निबन्ध : आजको रोज्जा प्रतिकृया

~जया राई~Jaya Rai

आज बिहानैदेखि नै उज्यालो छ । जाडो लागे पनि पानी चाहिँ परेको छैन खुशीको कुरा त्यही हो । काममा पुगेको गत हप्ता बिहिबार देखि माथिल्लो तलाबाट पानी लिक भएर झरेको थियो । सप्ताहान्तमा मर्मत भयो कि भनेको, होइन भएन रहेछ । पानी अझै झर्दै रहेछ ।

आजको दिन अरु सोमबार जस्तो व्यस्त भएन । सजिलो सोमबार भयो । करिव दश बजेतिर एउटा कफी कलरको लामो मिडी र बुट लगाएको गोरी मोटी महिला भित्र पस्दै गरेको डार्करुमबाट देखेको थिएँ । केही क्षणमा उनी रिसेप्सन डेक्समा सोनालसँग कुरा गर्दै गरेको सुने । मेरा ध्यान उता गयो । ए…ऊ त सान्ड्रा केली पो रहिछिन् ।

उनको पालो आएपछि मैले ‘सान’ भनेर छोटकरीमा बोलाएँ । उनी जुरुक्क उठेर भित्र आइन् । उनको बोली निकै चर्को छ । तर उनको अबोधपनामा भन्नु केही छैन । उनी दुखेको बंंगरा देखाउँदै डेन्टिस्टलाई भन्छिन् ‘यो मेरो दुखेको दाँत हो । यसमा दुखायौ भने, म त तिमीलाई पनि त्यै दुखाई बराबरको फर्काई दिने छु नि !’ यसपछि हाँसोको पर्राहरु उडे ।

उनको दाँतको फिलिङ गर्नको लागि सुई नलगाई नहुने भयो । गालाको कुनामा सुई लगाएर केही क्षण बाहिर बस्नु पर्ने भयो । केही क्षणमा फेरि भित्र आइन् । फिलिङको लागि ड्रिलिङ्ग गर्नुअगाडि अर्को अपोइन्टमेन्ट पनि बनाउनु पर्छ भनेर डेन्टिस्टले भन्दा ‘म त होलीडे जाँदै छु नि’ भन्छिन् ।
‘ए, हो ? कहिले, कता जाने सान्ड्रा ?’

खुशी हुदैँ ‘हामी त बच्चाहरुको हाफ टर्मको बेला, होलिडे जाने । यसपाली हाम्रो बिहेको पच्चिसौं वर्ष हो । त्यसैले हामी दुई जनामात्र जाने । छोराहरुलाई चाँहि विदा मनाउन सासु ससुराले लैजाँदैछन् ।’

डेन्टिस्टले खुब चाख मानेर सोध्छन्, ‘ए..हो ! हामी पनि भर्खरै हाम्रो पच्चीसौँ एनिभर्सरी मनाएर आएको – हिमाञ्चल प्रदेशबाट । तिमीहरु कता जाने नि ?”
सान्ड्रा भन्छिन्, ‘हामी त टाढा जाने होइन, डेभेन जाने । अनि बच्चाहरु चाहिं कर्नवाल लाने रे सासु–ससुराले । तर केटाहरुलाई हामी कहाँ जादै छौं भनेर थाहा छैन नि !’ उनको कुराले हामी सबै जना खुब मज्जाले हाँस्यौँ । उनीहरु डेभेन र कर्नवाल वरपरको ठाऊँमा जाने रहेछन् ।

डेन्टिस्ट ठट्टा गर्दै भन्छन्, ‘त्यसो भए भेट होला नि घुम्दै गर्दा कुनै बेला ! घुम्दै जाँदा बाटोमा भेटिए, पक्कै पनि अचम्म मान्नै छैनौ नि सान्ड्रा !’ उनी फेरि हाँस्छिन् र भन्छिन्, ‘त्यसो नहोस् भन्नको लागि पहिला नै हामी घुम्ने ठाऊँतिर केटाहरुलाई ननिकाल है भनेर फोनमा खबर गर्ने नि ।’

उनका स्कूल पढ्दै गरेका तीन जना छोराहरुको लागि त्यहीँको लोकल बजारबाट नजिकै आउँदै गरेको क्रिशमस र नयाँ वर्षको लागि सुपथ मूल्यमा लुगा र अन्य आवश्यक सामान किनेर पनि ल्याउने विषयमा कुरा गरिन् ।

उनी आफ्नै ससुराको क्लिनिङ कम्पनीमा काम गर्ने गर्छिन् । उनी आफ्नो काम बारेमा पनि भन्छिन्, ‘म त मेरो ससुराको स्कूल क्लिनिङ्ग कम्पनीको सुपरभाइजर गर्दैछु नि । तर अस्थायी । स्कूल बिदाका दिनमा मात्रै मेरो काम हुन्छ ।”

उनको लोग्ने पुलिस फोर्सको अफिसर हुन् । उनी उसको बारेमा भन्छिन्, ‘पावल त रात दिनको कामले थकित छन् । उनको पनि दाँत दुखेको कुरा गरिरहेका छन् ।’ सान्ड्राको ननस्टप गफले अघि दिएको सुईको नमनेस पनि जान लाग्यो होला, डेन्टिस्ट फेरि फिलिङको लागि ड्रिल गर्न तयार हुन्छन् ।

सान्ड्रा फेरि सम्झाउछिन्, “मेरो दुखेको बंगरा दुखाउनु हुदैन है, तिमीलाई थाहा छ नि म के गर्छु भनेर ।’ फेरि हामी काम छोडेर हाँसोमा रुमलिन्छौं ।

(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)

This entry was posted in निबन्ध and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.