कविता : मेरो माटो मिच्यौ भने…

~गणेश खड्का~Ganesh Khadka

भक्तीको लौह गर्दनको कसम
आधा होशमा र आधा बेहोशमा हुँदै होइन
पुरै होशमा चौतर्फी सोचविचारका साथ
दुधको दुध,पानीको पानी बक्दैछु-
मेरो एक इन्च माटो मिच्यौ भने
म तिमीहरुको दुई इन्च गर्दन छिनाईदिनेछु
मैले टिस्टा नदी उकालो फर्काउन बाँकी नै छ l

गोर्खालीको चौडा छातीको कसम
मलाई घाइते सिंह बनाउनेहरु
जिउँदो बाघको मुखमा अगुल्टो कोच्नेहरु
आइलागेपछी जाइलाग्नु जङ्गली जनावरको पनि धर्म हो
म त सद्दे मान्छे…एकदम सद्दे !
आफ्नो भूमि रक्षार्थ
मेरा पुर्खाले छोडेर गएको दिव्य उपदेश मलाई कण्ठस्थ छ…
” जाई कटक नगर्नू…झिकी कटक गर्नू ”
मेरो एक हात सिमा अतिक्रमण गर्यौ भने
म तिमीहरुको दुवै हात गिंडिदिनेछु
मैले असमान सुगौली-सन्धि च्यात्न बाँकी नै छ l

छिमेकी भनेको त सुख-दुखमा साथ दिने
मर्दा-पर्दा काम लाग्ने,अर्म-पर्म चल्ने
भर-अभरमा भेटिने,साह्रो-गाह्रोमा देखिने पो हुनुपर्दछ त
कहाँ सधैं घरमाथिको डिलबाट छानामा ढुङ्गा हान्ने
अनि घरमुनिको कान्लो कोपरेर पहिरो तान्ने हुन्छन् र…?

( कविता सङ्ग्रह : ” हिउँले आगो पगालेर ” बाट l )

भोजपुर
हाल : फ्रिगेट आइल्याण्ड ( सेसेल्स )

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.