~सुवास खनाल~
मलाई
कलेजको भित्ता भरिभरि
यातना–शिविर लेख्नुको रहर छ
म कलेज अध्ययन खप्न गइरहेछु
हरेक प्रोफेसर
पोडियम अघि उभिन्छ
र बाँड्छ स्लिपिङ ट्याबलेट
यो कस्तो दुर्दशा
पेसाप्रति घृणा सिक्न
म कलेज जाने गर्छु
“नपढेर हली बन्छौै ?”
प्रोफेसर एक
“पढ्दैनौ भने गोठालो बन्छौ ?”
प्रोफेसर दुई
“सिपाही बन्नु हो तिम्रो उद्देश्य ?”
प्रोफेसर तीन
“राजनीति, यो हो यौन दुव्र्यसन”
प्रोफेसर चार
“खेलाडी बन्ने हो भने किन आउनु कलेज ?”
प्रोफेसर पाँच
“यो पढाउने काम झन् ठिक छैन”
प्रोफेसर छ
प्रोफेसर सात
प्रोफेसर आठ
… … …
आदि आदि
प्यारा गुरुहरु !
मलाई हली बन्न सिकाइदेऊ !
मलाई गोठालो बन्न सिकाइदेऊ !
मलाई सिपाही बन्न सिकाइदेऊ !
मलाई राजनीति गर्न सिकाइदेऊ !
मलाई खेलाडी बन्न सिकाइदेऊ !
वा
मलाई अध्यापन गर्न सिकाइदेऊ !
मलाई पेसाप्रति
प्रेम जगाइदेऊ !
हामी जीवनसँग टाढिएर
ज्ञान लिन सक्दैनौँ ।