~हरि अधिकारी~
लामै समय कविता र कथादिका माध्यमबाट साहित्यको आराधाना गर्दै आएका धराने स्रष्टा चन्द्र घिमिरेको हालसालै प्रकाशनमा आएको कविता संग्रह हो, “डन्ट टच मी ओ कविताहरू !” पुस्तक नामबाटै अलग देखिन्छ । यसमा संकलित ४२ थान कविता वास्तवमै अलग किसिमले लेखिएका छन् । कविले विषयवस्तुको चयनदेखि नै मौलिक दृष्टिकोणको विकास गरेका छन् । उनले रचेका विम्ब र रोजेका प्रतीक र मिथक पनि नेपाली कविताकारितामा चलनचल्तीमा रहेकाभन्दा नितान्त फरक लाग्छन् । कवि घिमिरेमा ताजापन छ ।
घिमिरेका कविताहरूलाई चिनाउने जमर्को गर्दै कविका निकटतम् मित्र र धरानकै अर्का सामर्थ्यवान् स्रष्टा रमेश केसी लेख्छन्, “चन्द्रका कविताको स्वर यथास्थिति र जडताको विरुद्ध छ । उनी अनुभूतिको तीव्रता भएका कवि हुन् । उनको कविताको विशेषता सन्दर्भ र विषयलाई लिएर बेग्लै र अनौठो प्रकार अर्थात् डिफेमिलराइजेसनले भन्नु पनि हो ।”
रमेश केसीले चन्द्रको कविता रच्ने सीप र शैलीलाई थोरै शब्दमा ठीक ढंगले अर्थ दिएका छन् भन्नुपर्छ । आजको एक जना अकिञ्चन नेपालीलाई कवि घिमिरे शब्द चित्रमा यसरी उतार्छन्,
जो ठगिँदै जन्मियो
ठगिँदै बाँच्यो
ठगिँदै मर्यो सूर्यास्तसँगै
उसो त गरिबी प्रहसनमा
नानी-अनुहारमा हर क्षण
झिंगाको योगशिविर
धपाएर छोराछोरी खुट्याउँछ
त्यो तस्बिर
एनजीओले गरिबी बेच्ने उत्कृष्ट प्रस्ताव
भेटिए ठान्नु
ती हाम्रो जमनाका रुकुमेली कटकबहादुर !
(हाम्रा जमानाका चार प्रतिनिधिहरू)
जानिफकारहरूले भनेका छन्, साहित्य, कला र संगीतको संसारमा नितान्त मौलिक भन्ने कुनै कुरा हुँदैन । प्रतिभावान् स्रष्टाले आफ्ना रचनामा नौलो लाग्ने जलप जडेर मौलिकताको विभ्रम पैदा गर्ने मात्र हो । यो सत्य वचनको आलोकमा हेर्दा कवि चन्द्र घिमिरेलाई सामर्थ्यवान् स्रष्टा भन्न सकिन्छ । उनले शब्दचित्रमा उतारेका सगुने जुम्ली, रुकुमेली कटकबहादुर, छापामार जमुनी र तारा खड्काहरू फरकजस्ता लाग्ने तर अन्तर्यमा उस्तै उस्तै भएर अनेक नाम र रूपाकारमा नेपाली कविताको विस्तृत फलकमा टाँगिएका पात्र हुन् । मोहन कोइरालाको गाइने साइँलो, भूपिका लाहुरेहरू, श्रवण मुकारुङको बीसे नगर्ची, यी पंक्तिका लेखकको उक्तिमलाल टमटा, भीमनिधि तिवारीको काठमाण्डूको हिउँदको जाडोमा लुगलुग कामिरहेको अनाम मानिस सबै नै चन्द्र घिमिरेका कविताका विशिष्ट पात्रका गोत्यार हुन् । यिनको व्यथाकथाको चित्रणमा घिमिरेले निजी छाप छोड्न सकेका छन्, महत्त्वपूर्ण कुराचाहिँ यति मात्र हो ।
विक्रमीय २ हजार ४० को दशकको प्रारम्भतिर धरान बजारका केही उत्साही साहित्यानुरागीहरूले एउटा सांस्कृतिक-साहित्यिक मण्डलीको संगठन गरेका थिए, ‘अर्को जमात’ नामले । अहिलेका नामी चलचित्र निर्देशक नवीन सुब्बा, लेखक-पत्रकार रमेश केसी, कवि टंक घिमिरे, राम क्षितिज आदि युवासम्मिलत ‘अर्को जमात’को एउटा खम्बा थिए, चन्द्र घिमिरे । जमातका सदस्यहरू कविताको आराधना गर्थे, साहित्यिक-सांस्कृतिक कार्यक्रम चलाउँथे । त्यति बेलाको धरानमा जमातको ठूलो नाम थियो ।
अहिले ‘अर्को जमात’को कुनै नाम-निसान छैन धरानमा । कवि टंक घिमिरे अब छैनन् । अरू सदस्य लाखापाखा लागेका छन् । कवि चन्द्र घिमिरेले पनि धरान बजारबाट सुरु गरेको जीवनयात्राको लामो बाटो अहिले राजधानीमा ल्याएर बिसाएका छन्, सरकारी कर्मचारीका रूपमा । तर, अन्तर्यमा चन्द्र घिमिरे जहिले पनि धरान बजारको त्यही स्मृतिलाई बोकेर बाँचिरहेका छन् । उनका कवितामा धरानको भू-दृश्य, जनजीवन र अनेकन् जीवित मृत पात्रहरू लगातार चिहाउन आइपुग्छन् ।
‘भुइँचालोपछि धरान’ शीर्षकको कवितामा कविको प्रिय थातथलो यसरी चित्रित भएको छ,
फोकलैण्डमा लडेको कप्तान
र, थियो छातीमा तक्मा
ऊ पनि रै’नछ अब ।
स्म्याक खान पैसा माग्ने
छोरो थियो
ऊ पनि रै’नछ अब ।
लडाइँबाट नफिरेको लोग्ने कुर्दी
अधबैँसे मनमाया थिई
ऊ पनि रै’नछे अब
के गरोस्
अस्तु लिएर प्रियजनको
बसाइँ हिँड्दै छ
अर्बेलाको पियक्कड
एकल वृद्ध लाहुरे धरान ।
चन्द्र घिमिरेले समीक्ष्य कवितासंग्रहबाट उच्चकोटीको सम्भावना भएको एउटा नेपाली कविको आगमनलाई सुनिश्चित गरेका छन् । आवश्यक छ, चन्द्र घिमिरेको कविताकारितामा प्रस्ट रूपमा र दोहोर्याई-तेहेर्याई देखिने शिल्पगत कमजोरीलाई हटाउनु । जीवनका विसंगत पक्षहरूलाई चित्रण गर्ने जमर्कोमा कविले कतिपय प्रसंगमा अमिल्दा र भद्दा विम्ब रचेका छन् । तिनले कविताको लालित्यमाथि प्रहार गरेको देखिन्छ । मनमा छड्किरहने अनेक किसिमका भाव र मानसिक उथलपुथललाई हतार गरेर एकै ठाउँमा गज्याङमज्याङ पारेर हालिदिएका कारण कति कविता बोझिला र नीरस भएका छन् । घिमिरेले कविता लेख्न जुन उदारताका साथ वाच्य भाषाको प्रयोग गरेका छन्, त्यसले पनि कविताको सौन्दर्यलाई बढाएको छैन । बरू घटाएकै छ । अंग्रेजी भाषाका शब्दहरूको अत्यधिक प्रयोग र कवितामा पैदा गर्न खोजेको प्रभाव प्राप्त गर्न दिइएका अनेकन् बाह्य सन्दर्भ, प्रतीक र मिथकहरू न त सुबोधगम्य छन्, न पाठकका लागि सुग्राह्य । कवि घिमिरेको वाच्य भाषाप्रतिको उग्र अनुरागलाई मात्रै होइन, अज्ञात र अप्रचलित सन्दर्भ, प्रतीक, विम्ब र मिथकहरूप्रतिको मोहलाई त्याग गरेर सुललित नेपाली लेख्य भाषामा नेपाली भावभूमि, जमिन र जनताका सरल कविता लेख्ने प्रयास गर्ने हो भने उनले सुन्दर कविता लेख्न सक्ने विश्वास गर्न सकिन्छ ।
डन्ट टच मी ओ कविताहरू !
लेखक : चन्द्र घिमिरे
प्रकाशक : फाइन प्रिन्ट आईएनसी
पृष्ठ : ९७
मूल्य : १९९ रुपियाँ
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ५२०)