~मनोज न्यौपाने~
सन् १९६३ अगस्ट झापामा जन्मनुभएका दुबसु क्षेत्रीको साहित्यमा प्रवेश २०३६ साल साउनको सङ्क्रान्ति पत्रिकामा प्रकाशित ‘आगोको गीत’ शीर्षक कवितामार्फत भएको हो । मधुपर्कमा उहाँको रचना सर्वप्रथम २०४० सालको लेखनाथ विशेषाङ्कमा (श्रद्धाञ्जलि) शीर्षक कविता प्रकाशित भएको हो । वि.सं. २०५६ साल (सन् २००० जनवरी १) मा उहाँले चौथो आयामको घोषणा गर्नु भएको थियो । उहाँले यस सिद्धान्तको प्रयोग गरी लेखिएका कविता समावेश गरिएको कृति ‘अश्वमेध यज्ञका घोडाहरु’ (२०६७) साझा पुरस्कार पाइसकेको छ । अहिले उहाँ चौथो आयाम सिद्धान्तमाथि प्रकाश पारिएका लेखहरुको कृति ‘चौथो आयामको प्रस्तावना’ को तयारीमा हुनुहुन्छ । चौथो आयामका प्रवर्तक डा. दुबसु क्षेत्रीसँग मधुपर्कका लागि मनोज न्यौपानेले गर्नुभएको चौथो आयाम वार्ता ः
१. चौथो आयामको धारणाको कसरी जन्म भयो ?
सन् १९८६ तिरै मभित्र आधुनिकोत्तर जीवन र जगत्लाई नयाँ ढङ्गबाट, नयाँ कोण र सोचबाट हेर्नुपर्दछ भन्ने विचार पलाएको हो । त्यतिखेर म विश्वविद्यालयको विद्यार्थी थिएँ । पछि १९९३ मा संयुक्त अधिराज्यको लिड्स विश्वविद्यालयमा आधुनिक अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा एम.ए.अध्ययन गर्न जाँदा त्यहाँ मैले ग्लोबलाइजेसन विषयको शोधपत्रमा आधुनिकोत्तर जीवन र जगत्लाई चार आयामबाट हेर्नुपर्छ भन्ने मेरो नयाँ अवधारणा प्रवेश गराएँ । वास्तवमा साहित्यमा भन्दा पनि अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र, मानवशास्त्र र संस्कृतिका क्षेत्रमा मेरो यो नयाँ अवधारणा सम्बन्धित थियो । पछि मैले एक्काइसौँ शताब्दीको पहिलो दिन अर्थात् सन् २००० जनवरी १ का दिन यस धारणालाई साहित्यमा पनि प्रवेश गराएँ । मूलतः आधुनिकोत्तर (पोस्टमोर्डन) विश्व र त्यसभित्र बाँचिरहेको र बाँच्न प्रयत्न गरिरहेको मानव र मानव समाज एवम् तिनका जटिल जीवन र विकासलाई चार आयामबाट हेर्ने सोच र प्रयत्नमा चौथो आयामको आविर्भाव भयो ।
२. चौथो आयामका ती चार आयामहरू के के हु्न् ?
चौथो आयामलाई मैले अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र, मानवशास्त्र र संस्कृतिको क्षेत्रमा अध्ययन गर्न खोजेको हुँ । साहित्यमा आउँदा भने मैले यसलाई सिद्धान्त, विचार, सम्प्रेषण र संरचनाका चार चार आयामबाट हेरेँ । १. सिद्धान्तका चार आयाममा साहित्यमा भूव्याप्तिवाद, साहित्यमा सार्वभौम मानववाद, साहित्यमा सम्पूर्ण जीवनवाद र साहित्यमा निर्बन्धतावाद हुन् । विचारका चार आयाममा साहित्य हार्दिकता र बौद्धिकताका बीचबाट लेखिनुपर्छ, साहित्य अध्यात्म र विज्ञानका बीचबाट लेखिनुपर्छ, साहित्य सत्य र सत्ताका बीचबाट लेखिनुपर्छ र साहित्य ईश्वरीयता र निरीश्वरीयताका बीचबाट लेखिनुपर्छ भन्ने छन् । त्यसैगरी, सम्प्रेषणका चार आयाममा शब्दवाद वा शब्दगतिमानता, पुनर्निर्माणवाद वा आधुनिकोत्तरता, लेखकवाद वा लेखकोपस्थिव्यता र पाठकवाद वा पाठकास्मिता छन् भने संरचनाका चार आयाममा लेखनमा अनौपचारिकता, लेखनमा शब्द र विम्बहरूको नूतनता, लेखनमा न सूत्रात्मकता न व्याख्यात्मकता र लेखनमा उपकथात्मकता रहेका छन् ।
३. चौथो आयामलाई कसरी परिभाषित गर्नुहुन्छ ?
आजको मान्छेको जीवन र जीवन बाँच्ने कला र जटिलतालाई नयाँ कोणबाट, नयाँ चिन्तन र धारबाट हेर्ने प्रयत्नलाई मैले चौथो आयाम भनेको हुँ । मैले चौथो आयामलाई सिद्धान्तको एउटा सोच र सिद्धान्तको एउटा खोजका रूपमा पनि हेरेको छु । चौथो आयामलाई मैले धारणाहरूको एउटा नवीन कोण र धारणाहरूको एउटा नवीन मोड पनि भनेको छु ।
४. चौथो आयामलाई तपाईं साहित्यिक सिद्धान्तका रूपमा बढी हेर्नुहुन्छ कि अन्य विषयलाई पनि समेट्नु भएको छ ?
चौथो आयामले विश्वलाई, विश्वमानवलाई र विश्व मानवसमाजलाई नयाँ दृष्टि र नयाँ कोणबाट हेर्न खोजेको छ । मानव विकास र मानवसभ्यतामा आएका सबै गति, प्रगति, विकास र उत्कर्षलाई चौथो आयामले नयाँ सोच र चिन्तनबाट हेर्न खोजेको छ । विश्व एउटै ग्राम, विश्वग्राम (ग्लोबल भिलेज) बनिरहेको आजको परिप्रेक्ष्यमा मानव जाति र मानवसभ्यताको चरणमा आएका सबै विधा र विषयहरू यस अवधारणामा समेटिएका छन् । आजको विश्वबाट राष्ट्र, राज्य र प्रान्तका भौगोलिक सीमाहरू, भाषा, जाति, धर्म र सम्प्रदायका सामाजिक सीमाहरू र पूँजीवाद, साम्यवाद र समाजवादका राजनीतिक सीमाहरू भत्केर सीमाहीन विश्व (बोर्डरलेस वर्ल्ड) को निर्माण भइरहेको सन्दर्भमा मानवसभ्यताका सबै चरण र विषयहरू, जस्तै धर्म, राजनीति, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, कुटनीतिशास्त्र र संस्कृति आदि यस अवधारणामा समेटिएका छन् ।
५. चौथो आयाम उत्तरआधुनिकतासँग कत्तिको नजिक र टाढा छ ?
आधुनिकता पहिलो विश्वयुद्धपछि मानवसभ्यतामा आएको एउटा चरण हो । यो दोस्रो युद्धपछि लामो समयसम्म प्रभावकारी रह्यो तर पछि गएर एउटा संस्कृति, एउटा सभ्यता, एउटा सिद्धान्त र एउटा केन्द्रमा मानव समाज विश्वस्त हुन सकेन । त्यहाँ बहुसंस्कृति, बहुसभ्यता, बहुसिद्धान्त र बहुकेन्द्रहरू निर्माण हुन थाले । त्यसो भएकाले आजको मान्छेको बाँच्ने पद्धति जटिल बन्यो । मान्छेको जीवन र आकाङ्क्षा बहुलवादी बन्यो । पुराना आधारहरू भत्कन थाले । पुराना केन्द्रहरू चोइटिन थाले । पुराना स्थापत्यहरू ढल्न थाले । यो अपरम्परित र परम्पराविरोधी मान्छेको विकास, विशेषगरी साहित्य, कला र सङ्गीतको धारसँग चौथो आयामले सामीप्यता राख्दछ । यस अर्थमा उत्तर आधुनिक सिद्धान्तसँग चौथो आयाम टाढा छैन ।
६. चौथो आयामले विनिर्माणलाई कसरी हेर्छ ?
ज्याक डेरिडाले संरचनावादी समलोचकहरूमाथि बौद्धिक आक्रमण गर्दै सन् १९६६ मा डिकन्स्ट्रकिज्मको नयाँ अवधारणा प्रवर्त्तन गरे । यसलाई नेपाली साहित्यमा इन्द्रबहादुर राईले कठपुतलीको मनमा प्रयोग गरे । पछि गएर राईको दर्शन र लेखन लीलालेखनका रूपमा विकसित भयो । उत्तर आधुनिकताको आधारतत्वमा चौथो आयामले तादात्म्यता राख्दछ तर रचनाको विनिर्माणभन्दा चौथो आयाम पुनर्निर्माणमा विश्वास राख्दछ । चोथौ आयामका चार आयाममध्ये एक, सम्प्रेषणमा मैले एक महìवपूर्ण आधारका रूपमा पुर्निर्माणवाद भनेको छु । यो डेरिडाले भनेको डिकन्स्ट्रक्सन नभएर रिकन्स्ट्रक्सन हो । पुराना केन्द्रहरू, स्थापत्यहरू भत्किनुपर्छ तर त्यसलाई धुलो बनाएर छोड्ने होइन, त्यहाँ पुनर्निर्माण हुनुपर्छ भन्ने म सोच्छु । त्यसैले, म विनिर्माणभन्दा पुनर्निर्माणमा विश्वास राख्दछु ।
७. तेस्रो आयाम र चौथो आयाममा के भिन्नता छ ?
झट्ट सुन्दा तेस्रो आयाम र चौथो आयाम उस्तैलागे पनि सैद्धान्तिक आधारमा यी सिद्धान्तहरू नितान्त भिन्न छन् । तेस्रो आयाम सन् साठीको दशकमा प्रवर्त्तित नेपाली साहित्यको आधुनिककालको लेखनको एक नयाँ अवधारणा र अभियान हो भने चौथो आयाम सन् २००० म प्रवर्त्तित उत्तर आधुनिक नेपाली साहित्यलेखनको एक नयाँ धार र धारा हो ।
तेस्रो आयाम मूलतः साहित्यमा आएको नयाँ अवधारणा हो । चौथो आयाम साहित्यमा मात्र सीमित छैन, यसले मानव विकास र सभ्यताका सबै विधा र विषयहरूलाई समेटेको छ । साहित्यमा आउँदा तेस्रो आयामले मान्छेको लम्बाइ, चौडाइ, मोटाइ र गहिराइलाई समाउने प्रयास गरेको छ भने चौथो आयामले मान्छेको सार्वभौमतालाई समेट्ने प्रयास गरेको छ । आजको संसारमा कुनै पनि प्रकारका सीमा र सिमानाहरू रहनुहुँदैन भनेर चौथो आयामले भूव्यापीकरण (ग्लोबलाइजेसन) का पक्षमा उभ्याएको छ । मान्छेले कुनै पनि किसिमको बन्धन स्वीकार्दैन र स्वीकार्नुहुँदैन भनेर चौथो आयामले निर्बन्धतावादका पक्षमा आफूलाई दृढ उभ्याएको छ । तेस्रो आयाम मान्छेको जीवनमा मात्र केन्दि्रत रहेको पाइन्छ भने चौथो आयाम आजको विश्व र विश्वमानव समाजको विकास र नैरन्तर्यसम्म फैलिएको छ ।
८. वर्तमानमा नेपाली साहित्यमा चर्चित लीलालेखन, विलयनलेखन र रङ्गवादभन्दा चौथो आयाम के कसरी भिन्न छ ?
लीला लेखनलाई मैले पूर्वीय दर्शनमा पाश्चात्य संरचना मिलाएर परम्परालाई नयाँ कलेवर प्रदान गरिएको लेखन भनेको छु । विलयन लेखनका केही सिद्धान्तहरू नवीन र सान्दर्भिक लागे पनि लेखकको अनस्तित्व वा विलयनमा विश्वास राख्ने यो अवधारणासँग चौथो आयाम फरक मत राख्दछ । रङ्गवादीहरूका रङ्गका आधारमा, जातका आधारमा मान्छेको वर्गीकरण र मान्छेमा विषमता छ भन्ने कुरा अब पुरानो भइसक्यो । जस र रङ्गकै आधारमा साहित्य लेखिनुपर्दछ भन्ने कुरामा चौथो आयामको विमति रहन्छ तर उत्तरआधुनिक चिन्तनको वरद् छातामुनि लीलालेखन, विलयनलेखन र रङ्गवादसँग चौथो आयामको केही साइनो, केही सन्निकटता र केही सम्बन्ध भने अवश्य पनि छ ।
९. केही समालोचकहरूले चौथो आयामलाई पाश्चात्य सिद्वान्तहरूबाट बढी प्रभावित सिद्धान्त र केही अर्थमा यान्त्रिक पनि भनेका छन् । तपाईं के भन्नुहुन्छ ?
हामीले केही नयाँ गर्न खोज्नेवित्तिकै यो पाश्चात्य चिन्तन वा दर्शन वा सोच हो भन्ने आरोपहरू लागिहाल्छन् । वास्तवमा जसरी आजको मान्छे एक अर्काबाट टाढा हुन सक्दैनन्, हाम्रा हिँड्ने, बाँच्ने कला, गति र गतिविधि पनि अलग हुन सकदैनन् । हाम्रा सोच र चिन्तन पनि अलग हुन सक्दैनन् । चौथो आयामका केही मान्यताहरू पाश्चात्य मान्यताहरूसँग मिल्न सक्छन् तर यसमा पूर्वीय चिन्तन र पूर्वीय सभ्यताका मूल्यहरू पनि अँटाएका छन् । चौथो आयामका कतिपय नयाँ अवधारणाहरू पाश्चात्य जगत्ले आत्मसात् गर्नुपर्ने पनि छन् ।
साहित्यलाई एउटा सिद्धान्तभित्र, एउटा फ्रेमभित्र राख्न खोज्दा यान्त्रिकजस्तो लाग्दछ । यो स्वाभाविक नै हो । मेरा साहित्यिक सिर्जनाहरूका संरचनागत पक्षलाई मात्र हेरेर केहीले यसलाई यान्त्रिक भनेका होलान् । संरचनाको पक्षलाई मात्र हेर्दा त्यो सत्य पनि हो । त्यसो त आजको मान्छेको जीवन पनि यान्त्रिक नै त छ । मेरा सिर्जनाहरूका अर्थगत पक्षलाई हेर्ने हो भने मलाई यान्त्रिक भनेर आरोपित गर्ने ठाउँ रहँदैन ।
१०. तपाईंको चर्चित कविताकृति ‘अश्वमेध यज्ञका घोडाहरू’ चौथो आयामको सिद्धान्तबाट कत्तिको प्रभावित छ ?
“अश्वमेध यज्ञका घोडाहरू’ कवितासङ्ग्रहका थुप्रै कविताहरू मेरो चौथो आयामको सिद्धान्तबाट प्रभावित रहेका छन् । चौथो आयामका भूव्याप्तिवाद, सार्वभौम मानववाद, निर्बन्धवाद र सम्पूर्ण जीवनवादका मूल्य र मान्यताहरू यस काव्यकृतिमा प्रशस्त पाउन सकिन्छ ।
११. यसमा त चौथो आयाम घोषणा गर्नुअघिका कविता पनि निकै छन् नि !
हो, छन् । ‘अश्वमेध यज्ञका घोडाहरू’ का केही कविताहरू २०३६-२०४६ बीचमा लेखिएका छन् । केही कविताहरू २०४६ साल पछिका छन् । चौथो आयामको घोषणा (२०५६) पछिका थुप्रै कविताहरू पनि यसमा समेटिएका छन् । यो सङ्ग्रहबाट मेरो कवितालेखनको विकासक्रम पनि देख्न सकिन्छ र चौथो आयामका सिद्धान्तहरूको सिर्जनात्मक प्रक्षेपण पनि भेट्न सकिन्छ ।
१२. तपाईंले चौथो आयाम सिद्धान्तको प्रयोग कविताका अतिरिक्त कथा र निबन्धमा पनि गर्नु भएको पाइन्छ तर ती कविताजति चर्चित भएनन् किन होला ?
हाम्रा पाठकहरू नयाँ कुरालाई सजिलै र सिधै स्वीकार गरिहाल्दैनन् । चौथो आयाममात्र होइन, लीलालेखन, तरलवाद, विलयनलेखन र रङ्गवादलाई पनि त पाठकहरूले स्वीकारिसकेका छैनन् । यो त एउटा वौद्धिक अभ्यास वा चिन्तनको चौतारीजस्तो मात्र हो ।
हो, चौथो आयामिक सिद्धान्तमा आधारित मेरा कथा, निबन्धहरू प्रकाशित भएका छन् । मैले यस सिद्धान्तका आधारमा नाटक, समालोचक र उपन्यास पनि लेखेको छु । मेरा यी सिर्जनाहरू चर्चित भएका छन् तर लोकप्रिय हुन सकेका छैनन् तर विस्तारैविस्तारै मेरा पाठकहरूले चौथो आयामतर्फ चाख र चासो दिन थालेका छन् ।
१३. चौथो आयामको सिद्धान्तमा सिर्जना भएका तपाईंका कविता धेरै लामा र क्लिष्ट हुन्छन् भन्ने आरोप छ नि ?
म आफ्ना पाठकहरू अध्ययनशील, बौद्धिक, बुजु्रग, चेतना र चिन्तन भएका छन् भन्ने ठान्दछु । त्यसैले मेरो लेखनमा बौद्धिकताको लेपन हुने गर्छ । चौथो आयामिक संरचनामा लेखिने हुनाले ती रचनाहरू अलि अनौठा, अप्ठ्यारा र जटिल पनि लाग्दछन् । आजको मान्छेको जीवन नै जटिल र क्लिष्ट छ भने हाम्रा सिर्जनाहरू त्यसबाट टाढा हुन पनि त सक्दैनन् । फेरि आजको लेखकले मुनामदन र गौरी, नासो र बसाइ मात्र लेखिरहने पनि त होइन ।
१४. तपाईं चौथो आयामको सिर्जनात्मक प्रयोगभन्दा सैद्धान्तिक व्याख्यामा बढी ध्यान दिनु हुन्छ भन्ने आरोपको कसरी जवाफ दिनुहुन्छ ?
चौथो आयामको सिद्धान्तमा आधारित भएर लेखेका मेरा प्रशस्त कविताहरू छन् । ती धेरै प्रकाशित भएका पनि छन् । ‘अश्वमेध यज्ञका घोडाहरू’ एउटा मानक काव्यकृतिकै रूपमा वर्तमान नेपाली साहित्यमा चर्चित भइसकेको छ । त्यसो त चौथो आयामका सिद्धान्तमा आधारित मेरा कथा, निबन्ध र समालोचनाहरू पनि प्रकाशित भएका छन् । मेरा ‘पारिजातर्क कुमारीत्वलाई प्रेमा शाहको लोग्ने सापटी’ नामक ‘मिर्मिरे’ मा प्रकाशित कथा दश वर्षअघि निकै चर्चित र विवादास्पद भएको कथा हो ।
हो, केही समय मैले चौथो आयामको सिद्धान्तलाई व्याख्या गर्न लगाएँ । चौथो आयामको चिन्तनलाई प्रकाश पार्ने कोसिस गरेँ । त्यसो नगरेको भए मान्छेहरूले मलाई तपाईंको चौथो आयाम भनेको के हो भन्ने नै बुझिएन भनेर पनि त आरोप लगाउन सक्थे नि ।
१५. केही वर्षअघि तपाईंले कृष्ण धरावासीको ‘शरणार्थी’ उपन्यासको विषयवस्तु मेरो सोच थियो । यसलाई चौथो आयामको सिद्धान्त प्रयोग गरेर लेख्ने योजनामा थिएँ भन्नुभएको थियो । यसबारे प्रष्ट पारिदिनोस्न ।
हो, मैले २०४३ सालमा धरावासीजीलाई केही चर्चित नेपाली उपन्यासका पात्रहरूलाई पुनर्जीवित गरेर एउटा नयाँ उपन्यास लेख्न थालेको कुरा भनेको थिएँ । पछि धरावासीले पुराना पात्रहरूलाई ‘शरणार्थी’ उपन्यासमा प्रयोग गर्नुभयो । शरणार्थीको कथा उहाँको आफ्नै हो तर त्यस उपन्यासमा पुराना कृतिका पात्रहरू पुनर्जीवित गर्ने सोच मेरो हो । यो कुरा मैले कृष्ण बरालको ‘लीला, वार्ता र शरणार्थी’ पुस्तकमा प्रष्ट भनेको छु ।
तर अहिले आएर त्यो पुरानो सावा’ कुरा कोट्याएर ‘व्याज’ खान खोज्ने क्षुद्र लेखक म होइन ।
१६. चौथो आयामप्रति नयाँ पुस्ताका कवि लेखकहरूको त्यति आकर्षण देखिएन, किन होला ?
पहिलो कुरा त अधिकांश लेखक पाठकहरू नयाँ कुरालाई, नयाँ सिद्धान्तलाई सजिलै स्वीकार र आत्मसात् गर्न चाहँदैनन् । दोस्रो कुरा, आजको नेपाली साहित्यिक वातावरण अर्काको होइन, आफ्नो कुरा गर्ने, आफ्नो चर्चा गर्ने, प्रशंसा गर्ने आडम्बरले ढाकेको छ । जहाँसम्म मेरो कुरा छ, म चर्चाका लागि, प्रशंसाका लागि वा कसैको आकर्षणका लागि लेख्ने लेखक होइन । म सस्तो र सजिलो लेखक होइन । बजारभाउ बुझेर, सस्तो, मसिनो, चिल्लो, चिप्लो लेख्ने लेखक म होइन । म एउटा गम्भीर, बौद्धिक र अध्ययनशील लेखक हुँ । विश्वसाहित्यको अध्ययन गरेको र गरिरहेको चेतलशील पाठक पनि हुँ म । नेपाली साहित्यलाई विश्वसाहित्यसम्म पुर्याउने दिशामा प्रतिबद्ध र प्रयत्नशील लेखक पनि हुँ म ।
(स्रोत : मधुपर्क २०६८ माघ)