~दीपेन्द्र के.सी.~
श्रीमान् !
कसलाई हुन्छ र यहाँ
यति प्रिय सपनाहरु
त्याग गर्ने रहर ?
आत्मविश्वासका जगहरु भत्काउँदै
मैले फूलहरु चढाएकै हो
इच्छाका त्यागपत्र माग्ने देवताहरुलाई ।
आफनै सौन्दर्यका मादले
आत्महत्यामा लम्किए जस्ता फूूलहरु
र आफनै बिष लागेका सपनाहरु
अवसानका भीरबाट
फर्काउन नसकेकै हो मैले,
जीवनका आधा हिस्साले
सम्बोधन गर्न नसकेका
गम्भीर विषयहरु हुन यी
श्रीमान् !!
“रहरै नलागी बाटो बदलेको हो मैले”
समयको कठघरामा
यहाँभन्दा साँचो
अरु बयानै हुन सक्दैन श्रीमान् !
एकपटक
म बनी हेर्नुस् न श्रीमान्
स्वप्नहत्याका वीभत्स श्रृङ्खलाहरु
र म प्रमाणित हुनेछु समयको अपराधी ।
अव म
बन्दी बन्न चाहन्छु
आफनै सपनाहरुसँग
यो अप्रिय समयको झयालखानामा श्रीमान !
बागलुङ,
हालः लुभेन बेल्जियम ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )