संस्मरण : राजनीतिको रङ

~सरोजराज अधिकारी~

‘चप्पा–चप्पा छान मारा सर, मगर गोबरबहादुर कहीँ नही मिला ।’
हरेक शुक्रबार यो डायलग सुनाउँथ्यौं हामी सरहरूलाई । हामी अर्थात् किरण ढकाल र म । २०४९ सालतिरको कुरा हो । नेपालगन्ज धम्बोझी चोकबाट करिब सात किलोमिटर पश्चिममा रहेको आदर्श माध्यमिक विद्यालय, बागेश्वरी ‘डी’ गाउँ खजुरा, बाँकेका विद्यार्थी थियौं हामी । ६ देखि १० सम्म पढाइ हुने यस विद्यालयमा तिनताका म ७ कक्षामा पढ्थेँ ।

हरेक शुक्रबार दुईवटा कक्षापछि हाम्रो पढाइ सकिन्थ्यो । तर, स्कुल कक्षाका भुइँहरू पक्की नभएकाले त्यसपछि सबै विद्यार्थीको ‘प्रयोगात्मक’ कक्षा सञ्चालन हुन्थ्यो । केटाहरूले गाउँ डुलेर बाल्टी भरिभरि गोबर ल्याउनुपथ्र्यो । धारा पेलेर पानी ओसार्न पथ्र्यो । केटीहरू भुइँ लिप्थे । सानो कदकाठीका भएकाले पनि किरण र मेरा लागि बाल्टी भरिभरि गोबर र पानी ओसार्ने काम शारीरिक हिसाबले गाह्रो थियो । त्यसैले यस्तो डायलग सुनाउने अग्रपंक्तिका कामचोर विद्यार्थी थियौं हामी ।

अरू साथीहरूले ढोकैसम्म ल्याइपुर्‌याएका गोबर भरिएका बाल्टी उनीहरूलाई सहयोग गर्ने बहानामा भित्र हुल्थ्यौं हामी । अनि भुइँमा पोख्दै केटीहरूलाई भन्थ्यौ, ‘अरे ओइ वसन्ती ! चल सुँघ के बता, ऐ गोबर गायका है या भैंसका ?’ दुईवटा कक्षा बन्द गरेर लिपपोत गर्नुपर्ने त्यही बाध्यताले सायद म र केही साथीको मस्तिष्कमा परिवर्तनका ससाना टुसा उमारेको थियो ।

राजेन्द्र सापकोटा, इन्द्र थापामगर सर शिक्षकका साथै मित्रवत् पनि थिए । हामी मुखेन्जी जिस्कने प्रायः उनीहरू दुईजनासँग मात्र हो । ‘तिम्लाई फटाहा हो, पख !’ यी दुई सरको सजाय हाम्रा हकमा यत्तिमै सीमित हुन्थ्यो । नत्र एकाउन्ट र खेलकुद पढाउने इन्द्र सरका बेतका लौरीले कमै केटाहरूका पिँडौला सद्दे छाडेका होलान् । केही केटीहरूका हस्तरेखाका शासकीय ग्रह पनि फेरिदिएका छन्, उनले । सबै घटना, परिघटनाका यकिन मिति त स्मरण छैन । तर २०४९ को सुरुआतदेखि २०५३ को सुरुआतसम्मका चार वर्षमा आदर्श स्कुलमा गरेका केही हर्कतको स्मरण गर्न खोजिरहेछु ।

म क्रिकेटको एकमात्र यस्तो पहिलो ब्याट्सम्यान हुँला, जसले औपचारिक खेलमा कहिल्यै दोस्रो बलको सामना गरेन । क्रिकेटको हकमा म अहिलेसम्म पनि ‘रिटायर्ड हर्ट’कै अवस्थामा छु । इँटाका स्टम्प, साथीभाइ मिलेर काठ ताछेर बनाएको ब्याट र नरम फुसफुसे बल (टेनिस बल नै भन्दिम) । सम्फोलका साथसाथै यदाकदा क्रिकेट खेलेजस्तो नगरेको होइन ।
तर त्यो मेरा लागि पहिलो (औपचारिक) प्रतियोगिता थियो । हाम्रै करले इन्द्र सरले ब्याट, स्टम्प, हेल्मेट, लेग प्याड सबै सामग्री जुटाएका थिए । त्यो साह्रो न साह्रो रातो बलको त कुरै नगरौं । इच्छुक विद्यार्थी समेटेर औपचारिक रूपमा दुई टिम बन्यो, टस हाम्रो टिमले जित्यो । आफ्नै जिद्दिले म सलामी बल्लेबाजी गर्न क्रिजमा आए । इन्द्र सरले बलिङ गर्ने भए । इन्द्र सरले परबाट कुद्दै आएर बल हुत्याए ।

बल त मैले देखिनँ तर त्यसले छाडेर गएको रातो डाम मेरो देब्रे गालामा महिना दिनसम्म रह्यो । हेल्मेटभित्रै पसेर बलले मेरो देब्रे गालामा नराम्रो धक्का दियो । हेल्मेट एकातिर म अर्कोतिर उछिट्टिएछु । बरफले सेक्दा पनि दुखाइ कम नभएपछि म पवेलियन फर्के । क्रिकेट इतिहासमा एउटा खेलाडी उदाउन नपाई ढेर भएको त्यो घटना इतिहासकै गर्तमै रह्यो ।

किरण, टीका विक दिदी, भावना सापकोटा, भीम गुरुङ, कविता बोगटी, नवीन कर्माचार्य, यस्तै केही सहपाठीको एउटा सानो मिल्ने टिम थियो । सिनियर दाइ–दिदीले नचाहेर पनि होला, ७ कक्षामा पढ्दैदेखि जुनियर रेडक्रस सर्कलको कमान्ड हामीले सम्हालेका थियौं । स्थानीय ताजिया मेला होस् वा अन्य विपत्का बेला, ‘फस्र्ट एड’ सामग्री बोकेर पुग्थ्यौं । स्कुलनजिकैको धौलागिरि गाउँमा आगलागी हुँदा हामीले थोरै नै सही, राहतसमेत उठाएर वितरण गरेका थियौं ।

फलस्वरूप जिल्ला रेडक्रसले हाम्रो एकाइलाई प्रथम घोषित गर्दै विभिन्न तहका ३६ सेट किताब, खेलकुद र ब्ल्याक बोर्डमा प्रयोग हुने ठूलो आकारका ज्यामितीका लागि चाहिने सामग्रीले पुरस्कृत गरेको थियो । त्यही कारण अन्य शिक्षकशिक्षिकाले पनि एक कान, दुई कान हुँदै उहाँहरूसम्म पुग्ने हाम्रा केही गलत हर्कतलाई बेवास्ता गरिदिन्थे । त्यसमाथि हामीमा राजनीतिक रङ चढ्दै थियो ।

आफ्नै स्कुलभित्र हर्कत नगरिसके पनि अन्य स्कुलले हाम्रा गतिविधिबारे रिपोर्टहरू पठाउन थालेका थिए । सायद यही कारण अन्य शिक्षकहरू हामीप्रति विशेष ‘संवेदनशील’ बन्दै थिए । प्रजातन्त्र स्थापनापछिको खुला समाजमा राजनीतिक गतिविधि बढ्दै गएको थियो । प्रत्यक्ष सहभागी नभए पनि थाहै नपाई त्यसतर्फ हाम्रो चासोसमेत डोरिएको रहेछ ।

‘हेर किरे ! त्यो स्कुलले बोलाएको हाजिरीजवाफ प्रतियोगितामा तँ र ममात्र जाम । स्कुलले खाजा खर्च तीन सय दिन्छ । चार जना गए ७५ रुप्पेमात्र भाग पर्छ । तँ र ममात्र गए डेढ–डेढ सय हुन्छ । कति दिन फिलिम हेर्न र बरफ खान पुग्छ, भन्त बे ? ‘

‘सहभागी चारजना हुनुपर्छ भनेको छ त बे !’, किरण भन्थ्यो ।

‘चिन्ता नगर बे, म सब मिलाउँछु ।’ स्कुलबाट त्यस्तै प्रकृतिको सिफारिसपत्र बनाइन्थ्यो । किरण र मेरो नाम राखेर पत्र तयार गथ्र्यौं, अन्य दुई सहभागीकोमा डड–डड हुन्थ्यो । जब प्रतियोगिता आयोजक स्कुलमा पुगिन्थ्यो, उनीहरू अन्य दुई सहभागी खोज्थे । हामी लफडा खोज्थ्यौं ।

‘जनता स्कुलमा प्रतियोगिताको निम्तो कहिले पठाउनुभयो ? आइतबार होइन ?’ अर्को जिग्री दोस्त सतिश निरौला जनता स्कुलमा पढ्ने भएकाले उसको स्कुलको सूचना पनि हामीसम्म पुग्थ्यो ।
‘हो ।’ उनीहरू भन्थे ।
‘हाम्रोमा शुक्रबार पत्र आइपुग्दा लिपपोत सुरु भइसकेको थियो । हिजो शनिबार । आज आइतबार ११ बजेसम्म यहाँ नाम दर्ता गरिसक्नुपर्ने । कसले छान्ने, कसरी ल्याउने चारजना ?’ तर्कमा पनि लजिक घुसेडेपछि उनीहरू एकछिन कानेखुसी गर्थे ।

‘चारजनाको ठाउँमा पाँचजना पो हुनुभएन । हामी दुईजना हुँदा त अरू प्रतियोगी स्कुललाई झन् फाइदा भएन र ? चारजनाले हामी दुईजनासँग भिड्न पाउने भए ।’

अन्य प्रतियोगी स्कुलका प्रतिनिधिले पनि सकभर हामीलाई सामेल नगराउने उद्देश्यले दर्तामा बसेका सरहरूलाई ‘नियम त पुर्‌याउन पर्‌यो नि सर, हैन र ? ‘ भनेर उकास्थे ।

‘हामीकहाँ निम्तो किन ६ दिन ढिला पठाउनुभएको ? पहिला तपाईंहरू न्याय पुर्‌याउनुस्, अनि हामी नियम पुर्‌याऊँला,’ किरणले क्रान्तिकारी पारा ल्याइहाल्थ्यो । त्यसपछि कसले के भन्ने ? पायक ठाउँमै पर्ने भएकाले पछि पुर्‌याए पनि हुन्छ भन्ठानेर हाम्रो स्कुलमा एकाध दिन ढिलो गरी आइपुग्थ्यो कार्यक्रमको निम्तो । अरू स्कुलभन्दा एक दिनमात्र पनि ढिलो निम्तो पठाएको विषयमा हामीले धेरैपटक निहुँ खोज्यौ, विभिन्न स्कुलसँग ।

आवश्यक संख्या पुर्‌याएर गएका बेला पनि हामी जानाजान दर्ता समयभन्दा पाँचसात मिनेट ढिलो पुग्थ्यौ । ‘तपार्इंहरूले अरू स्कुलभन्दा दुईतीन दिन ढिलो निम्तो पठाउन हुने, हामी दुईचार मिनेट ढिलो हुँदा यस्तो गर्ने ?’ यस्तै जिकिर गरेर दर्ता भइछाड्थ्यौं । यी सबको रिपोर्ट हाम्रो स्कुलमा पुग्थ्यो, ‘तपाईंहरूका फलाना–फलानासहित केही विद्यार्थी अराजक बन्दैछन्, बेलैमा तह नलगाए पछुताउनु पर्ला ।’

तर हाजिरी जवाफ, वक्तृत्वकला, कविताका जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाएपछि खाली हात नफर्कने भएकाले पनि स्कुलमा हामीलाई केही भनिन्नथ्यो ।

तर, जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा चाहिँ हामी कहिल्यै प्रथम भएनौं (किरण कहिल्यै भयो कि ? यो पढेपछि प्रतिक्रिया जनाउँला नै) । तर हरिवंश पारामा भन्दा सबैलाई पछारेर तृतीय स्थानसम्म त सुरक्षित गथ्र्यौं हामी । बात के थियो भने हाजिरिजवाफ, कविता र वक्तृत्वकलाजस्तो कार्यक्रम अवधिभर बस्नुपर्ने र सोही दिन नतिजा सुनाइने प्रयोगात्मक विधा थिएन, निबन्ध ।

प्रायः १० बजे लेखन सुरु हुन्थ्यो । हामी सवा ११ सम्म पेपर बुझाएर साढेसम्म त कि बागेश्वरी कि लक्ष्मी चित्र मन्दिरमा पुगिसक्थ्यौं । ट्रेलर नहेरी पैसा असुल भएझैं लाग्दैनथ्यो ।

कहिलेकाहीँ त हामी खाजाको पैसा पनि बलिउड सिने उद्योगमा समर्पित गथ्र्यौं । र १२–३ एउटा र ३–६ अर्कोमा फिलिम हेथ्र्यौं । अल–इन्डिया रिलिज हुन्थेन तिनताका नेपालगन्जमा । कुनै फिलिम केही ढिलो आइपुग्थे । केही दिनको अन्तरालमा रिलिज भएका ‘दिलवाले’ र ‘ऐलान’, ‘कुल्ली नम्बर वान’ र ‘टक्कर’जस्ता धेरै फिलिम हामीले गाँस काटेर भए पनि एकै दिन हेरेम् ।

र, साँझ भोको पेट साइकलको पैडल घुमाउँदै खजुरा फर्केम् । हामीले त्यस किसिमको बलिदानीपूर्ण योगदान नगरेको भए अहिले बलिउडमा दुई ‘अ’ अर्थात् अजय देवगण र अक्षय कुमार, अनि तीन खान अर्थात आमिर, शाहरूख र सलमानको यस किसिमको फुर्तिफार्ती हुन्थेन कि ?

स्कुलमा कुनै कक्षा नियमित हुन्थेन । पर्खेर बस्यो, सर–म्याम नआइदिने । त्यसैले सिनेमा त हामी खजुरा (पुरानो एअरपोर्ट) को भिडियो हलमा पनि गएर हेथ्र्यौं, स्कुल हापेर । सरहरूलाई चुकुली गरिदिने (खासगरी केटी साथी)लाई घूसस्वरूप बरफ, इमली खुवाइन्थ्यो । केटा साथीहरू त हामीसँगको बदमासीमा सहभागी भइरहेकै हुन्थे । कक्षाको अन्तिम सिट मानौं हाम्रो आरक्षण कोटा नै थियो । हामीले फेर्दै गएका कक्षाको पछाडिपट्टिको झ्यालको छड सद्दे हुन्थेन । हामी छिर्न मिल्ने गरी बंग्याइएका हुन्थे ती ।

शिक्षकशिक्षिका लघुशंका गर्न गएका बेला वा उनीहरू ब्ल्याक बोर्डतिर फर्केर केही कोरिरहँदै गर्दा यदाकदा त्यही झ्यालबाट भागिन्थ्यो । त्यसरी भागेर कहिले खजुराको भिडियो हल पुगिन्थ्यो त कहिले स्कुल पछाडिको पेडारी नालामा । नालाको वरिपरि रहेको ससाना झाडीमा केही बेर तास खेलेर हाफ टाइममा खुसुक्क स्कुल फर्कन्थ्यौं । तासको गुरुचाहिँ आसमान गुरुङ थियो ।

हामीलाई अन्तिम बेन्चबाट अगाडिको बेन्चमा सार्ने काम गरे, प्रधानाध्यापक विश्वनाथ चौबेले । त्यसअघि स्कुलमा सबैभन्दा कडा मानिन्थिन्, विज्ञान शिक्षक विमला कार्की । चौबे सर चार गुणा कडा थिए । असाधारण व्यक्तित्व थियो उनको । उनी कहिल्यै कपाल कोर्दैनथे तर मलाई नकोरिएको उनकोजस्तो दामी हेयर स्टाइल आजसम्म कसैको लागेन, सिनेमाका हिरोको पनि । संगत गर्दै, बुझ्दै जाँदा थाहा भयो, चौबे सर ड्यासिङमात्र होइन, अन्डरस्ट्यान्डिङ पनि रहेछन् । उनीजस्तो क्षमतावान् र लगनशील गुरु मैले आफ्नो अध्ययनकालमा त्यसअघि र पछि कहिल्यै भेटिनँ ।

हुन त चौबे सरले स्कुल नआउँदै हाम्राबारे थाहा पाइसकेका थिए । त्यसैले पनि अगाडिको सिटमा सारेका होलान् । ९ कक्षामा पढ्दा हामीले गरेको ६ दिने शैक्षिक हडतालको परिणाम पनि थियो, चौबे सरको आदर्श स्कुल आगमन । त्यस बेला माधव घिमिरेले निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । र पहिलेकै प्रधानाध्यापक अशोककुमार दास फर्केर आउने गाइँगुइँ चलेको थियो । दास सर प्रधानाध्यापक बनेका बेला स्कुलका लागि दुईवटा कोठा निर्माण भएका थिए ।

तर बनिनसक्दै पानी चुहिने समस्याका कारण प्रयोगमा आउन सकेका थिएनन् । हाम्रो आन्दोलनको पहिलो माग नै भवन निर्माणको छानबिन बन्यो । स्कुलमा एउटामात्र फोहोर शौचालय थियो, त्यो पनि शिक्षकहरूका लागि थियो । स्कुल वरिपरिको रहर बारी केटाकेटी सबैको साझा शौचालय थिए । कतिपय केटीहरूले रहरबारीमा शौचालय जाँदा सिनियर विद्यार्थीले यौन दुव्र्यवहारको प्रयास गरेको गुनासोसमेत गरेका थिए । अर्को मुद्दा यो बन्यो । कक्षा कोठामा टेबल थिएनन्, आफ्ना तिघ्रामा कापी किताब ओछ्याएर लेखपढ गर्नुपथ्र्यो । हरेक शुक्रबार गर्नुपर्ने लिपपोतको समस्या त छँदै थियो । यीलगायतका १६ बुँदे माग राखेर हाम्रो आन्दोलन सुरु भयो ।

पहिलो दिन नै आन्दोलनले उग्र रूप लियो । कुरा मिलाउन आएका स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर कँडेललाई हामीले साइकलबाट ओर्लनै नदिई चौरमा लडायौं । गोबरमोसो लगाउनेसम्मको हर्कत गरियो । दुर्भाग्य, सुर्खेतमा औषधि पसल चलाइरहेका मेरा बुवा त्यसै दिन घर आएका रहेछन् । हामी तीन भाइ बुवासँग निकै डराउँथ्यौं । विशेषगरी म । त्यो उमेरमा पनि लुगामा लागेको धुलो टक्टक्याउन थप्थपाउँदासमेत पिट्न लागेका हुन् कि भन्ने डरले मैले सुसु उम्काइहाल्थेँ ।

घर पुगेको मात्र के थिएँ, बुवाको खेदाइमा परिहालेँ । माटाका चपेरीले हिर्काउँदै बुवाले निकैबेर लखेटे । त्यस दिन म साथीको घरमा सेल्टर बसेँ । भोलिपल्ट स्कुल गइनँ । आन्दोलन सेलाएजस्तो भएपछि स्कुल प्रशासनसँग झन्डै आलटाले सहमति हुन लागेको रहेछ । तर किरणले एक दिनका लागि धकेलेछ । धन्य तेस्रो दिन बुवा औषधि किनेर सुर्खेत फर्के । थाहा पाएसँगै म दिउँसतिर स्कुल गएँ । आन्दोलन झनै चर्काउने सल्लाह गर्‌यौं । तर रणनीति फेरेर ।

सबैका बा–आमा, अभिभावकले यसैगरी सबैलाई तर्साउँदै जाने हो भने त आन्दोलन तुहिने खतरा थियो । त्यसैले हामीले अभिभावकलाई पनि दबाब दिने उद्देश्यले आन्दोलनलाई स्कुलबाहिर पनि लग्यौं । स्कुलका साथै गाउँ र खासगरी स्कुलनजिकैको सानो बजार ‘एक नम्बर’मा समेत नाराबाजीसहित जुलुस निकाल्यौं । कक्षा १० का सिनियरसहित प्रायः सबै विद्यार्थी र केही अभिभावकले समेत हाम्रो आन्दोलनमा साथ दिए ।

चन्दनको ठाडो टीका लगाउने एकाध पढन्ते विद्यार्थीको नजरमा चाहिँ हामी ‘अराष्ट्रिय तत्त्व’ थियौं । आन्दोलनको छैटौं दिन जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिहरू नेपालगन्जबाट गाडी सवार भएर आए । वार्ता चल्यो तर केही मागमा सहमति जुटेन । हामी टसमस भएनौं । त्यसपछि उनीहरूले पुलिस लगाएर पक्राउ गर्नेसम्मको धम्की दिए ।

‘बरु जेल गइन्छ, सम्झौता हुन्न’, मैले भनेँ । त्यस बेला मेरो दिमागमा एकाएक गाउँका पाकाहरूले सुनाएका मदन भण्डारीका किस्सा र पत्रिकामा छापिएका उनका तस्बिर तथा राजनीतिक मन्तव्य घुम्न थाल्यो । ममात्र होइन, किरणलगायतका केही साथी पनि मदनबाटै प्रेरित भएका थिए ।

हामी ८ मा पढ्दा रहस्यमयी जिप दुर्घटनामा (जसलाई एमालेले षड्यन्त्रमूलक हत्या भनेको थियो) एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो, २०५० जेठ ३ मा । त्यस दिन हामी स्कुल जाँदै गर्दा गाउँका कतिपय पाकाहरू रोइरहेका थिए । हामी केही साथी पनि बुझ न सुझ केही बेर रोयौं ।
स्कुलले बिदा दियो । फर्केर हामी उनै पाका मानिसका कुरा सुन्न थाल्यौं । त्यस दिन पछि विस्तारै राजनीतिप्रति चासो बढ्दै गयो । पत्रपत्रिका पढ्न र समाचार सुन्न थालियो । मदन भण्डारीले राजालाई समेत चुनौती दिएका किस्सा हाम्रा लागि रोचक र उत्प्रेरक थिए । त्यस बेला केही बढाईचढाई नै सुनिएको र पढिएको रहेछ ।

त्यसबाहेक मेरो स्मृतिमा अर्को एक घटना पनि तरंगित भएको थियो । म त्यस बेला बर्दिया बगनाहको चुरे माविमा कक्षा ५ मा पढ्थेँ । जनआन्दोलन उत्कर्षमा पुगेका बेला स्कुलका दाइदिदीहरूको पछि लाग्दै करिब चार किलोमिटर परको भुरीगाउँ बजार पुगेका थियौं । स्कुल नै उर्लेर पुगेको भीडले भुरीगाउँको प्रहरीचौकी घेर्‌यौं । दाइदिदीहरू ‘लालटाउकेलाई फाँसी दे’ भनेर भट्याउँथे, हामी भुराहरू ‘फाँसी दे, फाँसी दे’ भनेर चिच्याउँथ्यौं ।

सानामा बिठ्याइँ गर्दा प्रहरी बोलाइदिन्छु भनेर तर्साइन्थ्यो हामीलाई । त्यसैले लौरो बोकेको प्रहरी देख्दा पनि तर्केर हिँडिन्थ्यो । तर त्यस दिन रातो गोलो टोपी लगाएका प्रहरीहरू हतियारबन्द अवस्थामा पनि लाचार थिए । मैले प्रहरीलाई त्यतिको निरीह अवस्थामा पहिलोपटक देखेको थिएँ ।

मलाई के लाग्यो भने हामीलाई पक्रेर लैजाने प्रहरी पनि हाम्रासामु लाचार नै देखिनेछन् । प्रजातन्त्र आइसकेको छ, धेरै दिन थुन्न सक्दैनन् । चौकीसम्म गएको भनेपछि त गतिलै नेता कहलिइन्छ । निम्न मध्यम वर्गका परिवारमा हुर्केकाले मेरो दिमागमा भविष्यमा कि कवि, कि नेता बन्नेबाहेकका सपना कहिल्यै टुसाएनन् । यदाकदा सिनेमाका हिरोका भं जिन्दगीमा केही तिलस्मी भइहाल्छ कि भन्ने झिनो आशाबाहेक ।

त्यसैले सहमति गर्नेभन्दा एक दिन भए पनि जेल जानेमा मेरो जोड थियो । तर राजेन्द्र, इन्द्र सरहरूले सम्झाइबुझाइ गरे । आन्दोलन १३ बुँदे सहमतिमा टुंगियो । हामीले केही गाउँ र एक नम्बर बजारमा विजय जुलुस निकाल्यौं ।

कहिलेकाहीँ म आफैंलाई प्रश्न गर्छु, के साँच्चै विद्यालयको अवस्था सुधारकै लागि कुनै राजनीतिक दलको छाताविहीन स्वतन्त्र आन्दोलनमा होमिएका थियौं हामी ? सारमा भन्दा, हाम्रो आन्दोलन त्यसैका लागि थियो । त्यसमा परिवर्तनको लहर र ‘मदन’जस्तै नेता बन्ने अति महत्त्वाकांक्षाले पनि पक्कै उत्प्रेरित गरेको थियो । तर, मजबुत आधार र मुद्दाबिना कुनै आन्दोलन सफल हुँदैनन् । र, हामीसँग ती दुवै थिए । लहडकै भरमा करिब १५ वर्ष उमेर समूहका हामी भुराले ६ दिनसम्म आन्दोलन टिकाउन र सफल पार्न कसरी सक्थ्यौं र ?

दासको साटो चौबे सर प्रधानाध्यापक भएर आए । उनीबारे पहिले केही जानकारी थिएन । त्यसअघि शिक्षकहरू नियमित स्कुल नआउने, आए पनि नपढाउने समस्या थियो । तर, चौबे सरले त्यो समस्या निकै हदसम्म समाधान गरे । कक्षाहरू नियमित भए । हामीले क्लास हाप्न छाडेका थियौं । हामीलाई लामो समयदेखि गतिलो अंग्रेजी शिक्षकको खाँचो थियो ।

चौबे सरको आगमनले त्यो अभाव पनि पूरा भएको थियो । एसएलसीमा हाम्रो स्कुलको नतिजा राम्रो थिएन । सरकारी स्कुल भए पनि जनता मावि सन्तकुटी, त्रिभुवन मावि कोहलपुरले राम्रो नतिजा निकालिरहेका थिए । चौबे सर आदर्श स्कुललाई कम्तीमा पनि उनीहरूकै स्तरमा पुर्‌याउन चाहन्थे । आफ्नो कार्यकालमा अतिरिक्त क्रियाकलापजस्तै औपचारिक अध्ययनमा पनि हामीले राम्रो नतिजा निकाल्छौं भन्ने उनको विश्वास थियो । तर, चौबे सर बीचमै बिरामी परे ।

नेपालगन्जबाट नियमित स्कुल आउन नसक्ने भए । केही समयपछि त थलै परे । स्कुलको हविगत पुरानै अवस्थामा फर्कियो ।

त्यसैबीच एसएलसी परीक्षा आयो । केही समयपछि नतिजा पनि आयो । हाम्रो ब्याजका ४५ जनै फेल भयौं । स्कुलले निल खायो, हामीले जिल खायौं । अंग्रेजी विषय अनुत्तीर्ण गर्नेमात्र २४ जना थियौं । म त नेपालीमा समेत फेल भएको थिएँ । दुईवटासम्म विषयमा फेल हुनेले तिनै विषयमात्र दिए पुग्थ्यो तर अहिलेजस्तो तुरुन्तै पूरक परीक्षा दिने व्यवस्था थिएन ।

एक वर्ष पर्खिनुपर्‌यो । अर्को वर्ष ट्युसन पढेर भए पनि बल्लतल्ल पास गरियो । बल्लतल्ल भनेपछि डिभिजन भन्नै परेन । उही गान्धी डिभिजन !

शनिवार, असोज १, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.