कविता : कामरेडको लालझण्डा

~जेनन नेपाल~jenan-nepal

गाउँभरीको मुटु निचोरेर
खन्याएथ्यौ समयको हजारीमा,
त्यही हजारीले सिंचेर रगत,
उमार्‍यौ फ्रेन्च कट दारी

गिँडेर किसानका पाखुरीहरु
बनाएथ्यौ बन्दुकका कुन्दा,
पिँधेर ज्यामीका हाडहरु
बनाएथ्यौ बारुद
त्यही बन्दुक र बारुदले छेडेर मुच्र्छना
सिजैथ्यौ कार्तूसको बगैँचा,

कुमारी रातहरुको
काँधमा राखेर नाल,
छाडेकाथ्यौ कार्तुस
मैले कपुरी ‘क’ खरायो ‘ख’
लेखेको धुलौटे पाटी ताकेर

भन कामरेड !
कहाँ बेपत्ता पार्‍यौ
हामीले हिडिआएका ‘कखरा’ गोरेटोहरु
उज्यालो पार्ने
एक हुल ताराहरुलाई ?

भन कामरेड !
कहाँ लगेर पोख्यौ
जीजीविषाको पँधेरोमा
भरेको उच्छ्वासको गग्रेटो ?

सम्झ त एकफेर,
गिँडी हिँडेथ्यौ बुद्धका शिरहरु
शेरी हिँहेथ्यौ प्रमिथसका गलाहरु
चुँडेथ्यौ सुन्दर फुलहरु इतिहासको बगैँचाबाट
र बोकाएथ्यौ लाल झण्डा

कालान्तरमा आज,
पछ्याएर पदचापहरु इतिहासको,
परिवर्तनका पहराहरुमा
खोज्दै दुसी अस्तित्व,
म आइपुगेको छु
उही लाल झण्डा मुन्तिर,

हरियो लेउले ढाकेको पाइप टेकेर
उभिएको छ यो लाल झण्डा,

म देखीरहेछु
समयले खुइल्याएको यो झण्डामा
रगत र पिपका टाटाहरु,

लाग्यो,
तिमीले जन्माएको युगीन अभियान
थलिएको छ क्यान्सरले,
शरिरैभरी छन् घाउहरु,

विचारको तापले
फुटेका घाउहरु
बगाइरहेछन् पिपमा इनकलाब
रगतमा स्वअस्तित्व

अनि,
बेलाबखत निठुर समयले
पुछिदिन्छ रगत र पिप उही लाल झण्डामा…………….।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.