~बिक्रम सुब्बा~
हतियारलाई पनि चढ्दो रै’छ क्यारे जवानी !
नत्र, वैँशको छत्रे टोपी र यूनिफर्ममा ठाँटिएर
दाहिने आँखा छोपेर
देब्रे आँखा प्रहार गर्दै राजकुमारीतिर
अंगरक्षकका कमरबाट
किन मस्किँदै हल्लिन्छ रिभल्भर?
कुनै राज्य चलाउँदो रै’छ हतियारले पनि !
नत्र, हाक्पारा र सोरठीविरुद्ध
हरेक साँझ-विहान किन डुक्रिन्छन्
शैनिक क्याम्पबाट साँडे बिगुलहरू?
हतियारको पनि हुँदोरै’छ आफ्नो सँस्कृती !
नत्र, रोदी र मारुनीले फन्को मार्ने डबलीमा
नृत्यमग्न प्रेमील जोडी र मादलको होसै उड्नेगरी
किन क्यान्सर खोक्छन् बम र बुलेटहरू?
हतियार पनि हुँदो’रैछ कुनै धर्मावलम्बी !
नत्र, वुद्धको सम्यक ध्यान मुद्रालाई ताकेर
ध्वनी प्रदुषणको राइफलझैँ
किन कानै चिर्नेगरी चिच्याउँछ शंकराचार्यको शंख?
हतियारको पनि हुँदोरै’छ युद्ध-संगीत !
नत्र, अधिकारको जुलुस गाउँन थाल्दा
हाम्रो ईन्क्लाबी स्वरै छोप्नेगरी
बुट र बन्दुकहरू किन सरगम छाद्दै हिँड्छन्?
हतियारको स्वर्गसँग दुश्मनी नै हुन्छ कि?
नत्र लुकेर, छलेर हरेक मोर्चाबाट ताकेर
किन प्रहार गरिरहन्छ अमेरिकी रकेट लाउञ्चरले
सगरमाथाबाट परेवाको टाढा हेर्ने आँखालाई?
हतियार, शायद कुनै जंगी-चोली पो’हो कि!
नत्र, हरेक महाशक्तीका फौजले
आफु नांगो भएपनि काँधबाट निकालेर
किन फाल्न सक्दैनन् गोलीगट्ठाको झोला?
हतियारलाई पनि सलाम चाइयारै’छ!
नत्र, रातो कार्पेटमा रोबोटझैँ राष्ट्रप्रमुखसँग
किन स्यालुट लेन-देन गर्छ टलक्क तरवार?
हतियार पनि शक्तीराष्ट्रकै हनुमान हुँदा रै’छन् !
नत्र, स-साना मुलुकहरूको छाती टेक्दै
सिमाना मिच्दै, थर्काउँदै, ठेल्दै र पेल्दै
किन अघि बढ्छन् युद्धपोतजस्ता एम्बेशीहरू?