कथा : खैरो कोट र श्रीमतीको सारी

~गोकर्ण भट्ट~Gokarna Bhatta

उसलाई खैरो रङ्गको कोट किन्न मन थियो । पसलमा गएर सोध्यो । दाम रहेछ ११ हजार । फर्कियो ऊ ।

हप्तादिनपछि होला, उसले पैसाको जोहो गर्यो । ‘आज कोट किनेरै फर्किन्छु” यही सोच्दै ऊ अफिस जान ठीक्क पर्यो ।

‘सुन्नु न’ कोटको कल्पनामा रमाएको ऊ, श्रीमतीको आवाजतर्फ फर्कियो ।

‘के भो नानु’ उसले सोध्यो ।

‘अलिकति पैसा चाहिएको थियो ।’ श्रीमतीले भनी ।

‘पैसा ?” उसले प्रतिप्रश्नात्मक मुद्रामा भन्यो ।

‘अँ’ श्रीमतीको संक्षिप्त जवाफ ।

‘पैसा त छ तर आज कोट किन्ने भनेको ।’ उसले भन्यो ।

‘कोट ? अहिले किन किन्नु पर्यो र कोट ? चलि रा त छ ?’ श्रीमतीलाई मानौं उसको कोट किन्ने रहर मन परेन जस्तो थियो ।
उसले थप केही भन्न चाहेन । मनमा त्यही खैरो कोट नाच्यो ।

‘भान्जीको बिहे छ, एउटा सारीसम्म छैन । तपाईलाई आफ्नो मात्रै वास्ता’, श्रीमतीले थपी ।

ऊ फेरी बोलेन । कोट अझै नाचेकै थियो मनमा ।

‘कति चाहियो तिमीलाई ?’ उसले एकछिन गमेर भन्यो ।

“सारी किन्न कति लाग्छ, था, होला नि । दिनु न ।’ श्रीमतीले मानौं सबै पैसा नै खोजेकी हो ।

उसले खल्तीबाट ११ हजार रुपैयाँको बिटो निकाल्यो । “ल राख्नु’

‘कति छ ?’ श्रीमतीले सोधी

‘त्यहीँ छ, गन्नु आफै।”

‘तपाईंलाई नि चाहिएला नि, राख्नु केही’, अब भने श्रीमतीको स्वरमा मृदुता सुनियो ।

“पर्दैन मलाई ?” तिमी खर्च गर ।

श्रीमतीले नोट गनी र उसलाई त्यसबाट १५ सय झिकेर दिई ।

“ल, राख्नु, फेरी गोजीमा पैसा भएन भने नि बोर हुन्छ अफिसमा ।” श्रीमतीले यसरी भनी मानौं उसलाई श्रीमानको मनोदशासँग सारै चासो छ ।

उसले केही नबोली त्यो पैसा गोजीमा राख्यो र निस्कियो ।

भान्जीको बिहे आयो । उसले पुरानै कोट सफा गरेर लगायो । श्रीमती सारीमा सजिएकी थिइन ।

बिहामा उसले टाढैबाट त्यही खैरो कोट देख्यो, दुलाहापट्टिबाट कसैले लगाएको । मन लाग्यो, गएर एकचोटी छुने । तर सम्हाल्यो आफूलाई ।

बिहा सकियो ।

दुबै घर फर्किए अर्को दिन ।

श्रीमती फुरुङ्ग थिई । ८ हजारको सारीको प्रशंसा बटुलेकी थिई । खुशी पनि किन नहोस् ।

ऊ न खुशी थियो, न दुखी नै ।

राती सुत्नु अगाडि बिहेकै कुरा झिकी श्रीमतीले ।

‘कति रमाईलो भो है बिहेमा ।’ श्रीमतीले भनी, ‘तपाईले नि नयाँ कोट लगाएको भए ?’ उ भन्दै गई, ‘जन्तीमा आएको एकजनाको कोट देख्नु भा थियो, त्यस्तै कोट मेरो बुढाले लगाएको हेर्न मन छ ।” श्रीमतीले भनी ।

उसले श्रीमतीको मुहारमा हेर्यो । मन्द मुस्कान, संसारको ऐश्वर्य पाएजस्तो ।

उ आफूलाई भने रोऊँ कि हाँसु जस्तो भयो ।

‘मूला श्रीमतीको खुशीका लागि….।” उसको मनमा लामो उछ्वाश निस्कियो ।

(स्रोत : एभरेष्ट दैनिक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.