~गोपिकृष्ण प्रसाई~
ताप संयन्त्रसँग रमाएर यस चिस्यानमा
धेरै इच्छाहरु आज कैद गरी बस्याछु
तिमी रिसाए पनि प्रकृति
म तिमीलाई कहिल्यै टाढा ठान्दिन
आफ्नो गुरुत्वबाट टाढिएको मान्दिन
कठै ! यी घामहरु ऐठन भएका छन्
राहु र केतुको झेल परेर हो कि ?
विचरा पलुवाहरु गर्भे टुहुरा जस्ता भए
प्रकृतिको चक्रमा दरार छाएर हो कि ?
हाँस्नु पर्ने प्रकृति दुखी भएर झोक्राएको छ्
आमा भनेर बोलाउने धर्ती कुण्ठित बनेकी छन्
फुङ्ग उडेका धर्तिका केशहरु, बिरानो लाग्ने कतिपय भेषहरु
स्वदेश सम्झेर यति बेला
चिसिएको लण्डनले सम्झायो जीवन परिवेशहरु
वसन्तको आगमन बिनानै
तँछाड मछाड गरेर जाडोमा दिनहरु ढलिरहेछन्
जिउनु मात्रको अनुभूतिमा खुसीहरु कोक्रामा हल्लिएको देख्छु
आफु जाग्छु रातमा, कति माया बिहिन सपनाहरु रल्लिएको देख्छु
विज्ञानको द्वार खोतल्दै
प्रकृतिलाई बुझेका डार्विनले
उड्नु पर्ने मान्छेहरु गुरुत्वभित्र तानेर न्युटनले
चिसिएको चुलोमा इन्धन भर्ने ए जेम्सवाट
तिम्रो औधोगिक सुन्दरतामा रमाएका हामी
यही धर्ती चुम्नुको रहरमा
जिन्दगी खोज्दै लण्डन सहरमा
निल गगनमा बुनेका सपनाहरु कतै बादलले लाने हुन् कि ?
जोगाएर उठाएको ह्रृदयको मायामठ कतै राक्षस आई भत्काउने हुन कि ?
सुनको बिहान जस्तो स्वप्निल यो लण्डन
किन यति निस्ठुरी हुँदैछ
चिसो गढेर हृदयमा कलेजो पो चस्स छुँदैछ
खोजेर मेरा संगीतका मूच्र्छनाहरु देशभित्र सारंगी रुदैछ
यसरी आज म दिलको कुरा गरिरहन्छु
म नौ सय खोला तरिरहन्छु
म देउरालीबाट पात बजाउँदै बेसीतिर झरिरहन्छु
आहा यो कल्याणी धरती !
अब यो मौसममा चञ्चलता आओस्
अब यो मौसममा सुन्दरता छाओस्
चञ्चले बतास चलेर शनै शनै मलाई सुम्सुम्याओस्
चुल्बुले स्पर्सका कोलाजहरु छरिएर यो दिललाई थुम्थुम्याओस्
त्यो चाँदनी हाँसोले दिएको अपार तृप्ति सबै इन्द्रियभरि गुनगुनाओस्
आज यो बहसले गमिर्एको कोठा
हृदयको आग्रहमा निक्लेको यो चिन्तन
यो दुनियाँमा एक्लो हुन सकेन
सोचाइहरु मात्र कहिलेकाहीँ त्यस्ता हुन्छन्
म प्रकृतिको पूजारी
म प्रेमको उपासक
यो धर्ती, तारा र नक्षत्रहरु
हाँसिरहेको सूर्य
गाइरहेका चराहरु
उर्वर लाग्ने खेतका गराहरु
घाम पानीमा घोलिएका इन्द्रेनी सपनाहरु
मुस्कुराइरहेको धर्ती र असिम कल्पनाको आकाश
म कहिल्यै एक्लो हुन सक्दिन
मेरा कल्पना र विचारहरु एक्लो हुन सक्दैनन्
मान्छेरुको हार्दिकतासँग रमाएको मेरो उपवन
म सिँगो मान्छे हुँ
म पूर्ण मान्छे हुँ
प्रकृतिको चक्रमा अनुवन्धित मान्छे
म विचरण गरिरहेछु यो रंगमन्चमा
निश्चल प्रकृति मलाई निर्देश गरिरहेछ ।
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)