छन्द कविता : युग र वितृष्णा

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- द्रुतविलम्बित

चटक या “टक”को टक जिन्दगी ?
किचक या-चक, रोचक जिन्दगी
उदक, मादक या कि त ‘वादक” ?
कि “धक” साधक वा चिर बन्धक ?

प्रगतिका गति दुर्गतिमा पुगे
विमतिले मति दुर्मतिमा पुगे
सुजन- “दुर्जन, भाजन”ले मरे
कृषक “शोषक शासक”ले मरे ।।

“सकस” राकसकै कस फैलिए
अमन-दोमनले मन मैलिए
विफल, निष्फल के फल टिप्दथ्यो
“विकल भाकल” के कल जित्दथ्यो ?

वसन, रासन, आसन झर्दछन्
नियम नै “यम” कायम गर्दछन्
हरण या रण-कारणले मरे
चलन, चालन, पालन नै झरे ।।

“कदर” बाँदरका दर झैँ गिरे
“भजन”कै जन रञ्जनमा छिरे
न रव-गौरव कौरवले बुझे
सृजनका जन गर्जनमै रुझे ।।

किन चकार, विकार, सिकार छन् ?
मृत निकास, विकास, प्रकाश झन्
सुगम सङ्गमको गम के छ खै
“रकम” हैकमको कम के छ खै ?

विषम मौसमले समता मरे
सुमनका मन दोमनमा झरे
प्रकृति या कृति, सँस्कृति मैलिए
विमल, कोमलमा मल फैलिए ।।

कुलत, दौलतकै लत चम्किए
नृप र तत्पर नै पर लम्किए
लग र जाँगरसागर नै सुक्यो
जगत लागत-तागततर्फ झुक्यो ।।

प्रसव उत्सवमै शव झर्दछन्
र शवमै सब उत्सव गर्दछन्
प्रलयमा लय तल्लय बन्छ कि
समयले “मय नै मय” दिन्छ कि ?

– विदुर न•पा• 3 शेरा, नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.