~प्रमिशा केसी~
“मामु, त्यो नाक चुच्चो भको मिसले फेरी मेरो एन्सर रङ छ भनेर काटिदिनुभो ! “
“जे मन लाग्यो लेखेर आइस् होला कपीमा अनि काट्नुहुन्न त ?”
“मैले के लेखेँ र, भको कुरा त हो नि ।”
“खै देखा, के लेखिस् ? ह्वाट डज योर मदर डु ? माइ मदर इज अ टिचर । ह्वाट डज योर फादर डु ? माइ फादर इज अ हाउस्-हस्ब्यान्ड । “
“हाउस्-हस्ब्यान्ड्”, सुन्दा हाँसो लाग्नुपर्ने यो शब्द खै कसरी त्यो दिन यी आमाछोरीको कुरा सुन्दा भाँडा माझ्दै गरेको झुसको तिखो तार हातमा बिझेझैँ अचानक च्वास्स बिझेको थियो मेरो मनमा ।
” हाउस-हस्ब्यान्ड रे ? यस्तो नि हुन्छ ? के लेखेकी यस्तो ? “
” अनी के लेख्नु त ? त्यो दीक्षा, सबिनाहरु को मामु अफिस जानुहुन्नँ, घर बसेर घरको काम गर्नुहुन्छ अनि हाउसवाइफ भन्छन् उनिहरु । मेरो बाबा चाहिँ हाउस-हस्ब्यान्ड भन्न किन नपाउने नि मैले ? “
उसको उमेरको बुझाइले त्यो कुरा उसको लागी सामान्य थियो, सायद अहिले हुन्थ्यो भने त्यसलाई व्यङ्य बुझ्थेँ होला म । तर उसले त त्यही भनेकी थिइ जे उसले देखेकी थिइ । गलत के भनेकी थिइ र उसले ? बिहान जब उसको आँखा खुल्थ्यो तब उसको कोठामा दुधको गिलास लग्ने म नै हुन्थेँ । चिनी पुगेन भने उसले कराउने पनि मलाई नै थियो र गिलास खाली नहुन्जेल उसको अघी ड्युटी दिने पनि म नै हुन्थेँ । मुखमा गाँस हालिदिने अनि जुत्ताको तुना बाँधिदिने म नै हुन्थेँ । उसको ब्यागको चेन होस् या पाइन्ट्को चेन, बन्द गर्न नसक्दा गुहार मेरै नामको सुनिन्थ्यो । उसको ब्यागमा कुन बुक छ र टिफिनमा कुन बिस्कुट छ, उसलाई हैन मलाई थाहा हुन्थ्यो । पुरानो टावल बेरेर भाँडा माझ्दै गरेको होस् या कुकरको सिट्ठी बन्द नहुँदा दौडिरहेको, किचन पस्दा उसले देख्ने एउटै दृश्य थिएँ, म । हो, मेरी छोरीले त देखेकै कुरा गरेकी थिइ, तर खै किन बिझ्यो मेरो पुरुष मनलाई ।
” धत्, त्यस्तो भन्नु हुँन्न, बेइज्जत हुन्छ । अब देखी कसैले बाबा के गर्नुहुन्छ भनेर सोध्यो भने रिटायर हुनुभैसक्यो भन् । “
सन्तानलाई अभिभावकले सधैँ साँचो बोल्न सिकाउँछन रे । तर त्यो बेला रमिलाले हाम्री छोरीलाई मेरो “शान” बचाउनका लागी झुट बोल्न सिकाइन्, अनि म चुपचाप धाराबाट बगिरहेको पानीमा भाँडा पखालिरहेँ ।
त्यो दिन थाहै नपाइ हामीले आफ्नी छोरीको मानसिकतामा पनि एउटा बिउ रोपिदिएछौँ, समाजका खोक्रो आदर्श सँग चल्न सिकाइदिएछौँ । त्यसपछी उसले यो बिषयमा कती झुट बोली त्यसको हिसाब छैन मसँग । कहिले उमेरले ४० पनि नछुँदै मलाई रिटायर्ड भनिदिएकी थिइ होला अनि कतिपटक मेरो नाम अनेकौँ कम्पनिसँग जोडियो होला । म सम्झ्न्छु त्यो दिन जब प्यारेन्ट्स डे मा मलाई लानु अघी उसले भनेकी थिइ :
” बाबा मैले सब साथिहरु र सर-मिसलाई हजुर महाशक्ती सोप को सेल्स हेड हो भनेको छु है, त्यता बढी बोलेर मलाई नफसाउनु नि ! “
त्यो दिन थाहा भयो, हेर्दाहेर्दै छोरी यती ठुली भइछे कि स्कुल जानु अगाडी मैले सिकाएझैँ उ मलाई सिकाउँदै थिइ । गुनासो के पोक्थेँ जब झुटको शुरुवात नै हामीबाट भएको थियो । किन उसले आफ्नो परिवारको सत्यबाट लज्जित हुनुपर्ने मानसिकता बनाइदिएछौँ हामीले ? यही प्रश्न उठ्छ मनमा बारम्बार । सायद त्यही दिदैँछौँ जे हामिले समाजबाट पायौँ, सिक्यौँ । समाजले पनि त मलाई लज्जित हुन सिकायो । आँगनमा बसेर लुगा धुँदा वरिपरिका भाउजुले सोध्थे ” ए, बाबु लुगा धुन थाल्नुभो ? नानी खै त कता गईन् बुडालाई लुगा धुन लगाएर ? ” अनि जान्थे गलल हाँस्दै । किन आफैँ स्वास्निमान्छेको काम भनेर तोकिदिए ? आफुलाई कामको बोझले सताउँदा लोग्नेले पनि सघाइदिए हुन्थ्यो भन्ने नलाग्ला र तीनलाई ? आफु समानता खोज्नेले मेरो किन मजाक उडाए, त्यो बुझ्न सकिंन । तर समाजको कुराले फरक पर्दैन भनेर गर्व गर्ने म पनि त्यसपछी बाथरुममा लुकेर लुगा धुन थालेछु ।
मलाई समानताको उदाहरण मान्नुपर्ने यो समाज मलाई नै “जोइटिङ्रे” को पगरी गुथाइदिन्छ । रमिलाको कुरा काट्दै हिँड्छ लोग्नेलाई काम गराएर आफु काम गर्न हिँड्छे भन्दै । तर मलाई कुनै गुनासो छैन उसँग । उसको कमाइले यो घर चल्छ, अनि कहिलेकाँही जब मैले आफ्नोलागी किनेका केहि सामान उसले फजुलखर्च भन्दाइ मुख बंग्याउछे, म चुप रहन्छु यही सम्झेर कि उसले कती मेहेनतले कमाएकी छे । मेरो पढाइ त मेरो बेफिक्री सोचले पुरा भएन, बुवाले खोजिदिएको एउटा जागिर पनि हाजिर गर्दै भाग्ने बानीले गयो । जँड्याहा नै थिएँ म, बिहेमा यो कुरा कसैले थाहा दिएन उसलाई । अनि उसको बिहेपछिको एक बर्ष आफ्ना रहर मारेर घर चलाउन र मलाई सुधार्न नै बित्यो । मैले कहिले काम पाइँन त कहिले पाएको काम लात मारेँ, यो घर उसैको हातबाट चलिरह्यो ।
दिनभरको थकान लिएर उ जब घर फर्किन्छे तब उसलाई चिया बनाइदिन्छु म । कापी जाँच्न, स्कुलका अनेक प्रोजेक्ट्का कामले उ ब्यस्त हुन्छे अनि खाना म पकाउँछु । तरकारी पकाउन कहिले जानिँन मैले, त्यती बसाल्न को लागी भान्छा पस्छे उ । राती कि स्कुलको त्यही कामले ब्युझिँन्छे कि थाकेर निदाउँछे, अनि भाँडा म नै माझ्छु । बिहान सबेरै उ स्कुलतिर लाग्छे, उतै खान खान्छे अनि छोरिलाई र आफुलाई खाना पकाउँछु म । यही सब कती घरमा गृहणिले गर्दा होलान्, कती घरमा अझ रोजगार महिलाले पनि भ्याइनभ्याइ गर्दा होलान् । त्यसलाई सामन्य मान्ने यो समाजले खै किन मलाई “जोइटिङ्रे” देख्छ !
” बाबा ! दालमा नुन नै हाल्न बिर्सिनुभो आज ! “
पत्रीकाका पाना पल्टाउँदै आफ्ना बिचारका पाना पल्टाउन ब्यस्त म झस्किएँ यो आवाजले ।
” लौ, बिर्सेछु ? अब ढिलो हुन लाग्यो होला तलाईँ, के गर्नु ? “
” हाहा, भैगो नि त, तरकारी सँग मुछेर मिलाउँला म, हजुर आफु खाने बेला थप्नु है ! “
कहिलेकाहिँ दँग पर्छु म सोचेर, कहिले ससाना कुरामा पनि किचकिच गर्ने छोरी कती ठुली र बुझक्की हुँदैछे । पुल्पुलाएर घरको काम कहिले नसिकाए पनि उसले हेर्दा हेर्दै त्यो भन्दा धेरै कुरा सिकिसकी, त्योभन्दा महत्वपूर्ण ।
” तर बाबा, हजुरको नुन्, चिनी हाल्न बिर्सिने बानी चैँ नजाने भो है कहिले ? “
भाँडा लगेर सिंकमा राख्दै उसले भनेको त्यो कुराले मलाई केहि याद ताजा बनायो । काखमा बोकेर लिटो ख्वाउदैँथेँ उसलाई, बोली फुटिसकेको थिएन उसको त्यतिबेला । चम्चा मुखमा लागिदिन्थेँ, खान आनाकानी गर्थि, अनि चाक्थि, ङिच्च हाँस्थी । हरेक गाँसमा उसले यही गरिरहँदा के भएछ भनेर अलिकती लिटो चाखेँ, चिनी नै हाल्न बिर्सिएको रैछु । उ भने त्यो स्वादबिना को पिठो खाँदै केहि बोल्न नसकी हाँसिरहेकी रहिछे ।
अरु कसैको भए त्यो हाँसो व्यङ्य लाग्थ्यो होला मलाई । तर उसको हाँसो निश्चल थियो । उसले मलाई जोइटिङ्रे सोच्दिँन, किनकी उ यही वातावरणमा हुर्किएकी छे, जहाँँ उसको बाबाले कहिले उसकी मामुलाई ” तैँले गर्दा मैले स्वास्नी ले गर्ने काम गरिराछु ” भनेर भन्नु परेको छैन । उ यही समानातामा हुर्किएकी छे । हो, अहिले उसलाई ढाँट्नु पर्दैन, उसलाई आफ्नो बुवा घर बसेर घरको काम सम्हाल्नुमा कुनै लज्जा छैन । उ आज निर्धक्क भएर मेरो वास्तविकता बोल्न सक्छे, र परिपक्वता त छ नै, तर उ समाजको सङ्किर्ण सोचबाट भिन्न छे । आज पनि उसमा मेरो बारेमा बोल्दा त्यही अबोधता, त्यही सत्यता छ जुन उसमा तब थियो जब उसले कापिमा लेखेकी थिइ ” हि इज अ हाउस हस्ब्यान्ड ” ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)