~निमबहादुर थापा~
हाम्रो शौभाग्य हो माटो, यसकै निम्ति लड्नु छ
धर्ति माता पुकारेर अगाडि अझ बढ्नु छ
रित्तो हात हुँदै हुन्न, तरबार साथ छ भने
भोको पेट कतै हुन्न, धर्ति माता सँगै भए
कवि निलमकुमार न्यौपानेको नवौं कृति ऐतिहासिक खण्डकाव्य ‘भक्ति थापा’ २०६५ को नवौं उठानमा उल्लेखित पहिलो र दोश्रो श्लोक हुन् यी माथिका हरफहरु ।
खण्डकाव्यमा नेपाल एकीकरणको समयमा लड्दै जाँदा आफ्नो मातहतका जवानहरुलाई हौसला दिदा भक्ति थापाले बोलेका कुराहरुलाई कवि निलमकुमारले काव्यिक ढंगले पस्किएका छन् । इतिहास पुरुष वीर सरदार सहिद ‘भक्ति थापा’को नाममा लेखिएको ऐतिहासिक खण्डकाव्यमा जम्मा तेत्तीस वटा उठानहरु रहेका छन् । इतिहास, किंवदन्ती र कल्पनामिश्रित पुस्तकमा प्रस्तुत तीन सय एक श्लोकमध्ये शार्दुलविक्रीडित एक सय ७६, शिखरिणी ३८, मन्दाक्रान्त सात, अनुष्टुप ६७ र अन्य १३ समेत व्यवस्थापन गरिएको लेखकीयमा उल्लेख छ ।
यस कृति प्रकाशनले इतिहास पुरुष भक्ति थापाको इतिहास तथा वीरत्वको बारेमा खोज अनुसन्धानमा अवश्य योगदान पुग्नेछ । काठमाडौं निबासी लेखक लक्ष्मी थापाले अंग्रेजीमा लेखेको ‘राष्ट्र निर्माणमा भक्ति थापाको भूमिका’ नामक पुस्तकपछिको यो नै व्यक्तिगत प्रयासमा आएको भक्ति थापासम्बन्धी दोश्रो कृति हो । त्यसो त पुवार थापा कल्याण केन्द्रीय समितिद्वारा प्रकाशित ‘भक्ति थापा स्मृति ग्रन्थ’ एकदशक अगाडि नै आइसकेको थियो र उक्त ग्रन्थको साङ्गो–पाङ्गो अध्ययन गरी समीक्षा समेत यही लेखकद्वारा गरिएको हो ।
वि.सं. २०२६ असोज महिनामा जन्मनु भई इतिहास बिधामा काव्यिक कलम चलाउँदै आउनुभएका दुबाकोट–४ भक्तपुर निबासी कवि निलमकुमार न्यौपानेका ‘अजित’ शोककाव्य, ‘वियोग’ खण्डकाव्य, ‘डालेश्वर’ शोककाव्य, ‘नालापानीको युद्ध र वीर बलभद्र’ ऐतिहासिक खण्डकाव्य, ‘भीमसेन थापा’ ऐतिहासिक खण्डकाव्य, ‘बहादुर शाह’ ऐतिहासिक खण्डकाव्य, ‘श्री ५ वीरेन्द्र’ शोककाव्य, ‘परजीवी’ व्यंग्यात्मक खण्डकाव्य गरी जम्मा आठवटा यसपूर्व नै पाठकहरु सामु पुगिसकेका छन् । यो ‘भक्ति थापा’ खण्डकाव्य उहाँको नवौं कृतिको रुपमा जनसामु आइपुगेको हो ।
यसपछि लगत्तै बजारमा आउने तयारी पुस्तकहरुमा ‘बलि’(मल्लकालीन) ऐतिहासिक खण्डकाव्य, ‘विवाह’ संस्कारजन्य खण्डकाव्य, र ‘मानदेव’ ऐतिहासिक खण्डकाव्य रहेका छन् । कविले लमजुङको पाउचौकस्थित ठूलो ढुङ्गामा बसेर भक्ति थापाले मित लगाएको र त्यही मित ढुङ्गामा मित–मितले दुःख सुख कुरा गरेर बसेको प्रसङ्गलाई कविताक्रमको शुरुवातमा यसरी व्यक्त गरेका छन्–
ढुंगा देव पुजिन्छ लोकभरमा त्यो दिन्छ रे आशिष
ढुंगाकै भरमा चलेछ दुनियाँ जो आखिरी घुम्दछ
दोश्रो उठानमा भक्ति भैंसी चराउन गएको बेला त्यही मित ढुङ्गामा निदाएछन् । भैंसीले एकजना गुरुङ्गसेनी बृद्धाको बारीमा बाली खाइदिएछ र उनी धपाउन आउँदा निदाएका भक्तिको टाउकोमा सर्पले बेरेर फणा फिजाएर बसेको देखिछन् र अब भक्तेलाई टोक्ने भयो भनी आत्तिएर फर्किछन् । पछि भक्ति डुलिरहेको देखेर अचम्मित हुँदै गएर भनिछन्, ‘ए भक्ते तेरो भाग्य राम्रो छ तँ छाउनीतिर गैजा, मानसम्मान पाउनेछस् ।’ तुरुन्तै भक्ति थापा सिपाहीमा भर्ती भएको कुरा कविले व्यक्त गरेका छन् यसरी–
मैले देख्न गएँ अहो ? गजब त्यो, बाँचेछ यो भक्ति नै
दैवी ज्ञान रहेछ नाग सँगमा, पुग्ने छ यो शक्ति मै
सोची, वाक्य यिनै श्री सूर्य समको तेजस्व बन्दै उनी
आई, भक्तिसँगै बताउन गइन् सारा कुरा सन्सनी
१
जाऊ भक्ति तिमी कतै समयले राजा हुने चाल छ
हैनौ राजन ता छ शक्ति अहिले सर्दारको ताल छ
दिन्छन् ईश्वर खानलाई अहिले संसारको मार्गमा
टिप्नै पर्छ चढेर बृक्ष फल त्यो, मिल्दैन बस्दा यहाँ
२
उठान ४–९ मा भक्ति थापाको आफ्नो राज्य र लमजुङबीच लडाइँ झगडा चलिरहन्थ्यो । एकपटक भक्तिलाई गोर्खाली फौजले बन्दी बनाएर लामो समय राखेको बेला नेपाल एकीकरणको अभियानमा आफू लाग्ने तर आफ्नो मातृभूमि लमजुङ राज्यसँग कहिल्यै नलड्ने अडान राख्दा सहमति भएपछि उनी एकीकृत राष्ट्र निर्माणमा माटोको कसम खाएर लागेको प्रसङ्ग कविले व्यक्त गरेको यस लेखको शुरुमा राखेका श्लोकले प्रष्ट पार्दछ ।
त्यसैगरी उठान दशमा एकीकरण अभियान अन्तर्गत शक्तिशाली राज्य जुम्ला हानेर काँगडासम्म पुगेको बेला जनजनले भक्तिको बखान गरेका थिए, यसरी–
गाँसेर माला अब हाँस्नुपर्छ
धरा, गरामा अनि नाच्नुपर्छ
मौरी बिनाको मह हुन्न आज
भक्ति बिनाको अब हुन्न काज
उठान एघारमा उनकी श्रीमतीको मृत्युमा शोकविह्वल प्रसङ्ग प्रस्तुत गरिएको छ–
पोते ल्याइ दिनु चुरा सँगसँगै राता टीका गाजल
रातो बस्त्र लगाइ बस्छु घरमा सम्झेर तिम्रो बल
पत्नी झंकार हुन् माया सीतार तार हुन् पति
दुबैको मेल हो सृष्टि ऐले भो स्वर्गको गति
उठान १२–१४ मा लगातार जीवनसंगीनी र छोराको मृत्युको बेला पनि भक्तिलाई आफू र आफ्नो परिवारभन्दा देश दुखिरह्यो । त्यही भावनालाई कवि न्यौपानेले आफ्नो काव्यमा पोखेका छन् यसरी ः
छाती दुखेर के भो र त्यो भन्दा देश दुख्दछ
वीरको युद्ध संकल्प खेल मैदान बन्दछ
उठान १५–२० मा देउथल युद्धको बयान गरिएको छ । त्यहाँ ७३ बर्षे बूढा भक्तिलाई छातीमा गोली लाग्दा पनि दुश्मनलाई तरबारले छप्काएको प्रसंग पस्किएको छ–
ठोके मानीस छेउँका सकल ती जम्मा मरे सात रे
गिंडा बन्न गए, ढले अरि यहाँ चल्दै थियो हात रे
एक्काइसौं उठानमा भक्ति थापालाई विश्वको दोश्रो वीर सहिद हुन् भनेर पुष्ट्याँइ गर्नुभएको छ कवि निलमकुमार न्यौपानेले । त्यही देउथलको युद्धमा सरदार ढलेपछि अंग्रेजहरुले नेपोलियन कालमा भएको मस्को युद्धमा यस्तै एक लडाकुले वीरत्व प्राप्त गरेको थियो । यो विश्वको दोश्रो वीर सहिद लडाकु हो भनेर दोसल्ला ओढाएको हो भन्ने कुरा इतिहासकार सी.बी.खण्डरीले लेखेका छन् भनी लेखकले उल्लेख गरेका छन् । एक टुक्रा–
मस्को युद्य हँुदा कुनै बखतमा नेपोलियन कालमा
यौटा मानीस नै भयो सहिद रे ! त्यस्तै भयो हालमा
दोश्रो यो त भएछ विश्वभरको बुढो यही वीर हो
धेरै मान मिलोस् भने सकलले अंग्रेज रोयो अहो !
यसरी काव्यको २२–३१ सम्म भक्ति सहिद भएपछि उनका श्रीमतीलाई सती जान लगाउने, नाबालक नातिहरुको विलाप, ती नातिहरुलाई बेवारिसे छोडेर सती जानु पर्दाको हृदयविदारक स्थितिलाई कवि न्यौपानेले सुन्दर ढंगले काव्यात्मक रुपमा व्याख्या गर्नुभएको छ । यिनै खण्डमा उनको वीरत्वपछि जमुनापारिको भू–भाग गुमेको कुरा पनि काव्यिक किसिमले उल्लेख गरिएको छ । सहिदहरु मर्दैनन् भन्ने खालको एक टुक्रा–
मर्दैन वीर रे भन्छन् अमर अब ती भए
धु्रवतारा सरी चम्की विश्वका माझमा रहे
अन्तिम उठानमा कविले भक्ति थापाको आत्मामा दीप प्रज्वलित हुन्छ कि भनेर कल्पना गर्दछन्–
यौटा दीप उडेर आउँछ त्यहाँ किल्ला घुमी भर्भर
गर्दै घुम्छ बढेर ज्योति थलमा त्यो पूर्वमा सर्सर
बढ्दै भक्ति समानको जन बनी तर्वारमा तर्तर
तातो रक्त बगाउँदै अघि बढी घुम्ने छ चारैतिर
राजनीतिशास्त्रमा एमए, कानुनमा बीएल, अंग्रेजी साहित्यमा बीए गरेका निजामति कर्मचारी कवि निलमकुमारको नवौं कृतिले भक्ति थापासम्बन्धी खोज, अनुसन्धान र इतिहास बाहिर ल्याउन सहयोग पु¥याउने कुरामा दुइमत हुने छैन । भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा नगरिएकोप्रति गुनासोलाई कविले आप्mनो लेखकीयमा बडो व्यवस्थित ढंगले राखेका छन् ।
खण्डकाव्यको अवलोकन गरी इतिहासकार प्रा. दिनेशराज पन्तले भूमिका लेखिदिदा पुस्तकको गरिमा बढाएको छ । उहाँको यो कृति पठनीय, सङ्ग्रहणीय र अध्ययताका लागि मार्गदर्शक छ । लेखकले देशको इतिहासका चम्किला ताराहरुलाई धर्ती रहेसम्म चम्काइराख्न गरेका प्रयासहरु प्रशंसनीय छन् । उहाँको यो उज्वल यात्रा निरन्तर चलिरहोस् शुभकामना ।
उहाँकै पुस्तकको अन्तिम श्लोक पाठकमाझ राख्दै बिदा लिन्छु–
खोलेर भित्रको आँखा भक्तिमा मन चिन्तन
लेखेर वीरको गाथा मागी बिदा समर्पण ।
–देउखुरी, दाङ
(स्रोत : नयाँ युगबोध दैनिक)