~स्वप्निल स्मृति~
क्षितिजपारि आकाश गर्जिंदा
क्षितिजपारि बिजुली चम्किँदा
आमालाई सम्झिन्छु,
एकोहोरो हेरिरहन्छु
पूर्वीक्षितिजतिर….
त्योभन्दा पर मेरो देश छैन
त्याभन्दा उता मानिसको बस्ती छैन
एकटक हेरिरहन्छु —
घरतरुलको लहराले घोचा नाघेर
जङ्गलतिर हेरिरहेझैँ……
आँगनमा बिस्कुन उठाउँदै छन्
कि आमा
हाँडीमा मकै–भटमास भुट्दै छन्
कि आमा
जङ्गलमा मर्चाको दबाइ
खोज्दैछन् कि आमा
सपनामा पनि लखेट्छ सर्पले
विपनामा पनि लखेट्छ सर्पले
‘आमा !’ भनेर बिउँझन्छु,
घरमा सर्पदेवता रिस्सियो कि
विपनामा पनि रुख ढल्छ
यो देशमा
सपनामा पनि रुख ढल्छ यो देशमा
गाउँमा आमाअघिल्तिर झारफुक
गर्दै बसेको छ कि देवारी
खरानी ओढेर सेताम्यै
खोक्दै रगत ख्वाक ख्वाक
अगेनोनेर बसेकी छिन् कि आमा,
दुःखको रौँ गन्दागन्दा
गनेको छुइनाँ–
घर छोडेको कति बर्ष भो ?
ए….. त्यो यासोक बजारमा
सङ्पाङ्भे? तन्नेरीहरुसँग
आमा धाननाच्न उभिँदा
म
छोरा सर्माएको हिजोजस्तो लाग्छ……
हाट जाने बाटो आमाले चिनाउनु
भयो
मूलबाटो, बाटो आमाले चिनाउनु
भयो
लाठे भएपछिको एकदिन
पश्चिमतर्फ
भन्किगएका माहुरीहरु देखाएर
‘लु भन्किगए है !’ भनेर
विरक्तिमा जीवन
भन्किनुको अर्थ चिनाउनु
भयो……
बा, त्यही माहुरीहरुसँगै
मेरो आत्मा भन्किएर
म यो ठाउँमा आइपुगेको हो ?
यो अर्कैको देशबाट
सुदूरबाट
पूर्वी क्षितिजतिर फर्किंदा
पश्चिम क्षितिजसम्म
मेरो छायाँको पुल टाँगिन्छ
लामो न लामो…..
स्मृतिको तान टाँगिन्छ लामो न
लामो…..
पर्वतको चुचुरामाथि उदाउँदा घाम
पर्वतको चुचुरामाथि उदाउँदा जून
बादलमा फक्रिएर आउँछ
मेरी आमाको सुनको पूmल……
मेरो अनुहारमा चम्किएर आउँछ
मेरी आमाको अनुहारको अनुहार…..
कि मलाई ‘मानिस’ बनाउन भनी
बुबाले बेचेको त्यो सुनको फूल
आकाशमा घामजून भएछ
सम्झिन्छु–
आमा र बुबा जिस्किँदाखेरि
आमाको काखमा टाँसिदै
रोएको हिजै हो
‘तिमीलाई छोडेर पोइला जान्छु
अनि कोसँग सुत्छस ?’
आमाले मलाई त्यतिकै डर
देखाएको झलझली छ आँखामा
कि म जीवनका सम्बन्धहरु
टुक्रिएर
यो ठाउँमा पोइला आएको हुँ ?
कि म नजाने बाटो हिँडेर
नफर्किने बस्तीमा आइपुगेको हुँ ?
अर्कै देशबाट….
टाढाबाट…….
एकोहोरो हेरिरहन्छु
पूर्वीक्षितिजतिर…
मेरी आमासँग नभेटेको कति बर्ष
भो ?
कसरी यो देश यति सुदूर भो ?
कि यो देशबाट
मेरो देश पुग्न
यो दुई दिनको जिन्दगीमा
दुई दिन दुई रात लगाउँछ
रात्रीबसले
त्योभन्दा पर मेरो देश छैन
त्योभन्दा पर मेरो जाने ठाउँ छैन।
(स्रोत : रचनाकारको कृति “बाडुली र सुदूर सम्झना” बाट सभार)