~शारदा पौडेल~
बिहानै बिहानै दौडनु स्वास्थ्यको लागि लाभदायक हुने भन्ठानेर म कहिले धापासीदेखि सामाखुसीसम्म त कहिले बसुन्धरा हुँदै टिचिङ हस्पिटलको परिसर वरिपरि राउन्ड मारेर आउँथेँ । एकदिनको कुरो म आफ्नै गतिमा पानीपोखरीबाट तल लाग्दै थिएँ, एक जना बुबा समानको व्यक्ति भेट भए र भने, ‘नानी पख त ।’
मलाई पनि आफ्नै बुबाले भन्ने शब्दले सम्बोधन गरेकाले रोकिएँ र सोधेँ, ‘मलाई भन्नुभएको हो ?’
उनले हो को संकेत गरेर भन्न थाले, ‘आहा ! कत्ति सर्लक्क परेको शरीर हो, लामो कपाल हिस्सी परेको अनुहार, भगवान्ले तिमीलाई फुर्सदमा बनाएछन् है ।’
एकै वाक्यमा यति धेरै तारिफ दंग पर्दै सोधेँ, ‘होइन हजुरले के भन्न खोज्नुभएको हो ? प्रष्टसँग भन्नू न, मलाई अलि हतार छ ।’
उनले भने, ‘के को हतार हिँड चिया खान जाउँ, यसो कुराकानी गरौँ, अनि आहा ! यस्तो शरिरसँग यसो …’
मलाई अलिकति रिस उठ्यो, ‘के भन्न खोज्नुभएको हजुरले फेरि भनेँ ।’
फेरि नम्र हुँदै भने, ‘त्यसै हो र केही दिउँला नि हिँड न जाम ।’
मलाई सही नसक्नु भयो र हिँडे, ऊ फत्फताउँदै थियो ।
अर्को दिन, मैले एउटा अफिसमा काम गर्ने महिला खोजेको छ रे भन्ने सुनेँ र गएँ अनि त्यहाँको प्रमुखलाई भेटेँ ।
उचित सम्बोधन गरेँ र कामका बारेमा सोधेँ, (शिरदेखि पाउसम्म हेरे र भने) ‘आहा क्या दामी, रूप नि उस्तै रहेछ, खासै अहिले त चाहिएको छैन तर तिमीले चाहन्छौ भने एउटा सर्तमा म ठाउँ खाली बनाएर राख्न सक्छु,’ दंग पर्दै सोधेँ, ‘कस्तो सर्त ?’
उनले भनेँ, ‘तिमी मसँग…’ कुरा बुझेँ र नमस्कार गरेर हिँडेँ ।
गएको ठाउँ अलि टाढै भएकोले हिँडेर आउन सम्भव थिएन, त्यसैले बस चढ्ने निर्णय गरेँ र चढेँ । मनमा एकपछि अर्को घटनाले चस्काइरहेको थियो । सायद अनुहार निकै मलिन भएछ क्यारे, छेउमा बस्ने एक अधवैसे मान्छेले सोधे, ‘होइन बहिनी किन उदास ?’
‘होइन क्यै भएको छैन,’ मैले भनँे ।
‘यस्तो उमेरमा पनि यसरी उदास हुनुहुन्छ त ! हिँड जाउँ मसँग, म तिमीलाई खुसी पार्छु’ भन्दै हात कपालसम्म ल्याउन खोज्दै थियो ।
म जुरुक्क उठेँ र त्यसलाई शिरदेखि पाउसम्म हेरेँ । अनि एकपछि अर्को घटनाको स्मरण गरेँ । अनि बाध्य भएर भनेँ, ‘आपूmलाई के हुँ भन्ठान्छन् यी छाडा साँढेहरू… ।’
(स्रोत : सौर्य दैनिक)