~प्रकाश रम्घाली~
दम दिएर चलाख बनाएको घडीझै
हजुर मात्र किन-
यति चलाख हुनुहुन्छ बा’ ?
चलाख हुनुपर्ने देश- किन चलाख हुदैन ?
चलाख हुनुपर्ने हामीहरु- किन चलाख हुदैनौं ?
हजुर चाहीँ –
घडीको सुईझै सक्रिय बनाउनु हुन्छ हात
र, छाम्नुहुन्छ-
घामले ओछ्यान नछाड्दै
प्रत्येक बिरामी बस्तिहरुको निधार
घडीको फिताझै ओछ्याउनु हुन्छ छाती
र, पुर्याउनुहुन्छ-
पृथ्वीमा रातले धावा नबोल्दै
हजारौ मान्छेलाई सुरक्षित गन्तव्य
बा !
के दम दिन नजानेर हो देश चलाख नभएको ?
कि देशको हातमा हजुरकोजस्तो घडी नभएर हो ?
किन बा-
हरेकदिन आमाको ओठबाट
बसाई सर्दै जान्छन् मुस्कानहरु ?
झोलामा राहदानी बोकेर काठमाण्डौतिर
किन धाईरहन्छ अचेल सगरमाथा ?
र, चिउँडोमा हात राखेर देउरालीछेऊ
किन टोलाईबस्छ बुढो पिपलको रुख ?
भन्नुस न बा-
हजुर र हजुरले बाँधेको घडीजस्तै चलाख हुन
अब हामीले-
कस्तो खाले सपना देखेमा
उल्टाउनु पर्छ देशको सिरानी ?
र, कस्तो खाले सपना देखेमा
निकाल्नु पर्छ- सिरानी मुनिको खुकुरी ?