~पुरुषोत्तम सुवेदी~
एक
ब्याङ्क काउन्टरको
न्यून वैतनिक कर्मचारी
सारा नोट थन्क्याइसकेपछि
झल्याँस्स सम्झन्छ
रित्तो गोजी
र, बिरामी छोराको अनुहार,
उसलाई थाहा छ
आज पनि पहिलेझैँ
कसैसँग
सापटी माग्नपर्छ ।
दुई
दिनभरि टेलिफोन समातेर
आकाशे खेती गर्ने
दलाल भुँडे सेठ
साँझमा थन्क्याउँछ सेफमा
हरिया नोट, चेक
र, ब्याङ्कका भुक्तानी पर्ुजाहरू
दिनहरू झन्झन्
शुभ हुँदै गएका छन् ।
तीन
जागिर छाडेर राजनीतिमा
र, राजनीतिमा टेकेर
गैरसरकारी संस्थामा
समाजसेवा गर्ने नेताजी
प्रसन्न छन्
ख्याति र समृद्धिले,
तर, सामान्य मान्छेको जीवनस्तर
निरन्तर खस्कँदो छ
र, त्यसैको निवारणका नाममा
डलरको वर्षा गर्छ विदेशी दाताले,
यो अर्थतन्त्र
झन्झन् उदार
झन्झन् मानव द्रोही
झन्झन् नाफामुखी
र, झन्झन्
बजारमुखी हुँदै गएको छ ।
-कलङ्की, काठमाडौँ
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक ३०८)