~राम बिनय~
नेत्रविहीनहरू कुनै
दृष्टिविहीन हुँदैनन्
दृष्टिविहीन कुनै
नेत्रविहीन हुँदैनन् ।
नेत्रविहीन र
दृष्टिविहीनहरू
जब हात्तीविहीन वनमा
हात्ती खोज्न थाल्छन्
चट्टानको ढिस्कोलाई
हात्ती सम्झेर
सुम्सुम्याउन थाल्छन्
र भाषण छाट्छन्
हात्ती यस्तो रहेछ
हात्ती उस्तो रहेछ ।
आफ्नो आफ्नो डम्फू बजाएर
यो मतिविहीनहरू
यो गतिविहीनहरू
नाच्न थाल्छन् ।
नाङ्गो बादशाहलाई
सहमतिको बस्त्रले
सिङ्गारेको स्वाँग पार्छन् ।
छियाछिया पारेको छ
धरतीको छातीलाई
अचानोमा राखेर
छाडातन्त्र अराजकताको
चुपीको धारले
रेटिरहेछ बधशालामा राखेर
अनुशासन र मर्यादाको घाँटी
निजी स्वार्थको छुराले रोपेर ।
र पनि
सहमतिका बादशाहहरू
नाङ्गै भएर
नयाँ नयाँ बस्त्रले सिङ्गारिएको- बहानामा
सहर बजार डुल्न निस्केको छ
बिहानको अर्नि खाएर
अघाएको पेट टन्न पारेर ।
कस्तो दिन आयो भनेर
बयस्कहरू ट्वाल्ल परेर
चियाउँछन् आकाशतिर फर्केर ।
भविष्यका कर्णाधार बच्चाहरू
वाल्ल परेर नियाल्छन्
वास्तविकताको क्षितिजतिर पर्खेर ।
(स्रोत : मधुपर्क २०६८ बैशाख)