कविता : म नेपालको एक थुँगा फूल हुन नपाउने ?

~मनोज आठपहरिया ‘थारु’~

म शान्त थिएँ
तालमा जमेको पानीझैं
जे भोगे आफ्नो भाग्य ठान्थें
जे जे पर्छ सहन्थें
अरुले जे भन्छ गर्थें, अनि बन्थें
अरुको लागि मतवाली बनें
जंगली बनें
कमैया बनें, कमलरी बनें
सहिरहें सवै
कर्म र भाग्यलाई दोषी ठानिरहें
र मानव बन्ने अर्को जुनीको कल्पनामा डुबिरहें
त्यसैको आशमा यो जुनीमा सबै सहिरहें

शान्त तलाउमा कसैले ढुङ्गा फाल्यो
तरङ्गले मलाई पनि छोयो
कहिले जनवादको तरङ्ग
त कहिले मुक्त कमैया
त कहिले समान अधिकार
त कहिले सशक्तीकरण तथा पहुँच
कहिले रेडियोको सूचना बनेर
कहिले चौतारीको छलफल बनेर
त कहिले पैसा पाइने कार्यक्रम बनेर
मेरोसामु आउने अनेक तरङ्ग
जस्ले मेरो भावनालाई छोयो
मलाई म हुनुको आभास गरायो
अझ मलाई मानव हुनुको आभास गरायो
र अर्को जुनी कुर्नु नपर्ने विश्वास दिलायो

हो, अब भएँ म मानव
अरु जस्तै सचेत मानव
अरु जस्तै समान अधिकार भएको मानव
जमिन हरण गरेर दास बनाइसकेपछि मुक्त मानव
नेपालको विविधतामध्ये एक फरक अस्तित्व बोकेको मानव
फरक भाषा, संस्कार र संस्कृति बोकेको मानव
मानव सभ्यताको विकाससँगै बस्दै आएको मानव
प्रचण्ड गर्मी, बाढी, खोला र औलोसँग लड्दै आएको मानव
हो, म एक फरक पहिचान भएको आदिवासी थारु मानव

हो, मलाई उठ्नु थियो
जंगली, कमैया, मतवाली, थारुबाट नेपाली बन्नु थियो
अरुसँगै हिँड्नु थियो
भुइँमा होइन अरुसँगै कुर्सीमा बसेर चिया खानु थियो
र मेरोबारेमा निर्णय म आफै गर्छु भन्नु थियो
मेरो भाषा, संस्कृतिलाई पहिचान दिलाउनु थियो
मेरो बिर्सिएको इतिहास सम्झाउनु थियो
तिम्रो जस्तै हरेक पाठ्यक्रममा मेरोबारेमा लेखाउनु थियो
तिम्रो जस्तै मेरो भाषामा पढाउनु थियो
मेरो बडघरलाई चिनाउनु थियो
यस्तै यस्तै कुरालाई चिनाउनु थियो
अनि शान्त तलाउको पानीमात्र होइन
अरु जस्तै बग्ने नदी बन्न सक्छु भन्नु थियो

अघि बढ्दै थिएँ म
एकाएक ढोकाहरु बन्द गर्न थाल्यो
तलाउको निकास थुनेर अग्लो पर्खाल लगाउन थाल्यो
आफ्नो राजनीति टिकाइराख्न अखण्ड नेपालीको नारा लगाउन थाल्यो
मेरो भावानालाई उपेक्षा गर्न थाल्यो
अनि तिमी जस्तै मानव हुने चाहना छेक्न थाल्यो
हडपेको जमिन खोसिने डरले काँप्न थाल्यो
र जात नेपाल, हामी नेपाली

हो, म आतङ्ककारी हो
हो, म विखण्डनकारी हो
जे जे दोष लगाउनु छ लगाऊ : म सब ‘कारी’ हो
तिमी मात्र सभ्य मानव
नेपाललाई आफ्नो बनाइराख्ने सभ्य मानव
अरुको अस्तित्व स्वीकार गर्न नसक्ने सभ्य मानव
अरुलाई घृणा गर्ने र आफू राम्रो बनाउने सभ्य मानव
आफ्नो चाहाना पूरा गर्न अरुलाई दास बनाउने सभ्य मानव
छेक, रोक
ठूला ठूला बाँध र पर्खाल लगाऊ
घरघरमा सुरक्षाकर्मी लगाऊ
मेरै पसिनाको तलब खाने सेनाको डर देखाऊ
तर के यो समाधान हो ?
भोलि बाँध भत्के दोषी को हुने हो ?
जमेको पानीले खहरे नदी बनेर पहाड बगाए दोषी को हुने हो ?
अनि मृगौलियाको जस्तै घटना दोहोरिए दोषी को हुने हो ?

त्यसैले मलाई चिन्ने प्रयास गर ए सभ्य मानिस !
मलाई बुझ्ने कोसिस गर ए सभ्य मानिस !
मलाई मानव हुनमा साथ दिने कोसिस गर ए सभ्य मानिस !
अहं होइन आफ्नो हृदयलाई सोध ए सभ्य मानिस !
मैले कतै फरक नेपाल खोजेको छैन
मैले कतै तिम्रो अधिकार मागेको छैन
मात्र तिमी जस्तै नेपाली भनी चिनाउनु छ
सयौं थुङ्गाको एक थुङ्गा भनी चिनाउनु छ
आफ्नो पहिचानसहितको थारु नेपाली भनी चिनाउनु छ
सोझा, इमान्दार थारु नेपाली भनी चिनाउनु छ ।

(स्रोत : एभरेष्ट दैनिक डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.