लघुकथा : मदमत्ता

~विजयराज शर्मा ~

म मोटर चलाइरहेको थिएँ। रेडियोमा कुनै लेखिकाको अन्तर्वार्ता आइरहेको थियो। लेखिकाको एउटा कुराले मेरो ध्यान तान्यो। उनी भन्दै थिइन्:

“मानिसको सुन्दरतम रूप कुनै अनभिज्ञलाई देखाउने हो भने, यसलाई अझ प्रस्ट पारौं, कल्पना गरौं कुनै ग्रहमा एउटा नवप्राणी भेट्टियो र उसलाई हामीले पृथ्वीका मानिस कति सुन्दर छन् भनेर देखाउनु पर्‍यो भने, म १४ वर्षकी किशोरीलाई प्रस्तुत गर्ने छु।”

ती लेखिकाले व्याख्या पनि गरिन्, यौन-आकर्षणका दृष्टिले उनले त्यसो भनेकी होइनन्। उनको अभिप्राय १४ वर्षकी किशोरीमा नै अनुपम शारिरीक सुन्दरता भेट्टिन्छ। उनी भन्दै थिइन्:

“यस्तो सुन्दर रूपको आनन्द लिन समुद्र किनारामा बिकनी लगाएका नवकिशोरीहरूलाई हेर्नुपर्छ।”

मलाई लेखिकाले भनेको कुरा एकक्षण बुझे जस्तो लाग्यो, तत्क्षण बुझे जस्तो लागेन पनि। लेखिका र ममा एउटा विभेद छ, एउटा प्राकृतिक सीमा छ जसले मलाई उनको बुझाइसम्म पुग्न छेक्दछ। त्यो हो लिङ्गभेद। उनी परिन् महिला, म पुरुष। बिकनी लगाएकी नवयौवनालाई के कुनै पुरुषले यौनआकर्षण मेटाएर हेर्न सक्दछ? के एक निमेष पनि आफ्नो लिङ्गलाई बिर्सेर महिलाले हेरेसरी कुनै पुरुषले युवतीको शारिरीक सुन्दरतालाई नियाल्न सक्छ? मानौं, मैले प्रयास गरें रे। तर कसरी जान्ने म लिङ्ग-निरपेक्ष हेराइ हेर्न सफल भएँ? कसले गर्ने त्यसको निर्क्योल?

लिङ्ग-निरपेक्ष शारिरीक सुन्दरता तौलने सोच नै मलाई अर्थहीन लाग्यो। कुनै अन्तहीन शोध वा अस्तित्वहीन वस्तुको खोज जस्तो। बरू, किन म त्यस्तो सोचमा लागुँ, जुन म इमान्दारीसाथ गर्न सक्छु। किन न म यौनाकर्षक युवतीको कल्पना गरौं? त्यस्तो शोध वा खोज पो उपलब्धिमूलक होला।
ल सोचौं, कुनै अरु ग्रहको प्राणीलाई यौन-आकर्षणले भरपूर पृथ्वीकी सर्वाधिक सुन्दर युवती देखाउनु परे मैले कस्ती युवती खोज्नुपर्ला? मलाई यो सुल्झिएको विचार लाग्यो। यस विचारले मेरो सम्पूर्ण स्नायुप्रणालीलाई बिजुलीले झैं सनन झंकृत गरिदियो। कुत्कुती पो लाग्यो। अहा! यस्तो पो खोज! जसमा आनन्दबोध होस्। म मोटर चलाई नै रहेको छु। रेडियोमा अन्तर्वार्ता घन्किनै रहेको छ। तर, म आफ्नै सोचमा मस्त छु। आफ्नो अनुहार आफैले देख्ने कुरा भएन। तर म निर्धक्क भन्न सक्छु, मेरो अनुहार त्यस बखत धपक्क बलेको हुनुपर्छ।

कस्ती हुन्छे त? वा, कस्ती हुनुपर्छ त्यो यौनाकर्षिका? के त्यो अन्तर्वार्ता दिने लेखिकाले भने जस्तो चौध वर्षकी हुनसक्छे? मेरो मनले तुरुन्त तर्क गर्र्यो, “असम्भव।” मेरो तर्कको औचित्य त पाठकहरूले नै पछि निधो गर्नुहोला। मेरो तर्क छ, चौध वर्षकी किशोरीमा त यौवनको माद भर्खर चढ्न थालेको हुन्छ। बिहानीको उषामा लाली चढ्न थाले जस्तो। त्यसको ताप नरम हुन्छ, आँग नै नसेकिने। अथवा भनौं, त्यस्ती किशोरी फक्रन ठिक्क परेको गुलाफको कोपिला हो । हेर्दै सुकुमार, सुकोमल। छोए की पंखुडी खस्ला जस्तो। मलाई झ्वाट्ट देवकोटाको कविताको सम्झना आयो, “नटिप्नु हेर कोपिला, नचुँडनु पाप लाग्दछ, नच्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ”। यौनआकांक्षामा उम्लिरहेको व्यक्तिलाई पनि अपराधबोधले ठण्डा बनाइदिने सम्भावना। जोखिम छ यस्ता नवयौवनालाई यौनाकर्षिकाको रूपमा प्रस्तुत गर्नु!

यौनाकर्षिका त त्यस्तो यौवना हो जसले सुसुप्त रहेको यौनाकांक्षालाई पनि भडकाइदेवोस्। पुरुषभित्र ज्वालामुखी फुटोस। उसको होस हरावोस्, ऊ आफ्नो ताप बगाएर यौवनालाई डुबाइदिन आतुर होस्। यौनाकर्षण त त्यो मदिरा हो जुन पिउन जोसुकै मानिस लालायित होस्। त्यस्तो यौनको मद त्यस युवतीमा लबालब भरिएको होस्। अनि पो यौनाकर्षिका। उसको चमक जुनेली जस्तो होइन, आकाशमा झलल चम्किँदै खस्ने दामिनी जस्तो होस। जसले आँखालाई चकाचौंध गरिदिओस। बाटामा हिंडने कुनै पनि बटुवाको नजरले नचुक्ने चमक होस्। उसको चालमा मदको भार होस्, एउटा नटखटपन, एउटा तरंग, एउटा रिदम, अनि साउनको मेघसरी छद्म गाम्भीर्य। सुगठित वदन, उत्ताउलो होइन, वक्ष र नितम्बको ठिक्क उभार। परीको जस्तो साम्यक सुन्दरता होइन, होस् नगरवधुको जस्तो कामुकता। यति मादकता त १४ वर्षकी यौवनामा भरिएकै हुँदैन। भरिन समय लाग्दछ, उमेर चाहिन्छ। अनि, भरिएको यौवनमा स्वाभाविक स्वरूपमा कामुकताको स्वाद थप्न त्यस युवतीमा अनुभव, हो अनुभवको पनि आवश्यकता हुन्छ। यस्तो गुणको प्राप्ति सगरमाथाको आरोहण जस्तै यात्रा हो, जो जुनसुकै नारीले पूरा गर्न सक्दिन। प्रश्न छ, यस्तो यात्रा प्राप्ति गरिसकेकी नारी कहाँ छ? म मस्तिष्कमा धेरै जोर दिएर सोच्दै थिएँ।

एक्लै कार चलाएर हिंडदा रेडियोमा अन्तर्वार्ता सुनेर प्रारम्भ भएको मेरो मदमत्ता-सोचको श्रृंखला त्यसबेला एक्कासी टुट्यो, जब म घरको ड्राइव-वेमा पुगें र कारको इन्जिन बन्द गरें। कारको सीटबाट उठें, कारको ढोका लक गरें, ड्राइभ-वेमा फालेको अखबार उठाएँ, र विस्तारै घरको मूलढोकातिर बढें। यसै क्रममा मेरो मस्तिष्कमा अर्को विचारको श्रृंखला शुरु भइसकेको थियो – “किन मलाई आज यौनाकर्षिकाको सोचले ग्रसित गर्‍यो?” जवाफमा मेरो भित्री कानमा एउटा चेतावनी घन्क्यो, जुन मेरी श्रीमतीको आवाज थियो: “खबरदार! म दुई हप्ता मात्र घरबाहिर हुँदा तिमी बरालिन थालिसक्यौ!”

November 22nd, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.