~रोशन शेरचन~
हरेक हिउँद कर्याङकुरुङ झर्ने कालीगण्डकी उपत्यकाको आकाशमुन्तिर त्यो दिन एउटा बिछट्टको दलबल हिँडिरहेको थियो । २०६९ साल, मंसिर महिना थियो । नेपाल प्रज्ञाप्रतिष्ठान र थकाली सेवा समितिले आयोजना गरेको मुस्ताङको साहित्यिक भ्रमण । दलमा थिए— कवि श्यामल, तीर्थ श्रेष्ठ, भूपिन, दीपक कथित, पत्रकारद्वय वसन्त बस्नेत, अनन्त वाग्ले र म ।
श्यामल दाइ रातो मफलरमा मज्जाले खुलेको थियो । नीलो ट्र्याकसुटमा वसन्त धावकै देखिन्थ्यो । कर्याङकुरुङलाई पनि उछिन्लाजस्तो । भूपिन भने हरियो हुडीमा जादुगर हुडिनीजस्तो रहस्यमयी भान हुन्थ्यो । हुडिनी दर्जनौं ताल्चा र चेनले बाँधिएर समुद्रमा फ्याँकिँदा पनि छोटो समयमा ती बन्धनबाट मुक्त हुँदै निस्कनमा विश्वचर्चित थिए । भूपिन पनि मिलिक्कै बोक्सीखोलाको भंगालोजस्तै छुट्टिन्थ्यो, फेरि निमेषमै देखिन्थ्यो । कारण थियो, मायाबी मोबाइल । सबले रुकस्याक बोकेका । श्यामलको सिग्नेचर टोपी थियो, नेरुदा मार्काको । त्यसैले समूहलाई नेरुदा दल नामकरण गरेका थियौं । दीपक कथित र अनन्त वाग्ले अल्पभाषी । मिलनसार मित्रहरू ।
घाँसा गाउँ कटेपछि भूपिनले बाटामा एकजना रौसे बुढालाई भेटेछन् । भूपिनले सोधेछन्, ‘तपाईंको उमेर कति पुग्यो ? ‘ । ‘म बहत्तर वर्षको ठिटो’, बूढाले ठट्यौली स्वरमै जवाफ फर्काएछन् । चकित खाएछ भूपिन । दोस्रो प्रश्न ‘तपाईंका छोराछोरी कति छन् ? ‘ बूढाले भनेछन्, ‘बीस हजार’ । कसरी ? बूढाले रहस्यको पुन्तुरो खोलेछन्, ‘मुस्ताङमा दशकौंअगाडि मैले बाँडेका स्याउका बेर्नाहरू झन्डै बीस हजार पुग्छ । ती सप्पै मेरा सन्तान हुन् । त्यसैले बीस हजार ।’ पावर चस्माभित्र चिम्सा आँखा झिम्क्याउँदै भनेछन्, ‘३० वर्ष सरकारी जागिर खाएँ, ६० वर्ष पेन्सन खान्छु ।’ भूपिन ठहरै ।
कोखेठाँटीमा भूपिनले रौसे बूढाको प्रसंग सुनाउँदा हामी निकै हाँस्यौं । म सबभन्दा बढी । कारण म उनलाई चिन्छु । उनी नाताले मेरा काका हुन् । बुद्धिरत्न शेरचन । आफ्नै गाउँका । काकाको विनोदी स्वभाव र व्यवहारबारे मलाई थाहा छ । नेपाल सरकारमा कृषिविज्ञका रूपमा ३० वर्ष काम गरी सेवानिवृत्त भए । हाल काठमाडौं बस्ने उनी प्रायः गाउँ गइरहन्छन् । कृषिमै केही न केही गरिरहन्छन् । सपना बाँडिरहन्छन् । उति बेलै सहसचिव बने तर शक्तिमादले कहिल्यै धरातल छाडेनन् । थकाली समुदायमा बुद्धिरत्न शेरचन यौटा विम्ब हो— सादगी र लगनशीलताको ।
गिटार बोकेको एउटा हिप्पी युवा पनि बहत्तरवर्षे ठिटोसँगै हिँडिरहेको थियो । वसन्तले सोधखोज गरिहाले । उनले बोकेकोे गिटार, फिरन्ता र बेपरवाह लाग्ने उनको गेटअप । उनको नाम ब्रेन्डन रहेछ । अमेरिकी । स्कुल सक्काई संसार घुम्न निस्केको । केही समय भारतको हरिद्वार र ऋषिकेशमा आध्यात्मिक गुरुको सानिध्यमा बसेछन् । त्यसपछि हिमवत्खण्डको अनुभव लिन मुस्ताङ छिरेछन् । एकपटक मोटर दुर्घटनामा झन्डै मरेका रे ।
त्यसपछि उनको जीवनले आध्यात्मिक मोड लिएछ । जुनियर गिन्सबर्ग थपिएपछि नेरुदा दल समावेशी बन्यो । अन्तर्राष्ट्रिय ब्रान्डको । ब्रेन्डन हामीसँगै हिँड्न मन पराएको बुझेर रौसे बूढाले मलाई भन्यो, भतिज ब्रेन्डन तिमीहरूसँगै आओस्, ऊ आज म कहाँ बस्छ । त्यति भन्दै उनी लम्किहाले ।
२०२३ सालतिर मुस्ताङमा स्याउ खेती सुरु गर्ने जस रौसे बूढालाई जान्छ । थकालीका मिर मुखिया इन्द्रबहादुर तुलाचनका अनुसार तत्कालीन श्री ५ को सरकार र भारत सरकारको प्रयासबाट कृषि विशेषज्ञ बुद्धिरत्न शेरचन र डा. रन्धवाले मार्फामा कृषि फार्म स्थापना गरेछन् । सुरुमा स्याउ रोप्न प्रोत्साहन गर्दा यहाँका कृषकले चाख दिएनछन् । किसानको घरदैलो गर्दै यसले भविष्यमा फाइदा गर्छ भन्दै स्याउको बेर्ना बाँडेछन्, बुद्धिरत्नले । अनिच्छुक केही किसानकोमा आफैंले रोपिदिएछन् ।
अहिले मुस्ताङलाई जति मुक्तिनाथले चिनाएको छ, उत्तिकै स्याउले चिनाएको छ । स्याउ पनि भेराइटी भेराइटीका । रोयल डेलिसियस । गोल्डेन डेलिसियस । रिच डेलिसियस र रेड डेलिसियस । मुस्ताङ रेमिट्यान्सले हैन, स्याउको दाना र पर्यटनले कोरेको मार्गले समृद्ध छ ।
बेनीबाट हिँडेको दिन घाँसा हुँदै लेते बस्छौं । लेतेमा मज्जाको बसाइपछि कोवाङको निम्ति हिँड्छौं । प्राज्ञ विष्णु प्रभात, गजलकार बुँद राना, कवि सोनु गुरुङ र प्रतिष्ठानका योजना अधिकृत ज्ञानहरि बस चढ्छन् । नेरुदा दलले हिँड्ने मनस्थिति बनाउँछ । संसारकै सबभन्दा गहिरो गल्छीमा हिँड्दा सल्लाको पात सुई सुई बजेको सुनिन्छ । धूपीसल्लाको महक हुर्रिएर नाकमै आइपुग्छ । एकाध घन्टा हिँडेपछि कोखेठाँटी आउँछ । उवाको खाँटी रक्सी पाउने आशामा त्यो सानो चोइला एउटा होटलतिर तानिन्छ । ‘थकाल्नी दिदीले साह्रै मीठो रक्सी खुवायो’, श्यामल भन्छन् । भर्खर बिरामीबाट तंग्रिएका तीर्थ दाइ पनि चुस्की लिँदै ऐक्यबद्धता जनाउँछन् । श्यामल दाइको कानको लोती रातिँदै जाँदा मफलरको रातो रङ पनि फिक्का पर्दै जान्छ ।
कोवाङ आइपुग्दा लोथ भएका थियौं । कोवाङ, मेरो गाउँ । आमा समूहले तयार पारेको नुनचिया, मकै, डुङ (ससेज) मीठो मानी खान्छौं । होचो टेबलमा (चोक्च्यो) खाजा राखेर छेउमै बस्दा पनि छपक्क धुवाँले दलकै सदस्यहरूको आकृति धूमिल धूमिल देखिन्छन् । बेलुकीको समय भने खास बनेको थियो । वसन्त मीठो गाउँदा रहेछन् । नवीन के भट्टराई र एड्रियनको प्रशंसक । गिटार बजाउने । सानोतिनो सांगीतिक कार्यक्रम चल्यो । गाउँकै बीचबाट धौलागिरि आइसफलबाट झर्ने कुलेसो बग्छ ।
त्यसै कुलेसोको छेउ बनाइएको सामुदायिक भवनको भुइँमा लस्करै बिछ्यौना लगाइएको थियो । थाके पनि माहोलले गर्दा सुत्न चाहेनौं । गफको गुरिल्ला मार्च बढ्यो । अबचाहिँ प्रस्टै, कर्याङकुरुङको बथान पनि पछाडि छाडिँदै गयो । धाराप्रवाह कविता वाचन, शक्तिवद्र्धक जोकको ठहाका र तीर्थ र श्यामल दाइको रसयुक्त जुगलबन्दी । तीर्थ श्रेष्ठको पालो ।
‘म बाँस
तिमीले काट्यौ, ताछ्यौं र पोल्यौ
सोचे बर्बाद भएँ
तिमीले फुक्यौ र सोचेँ म आवाद भएँ’
अहा ! पालैपालो सबैले दुई कविता सुनाए । त्यसै बेला तीर्थ भाउजूको फोन आयो पोखराबाट । दबाई खान त बिर्सेको छैन नि ? कहाँ बिर्सने । रक्सीमा हात त लगेको छैन नि ? रक्सी, कहाँ खानु । दाइको ऐक्यबद्धता प्राप्त भएको पनि निकै भइसकेको थियो । अर्को सामूहिक हाँसो । वसन्तले दुई कविता सुनाएर तिनमा अड्डी लिए । अर्को ठहाका । दीपक, अनन्त र म परे अल्पभाषी । कविहरूले हामीलाई असल श्रोता बनाएर हुर्मतै लिए । सहआयोजक भएपछि त्यति त सहनै पर्यो । सुत्दा मध्यरात भएको थियो । ब्रेन्डन उहिले नै पल्टिसकेको थियो ।
-जब्स प्रकारान्तरले स्याउबाजेकै चेतनाको बिस्तार हो । जब्स पनि कम्ता जोधाहा होइनन् । जब्सलाई स्याउ काका भन्न मिल्ला । उनी ज्ञान र सिर्जनाका भोका मान्छे थिए ।मुस्ताङ रेमिट्यान्सले हैन, स्याउको दाना र पर्यटनले कोरेको मार्गले समृद्ध छ ।
बिहानी चिया पिई थकाली जातिको इष्ट देउता नरिझ्योबको दर्शन गर्न हिँड्यौं । खन्ती गाउँको थुम्कोमा अवस्थित छ, नरसाङ गुम्बा । खोलापारि सौरु गाउँ देखिन्छ । दक्षिणतिर कालीगण्डकीको फराकिलो बगर देखिन्छ । सामान्य देखिए पनि त्यो सामान्य बगर होइन । शालिग्रामलाई करोडौं वर्षदेखि आफ्नो गर्भमा बोकेको बौद्ध र हिन्दु धर्मावलम्बीको आस्थाको बगर हो । हिमनदीले स्पर्श गर्ने बगर हो । पर्तिरै सेताम्मे धौलागिरि देखिन्छ । सबलाइम अनुभूति । वसन्तले यो सबलाइम अनूभूति ‘मुस्ताङः केही जम्पकट’मा लेखेका छन् । नरिझ्योबको दर्शन गर्यौं । हप्ताको एक दिन कैली गाईको दूध र कालीगण्डकीको निर्मल पानीले मूर्तिलाई स्नान गर्ने परम्परा अझै छ ।
घमाइलो दिन मंसिरको । प्रगाढ नीलो स्काई लाइनमा हरियो सल्लाको वन र श्वेत हिमाल मनमोहक देखिन्थ्यो । श्यामल, तीर्थ, दीपक स्याउबारी हेर्न गुम्बानजिकै लागेका छन् । म गुम्बामै बसी गहिरो सौन्दर्य अनुभव गर्छु । भूपिन दर्शन गरी फर्कन्छ । उनी कालीगण्डकीकै सेरोफेरोका हुन् । त्यसैका पर्यावरणले उनको कविलाई सिँचेका हुन् । कालीगण्डकी ल्यान्डस्केप पृष्ठभूमिमा आउने गरी फोटो खिच्छौ । मैले भूपिनको, भूपिनले मेरो ।
कुन उत्प्रेरणामा डोहोरिएर म प्रस्ताव गर्छु– स्याउबाजेलाई विम्ब बनाएर म एउटा निबन्ध लेख्छु । तपाईं कविता लेख्नुस् न । स्याउबाजे निख्खर सामाजिक सांस्कृतिक विम्ब बन्न सक्ला । भ्रमणको उद्देश्य पनि थियो, स्थानीय विम्ब टिप्ने, मिथक उधिन्ने, कथा खोज्ने, सांस्कृतिक पर्यावरणसँग परिचित हुने र कवितामार्फत समुदायसँग अन्तरक्रिया गर्ने । राम्रो आइडिया दाइ, भूपिनले भनेको सम्झन्छु ।
थुम्कोबाट ओर्लन्छौं । खाना खाई ज्ञानोदय माविमा जम्मा भयौं । गाउँका आमा, दिदीबहिनीहरू रातो न्होकोन (घाघरा), चौबन्दी चोलो, कालो टिकी, ढाकाको पछ्यौरा, मुगा र यूबाट बनेको कण्ठी, सुनका हम्बेल, तिलहरीमा सजिएर खाता र केल्साङले (परम्परागत ठेकीमा रक्सी र चौंरीको घिउको सगुन) सबैलाई स्वागत गरे । गीत र नृत्यको परम्परा रहेको गाउँमा कविताको कार्यक्रम नयाँ नै थियो । कविता वाचन, कार्यपत्र प्रस्तुति र विचार विमर्शको कार्यक्रम सम्पन्न भयो ।
त्यसपछि ‘भूपि स्मृति पुस्तकालय’ अवलोकन गर्यौं । पूर्ण कदको कविको अर्धकद सालिक देखेर कविहरू गम्भीर बने । श्यामल दाइ त संवेदित नै देखिए । ‘होचिमिह्नलाई चिठी’ लेख्ने भूपिको लेतेखोलामा उनले भियतनामको मेकङ देखे । परिचय कार्यक्रममा आफ्नो नाम श्यामल शेरचन भनेर थकालीहरूलाई मज्जाले हँसाए । ‘मैले आदर गर्ने कवि भूपि शेरचन हुन्’, श्यामल दाइले त्यसो भन्दा थकालीहरूको अनुहार उज्यालो भएको थियो । पुस्तकालयका अध्यक्ष वसन्त शेरचनबाट पुस्तकालयका गतिविधिबारे जानकारी लिएर जोमसोम र मुक्तिनाथको निम्ति मार्च पास गर्यौं । मुस्ताङबाट फर्केपछि सबै व्यावहारिक जीवनका तानाबानामा व्यस्त भए ।
क्रमशः सत्तरी, एकत्तर, बहत्तर सकियो । त्रिहत्तर देखा पर्यो । त्तिहत्तर जेठको एक दिन फेसबुकको इनबक्समा भूपिनको संक्षिप्त म्यासेज आउँछ । मैले स्याउबाजे कविता लेखिसकेँ । तपाईंले निबन्ध लेखिसक्नुभो ? अब परेन फसाद । आफ्नै प्रस्ताव बिर्सेछु । गफ लगाएजस्तो पो भयो । भने अब सुरु गर्छु । मुस्ताङबाट फर्केको केही हप्तासम्म त योजना मस्तिष्कको अग्रभागमै थियो तर के के कारणले पृष्ठ भागतिर धकेलिँदै गयो, जबसम्म भूपिनले रचनात्मक दबाब दिएनन् ।
२०७३ असार महिनाको पहिलो शनिबार । कविता वाचनकानिम्ति सर्वनामको हलमा कवि भूपिन र चन्द्रवीर तुम्बापो निम्त्याइएका छन् । चितवनबाट हानिएका छन् कविता सुनाउन भूपिन । वर्षासँग निस्पृह बनेर श्रोताहरू कविता सुन्दै तरंगित भइरहेका छन् । पहिलो पालो कवि चन्द्रवीरको । रामायण ग्रन्थमा अल्छे र सुताहा बनाइदिएको फक्तालुङ (कुम्भकर्ण) हिमाललाई पुनः ब्यूँताएर चन्द्रवीर मुन्धुम मिथकलाई पुनसिर्जना गर्छन् । भूपिनले मधेसी भाषिकाको सुन्दर प्रयोग गर्दै गरिब किसानको पीडालाई खडेरी कवितामा ढाल्छन् । सामूहिक चेतनालाई स्पर्श गर्छ । अनेकन कवितामाझ उनी स्याउबाजे कविता वाचन गर्छन् ।
‘स्टिभ जब्सले
अलिकति टोकेर जुठो पारेको स्याउको दाना
विश्व बजार डुल्छ पातको जुल्फी हल्लाउँदै ।
यता मुस्ताङमा
बिल्कुल गुमनाम छन्
‘ओम माने पेमे हुम्’ जपिरहने स्याउबाजे ।’
जीउमा काँडा उम्रिन्छ । अनौपचारिक बातचितमै स्याउबाजे कविता जन्मिएछ । साक्षी बस्छु, त्यो विशेष क्षणको । स्याउबाजे सम्झन्छु । स्याउखेती सुरु गर्ने एकजना रैथाने कृषिविज्ञ मुस्ताङमा गुमनाम छ तर त्यही स्याउ टोक्दै एप्पलका संस्थापक स्टिभ जब्स पुँजीबजारमा विश्वचर्चित छ । किन यस्तो भिन्नता ? भूपिनको चिन्ता काव्यात्मक छ ।
म तर्कना गर्छु । स्याउबाजे जति कर्पोरेट ग्लोबलाइजेसनको मारमा छ, उत्ति राज्यको उदासीनताको मारमा पनि । वर्षौं बितायो मुस्ताङले, सडकको सपनामा । भर्खर मौसमी सडक पुगेको छ । ग्लसी प्याकेजले बजारलाई हल्लाइरहेको बेला, मुस्ताङे स्याउको प्याकेज उसकै भूसतहजस्तो खस्रो र बन्जर छ । स्याउबाजेको ज्ञान र अनुभवको भरपूर फाइदा सरकारले उठाए कति बेस हुन्थ्यो । भूपिनको चिन्ता पनि उपयोगी कुरा जन्माउनेलाई भन्दा, हुर्किसकेपछि फाइदा लिने प्रवृत्ति हावी भयो भन्ने हो ।
स्टिभ जब्सको एप्पल भने सबै मौसममा पाइन्छ । मस्तिष्कमा फल्ने स्याउ भएकाले । वाल्टर आइज्याकनको पुस्तक पढेको थिएँ– स्टिभ जब्स । जब्स प्रकारान्तरले स्याउबाजेकै चेतनाको बिस्तार हो । जब्स पनि कम्ता जोधाहा होइनन् । जब्सलाई स्याउकाका भन्न मिल्ला । उनी ज्ञान र सिर्जनाका भोका मान्छे थिए । तंगीका दिन निःशुल्क भोजनकै लागि कैयौं माइल हिँडेर हरेकृष्ण मन्दिर पुग्थे । उनको कविद्रष्टाले कम्प्युटरभ्रूणमा उघ्रिन बाँकी भविष्य देखे । त्यसैले स्टिभ वज्नाइकसँग मिली एप्पल कम्प्युटरको आविष्कार गरे । जब्सको रुचि विशुद्ध प्रविधिमा थिएन । बरु कला र प्रविधिको इन्टरसेक्सनमा थियो । उनको भाष्यमा कलाको अर्थ मानवतावाद थियो ।
प्रविधिमा झेनस्पर्श उनको अभीष्ट बन्यो । विश्वचर्चित हुनुअघि उनी आध्यात्मिक खोजमा भारतमा भौंतारिए । बब डिलनका हार्डकोर फ्यान थिए उनी । हिप्पीको प्रतिसांस्कृतिक चेतना बोकेरै उनी पुँजीवादको अर्थबजारमा डटिरहे । उनको वार्षिक तलब एक डलर थियो । अरबौं डलरको धनी उनमा पैसाको मोह देखिँदैन । अर्थशास्त्रमा नियम नै छ । यौटा बिन्दुपछि, पैसाको महत्त्व र वस्तुको उपयोगिता घट्दै जान्छ, द ल अफ डिमिनिसिङ रिटर्न । कस्तो विडम्बना ! आफैंले जन्माएको कम्पनीबाट उनी निकालिए । उनले भनेका छन्– जीवनले कहिलेकाहीँ हाम्रो टाउकोमा इँटाले नराम्ररी बजाउँछ ।
तिल्मिलाउने गरी । केही गर्न सकिन्न । तर त्यस्ता अनुभवको सिकाइ अमूल्य हुन्छ । अन्तस्करणलाई पछ्याउनुको विकल्प छैन । नभेटेसम्म खोज । उनी आध्यात्मिक पनि सुनिन्छ । मूर्ख बन । भोको बन ।
थिंक डिफरेन्ट, अभियान चलाए । माइक्रोेसफ्टको एकाधिकारको विरोधमा डटे । चामत्कारिक अविष्कारले उपभोक्तालाई अचम्भित पारिरहे । एप्पल, नेक्स्ट, म्याक, आइप्याड, पिक्सर, आइफोन आदि उनको रचना थियो । जब्सहरूकै आविष्कारले हामी परिवार, आफन्त र हितैषीसँग हरपल जोडिएका छौं । ती प्रविधिको माध्यमले, स्थानिकता, पहिचान, संघीयता, गरिबीको बहस, डा. केसीको अभियान, सिनेमा, थिएटर र कविताका कुरा गर्दैछौं ।
तर, स्याउबाजेको भने प्रविधिसँग गोरु बेचेको साइनो पनि थिएन । कृषि क्षेत्रका थिए उनी । दुर्गम जिल्लाका बासिन्दा । दशकौं सडकले नजोडिएको अवस्थामा पनि कर्ममा लागिरहे । स्याउबाजे पनि एन्टिकरेन्ट थिए । मनमाफिकको । तर, हाम्रो धरातल भिन्न छ । यथार्थ पनि । हामीकहाँ प्रतिभा नभएका होइनन् । प्रतिभा प्रस्फुटित हुने अनुकूल वातावरणको भने सर्वथा अभाव छ । चिसो हावामा स्याउका फूलहरू त फुल्छन् तर फल्न बिदेसिनु नै पर्ने । नत्र स्याउबाजेझै गुमनाम हुनुपर्ने नियति । कवि भूपिनले त्यो तीतो यथार्थलाई स्याउबाजे कवितामा कुशलतापूर्वक उतारेका छन् ।
‘नरसिङ गुम्बाको माने घुमाउँदै
हेर्छन् स्याउबाजे उदास उदास
धुपी सल्ला र बैंसका पातहरू बटुलेर
सुसेल्दै सुसेल्दै बग्ने कालीगण्डकी ।
जसको भाँचिएको ढाड तरेर
विदेश हिँडिरहेका छन् नौजवानहरू ।
गम्छन् स्याउबाजे–
ती पनि त हुन् स्याउका बिरुवा
जो चिसो हावामा सिँगान पुछ्दै हुर्किए र फुले
तर फल्नलाई त रोजका छन् तिनीहरूले
जापान, अमेरिका वा युरोपको बारी ।’
शनिवार, असोज १५, २०७३
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)