेला भयो। अरु दिन जस्तो न त सबिता उठेर उसको लागि चिया बनाउन गै, न त ढोका खोलेर बाहिर निस्कनै लाग्दा ‘छिटो आउनुस् है’ नै भनी। बिनोदले ढोकानिर पुगेर ज्याकेट र जुता लगायो। आफूतिर हेर्छे कि भन्ने आशाले आँखा सोफामा घोप्टो मुन्टो गरेर बसेकी सबितातिर नै केन्द्रित थिए। तर उताबाट कुनै खालको प्रतिक्रिया आएन। सबिताको मनमा ठूलो आँधिहुरी चल्दै थियो। त्यै हुरिको बहावले उस्लाई अन्तै कतै पुर्याइदिएको थियो।
‘अब मसँगै हिड् तँ पनि। कसैको घरमा लगेर छोड्छु। काम सकिएपछी लिन आउछु।’बिनोदले एकपल्ट फेरी सबितालाई हेर्दै भन्यो। यसपल्ट पनि सबिता प्रतिक्रिया बिहिन नै बसी। रोजको हातमा समाएर बिनोद ढोका खोलेर गयो।
सबितालाई झन् नराम्रो लाग्यो। सबै कुराहरु सम्झदै गै। नेपाल सम्झी, माइती सम्झी, मन पिरो भएर आयो। बिनोद त्यो हदसम्म पुग्न सक्ला भन्ने सबिताको कल्पना बाहिरको कुरा थियो। त्यत्रो ठूलो झुटको बारेमा झुक्किएर पनि कुनै दिनमा थोरै सुइंको समेत दिएन। अलि-अलिसम्म थाहा पाएको भए यती बढि पीडा हुने थिएन शायद। धेरैबेरसम्म सोफामा बसेर पुराना कुराहरु सम्झदै रुदै गरी। बिनोद कामबाट फर्कने बेला हुन लागेपछि सबिता बाहिर निस्की।
घरभन्दा पर रहेको पार्कमा पुगेर एक्लै बसी। दिमागमा धेरै कुराहरु खेल्दै थिए। बिनोदसँग धेरैपल्ट साँझमा डुल्न आएको पार्क हो त्यो। तर आज त्यहाँ सबथोक अर्कै लाग्यो उस्लाई, निरस, शून्य। सोची -’अब फर्केर नेपाल जान्छु। केही न केही काम त कसो नपाएला?’बिहे नभएको भए उस्ले काम पाउनै आटेकी एउटा बैंकमा । उस्का दाईले कुराकानी मिलाएर काम लगाइदिनै लागेको बेलामा उस्को बिहे भयो। भिसा लाग्ने बित्तिकै फिन्ल्यान्ड जाने भन्ने कुरा भएपछी किन बेकारमा काम सुरु गर्ने भनेर त्यो कुरा तेसै सेलायो। आज लाग्दै थियो दाईले भनेको मानेर दाईसँगै क्याम्पसमा पढाउने भरत सरसँग बिहे गरेको भए आज यी सबै त भोग्नुपर्ने थिएन। नेपालमै बसेकी भए अहिले ऊ पनि बैंकमा काम गरेकी हुन्थी। अर्कै इज्जत र आत्मसम्मानपूर्णको जीन्दगी हुन्थ्यो। सम्झेर झन् मन दुखेर आयो। फेरी सोची-’अब फर्केर म नेपाल गए भने बुढा भएका बुवा-आमालाई कस्तो लाग्ला? अहिले भ्रममै भए पनि छोरी खुशी छे भनेर मनमा शान्ति त छ कमसेकम। फेरी पेटमा बढ्दै गरेको बच्चाको भविस्य? नेपाल छोडेको पनि दुई बर्ष भैसक्यो। सबैकुरा पहिलजस्तो सहज पनि छैन अब। काम पाइएन भने कति दिन माइतिमै बस्ने?’ अन्तत: उसले फिन्ल्यान्डमै बस्ने निर्णय गरी। ज्याकेटको खल्तीबाट फोन निकालेर हेरी। बिनोदका १२ वटा मिसकल्स रहेछन्। फोनमा समय हेरी, रातीको साढे दस भैसकेको थियो। रातभरि बाहिर बस्न पनि भएन। कता गै भनेर हल्लाखल्ला पो भयो कि? जे-जे भए पनि उस्ले चाहिन यी सब कुराहरु बहिर जाउन्।
बिस्तारै ढोका खोलेर सबिता कोठामा गै। बिनोद रोजसँगै भूइँमा बिस्तार लगाएर सुतेको थियो। सबिता भित्र पसेको चाल पाएर ‘किन हो र फोन पनि नउठाउने? मान्छेलाई बेकारमा टेन्सन दे’र’ भन्यो। सबितालाई झनै रिस उठेर आयो। त्यति सबै भैसक्दा पनि क्षमायाचना त थिएन नै, आवाजमा पनि कुनै नरमता अनुभूत गरिन सबिताले। के नै गरेको छु र? भने झै गरी ‘किन हो र फोन पनि नउठाउने?’भन्दै थियो। एक मनले भन्यो ‘हो यही भएर हो’ भनेर भूइँमा सुतेको बिनोदलाई लात्तै लात्ताले हान्न पाए पनि आन्नद हुने थियो। तर त्यसो गर्न कहाँ सक्थी र? पलंगबाट सिरक निकालेर मुर्मुरिदै बाहिर सोफमा गएर सुती। सुतेपछि भोक लागे झै भयो। दिउसोबाट नै उसले केही खाएकी थीइन। उठेर भान्छमा गै। टेबुलमाथि दुई टुक्रा पिज्जा राखेको थियो। कामबाट फर्केर आउँदा घरमा केही नपाकेको देखेर बिनोदले पिज्जा लिएर आएको हुनुपर्छ। आफुहरुले खाएर त्यो सबिताको लागि छोडिदिएको होला। पिज्जा देख्दा कताकता हाँसो पनि लगेर आयो उसलाई। धारामा थापेर एक गिलास पानी पिएर फेरी सोफामा गएर सुती।
रातभरी निद्रा परेन। मनमा अनेक तर्कनाहरु आइरहे। बिहानपख भर्खर निदाएकी मात्र थि, बिनोदको आवाजले निद्रा खुल्यो। ‘लौ चिया छ यहाँ टेबुलमा।’ सबिता केही बोलिन। सधैं बिहान बिनोद काममा जानभन्दा पहिला उठेर सबिताले नै चिया बनाउथी। दुबैजना सँगै बसेर चिया पिउथे। तर आज सबथोक बेग्लै लाग्दैथियो सबितालाई। बिनोद पनि केही नबोली चिया पियो। उठेर जानलाई ढोकानिर पुग्दा सबिताले सिरकबाट मुख बाहिर निकाल्दै भनी- ‘त्यो आफ्नो सन्तानलाई पनि सँगै लगे हुन्छ, मलाई केही मतलब छैन।’
‘कस्तो निर्दयी बनेको तिमी? निदाइरा’छ बिचरा।’
‘आफ्नो अनुहार ऐनामा हेरे हुने नि एकपल्ट दयावान् ,महान मान्छेले। म दुनियाँभरका आईमाईहरुको बच्चा स्याहार्न यहाँ आएकी होइन। आफु जहाँ जाने हो, सँगै लाने आफ्नो सन्तान पनि।’ झगडा झन् -झन् चर्किदै गयो। बोल्दा बोल्दै सबिताले’बिहेजस्तो सेन्सिटिव बिषयमा पनि त्यस्तो ठूलो झूट लुकाउने? यही कुरा मैले गरेको भए आज के हुन्थ्यो यहाँ? के थाहा यहाँका तेस्ता छाडा आईमाईसँग बसेको मान्छेलाई रोग पो लाग्या छ कि’भनेर भनी। बिनोद जुत्तैसँग सरासर आएर सोफामा बसेकी सबिताको गालामा दुई थप्पड हिर्कायो। सबिता रुन लागी। झगडा सुनेर रोज पहिले नै उठेर आइसकेको थियो। ऊ पनि डराएर रुन लाग्यो। उसले जीवनमा पहिलोपल्ट आफ्नो बाबुले कसैलाई थप्पड हानेको देख्दै थियो। बिनोदले रोजलाई बाथरुममा लगेर मुख धोइदियो। अनि आफुसँगै लिएर गयो।
एघार बजेतिर सबिताको फोनमा घण्टी बज्यो। मायाले फोन गरेकी थी। माया बिनोदको साथी रमेशकी श्रीमती र सबिताकी एकदमै मिल्ने साथी हो। ऊनीहरु दुबैजना एउटै स्कुलमा पढ्दैछन्। स्कुलभन्दा बाहिरको समयमा पनि बहिरतिर घुम्न जाँदा,पसलतिर जानुपर्दा सँगै भेटिन्छन् उनिहरु।
‘आज दिउसोको लागि केही प्लान छ?’
‘त्यस्तो केही प्लान छैन। ‘
‘त्यसोभए आऊ हाम्रोतिर।’
‘खै, जागर नै छैन आज त’
‘किन सन्चो भएन र?’
‘सञ्चै त छ ,अल्छी लागेर’
‘ल तिम्लाई अल्छी लाग्या भए म नै आउछु’ मायाले भनी। सबितालाई कसैसँग भेटघाट, कुराकानी गर्नै मन थिएन। तर आँफै आउछु भन्दा नआउ भन्न पनि मिलेन।
बाह्र बजेतिर माया आइपुगी। बिनोद कामबाट फर्किएन। शायद रोजलाई लिएर कतै खाना खान गयो होला।
‘खै त बिनोद बाबु?’ मायाले भित्र पस्ने बित्तिकै सोधी।
‘काममा’ सबिताले छोटो उत्तर दीई।
‘एघार बजे सकिने होइन र काम?’
‘खै कुन्नी’
‘अनि खाना खान त आउनुहोला नि।’
‘खै थाहा भएन’ सबिताको जवाफले माया अलि अलमलमा परी।
‘अनि तिम्ले खायौ त खान?’
‘अँ, ब्रेड खा’को हो। भात त आज पकाएकै छैन। ‘
‘किन? के भयो र? तिमीहरु बुढाबुढिको झगडा पर्यो कि के हो?’ सबिता केही बोलिन।
‘के भयो र सबिता?’मायाले फेरी कोट्याउदै सोधी। सबिताको अहिलेसम्म थामिएको मनको बाध अचानक फुटेर आयो। दुबै हत्केलाले अनुहार छोप्दै घुक्क-घुक्क गर्दै रुन लागी। फिन्ल्यान्डमा माया मात्रै उसकी एक साथी हो, जस्लाई ऊ आफ्ना हरेक कुरा, समस्या बताउन अप्ठेरो मान्दिन। माया पनि आफ्नो सुख-दु:ख पोख्ने साथी भने पनि बहिनी भने पनि सबितालाई नै ठान्दछे। अहिलेसम्म त्यस्तो माया गर्ने, विश्वाश गरिएको मान्छेबाट अप्रत्याशित घात पाउँदा सबितालाई सहिसक्नु थिएन नै। यस्तो बिरानो ठाउँमा त्यसरी उस्को ढु:ख-मर्काप्रति चासो देखाउने मायाको सोधाईले उस्लाई झन् ढु:खी तुल्यायो। लुकाउन चाहंदा-चाहँदै पनि मायाका अगाडि आफूलाई रोक्न सबिता असमर्थ भै। अन्तत: आफ्नो अन्तरहीर्दयलाई छर्लङै पारेर पोखी मायाका सामु। तर अचम्म के भयो भने न त यी कुराले माया आश्चर्यचकित परी, न त उस्ले यस्लाई कुनै ठुलो समस्या नै ठानी। उल्टै सबिताले आज त्यस्तो मिल्ने साथी मायाको जीवनको एउटा अध्यारो पाटोको बारेमा जानकारी पाई, जस्को बारेमा सबिता पूर्णत: अनभिज्ञ थी। सबिताले मायाको घरमा जाँदा धेरैजसो मायाका छोराछोरिसँग खेल्दै गरेका भेटिने पाइभी र पेट्री बिबाहको बन्धनसँगै उपहारमा पाएकी रै’छे। उनिहरु कहिले आमासँग, कहिले बाबुसँग बस्ने रै’ छन्। माया जतिजती कुरा गर्दै गै, सबिता झन्- झन् अचम्मित हुँदै गै। ‘हेर सबिता यहाँ तिमी र मजस्ता धेरै आईमाईहरु छन्, जसका लोग्नेहरुका यहाँका आईमाईहरुबाट बच्चा छन्। फलानाको लोग्नेको यतिवटा बच्चा… ,फलानाको लोग्ने यतिबर्ष फिनिससँग बसेर नेपाल गएर बिहे गरेको…. ,फलानो फलानो अहिले फिनिससँग बस्दैछन….।’ लिस्ट यति लामो भयो कि, जुन सबिताको कल्पनामा पनि अट्न सकेको थिएन कहिले। यहाँ धेरै छन् त्यस्ता मान्छेहरु, जो आफ्नो मेसो नमिलेसम्म यहाँका केटीसंगै बस्छन्। पछि आफ्नो ब्यवस्था मिलेपछी छुट्टीन्छन् र नेपाल गएर सकेसम्म राम्रो चरित्र भएकी केटी छानेर बिहे गर्छन्। यिनिहरुमध्ये धेरै कमको बाध्यता पनि हुनसक्छ। पढ्न आएकाहरुले यहाँ काम नगरि नेपालबाट पैसा ल्याएर पढ्न सक्ने अवस्था हुन्न। लगातार क्याम्पस गएर पढेन भने भिसा थप्नको लागि पढाईबाट पर्याप्त क्रेडिट हुँदैन। कामबाट भिसा पाउन पनि सजिलो छैन। पढाईबाट पर्याप्त क्रेडिट नहुने अनी कामबाट पनि भिसा नलाग्ने अवस्थामा नेपाल फिर्ता जानुको बिकल्प यहाँकै केटीसँग बिहे गरेर बस्नु भन्दा अर्को छैन। र, बिनोद बाबु पनि यही बर्गमा पर्नुहुन्छ। केही बर्ष संगै बस्यो, आफ्नो ब्यवस्था मिलेपछी यहाँको केटीसँग छुट्टीएर नेपाल गएर बिहे गर्छन्। तर हिजोआज बाध्यताबिना नै यस किसिमको जिन्दगी बिताउन चाहनेहरु पनि बढ्दैछन् यहाँ’। मायाले भनी।
‘तर तपाईंले मलाई किन आजसम्म केही नभन्नु भा’को वहाँको बारेमा?’
‘राम्रो कुरा पनि त भएन सुनाउनलाई। रोजकी आमाले अरु एक बर्ष स्पेनमा बस्न नपरेको भए तिमीले केही थाहै पाउने थिइनौ। उसकी आमा यहाँ आएपछी आफुसँगै लैजान्छे, तिम्लाई केही समस्यै हुन्न नि। मलाई हेर न, नेपालबाट कस्तो सपना बोकेर आएकी थिए। आएको एक महिनापछीबाट नै दुई बच्चालाई स्यहार्न पर्यो।’ मायाले भनी।
केटीसंगै बसुन्, मलाई केही गुनासो छैन। उनिहरुको जीन्दगी जसरी जीउन मनलाग्छ, जीउन्। तर नेपाल गएर हामीहरुलाई ढाट्ने किन? सबै कुरा थाहा भएको भए त म कुनै हालतमा बिहे गर्ने थि’न। बिदेशमा आउने भनेको नेपालमा हुँदा ठुलै कुरा थियो, तर बिदेशमा आउनकै लागि थाहा पाएको भए मैले आफ्नो जीवनसँग यति ठुलो सम्झौता गर्ने थिईन दिदी। त्यस्ता मान्छेहरुको के भर, रोग पनि त लाग्या हुनसक्छ। थाहा पाएर त कुन केटीले गर्छन् होला र यिनिहरुसँग बिहे। हेर्नुस् न उस्को ठाउँमा मैले यस्तो गरेको भए के
हुन्थ्यो? अस्ति मेरो बर्थडेमा एकजना साथीले बर्थडे विस गरेर पठाएको ईमेल देखेर को हो ? के हो? भनेर रिसाउदै सोध्याथ्यो। आफ्नो भित्र-भित्रै यस्तो रै’छ। मेरो पनि चित्त बुझ्ने थियो यदी यहाँ बच्चा जन्माएर बसेकाहरुले नेपालमा गएर युध्दको कारणले बिधवा भएका अथवा अन्य कुनै कारणले लोग्नेसँग छुट्टीएका नेपाली आईमाईलाई स्वीकार्न सक्थे भने। तर सक्दैनन्। सबै आडम्बरी छन्। यहाँ केटी राखेर बस्नुलाई आफु आधुनिक सँस्कृतिको पालक भएको तर्क गर्छन्। तिनिहरु नै नेपाल गएपछी सच्चारित्र, कसैले दोस नलगाएकी, कुनै कुरामा नमुछिएकी केटी खोज्दै हिड्छन् बिहेको लागि। सबै ढोंगीहरु हुन्।’ बोल्दा बोल्दै सबिताको अनुहार रिशले रातो भयो।
‘अब यिनी कुरा गरेर केही फाईदा छैन। जसरी हुन्छ परिस्थितीलाई स्विकार्नुको बिकल्प छैन हामीसँग।’
‘त्यो त हो तर सम्झौता पनि कुन हदसम्म गर्ने?’
‘नगरेर के गर्ने? सम्झौताको बिकल्प बिद्रोह हो। र, हरेक बिद्रोहको अन्तिम गन्तब्य सुखद् नहुन पनि सक्छ। ‘ ‘त्यसो भए जे भए पनि चुपचाप सहने त?’
‘होइन, मैले भन्न खोजेको त्यो पनि होइन। समस्याको प्रकृति हेरेर त्यसको समाधान खोज्नुपर्छ। यो समस्यामा परीस्थितिलाई स्वीकार्नु नै बुध्दिमानी हुने देख्छु म। आखिर रोज बिनोद बाबुकै छोरा हो, त्यो सत्यलाई केही गरी मेटाउनै सकिन्न। बिद्रोह गरेर तिमी बिनोद बाबुबाट छुटकारा पाउन चाहन्छेऊ? के अब बिनोद बाबुसँग छुट्टीएर बस्न परे तिमी तेस्लाई आफ्नो जीत ठान्छेउ त? तिमी खुशी हुनसक्छौ त्यो बेला? त्यसोहुँदा सबैकुरा छोडेर परिस्थितीलाई स्वीकार गर, त्यै नै जीत हो भन्छु म त। के गर्ने हामी त्यस्तै संस्कारमा जन्मियौ। अन्याय भो, मन परेन भन्दैमा छोडिहाल्न नसकिने।’
तीन बज्न लागेपछी बच्चालाई स्कुल लिन जानुपर्ने भएकोले माया त्यहाँबाट गै। माया गएपछी सबिता पनि नुहाउन बाथरुममा पसी।
सबिता नुहाएर निस्कंदा कामबाट आएर बिनोद सोफामा एक्लै एकोहोरिएर बसेको थियो। रोजले भूइँमा बसेर केही लेख्दै थियो। बिनोदले पुलुक्क सबिताको अनुहारमा हेर्यो। सबिता केही नबोली बेडरुमतिर पसी। भित्र गएर कम्प्युटर खोली। हिजोदेखी फेसबूक हेरेकै छैन उस्ले। तसर्थ सबैभन्दा पहिला फेसबूक खोली। फेसबूकमा रहेको आफ्नो प्रोफाइल पिक्चर हेरी, ऊ कति खुशी, सुखी देखिन्छे फोटोमा। उसका धेरै साथीहरु अमेरिका, अष्ट्रेलिया र यूरोपका बिभिन्न देशहरुमा पुगेका छन्। उनिहरु नयाँ-नयाँ फोटोहरु अपलोड गारिरहन्छन् फेसबूकमा । फोटोहरु हेर्दै गै, समुन्द्रको किनारमा, हिउंमा, पार्कमा, पानी जहाजमा, ठूला- ठूला सापिङ् मलको अगाडि उभिएर; कसैले टाउकोमा, कसैले आँखामा चस्मा राखेर खिचेका छन् फोटोहरु। फोटोमा उनिहरु पनि अत्यन्तै प्रसन्न र सुखी देखिन्छन्। मनमनै सोची- के उनीहरु बसेको शहरहरुमा पनि मेरो जस्तै अद्रिश्य पीडाहरु नहोलान् र ?
‘म कम्प्युटरमा गेम खेल्न सक्छु?’ यो रोजको सोधाई थियो सबितालाई।सबिताले फर्केर हेरी। ऊ दबिएको स्वरमा बोल्दै थियो। सेतो छालामा कालो कपाल र आँखाले उस्लाई अत्यन्तै सुन्दर गराएको थियो। साच्ची नै मायालाग्दो देखिएको थियो रोज त्यो बेला। ‘हुन्छ’ सबिता अनायासै मुसुक्क हांसी। रोजलाई कम्प्युटर छोडिदिएर सबिता पलङमा गएर पल्टीई। बिनोद बाहिर एक्लै बैठक कोठामा टिभि हेर्दै थियो। साँझको काममा जाने बेला भएपछी कोठामा आएर कपडा लगायो। सबिता अर्कोपट्टी फर्किएर पल्टिरही। बिनोद पनि केही बोलेन। आफु तयार भएपछी रोजलाई कपडा लगाइदिन खोज्दा रोजले ‘आज म यही कम्प्युटरमै गेम खेलेर बस्छु, जान्न’ भन्यो। बिनोद पनि यही चाहान्थ्यो। यसपल्ट सबिताबाट पनि कुनै नकरात्मक प्रतिकृया आएन। परिस्थिति सम्झौतातर्फ उन्मुख देखियो।
बिनोद निस्केर गयो। रोज कम्प्युटरमै गेम खेल्दै थियो। अब बल्ल सबितालाई रोजसँग कुरा गर्ने मौका मिल्यो। सबितालाई लाग्यो, रोज पनि आफुजस्तै निरिह छ। आमा टाढा छे। बाबु पनि निर्धक्कसँग माया गर्न हिच्किचाउँछ। सबिता रोजलाई आफ्नो नजिक ल्याउन चाहान्थी। शुरुमा अलि डराएको जस्तो गरे पनि बिस्तारै कुरा गर्दै जाँदा रोज पनि सबितासँग निर्धक्कसँग कुरा गर्न लाग्यो। धेरैबेरसम्म कुरा गरेपछि सबिताले सोधी- ‘बाहिर पार्कमा खेल्न जाने मसँग?’ ‘हुन्छ’ रोजले सहजै उत्तर दियो। ‘तिम्ले मलाई आमा भने पनि हुन्छ।’ सबिताले उस्को गाला मुसार्दै भनी। ‘तर तिमी मेरो आमा त होइन नि, अरुलाई मैले आमा भन्न हुन्छ र?’ रोजले सीधा प्रश्न गर्यो। उसले आजसम्म कोही देखेको छैन जस्ले आफ्नो आमा बाहेक अरु कसैका निम्ति ‘आमा’ शब्द प्रयोग गरेको होस्। ‘म तिम्रो आमा नभए पनि मलाई आमा भन्न सक्छौ।’ सबिताले भनी।
पार्कमा सबितालाई फिनिस भाषा पढाउने टिचर सान्ना पनि आफ्नो बच्चालाई खेलाउन लिएर आएकी रै’छ। सबितालाई भेट्ने बित्तिकै सबिताको र उस्को पेटमा हुर्कदै गरेको बच्चाको स्वास्थ्यको बारेमा कुरा गरी। उनीहरु कुरा गरेर बसिरहेकै बेला रोज अचानक दौडिदै आयो र ‘आमा मेरो ज्याकेटको बटन लगाइदिनुस् न, मेरो हातको पन्जाले गर्दा मिलेन’ भन्यो। सान्ना अलि अलमलमा पर्दै सोधी- Kuka hän on?( ऊ को हो?) सबिताले तुरुन्तै जवाफ दिई –hän on mun ensimainen lapsi (ऊ मेरो पहिलो बच्चा हो।) सान्ना अचम्म परी। उस्लाई विश्वाश नै लागेन। फेरी सोधी- ‘तेरो बिहे भएको बल्ल दुई बर्ष हुन लाग्यो भनेको होइन र? तिमीहरुकोमा त बिहे नहुँदै बच्चा जन्माउने चलन छैन होइन र?’
सबिताले मुसुक्क हाँसेर भनी- अं, पहिला हो। तर हिजोआज ती परम्परागत मान्यताहरु बिस्तारै तोडिदैछन्। प्रतिउत्तरमा सान्ना पनि मुसुक्क हाँसी मात्र।
-बिजेता, फिन्ल्यान्ड
(स्रोत : Mysansar.com)