कथा : सुफियाना

~कुमार नगरकोटी~Kumar Nagarkoti

हेलसिन्की, फिनल्यान्ड ।।

बालजार जाकोला सदाझैं त्यो साँझ पनि गिर्जाघर गयो । एक वर्षअघि सडक दुर्घटनाबाट देहान्त भएकी आमाको निम्ति प्रार्थना ग¥यो र एउटा मैनबत्ती बाल्यो ।

मैनबत्ती उसले घरैबाट ल्याएको थियो । गत साल उसले एउटा क्यान्डलगृहबाट तीन सय पैंसट्ठीवटा मैनबत्ती किनेको थियो र भान्साकोठाको भित्तामा झुन्डिएको आमाको श्यामश्वेत तस्बिरसामु प्रण गरेको थियो– आमा, म तपाईंको आत्माको चिर शान्तिका निम्ति गिर्जाघरमा हरेक साँझ एउटा मैनबत्ती बाल्छु ।

आमाको आकस्मिक निधनपश्चात् एकहत्तर वर्षीय बालजार जाकोला अफिसियल्ली टुहुरो भएको थियो । यो अवधि उसको लागि शोक काल थियो । आमाको एक्लौटी अभावले उसलाई एकान्तमा घरिघरि डस्थ्यो । फिनल्यान्डको प्रख्यात तथा प्रतिष्ठित मूर्तिकारले विगत एक वर्षयता कुनै पनि मूर्ति बनाएको थिएन । बरु ऊ त स्वयं मूर्तिझैं भएको थियो– जड, निःशब्द एवं मौन ।

वातावरण शान्त थियो । उसको मन भने व्यथित थियो ।

देउताको दरबारमा त मन हलुँगो, निर्भार हुनुपथ्र्यो नि ! तर ऊ आश्चर्यजनक रूपले व्यथित थियो । लाग्थ्यो, वेदनाको गह्रुँगो चट्टानले उसलाई थिचेको छ, किचेको छ । प्रथम लहरको बेन्चमा बसी आफ्नो अन्त्यहीन अभिषप्त एक्लोपनाबारे ऊ सोचमग्न थियो ।

यस्तैमा एकाएक एउटी युवतीले बालजार जाकोलाको ध्यान खिची ।

युवती अघिदेखि नै त्यहीँ थिई तर मूर्तिकार अफसोसजनक रूपले यति आत्मकेन्द्रित भइदिएको थियो कि गिर्जाघरभित्र अरू कसैको पनि उपस्थिति होला भन्ने उसले हेक्का नै गरेको थिएन । युवतीलाई उसले क्षणभर टोलाएर हे¥यो ।

युवती चिरपरिचित भईकन पनि बिरानो लाग्थी ।

चिरपरिचित कुन अर्थमा भने बालजारले युवतीलाई यसअघि पनि यहाँ कैयौंपटक देखेको थियो । अनि बिरानो किन भन्नुहुन्छ भने युवतीबारे ऊ पूर्ण रूपले अन्जान, अनभिज्ञ तथा अपरिचित थियो । परिचितिहरू नै सायद बढी अपरिचित हुने गर्छन् ।

युवतीले कलेजी रङको स्कार्फ टाउकोमा बेरेकी थिई जसको फुर्कालाई च्याम्पु पनि गाँठो पारी बाँधिएको थियो । दुवै हात फैलाईकन युवती देवप्रतिमासामु प्रार्थनारत् उभिएकी थिई ।

प्रार्थना सिध्याईवरी उसले एउटा मैनबत्ती बाली । युवतीले कसको निम्ति प्रार्थना गरेकी हो ?       बालजारले सोच्यो । कसको निम्ति मैनबत्ती बालेकी हो ?       के उसकी आमाको पनि सडक दुर्घटनामा मृत्यु भएको हो ?       के ऊ पनि यस जगत्मा एक्ली र टुहुरी भएकी हो ?       यस्ता प्रश्नहरू उसको मनमा शनैः शनैः उब्जिरहेका थिए जसको उत्तर उसलाई थाहा थिएन । अनि, कसलाई चाहिँ थाहा थियो त ? सुलीमा अल्झिएर, बल्झिएर भित्ताको एक कुनामा झुन्डिएका जिससलाई पो थाहा थियो कि !

यस्तै कैफियत तर्कनाहरूमाझ समयसितै खेर गइरहेको बेला बालजार जाकोलाको कानमा कोकिल स्त्रैण वाणी गुञ्जियो ः

– शुभ सन्ध्या बालजार जाकोला !

उसको सामु युवती उभिएकी थिई । देख्यो, युवतीको ओठमा कलेजी मुस्कान पोतिएको थियो । तिनै कलेजी ओठका पातला पत्रदलबाट आफ्नो नाम उच्चारण भएको सुनी पहिले त बालजार झसंग भई झस्कियो तर लगत्तै सम्हालिँदै बडो संयमपूर्वक भन्यो ः

– कस्तो आश्चर्य ! तिमी मलाई चिन्छ्यौ ?

– तपाईंलाई नचिन्ने त हेलसिन्कीमात्र होइन पूरै फिनल्यान्डमा को नै पो होला र ! – युवतीले भनी ।

अहा, कस्तो सुन्दर कम्प्लिमेन्ट !

युवती बालजारको बगलमै बसी । लगत्तै भनी, ‘तपाईंजस्तो यो देशको महान् मूर्तिकारसित यसरी बस्न पाउनु मेरो अहोभाग्य हो । अहो, म त कस्तो भाग्यमानी ! गत साल तपाईंकी आमाको दुःखद मृत्यु भयो । टेलिभिजन, पत्रपत्रिका हेरेर मैले थाहा पाएकी । म साह्रै दुःखी भएँ । त्यो साँझ यही चर्चमा आई तपाईंको निम्ति मैले एउटा मैनबत्ती बालेँ । प्रार्थना गरेँ ।’

युवतीको त्यस्तो कुरा सुनी बालजारको आँत भरिएर आयो । अनायास उसका आँखाहरू रसाए । कृतज्ञता ज्ञापन गर्न खोज्दा उसका ओठ काँप्न थाले । काँपेकै ओठबाट उसले युवतीलाई आशीष दियो ः

. ईश्वरले तिमीलाई सदा सुखी राखून् ।

.धन्यवाद !

. एउटा कुरा बताउँछ्यौ कि !

.भन्नुस न !

. तिमीलाई म प्रायः यो गिर्जाघरमा देख्छु । मैनबत्ती बालिरहेको । प्रार्थना गरिरहेको । तिमी यसरी सदा कसको निम्ति प्रार्थना गछ्र्यौ ?

जहाँजहाँ, जबजब मानवताको बुचरिङ हुन्छ म मैनबत्ती बाल्छु । प्रार्थना गर्छु ।

 वास्तवमा तिमी सपना, रचना अनि कल्पनाहरूको योगफल हौ । तिमी तमाम कलाकार, स्वप्नदर्शी, दार्शनिकहरूको सोच हौ । विचार हौ । दर्शन हौ । तिमी प्रेम हौ, प्रार्थना हौ र तिमी नै प्रेरणा हौ ।

 उसको जन्म भएको थियो प्रशान्त महासागरको नील गगनमा । एक निजी वायुयानको क्याबिनमा । आकाशमा जन्मिएकोले नै हुनुपर्छ उसको देह धर्तीमा भए पनि मन भने सदा आकासतिर उडिरहन्थ्यो ।

 दायाँ हातमा कफीको मग र बायाँ हातमा एउटा लिपस्टिक लिई यति बेला चित्रकार क्यानभास सामु उभिएको थियो । उसको कमिज र सलवारबाट पानी चुहिरहेको थियो । अनि, विस्तारै क्यानभासमा लिपस्टिक च्यापिएका उसका औंलाहरू चलमलाउन थाले ।

 त्यही अपराह्न उसले आफ्नो लकर खोल्यो । लकरभित्र उसका काव्यसंग्रहहरू थिए । एउटा निकाल्यो । युवतीलाई दियो । किताब पातलो थियो । हार्ड कभरको । युवतीले शीर्षक पढी– फोर्टी नाइन लभ सङ्स अफ एन इनलाइटन्ड प्रोस्टिच्युट ।

युवती खिन्न भई । उसको मुहार शोकमग्न देखियो । आँखा अ श्रुपूर्ण भए । बालजारलाई थकथक लाग्यो –व्यक्तिगत घाउ कोट्याएर मैले बिनासित्ति युवतीको मनमा चोट पु¥याएँ । आँसु पुछ्दै युवतीले भनी, ‘हरेक दिन संसारमा मानिस मर्छन् । दुर्घटनामा । कालगतिमा । कोही भोकमरीमा । कोही बाढीपहिरोमा । कोही आतंकवादी हमलामा । कोही धर्मयुद्धमा भने कोही गृहयुद्धमा । म तिनका निम्ति प्रार्थना गर्छु । तिनका आत्माको चिरशान्तिको कामना गर्छु । मोजाम्बिक, क्यामरुन, स्वाजिल्यान्ड, नामिबियामा एड्सद्वारा मरेका कैयौं अज्ञात आमा र छोरीहरूका निम्ति प्रार्थना गर्छु । सिरिया, अफगानिस्तान, सोमालियाका शरणार्थीहरूका निम्ति मैनबत्ती बाल्छु जो गन्तव्यअघि बाटामै मृत्युवरण गरेका थिए । नेपालको भूकम्प तथा इन्डोनेसियाको सुनामीमा मरेका मनुष्यहरूका निम्ति प्रेयर गर्छु । क्रूरतापूर्वक मारिएका बर्मेली भिक्षु, भिक्षुणीहरूका निम्ति मैनबत्ती बाल्छु । बोको हरामका शिविरहरूमा बलात्कारपश्चात् हत्या गरी मिल्काइएका मुस्लिम स्त्री तथा बालिकाहरूका निम्ति प्रार्थना गर्छु । जहाँजहाँ, जबजब मानवताको बुचरिङ हुन्छ म मैनबत्ती बाल्छु । प्रार्थना गर्छु ।’

युवतीको कुरा सुनी त्यो साँझ हेलसिन्कीको मूर्तिकार मूर्तिवत् भयो । निःशब्द भइगयो । एक प्रकारको अज्ञात एवं अतुलनीय अनुभूति उसको मनमा सुटुक्क छि¥यो । यस्तो नवीन अनुभूति जसलाई यसअघि उसले कहिल्यै महसुस गरेको थिएन । युवतीको सामु उसले आफूलाई पुड्को मात्र होइन भुसुना नै ठान्यो । उसलाई आफ्नो व्यक्तिगत पीडा ज्यादै निम्छरो लाग्यो । उसलाई लाग्यो– म त कस्तो ठिस रहेछु ! कस्तो स्वार्थी रहेछु ! कस्तो तुच्छ जीव रहेछु ! युवतीप्रति बालजार जाकोलाको मनमा असीम सम्मानको पवित्र भाव उत्पन्न भयो । तैपनि जिज्ञासु लवजमा उसले भन्यो, ‘मरेर जाने त गइहाल्छन् । तिम्रो प्रार्थनाले ती दिवंगत मानिसका अज्ञात आत्माहरूलाई त के नै पो फरक पार्छ र ? ’

युवतीले भनी, ‘फरक आत्माहरूलाई पार्दैन । प्रार्थनाले फरक त तपाईंलाई पार्छ । दिनप्रतिदिन तपार्इं करुणामयी बन्दै जानुहुन्छ ।’

वास्तवमा बालजार जाकोलाको निम्ति त्यो एक अद्भुत साँझ थियो । युवतीलाई भेट्नुअघि र पछि ऊ उही मानिस रहेन । त्यही साँझ युवतीसमक्ष दुवै घुँडा टेकी उसले यस्तो भनेको थियो ः

– म तिम्रो मूर्ति बनाउँछु । त्यो मूर्तिलाई म यही चर्चको कोर्टयार्डमा स्थापना गर्छु । म त्यो मूर्तिको नाम राख्छु– स्ट्याचु अफ कम्प्यासन ।

भनिन्छ एक वर्षको कडा मिहिनेत, परि श्रम र लगनले उसले युवतीको मूर्ति बनायो । त्यो मूर्तिलाई तपाईं हेलसिन्कीको गिर्जाघरमा अझै देख्न सक्नुहुन्छ । मूर्तिकार मरिसकेको छ । उसको आत्मा चिरायु रहोस् । युवती कहाँ, कता गई कसैलाई थाहा भएन । गिर्जाघरको कोर्टयार्डको मूर्तिबारे हेलसिन्कीका मानिसहरूचाहिँ यसो भन्छन् ः

– यो स्ट्याचु अफ कम्प्यासन बालजार जाकालोको सर्वोत्कृष्ट रचना हो । महान् कलाकारको एक म्याग्नम ओपस । एक मास्टरपिस ।

बार्सिलोना, स्पेन ।।

ऊ स्मृतिको चिहानमा गाडिएको एक फर्गटन पोयट थियो । माफ गर्नुस्, स्मृति होइन विस्मृतिको चिहान । त्यो चिहानलाई तपाईं बार्सिलोनाको गगनस्पर्शी अपार्टमेन्टको सत्रौं तलामा अवस्थित बेडरुममा देख्न सक्नुहुन्थ्यो जहाँ क्याटलन कवि थियागो रोद्रिगेजको बुढ्यौली एकान्तमा बितिरहेको थियो ।

थियागो रोद्रिगेज –जस्तो कि अघि नै भनियो– एक विस्मृत कवि थियो ।

दोस्रो विश्वयुद्धको प्रथम वर्षमा जन्मेको थियागो असलमा त्यही संग्रामताका चलनचल्तीमा रहेको कुनै युद्धपोतजस्तै पुरानो भइसकेको थियो । उसका तमाम यादमा अब त खिया लागिसकेको थियो । उसको जीर्ण कायामा समेत बुढ्यौलीको ढुसी जमेको थियो ।

समकालीन काव्य जगत्मा ऊ कतै थिएन । उसले निर्माण गरेको आफ्नो गौरवशाली अस्तित्व मानौं अतीतको अन्धकार कुवामा कतै विलीन भइसकेको थियो । उसलाई सम्झने पाठकहरू कोही थिएनन् । उसका दौंतरी लेखक, कवि, साहित्यकारहरूले उसलाई बुलफाइटमा दिवंगत भएको कुनै माटाडोरलाई झैं बिर्सिसकेका थिए ।

उसको घर तथा संसार भन्नु नै त्यही फ्ल्याट थियो जहाँ आजकल ऊ एउटा अमिगोलाई कुरी बस्थ्यो । माफ गर्नुस्, अमिगो होइन अतिथि कुरी बस्थ्यो । त्यस्तो अतिथि जसलाई मनुष्यजनहरू मृत्यु भन्छन् ।

र, एक बिहान उसको ढोकामा अतिथिले घन्टी बजायो ।

त्यस बखत थियागो रोद्रिगेज चेस खेलिरहेको थियो, एक्लै । उसको हातमा घोडा थियो । उसलाई सायद अन्तिम चाल चाल्नु थियो । किनभने चेस बोर्डमा अरू गोटीहरू थिएनन् । घन्टी बज्दा उसलाई डेल्फिना लोरेन्जा पो आएकी हो कि जस्तो लाग्यो । डेल्फिना अर्थात् उसकी केयरटेकर जो यही समय आउने गर्थी सरसफाइ गर्न, भाँडाबर्तन माझ्न र भोजन तयार पार्न । तर, डेल्फिना त हिजो नै एक साताको निम्ति आफ्नी बिमारी सासू भेट्न म्याड्रिड गएकी थिई ।

दोस्रो घन्टी बज्यो । घोडालाई उसले थपक्क चेस बोर्डमा राख्यो । ढोका खोल्यो । ढोकामा एउटी युवती उभिएकी थिई । युवतीलाई उसले तलदेखि माथिसम्म नियालेर हे¥यो ।

युवतीले मुस्कुराउँदै थियागो रोद्रिगेजसमक्ष हार्दिक समवेदना व्यक्त गरी । माफ गर्नुस् । हार्दिक समवेदना होइन हार्दिक अभिवादन व्यक्त गरी । युवतीको आवाज उसलाई मधुरमधुर       श्रुतिमधुरसम्पन्न लाग्यो । अभिवादन फर्काउँदै उसले युवतीले समाइरहेको बाँसको बुट्टेदार बास्केट हे¥यो जहाँ फूलहरू थिए । ससाना मसिना कलेजी फूलहरू ।

फूलको बास्केट अघि बढाउँदै युवतीले विनम्रतापूर्वक भनी ः

– तपाईंको सुस्वास्थ्य र दीर्घ आयुको कामना गर्छु । कृपया यो उपहार स्वीकार्नोस् ।

उसले बास्केट समात्यो ।

बास्केटलाई किचनमा लग्यो । अण्डाकार टेबलमा जतनपूर्वक राख्यो । यसरी कुनै दिन त्यस्ती युवती ढोकामा देखा पर्ली र फूलहरू उपहार देली भन्ने उसले कहिल्यै कल्पना गरेको थिएन । तर आजको बिहान कल्पनातीत थियो । कम्तीमा पनि वृद्ध कविको निम्ति जसलाई कल्पनाले समेत छाडेको युगौं भइसकेको थियो । घोडा समात्न चेसबोर्डतर्फ बढ्दा उसले ढोकामा युवतीलाई देख्यो । ऊ अझैसम्म त्यहीँ थिई । नजिक गएर उसले सोध्यो

– तिमी को हौ ?

– म युवती हुँ । – उसले भनी ।

– त्यो त म देखिरा’छु । तर तिमी कस्ती युवती हौ ?

– म सुन्दर युवती हुँ ।

त्यति भनेर सुन्दर युवती गृहप्रवेश गरी । कोठा सफा गरी । ओछ्यान मिलाइदिई । अस्तव्यस्त लुगाहरूलाई मिलाइवरी ह्यांगरमा राखिदिई, पट्याएर दराजभित्र राखिदिई । किताबहरूमा जमेका जमैकन धुलोलाई सिनित्त पारी पुछिदिई । किचेनको बासी चिकनलाई डस्टबिनमा मिल्काइदिई । अमलेट र कफी बनाएर बूढालाई दिई । बूढाले स्वाद मानीमानी कफी र अमलेट खायो । त्यसपछि युवतीले भनी, ‘हिँड्नुस बाथरुम जाऔं ।’ युवतीको पछि लागेर ऊ बाथरुम गयो ।

– अब कपडा फुकाल्नुस । –युवतीले भनी ।

अपरिचित जवान युवतीसामु कपडा खोल्न थियागो रोद्रिगेजलाई अल्छी लाग्यो । माफ गर्नुस् । अल्छी होइन उसलाई लाज लाग्यो । युवतीले नै उसका सम्पूर्ण वस्त्र खोलिदिई । त्यसपछि युवतीले बूढालाई नुहाइदिई । शिशुले झैं दुवै हातले बूढाले आफ्नो लाज छोप्न खोज्यो तर युवतीले गुप्ताङतिर साबुन लगाइदिँदै यसो भनी, ‘मलाई तपाईंको हेरचाह गर्न डेल्फिना काकीले पठाउनुभाको हो । तर तपाईंबारे जान्दाबुझ्दा म दुखी भएँ । तपाईं आफ्नो जमानाको उधुम लोकप्रिय कवि तर आज यसरी अपरिचित र अज्ञात भएको थाहा पाएपछि मलाई पीडा भयो । म तपाईंलाई सहयोग गर्न चाहन्छु ।’

– मेरो सहयोगका लागि तिमी के गर्न सक्छ्यौ ?       – बूढाले भन्यो ।

– म कविता वाचन गर्न सक्छु । – युवतीले भनी ।

युवतीको योजनाअनुसार उसले थियागो रोद्रिगेजका कविताहरूलाई सादा पानामा सुन्दर अक्षरमा सार्नेछे । ती कवितालाई ऊ बार्सिलोनाका विभिन्न सार्वजनिक अड्डाहरूमा वाचन गर्नेछे । उसले बताई ः

– मानिसहरूले तपाईंलाई बिर्सिसकेका छन् । तपाईंकै कविताहरूमार्फत म तपाईंलाई ज्युँदाउनेछु । आफ्नै अतीतको खरानीबाट मिथिकल पन्छी फिनिक्झैं तपाईं ज्युँदिनुहुनेछ ।

थियागो रोद्रिगेजलाई लाग्यो– अहा, कस्तो गज्जब कुरो !

त्यही अपरान्ह उसले आफ्नो लकर खोल्यो । लकरभित्र उसका काव्यसंग्रहहरू थिए । एउटा निकाल्यो । युवतीलाई दियो । किताब पातलो थियो । हार्ड कभरको । युवतीले शीर्षक पढी– फोर्टी नाइन लभ सङ्स अफ एन इनलाइटन्ड प्रोस्टिच्युट ।

युवतीले सात थान कविता पानामा सारी । अपार्टमेन्टबाट अन्तध्र्यान हुनुअघि उसले थियाग्रोलाई भनी ः

– सात दिनभित्र डेल्फिना काकी आइहाल्नुहुनेछ । सातवटा कविताका दरले सात दिनभित्र म जम्मै उनन्चास कविता वाचन गरिसक्नेछु ।

त्यही दिनदेखि युवतीको कविता वाचन अन्त्य भयो । माफ गर्नुस् । अन्त्य होइन कविता वाचन आरम्भ भयो । वाचनको सुरुआत उसले चिहान स्मारकमा उभिएर गरी । चिहानमा भेला भएका मानिसहरूमाझ जोडजोडले चिच्याउँदै भन्न थाली– ओ जीवित तथा मृतात्माहरू ! लौ अब सुन्नुस् फर्गटन पोयट थियागो रोद्रिगेजको कविता लभ सङ अफ एन इन्लाइटेन्ड प्रोस्टिच्युट ।

अर्को दिन युवतीले मेट्रो स्टेसनमा कविता वाचन गरी । अर्को दिन फेरी–बोटमा । अर्को दिन ट्राममा । अर्को दिन समुद्री तटमा । अर्को दिन पार्कमा । अर्को दिन गोथिक थिएटरको भव्य विशाल मञ्चमा ।

यी सात दिनमा बार्सिलोना थियागो रोद्रिगेजको कविताले गुलजार भयो । सर्वत्र उसको कविता र कविता वाचन गर्दै डुलिहिँड्ने नोम्याडिक जिप्सी युवतीको चर्चा भयो । युवतीबारे सहरमा छुट्टी मनाउन आएका पर्यटकहरू भन्ने गर्थे– हियम कम्स एन्ड दियर गोज् एन इन्लाइटन्ड प्रोस्टिच्युट अफ बार्सिलोना टु रिसाइट्स द पोयट्री अफ अ फर्गटन पोयट थियागो रोद्रिगेज । चियर्स !

र, आठौं दिन पुनः एकपटक ढोकाको घन्टी बज्यो ।

त्यस बखत थियागो रोद्रिगेज चेस खेलिरहेको थियो । उसको हातमा घोडा थियो । उसलाई सायद अन्तिम चाल चल्नु थियो । किनभने चेस बोर्डमा अरू गोटीहरू थिएनन् । तर ऊ अनेक कल्पनामा लीन, तल्लीन र लवलीन थियो । दोस्रो घन्टी बज्यो । घोडालाई थपक्क चेस बोर्डमा राखी ऊ ढोका खोल्न गयो ।

ढोकामा डेल्फिना लोरेन्जा उभिएकी थिई ।

– अहो, तिमी पो ! सासूलाई कस्तो छ ?       – उसले सोध्यो ।

– सासू त बित्नुभयो । – डेल्फिनाले भनी ।

त्यति भनेर डेल्फिना गृह प्रवेश गरी । उसले यता आउँदा सोचेकी हुँदी हो– सात दिनमा कोठाहरू अस्तव्यस्त लथालिंग भएका होलान् । कपडाहरू धुनुपर्ने होला । भाँडाहरू माझ्नुपर्ने होलान् । तर, उसको आशंकाविपरीत कोठाहरू चिटिक्क, सफासुग्घर पो देखिए । भाँडाबर्तनहरू माझिएर टिलिक्क परेका देखिए ।

थियाग्रोले उल्लसित मुद्रामा भन्यो ः

– डेल्फिना, तिमीलाई धेरैधेरै धन्यवाद ।

– केको निम्ति धन्यवाद नि ! – उसले कुरा बुझिन ।

– सात दिन तिम्री भतिजीले मेरो खुप हेरचाह गरी । तिमीलाई थाहा छ ?       उसले मेरा कविताहरू बार्सिलोनाभरि वाचन गरी । सात जन्ममा नकमाउने चर्चा तिम्री भतिजीले मलाई सात दिनमा दिलाइदिई ।

– को भतिजी ?       मेरो त कुनै भतिजी छैन । – डेल्फिनाले भनी ।

– त्यही क्या त ! सुन्दर युवती !

– को सुन्दर युवती ?

– त्यही सुन्दर युवती जसले मलाई फूलहरू ल्याइदिएकी थिई । ससाना, मसिना कलेजी फूलहरू । बास्केटमा ।

– तपाईंले नियमित औषधि त खानुभयो ?

तर थियागोले उसलाई पाखुरामा च्याप्प समात्यो । र, ओछ्यानतिर बलजफ्ती तान्दै लग्यो । माफ गर्नुस् । ओछ्यानतिर होइन किचनतिर तान्दै लग्यो । अन्डाकार टेबलतिर देखाउँदै उसले भन्यो ः

– तिमी आफैं हेर त ! बास्केट र कलेजी फूलहरू । अझै ओइलाएका छैनन् । ताजा छन् ।

डेल्फिनाको आङ सिरिंग भयो । टेबलमा कुनै बास्केट थिएन । बास्केट नै नभएपछि उसले ससाना मसिना कलेजी फूलहरू देख्ने कुरा पनि भएन । वृद्ध कविको डेल्फिनालाई एकाएक घृणा लागेर आयो । माफ गर्नुस् । घृणा होइन माया लागेर आयो ।

र, डेल्फिना लोरेन्जाले अन्तिम झूठ बोलीः

. मैले नै यो बास्केटमा भतिजीलाई फूलहरू हालेर पठाएकी थिएँ ।

बाकु, अजरबैजान ।।

कामिल बार्तोक लुकानिन सडकपेटीमा ह्विलव्यारो गुडाउँदै एक सुरले हिँडिरहेको थियो ।

भर्खरै सूर्योदय भएको थियो र मौसममा नवजात बैंसको वासना छरिएको थियो । चित्रकलाका सरजाम किन्न कफी तथा कुकिज नै नखाई ऊ आफ्नो स्टुडियोबाट निस्केको थियो । हुलाक–घरको सामुन्ने भीख मागिबस्ने मगन्तेले उसलाई अभिवादन गर्दै भन्यो ः

. सलामेवालेकुम चित्रकार जनाब । हेर्नोस् न, एकाबिहानै गुनासो गर्नुपर्ने भो । गुनासो गरूँ ?

. अवश्य गर्नुस् । – उसले भन्यो ।

. स्वास्नी र नोकरी दुवैले छाडी गएपछि मेरो आत्मा रङविहीन भएको छ । तपाईं त चित्रकार ! तपाईंसित आत्मा रंग्याउने बुरुस छैन ?

मगन्तेको गुनासो त बडा अलौकिक पो रै’छ ! कामिल बार्तोक लुकानिन सोचमग्न भयो । यस्तो प्रश्नको जवाफ त सुफी दरविस या मिस्टिक कविहरूसित पो हुँदो हो ! तर मनमा आएको कुरा उसले फ्याट्ट भन्योः

. प्रिया तुराल ! आत्मा रंग्याउने बुरुस त मैले अझै भेटेको छैन । म त्यसकै खोजमा हेर न यसरी भट्किरहेको छु । बरु तिमी यसो गर ।

. कसो गरूँ ?

. कसो गर भने नि तुराल ! हुलाकघरसामु यसरी बस्नुभन्दा बरु तिमी इन्द्रेणीमुनि गई बस । इन्द्रेणीका सातै रङले तिम्रो आत्मा रंग्याइदिनेछन् । तिम्रो आत्मा त्यसपपिछ सप्तरङ्गी हुनेछ ।

कामिल बार्तोकको कुरा तुराल, द बेगरलाई मनासिब लागेछ क्यारे ! लगत्तै ऊ जुरुक्क उठ्यो । कामिलका दुवै हात पालैपालो चुम्यो । बोरालाई काँधमा भिर्यो‍ । त्यसपछि त्यो सुन्दर बिहान तुराल इन्द्रेणीको खोजमा निस्क्यो ।

कामिल ह्विलव्यारो गुडाउँदै आफ्नो बाटो लाग्यो ।

केही दिनदेखि एउटी युवती हिँडडुल गर्न थालेकी थिई कामिलको सपनामा । युवतीको हातमा बास्केट हुन्थ्यो । बास्केटमा ससाना मसिना कलेजी रङका फूलहरू हुन्थे । युवतीको हातमा कहिले मैनबत्ती हुन्थ्यो । मैनबत्ती लिई युवती उसको सपनाका अँधेरी गल्लीहरूरित डुलिहिँड्थी । युवती कहिले बगैंचामा बसी टाउको माथि उड्ने पुतलीहरू हेरिबस्थी त कहिले आकाशको जून हेरिबस्थी ।

कहिलेकाहीँ युवतीका हातमा पानाहरू हुन्थे । सेता पानाहरू । पानामा लत्रेका अक्षरहरू ऊ पढ्न थाल्थी जो कविता बन्थे । कामिलको सपनामा चिहान थियो, मेट्रो स्टेसन थियो, पार्क थियो अनि ईश्वर जानून्, अरू के के थिए ! जहाँ युवती तन्मयका साथ काव्यवाचन गर्थी । कहिलेकाहीँ त कस्तो समेत हुन्थ्यो भने युवती उसको स्टुडियोमा देखा पर्थी र काव्यपाठपश्चात् पानाहरूलाई कोठाभरि छरिदिन्थी । ती पाना हेर्दाहेर्दै सेता चरा बन्थे र भुर्रभुर्र उडी झ्यालबाट बेपत्ता हुन्थे ।

बाकुको यो अजरबैजानी ब्याचलर चित्रकार त्यही स्वप्निल युवतीको चित्र कोर्न चाहन्थ्यो । सपनाकी युवतीलाई ऊ विपनाको क्यानभासमा पोत्न चाहन्थ्यो, उतार्न चाहन्थ्यो । त्यसनिम्ति उसलाई नयाँ रङहरू चाहिएको थियो । नयाँ बुरुसहरू चाहिएको थियो । नयाँ प्यालेटहरू चाहिएको थियो ।

ती सब सरजाम जुटाउन, किनमेल गर्न त्यो बिहान ऊ ह्विलव्यारो लिई घरबाट निस्केको थियो ।

चौबाटोमा पुगेपछि ऊ हठात रोकियो । जेब्रा क्रसिङनेरै एउटा मिनी ट्रक कोल्टिएर ढलेको थियो । सडकभरि यत्रतत्र हजारौं लिपस्टिक छरिएका थिए । त्यत्तिका लिपस्टिक उसले एकसाथ त्यसअघि कहिल्यै देखेको थिएन ।

ह्विलव्यारो गुडाउँदै बार्तोक ट्रकनजिक गयो ।

ट्रकमा चालकसालक थिएन । उसले ट्रकलाई एक फन्को मा¥यो । वाहनको पुछारमा पुग्दा ऊ केही चकितसकित प¥यो । साइलेन्सर पाइपबाट फ्यास्स फुस्स गर्दै बेरबेरको अन्तरालमा धुवाँसुवाँ निस्किरहेको थिएन । इन्जनसिन्जन पनि चल्या थिएन ।

अचम्म त के भने धुवाँमा पेट्रोल सेट्रोल, डिजेल सिजेलको गन्ध थिएन । बरु धुवाँमा एक किसिमको अत्तरको लठ्याउने सठ्याउने वासना थियो जसले सम्पूर्ण वातावरण सातावरणलाई मगमग सगमग पारेको थियो ।

चित्रकारलाई अनायास मगन्तेको याद आयो । इन्द्रेणीको खोजमा ऊ विपरीत दिशातिर गएकोमा कामिल बार्तोकलाई दुःख लाग्यो । उता उता कुन्नि कतातिर नगई मगन्ते यता यता यो ट्रकछेउ आइदिएको भए क्या जाति हुन्थ्यो !

लिपस्टिकले आत्मा रंग्याउने प्रसंग दिमागमा के फुरेको थियो कामिल बार्तोक लुकानिन स्वयं चकित प¥यो । उसको मनमा लाग्यो– स्वप्निल युवतीको चित्र लिपस्टिकले कोर्दा कसो होला ? मनैले जवाफ दियो– तौबा, तौबा ! गज्जब होला ।

उसले लिपस्टिकहरूलाई एकएक गरी उठाउँदै ह्विलव्यारोमा राख्न थाल्यो । असंख्य रंगीविरंगी लिपस्टिकले ह्विलव्यारो भरिँदै गयो । निरन्तर झुकिरहँदा कम्मर दुख्न थाल्थ्यो । त्यस्तो बेला सीधा उभिएर जीउ म¥याकमुरुक गथ्र्यो । सोच्न थाल्थ्यो– यो छिर्केबिर्के ट्रक ब्रह्ममुहुूर्तमा लिपस्टिकको कारखानाबाट डिस्प्याच भएको हुनुपर्छ । अवश्य पनि कुनै मल्टी विलिनियर बुर्जुवा प्रेमीले आफ्नी स्वप्न–हसिनाको निम्ति त्यत्तिका लिपस्टिकहरू खरिद गरेको हुनुपर्छ । प्रेमी–इन्साँअल्लाह–दिलफेक एवं दिलदार इन्सान हुनुपर्छ जो –खुदा ना करे–कहिल्यै निको नहुने अज्ञात रोगले थला परेकी स्वप्न–हसिनालाई एक बकेट या बास्केट होइन पूराका पूरा एक ट्रक लिपस्टिक उपहार दिएर आश्चर्यचकित पारिदिन चाहन्थ्यो । तौबा तौबा ! सके स्वप्न–हसिना किंवदन्तीकी त्यस्ती नायिका हुँदी हो जसलाई मृत्युशय्यामा जीवन बिताउने श्राप लागेको छ र जो श्रापमुक्त त्यस बेला मात्र हुन्छे जब दिलदार प्रेमीले उसको निम्ति एक ट्रक लिपस्टिक उपहार दिन्छ ।

आत्म–मन्थन गर्दा मथिएको यो किंवदन्ती कामिल बार्तोक लुकानिनलाई पराधुनिक अथवा उत्तर आधुनिक चरित्रको लाग्यो । खैर, स्वप्न–हसिनाप्रति उसलाई दया लाग्यो ।

ह्विलव्यारो लिपस्टिकहरूले भरिएपछि ऊ आफ्नो घर फक्र्यो । स्टुडियो छि¥यो । जम्मै लिपस्टिकहरूलाई भुइँमा छरिदियो । लिपस्टिकले गर्दा कोठाको रूपरङमा चारमात्र होइन पाँच छ सात चाँद लाग्यो । सम्पूर्ण परिवेश भव्य, चित्ताकर्षक एवं सुरुचिपूर्ण देखियो । तौबा तौबा ! चित्रकारको स्टुडियो त बल्ल पो चित्रात्मक देखियो !

सपनामा परिभ्रमण गर्ने स्वप्न–परीको लिपस्टिक स्केच गर्न खुदाके बन्दे अब तम्तयार भयो । त्यस अघि बाथरुम छि¥यो । पेटलाई खाली राख्न कमोड कुण्डमा मुतसितै मस्तसित एक छटाक त होइन कम्तीमा एक पाउ हग्यो । तौबा तौबा ! उसले त कपडा नै नखोली शावर स्नान ग¥यो ।

चित्र कोर्नुअघि ऊ यसैगरी नुहाउँथ्यो । चित्र कोर्दा उसको शरीरबाट पानी झर्नु पथ्र्यो । यसो गर्दा उसलाई आत्मिक आनन्द आउँथ्यो । तब त उसका चित्रहरू त्यति गहन एवं आकर्षक हुन्थे । तब त उसका पेन्टिङहरू करोडौंमा बिक्री हुन्थे ! कछाड लगाएर या नांगै त संसारका सम्पूर्ण चित्रकारहरू नुहाउँथे । कपडा नै लगाएर त कुन पेन्टरले सावर बाथ लिन्थ्यो र ! तब न ऊ द कामिल बार्तोक लुकानिन ! फ्रम बाकु–अजरवैजानकी जान और सान ।

दायाँ हातमा कफीको मग र बायाँ हातमा एउटा लिपस्टिक लिई यति बेला चित्रकार क्यानभास सामु उभिएको थियो । उसको कमिज र सलवारबाट पानी चुहिरहेको थियो । अनि, विस्तारै क्यानभासमा लिपस्टिक च्यापिएका उसका औंलाहरू चलमलाउन थाले ।

र, सर्वप्रथम उसले स्वप्न–युवतीको –इन्साँअल्लाह– ओठ बनायो । स्वप्निल कलेजी ओठ ।

०००

उलानबाटर, मंगालिया ।।

ग्रिन गुम्बामा एउटी युवती थिई । मुडुलो टाउको भएकी । गोरी, हिस्सी परेकी । दाँतका पंक्तिहरू शार्दूलविक्रीडित छन्दका अक्षरदानाहरूझैं मिलेका । मृदुभाषी । नील नेत्रवाली । शिखरिणी या अनुष्टुप छन्दझैं मथिएकी देहविन्यासनी । शाश्वत बैंस व्यसनी । कलेजी वस्त्रधारणी । एक भिक्षुणी ।

उसका स्वर्गवासी मातापिता क्रमः भूगर्वविद् र पुरातŒवविद् थिए । कायरोको पिरामिडमुनि एउटा गुप्त च्याम्बरमा उनीहरूको प्रेमिल संसर्गपश्चात् आमाको नरम, कोमल, मुलायम पेटभित्र उसको रचना भएको थियो ।

र, उसको जन्म भएको थियो प्रशान्त महासागरको नील गगनमा । एक निजी वायुयानको क्याबिनमा । आकाशमा जन्मिएकोले नै हुनुपर्छ, उसको देह धर्तीमा भए पनि मन भने सदा आकाशतिर उडिरहन्थ्यो । मातापितासितै उसले ग्लोबका विभिन्न कुना चहारेकी थिई । चप्पाचप्पा घुमेकी थिई । सी वज अ पर्फेक्ट ग्लोब–ट्रटर, यु सी ! चलनचल्तीको भाषामा भन्नुपर्दा ऊ ग्लोबल युवती थिई ।

विश्वका विभिन्न सहरमा युवतीले आफ्नो अतीत हस्तान्तरण गरेकी थिई ।

क्रेम्लिन, काबुल, कोलकातामा उसका बाल्यकाल बितेका थिए । प्राग, लिमा, बगदाद, केप टाउनमा अक्षरहरूसित उसको परिचय भएको थियो । बेइजिङमा उसको पहिलो रजस्वला भएको थियो । मेलबोर्नको एउटा क्याफेमा उसको छातीमा एउटा स्तन पलाएको थियो र अर्को स्तनचाहिँ क्यालिफोर्नियाको डिस्कोथेकमा ।

डब्लिनको पुस्तकालयमा रुमीको कविता पढ्दा पहिलोपटक उसका नीला आँखाहरू अ श्रुपूर्ण भएका थिए । ती आँस से फोक्सुन्डो तालको नीलो पानीमा खसेर बिलाएका थिए ।

उसको जवानीको पहिलो वसन्त तान्जानियाको सरेँगेटी राष्ट्रिय निकुञ्जमा बितेको थियो । पहिलो वर्षात् कम्पालामा । पहिलो हिउँद मोन्ट्रियलमा अनि पहिलो पतझड ओस्लोमा ।

उसको पहिलो सेक्स मानसरोवरको तीर्थयात्रामा एउटा यायावर मिस्टिकसित भएको थियो ।

अब त ऊ बैंसको उत्कर्षमा थिई र यस बखत उलानवाटरको ग्रिन गुम्बाबाहिर अवस्थित शान्त बगैंचाको घाँसमा थपक्क, चुपचाप बसेकी थिई । टाउकोमाथि नुहेको आकाशमा उडिरहेका कलेजी पुतलीहरू हेरिरहेकी थिई । विगत केही दिनयता ऊ एकोहोरिएकी थिई । सामूहिक प्रार्थनामा उसको मन बसिरहेको थिएन । एकाग्र चित्तले ध्यानसमेत गर्न सकिरहेकी थिइन । जबजब ध्यान बस्नका निम्ति समाधिस्त भई आँखा चिम्लन्थी तब अन्तर्दृष्टिमा अनेक दृश्यहरू चलमलाउन, सलबलाउन थाल्थे । युवती विचलित थिई । गुरुले दिएका मन्त्रहरूले उसको तान्त्रिक मनमा कुनै प्रभाव पार्न सकिरहेका थिएनन् ।

त्यो दिनभरि युवती बगैंचामा पुतलीहरू हेरिबसी । रातभर पनि त्यहीँ जाग्राम बसी । जून हेरी । अर्को बिहान गुरुले उसलाई यसो भने ः

– मलाई लाग्छ गुम्बाको बसाइ अब तिम्रो लागि समाप्त भएको छ । तिम्रो मार्ग ध्यान र तपस्याको होइन । तिम्रो मार्ग त प्रेमको हो । यही घडी तिमी अब त्यो मार्गलाई पछ्याऊ । जहाँसम्म तिम्रो भिजनमा चलमलाउने दृश्यचित्रहरूको प्रसंग छ, त्यसलाई कुनै स्वप्न अनुवादकले हल गरिदिनेछ ।

– त्यो स्वप्न अनुवादकलाई म कहाँ भेट्टाउनेछु ?

– कतै भेट्टाइहाल्नेछौ । तिमी केवल प्रेममार्गमा हिँड । गन्तव्यले तिमीलाई एक दिन स्वयं पहिल्याउनेछ ।

त्यही अपराह्न युवती पर्यटक बस चढी । मानौं, बस उसैलाई कुरिरहेको थियो । युवती चढ्नासाथ बस गुडिहाल्यो । सबै यात्रीले उसलाई मौन भाषामा अभिवादन गरे । एउटा खाली सिटमा ऊ बसी जसको झ्यालपट्टि एक अधबैंसे युवक घुर्दै निदाएको थियो । युवतीले उसको टाउको मिलाइदिन खोज्दा ऊ झसंग भई निद्राबाट जाग्यो । युवतीलाई हेर्दै भन्यो ः

– ओहो ! तिमी आइपुग्यौ ?

– अँ आइपुगे । – युवतीले भनी ।

– ल ठीक छ । तिम्रो प्रेममार्गतर्फको यात्रा अब सफल हुने छाँटकाँट देखियो ।

अधबैंसे युवकको कुरा सुनेर युवती केही सशंकित भई । ग्रिन गुम्बाका गुरुले युवतीसमक्ष प्रेममार्गबारे चर्चा गरेका थिए । तर यो अधवैंशे युवकले त्यो कुरा कसरी चाल पायो ? गुरुले इंगित गरेको स्वप्न अनुवादक कतै यही मनुवा त होइन ? युवतीले सोधी ः

– तिमी को हौ ?

– म नेपाली हुँ । उलानबाटरमा आफ्नो पुनर्जन्म खोज्न आएको नेपाली हुँ । – उसले भन्यो ।

– आङ ली, जेट ली, ब्रुस ली जस्तै नेपाली ?

जवाफमा अधबैंसे युवक मुस्कुरायो । युवती हाँसी ।

०००

काठमान्डु, नेपाल ।।

त्यो साँझ अलिक अबेर गरी म त्यहाँ पुगेको थिएँ जहाँ मलाई एट् एनी कस्ट पुग्नु थियो ।

माटो र काँचो इँटले बनेका परम्परागत नेवारी शैलीका घरहरूबीच लेडी लमीको राणाकालीन दरबारको झल्को दिने तन्त्रघर थियो । म त्यहाँ पुग्दा भीड लागेको थियो । तन्त्रघर सामुन्नेका डबली, सत्तल र पटांगिनीमा मानिसहरू कल्याङमल्याङ गर्दै बसिरहेका थिए । ती सब मजस्तै चिना हेराउन आएका मानिसहरू थिए । आफ्नो पालो आउन मैले धेरै पला पर्खनुपर्ने भयो ।

तन्त्र विधामा पारंगत लेडी लमी कुशल म्याचमेकर थिई भन्ने जनविश्वास प्रचलित थियो । जन्मकुण्डली हेरेर वर र वधूबारे उसले गर्ने भविष्यवाणीमा कुनै कैफियत हुनु –मानिसहरूका अनुसार– असम्भव थियो । विभिन्न भुक्तभोगीको कथोपकथनबाट मैले के बुझेको थिएँ भने लेडी लमीले जुराइदिएको जोडीहरूबीच वियोग त टाढाको कुरा कहिल्यै मनोमालिन्यको गुञ्जायस नै रहँदैन । दाम्पत्य जीवन आश्चर्यजनक रूपले सुखद तथा सुमधुर हुन्छ ।

त्यो साँझ आफ्नो चिना लिई म पनि त्यस्तै सम्भावित सुखद आश्चर्यको अभिलाषामा त्यहाँ पुगेको थिएँ । धेरै समय व्यतीत भएपछि अन्तिममा बल्ल मेरो पालो आयो । लामो बाहुला भएको बक्खु लगाएको पिलन्धरे किशोरले मलाई डो¥याउँदै, फलेकको बाटुलो भरेङ चढाउँदै लेडी लमीको कोठामा पु¥यायो । ऊ आँखा चिम्लीकन अग्निकुण्डसामु पलेँटी मारी बसेकी थिई । फुक्काफाल कपालको झाँक्रो उसको वक्षस्थलवरपर लत्रिएका थिए ।

मुठाका मुठा धुपबत्तीबाट निस्कने सुगन्धित धुवाँको तुवाँलो कोठामा छाएको थियो । लेडी लमीको ललाटमा लाम्चो कालो त्रिकोण थियो । त्रिकोणको मध्य बिन्दुमा रातो ठूलो टीका थियो जसले तेस्रो नेत्रको तिलस्मी भाव सम्प्रेषण गरिरहेझैं प्रतीत हुन्थ्यो । मैले आफ्नो जन्मकुण्डलीको पात्रो निकाल्नै लाग्दा उसको दृढनिश्चयी जनाना आवाज सुनियो ः

– भो पर्दैन अधबैंसे युवक ! रातको मध्य प्रहरमा म चिना हेर्दिनँ । भोलि हेरूँला ।

म रूँलारूँलाझैं भएँ । विलखबन्दमा परेँ । के गरूँ, के नगरूँ ? अब मध्यरातमा ऊ चिना हेर्दिन भन्ने मलाई के थाहा ? अन्ततः बक्खुवाला पिलन्धरे किशोरले मलाई डो¥याउँदै अतिथि कक्षमा पु¥यायो र त्यहीँ छाडिदियो । जाँदाजाँदै उसले भन्यो ः

– भोलि १२ बजेपछि सर्वप्रथम तपाईंकै चिना हेरिनेछ । त्यतिन्जेल आरामसित सुत्नुस् ।

अब कसरी आरामसित सुत्ने ? पिलन्धरेले त्यो पनि भनिदिएको भए काइदाको हुन्थ्यो । एक खराब आदत छ । सत्रौं जन्मदिनदेखि लागेको । १२ बजेपछि म निदाउन सक्दिनँ । ११ बजेर ५९ मिनेटिभित्र एट एनी कस्टम सुतिसक्नुपर्छ । नत्र मरेकाटे निद्रा लाग्दैन । १२ क्रस भयो कि निद्रा चट् । त्यसपछि एकैपटक बिहानको ठीक ७ बजेमात्र निद्रा लाग्छ जुन अपराह्नको १ बजेसम्म कायम रहन्छ ।

केही बेर नौलो परिवेशलाई आँखाले सुँघे । कोठा फराकिलो नै थियो । सफासुग्घर ।

भित्तामै अडेसिएको थियो एउटा ड्रेसिङ टेबल जुन कोठाको व्यक्तित्वसित ज्यादै अमिल्दो लाग्थ्यो । जिनिस केही प्राचीन प्रतीत हुन्थ्यो । त्यसमा कुँदिएका मिहिन बुट्टाहरू क्लासिक काँटका थिए जसले जस्तोसुकै ऐरेगैरे नत्थु खैेरे टाइपका गैरकलात्मक ग्वाँजलाई समेत आकर्षित गर्ने सामथ्र्य राख्थ्यो । चतुर्भुज आकारको ऐनालाई चाहिँ छेउछाउका दुई खापाले छोपेका थिए । मतलब, ड्रेसिङ टेबल खुला नभई बन्द थियो। तर किन बन्द थियो ?

विस्तरामा पल्टेर लेडी लमीको तन्त्रघरमा आउनका कारण एवं प्रयोजनबारे केही बेर घोत्लिएँ । मलाई लाग्थ्यो, मेरो निम्ति संसारमा कुनै युवती जन्मेकै थिएन । असंख्य विवाह प्रस्तावलाई मैले अस्वीकार गरिसकेको थिएँ । म बडो अप्ठ्यारो मानिस थिएँ । परिवारका सदस्य, आफन्तजन मसित आजित भइसकेका थिए । एक्लो सन्तान भएकाले पनि वंश निरन्तरताको विषयलाई लिएर विशेषगरी ड्याडी चिन्तित हुनुहुन्थ्यो । केही दिनअघि मेरो चिना मेरो हातमा राखिदिँदै उहाँले भन्नुभएको थियो, ‘यो चिना लिएर तन्त्रघर जा । लेडी लमीले तेरी युवतीबारे केही बताइदेली । अहिले नै विवाह नगर् । कम्तीमा तेरो निम्ति पनि दुनियाँमा युवती जन्मिएकी छे भन्ने थाहा पाएपछि म ढुक्क हुन्छु ।’

त्यसैले म तन्त्रघर आएको थिएँ । लेडी लमीले मेरो चिना हेरेर के भन्दी हो ! अनेक तर्कनामाझ गोता खाइरहेको थिएँ । यस्तैमा एउटा अनौठो आवाजले मेरो तर्कना भंग भयो ।

मध्यरातको त्यो एकोहोरो निरस आवाज केको थियो ? त्यो आवाज कहाँबाट आइरहेको थियो ? झ्याल खोलेँ । रात चकमन्न थियो । मुनि आँगनमा भोगटेको बामपुड्के रूखमा कुनै साइँसुइँ थिएन । रूखमुनि सँगसँगै निदाएका कुकुर र बिरालो शान्त थिए । आवाज वास्तवमा कोठाभित्रैबाट आइरहेको थियो । त्यो आवाज गाडीको जस्तो थियो । एकानासको । एकोहोरो ।

अकस्मात् मेरो दृष्टि ड्रेसिङ टेबलमा गएर अडियो ।

मेरो जीउ नै सिरिंग भयो । यो कस्तो इन्द्रजाल हो ? तन्त्रघरको यो कस्तो खालको तान्त्रिक टुनामुना हो ? मेरो मन बाउँडियो । ड्रेसिङ टेबलका दुई खापालाई मैले उघारिदिएँ । कस्तो अचम्म ! ऐनाभित्र एउटा बस यामानको चौडा सडकमा एकनासले गुडिरहेको थियो । के त्यो पर्यटक बस थियो ?

टेलिभिजनको स्क्रिनमा झैं स्पष्ट दृश्य ड्रेसिङ टेबलको ऐनामा चलायमान थियो । दृश्य बदलिएर बसभित्र स्थिर भयो । बसभित्र जम्मा दुईजना यात्रुमात्र थिए । कलेजी वस्त्र लगाएकी एउटी मुडुलो युवती । गोरी, हिस्सी परेकी । अनि युवतीको बगलको सिटमा चाँहि म थिएँ । घुरेर निदाइरहेको ।

युवतीले मेरो टाउको मिलाइदिन खोज्दा म हडबडाउँदै निद्राबाट जागेँ । मैले बसमा चारैतर्फ हेरेँ । बाँकी यात्री कसैलाई नदेखेपछि युवतीलाई सोधेँ ः

– हामी यो बसमा यात्रा गरेको कति भयो ?

– तीन महिना भयो । – युवतीले भनी ।

युवतीको अन्तिम शब्दोच्चारणमा बस घच्याक्क रोकियो । उसको पछि लागेर म बसबाट आर्लिएँ । हाम्रो सामु एउटा विशाल ताल थियो । मैले एउटा मोटरबोट भाडामा लिएँ । हरियो कञ्चन जलराशिलाई चिर्दै जलवाहन तालको अर्को किनारमा पुग्यो ।

मलाई त्यहीँ छाडी युवती जंगल प्रवेश गरी । केही बेर एक सुरले वनमार्गमा हिँडेपछि ऊ एउटा आ श्रममा पुगी । बाख्राको दूध दुहिरहेको जटाधारी मानिससामु गई उभिई । अर्को दृश्यमा जटाधारीले काँचो दूधको बाटुलो काँचको पारदर्शी कचौरालाई छेवैको ढुंगामा राख्यो । युवतीले भनी ः

– म स्वप्न अनुवादको खोजमा आएकी हुँ ।

– त्यसो भए मोज गर । –जटाधारीले भन्यो– स्वप्न अनुवादक तिम्रोसामु छ ।

दुवैजना आम्नेसाम्ने भई घाँसमा बसे । युवतीले आफू आउनुको कारण एवं प्रयोजनबारे विस्तारपूर्वक बताउन थाली, ‘केही कालयता आफ्नो अस्तित्वलाई लिएर म ज्यादै उद्विग्न छु । किन हो कुन्नि म विभिन्न अंशमा विभाजित छुजस्तो लाग्छ । अनेक रूप र रङमा म बाँडिएकी छु भन्ने आभास भइरहन्छ ।’ केही बेर ऊ मौन बसी । जगल्टेले भन्यो ः

– म सुन्दैैछु । तिमी भन्दै जाऊ ।

युवती भन्दै गई, ‘यस्तो लाग्छ, मभित्र अनेक युवती बाँचिरहेका छन् । विभिन्न टाइम एन्ड स्पेसमा तिनीहरू भ्रमण गरिरहेछन् । फेरि लाग्छ, तिनीहरू सब म हुँ । केवल म । मात्र म । आँखा चिम्लेर ध्यानमा बस्दा मेरो अन्तर्दृष्टिमा अनेक दृश्यचित्र आउँछन् ।’ युवती बोल्न छाडेर आकाश हेर्न थाली । जगल्टेले भन्यो ः

– तिमी भन्दै जाऊ । म सुन्दैछु ।

आकाशतिरै हेरीकन युवतीले एक सुरमा भन्न थाली, ‘कहिले म कुनै सुनसान सडकको जेब्रा क्रसिङमा ढलेको छिर्केबिर्के मिनी ट्रकछेउ चुपचाप उभिएकी हुन्छु । र, हेरिरहेकी हुन्छ एउटा मानिसलाई जो सडकमा यत्रतत्र छरिएका लिपस्टिक एकएक गरी टिप्दै ह्विलव्यारोमा राखिरहेको छ । कहिले त्यसलाई म कुनै अर्ध उज्यालो कोठामा देख्छु क्यानभासमा लिपस्टिकले मेरो चित्र कोरिरहेको ।’ युवती श्वास फेर्न रोकिई । जगल्टेले भन्यो ः

– सुन्दैछु । भन्दै जाऊ ।

युवती भन्दै गई, ‘कहिले त म गिर्जाघरमा हुन्छु । आफैंलाई देख्छु प्रार्थना गरिरहेकी । मैनबत्ती बालिरहेकी । अनि देख्छु कुनै मानिसले मलाई आफ्नो घर लिएर जान्छ र मेरो मूर्ति बनाउन थाल्छ । कहिले त कस्तो हुन्छ भने म त्यो बूढो मानिसको अपार्टमेन्टमा पुग्छु जो मृत्यु कुरी बसेको छु । म उसका कविताहरूलाई हातले पानामा सार्छु र तिनलाई विभिन्न ठाउँमा गई सार्वजनिक वाचन गर्छु । यस्तो किन हुन्छ ? यस्ता दृश्यचित्रहरू मेरो भिजनमा बारम्बार किन आइरहन्छन् ? ’

जगल्टेले तत्काल कुनै जवाफ दिएन । बरु उठेर ढुंगातिर गयो र दूधको कचौरा लिएर आयो । कचौरा युवतीलाई दिँदै भन्यो ः

– एक कचौरा काँचो दूध खाऊ । यसले तिमीलाई निको पार्छ । तिम्रो मनमस्तिष्कमा बारम्बार चलमलाउने दृश्यचित्रहरू त्यसपछि सदासदाका लागि बिलाएर जानेछन् ।

युवतीले दूध खाई । अनि प्रश्निल आँखाले जगल्टेलाई हेर्दै भनी, ‘म आफैंलाई चिन्न सकिरा’छैन । दुविधामा छु । तपाईंले बताइदिनु प¥यो । वास्तमा म को हुँ ? ’

– तिमी सपना हौ । – जगल्टेले भन्यो ।

– सपना ? – युवती पुनः प्रश्निल भई ।

– हो, सपना । तिमी चित्रकारको सपना हौ । तिमी रचना हौ ।

– रचना ?

– हो, रचना तिमी मूर्तिकारको रचना हौ । तिमी कल्पना हौ ।

– कल्पना ?

– हो, कल्पना । तिमी कविको कल्पना हौ ।

सपना । रचना । कल्पना । यी तीन शब्दलाई युवतीले आफ्नो ओठमा खेलाई । ओठबाट चिप्लेर त्रिशब्द जिब्रोमा गई बसे । जिब्रोबाट त्रिशब्द सर्दैसर्दै कण्ठमा गई बसे । अनि कण्ठबाट ती तीन शब्द सुलुलुलु बग्दैबग्दै मनभित्र वि श्राम लिए ।

ड्रेसिङ टेबलको चतुर्भुजी ऐनामा त्यस्तो खालको अमूर्त दृश्य अवश्य पनि देखिएको थिएन तर युवतीको सौम्य मुहार हेरेर मैले त्यस्तै लख काटेँ । मलाई स्वप्न अनुवादक र युवतीबीचको कुराकानीमा रस बस्दै गयो । मलाई मजा लाग्न थाल्यो । अफसोस त के मात्र थियो भने त्यो दृश्यमा म कतै पनि थिइनँ । मलाई त कलेजी युवतीले मोटरबोटमा एक्लै छाडिदिएकी थिई । तैपनि दृश्यमा अकस्मात् कतैबाट टुप्लुक्क प्रवेश गरी पो हाल्छु कि भन्ने अभिलाषाका साथ ड्रेसिङ टेबलको ऐनामा म एकोहोरिएर आँखा नै नझिम्क्याई हेरिरहेको थिएँ ।

स्वप्न अनुवादकले भनेको सुनियो, ‘युवती ! वास्तवमा तिमी सपना, रचना अनि कल्पनाहरूको योगफल हौ । तिमी तमाम कलाकार, स्वप्नदर्शी, दार्शनिकहरूको सोच हौ । विचार हौ । दर्शन हौ । तिमी प्रेम हौ, प्रार्थना हौ र तिमी नै प्रेरणा हौ । अस्तित्वको अनन्त कालदेखि जगत्मा तिमी यसैगरी छरिएकी छौ, छाएकी छौ र छन्दोबद्ध छौ । संगीतमा तिमी छौ, काव्य, नृत्य, चित्रकलाहरूमा तिमी छौ । अस्तित्वको आदि पनि तिमी हौ र तिमी नै अन्त्य हौ । तिमी शून्य हौ र तिमी नै नाद हौ । तिमी नै शून्यब्रह्म र तिमी नै नादब्रह्म । तिमी शरीर होइनौ बरु नृत्यमग्न आत्मा हौ । तिम्रो शरीर त आत्माको फगत एक पार्थिव छायाँ हो । प्रिय युवती ! तिमी अनादी हौ । मनुष्यले जबसम्म सपना देख्छ तिमी रहनेछौ, जबसम्म रचना गर्छ तिमी रहनेछौ, जबसम्म कल्पना गर्छ तिमी रहनेछौ । जस्तो कि यही क्षण तिमी त्यो अधबैंसे युवकको तर्कना हौ जो ड्रेसिङ टेबलको ऐनामा चल्मलाइरहेको छ ।’

अल्मलिएर युवतीले सोधी ः

– को अधबैंसे युवक ? कस्तो ड्रेसिङ टेबल ?

– तन्त्रघरको अतिथिकक्षमा बसेको अधबैसे युवक । – स्वप्न अनुवादकले भन्यो ।

– म यस बखत तन्त्रघरमा छु ?

– तिमी कहाँ छैनौ ? तिमी जहाँ कहीँ छौ । तिमी सर्वव्यापी छौ ।

– तन्त्रघरमा म यस बेला के गर्दैछु ?

स्वप्न अनुवादकले भन्यो, ‘तन्त्रघरमा अहिले मध्यरातको समय चलिरा’छ । अधबैंसे युवक निदाउन सकिरा’छैन । त्यसो त आदतअनुसार रातको १२ बजेपछि ऊ निदाउन सक्दैन । सत्रौं जन्मदिनपश्चात् उसको नियति यस्तै छ । जन्मदिनको कामनामा पक्कै पनि कसैले उसलाई निद्रा नलाग्ने श्राप दिएको हुनुपर्छ । ऊ ननिदाउन अभीषप्त छ ।’

यो के भन्दै थियो जगल्टे ? म खुम्चिएँ ।

मेराबारे ऊ यति दृढनिश्चयी कसरी हुनसक्छ ? ऐनामा मैले उसलाई एकटकले हेरेँ । ऊ भन्दै थियो, ‘यस बखत त्यो अधबैंसे युवकको मनमा अनेक तर्कना खेलिरहेका छन् । तर्कनाका बादलहरू उसको हृदयमा तैरिरहेका छन् । तिनै तर्कनाहरू– जो तिमै्र रूप एवं सार, रूपसार हुन्– उसको ड्रेसिङ टेबलको ऐनामा दृश्यचित्र बनी चलमलाइरहेका छन् । अधबैंसे युवक यस बेला हामीलाई एकटकले हेरिरहेको छ । तन्त्रघरको अतिथिकक्षमा हाम्रो आवाज गुञ्जिरहेको छ ।’

जगल्टेको कुरा सुनी म झसंग भएँ ।

जुरुक्क उठेँ । ड्रेसिङ टेबलका खापा ढप्काइदिएँ । दृश्यलाई छोपिदिएँ । अकस्मात् आङ सिरिंग भयो । नौ नाडी गलेर आयो । शिथिल भएँ । शरीरको तापक्रम एकसाथ वर्फिलो र गर्मिलो भएको महसुस गरेँ । आखिर यो सब के भइरहेछ ? एक अम्खोरा पानी घटघट, घुटघुट, घटघट पिएँ ।

लेडी लमीले मलाई कस्तो छल गरी ? या यो तन्त्रघर नै यस्तै हो ?

जल सेवनले गर्दा नै हुनुपर्छ शरीर शनैः शनैः होलो हुँदै गयो । शरीरको विसंगत तापक्रम पनि सामान्य भयो । जलमा पनि कतै लेडी लमीले रचेको छल नै पो थियो कि ! केही बेर शान्त चित्तका साथ बसेपछि छल पनि मलाई कताकता सुखद लाग्न थाल्यो । त्यसपछि ड्रेसिङ टेबलको खापा उघारिदिएँ ।

थ्यांक गड ! ऐनामा यतिखेर दृश्य बदलिएको रहेछ ।

मैले आफूलाई मोटरबोटमा देखेँ । युवती र म आमनेसामने बसी एकअर्कालाई निर्निमेष हेरिरहेका थियौं । माई गड ! कति युगदेखि हामी एकअर्काका आँखामा त्यसरी बास बसेका थियौं ? एकअर्काका सुमद्री आँखामा मत्स्य अवतार लिई चलमलाइरहेका थियौं ?

आफ्नै चालमा जलवाहन हरियो तालमा अनेक छाल जन्माउँदै अघि बढिरहेको थियो । यस्तैमा युगीन मौनतलाई छताछुल्ल पार्दै मैले युवतीसित भनेँ, ‘यतिका जीवन मलाई के लाग्थ्यो भने मेरोनिम्ति यस जमिनमा कुनै युवती जन्मिएकी छैन ।’

युवतीले मुस्कुराउँदै भनी ः

– तिमीलाई त्यस्तो लाग्नु जायज थियो । स्वाभाविक थियो किनभने तिमीले जमिनबारे मात्र सोच्यौ । तिमीले कहिल्यै आकाशबारे पनि सोच्यौ ?

– सोचिनँ । किन र ? – मैले भनेँ ।

– किनभने केही युवती आकाशमा पनि जन्मिन्छन् । – उसले भनी ।

त्यसपछि ड्रेसिङ टेबलको ऐनामा आकाश देखियो । व्यापक, विस्तिर्ण आकाश । बेदाग आकाश । बादलका चोक्टाविहीन खुला आकाश । यस्तैमा पाश्र्ववाणीको भ्वाइस ओभरमा युवतीको आवाज सुनियो, ‘यतिका दिन बिते यतिका रात बिते । यतिका मौसम बिते यतिका उमेर बिते । यतिका जन्म र मृत्युका साथ यतिका जीवन बिते तर तिम्रो नाम के हो भनी तिमीले मलाई कहिल्यै सोधेनौ । कस्तो अनौठो, हगि ? ’

तन्त्रघरको अतिथिकक्षमा म चुपचाप, निःशब्द थिएँ । ड्रेसिङ टेबलका कलेजी बुट्टाहरू कति सुन्दर थिए ! मनका तर्कनाहरू जस्ता ती कलात्मक बुट्टा कसले कुँदेको थियो ? अब त ऐनाको दृश्यमा म थिइनँ । युवती थिइन् । केवल नील गगनको विस्तिर्ण पैmलावट थियो । मैले नै सोधेँ, ‘तिम्रो नाम के हो युवती ? ’

संक्षिप्त मौनतापश्चात् ड्रेसिङ टेबलको ऐनाबाट युवतीले भनी ः

– सुफियाना ।

शनिवार, असोज १५, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

1 Response to कथा : सुफियाना

  1. Slim Jiwan says:

    Kumar Nagatkoti always rocks!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.