~लेखनाथ छेत्री~
हिँडदा हिँडदै
कहाँ-कतिबेला छुटेछ
साक्खे बाउको पखुरा टेकेर
धर्खराउँदै
त्यसले टेकेको पहिलो पाइला ।
पहिलोचोटि
त्यसको कलिलो आँखाले छामेको
त्यो निलो आकाश
कतिबेला खुम्चिएछ ।
कहाँ खसेछ
पुरानो पतलुङको गोजीदेखि
त्यसले हाँसेको पहिलो खित्का-
जो त्यसको आफ्नो थियो ।
त्यसकै बालक ओंठबाट
खै कुन हुरीले लुछ्यो कुन्नि
त्यसको तोते बोली,
जसलाई सुनेर
खुशीले आँसुसरि हुन्थिन् रोगी आमा ।
त्यसको आँखाभरि टाँसिएको
सबैभन्दा पुरानो प्रेमिकाको अनुहार
कुन मौसमले चुँडेर लगेछ
जो त्यसलाई प्यारो थियो ।
आफ्नो आमाको लाश सल्काएर
शमशानघाटबाट घर फर्किरहेको
त्यो एक्लो मान्छेको रातो आँखा
कुन साँझदेखि
साजिलोसँग निदाउन थाल्यो होला ।
थाहा छैन मलाई
कि मेरै शहरको भिडभित्र
प्रत्येकदिन हराइरहने त्यो मान्छेको अनुहार
कहिलेदेखि मेरै जस्तो लग्नथल्यो मलाई ।
ठीक त्यहीँ दिनदेखि
धुलो लागेको पुरानो डायरीभित्र
बर्षौअघिको
एउटा पुरानो ‘म’लाई
खोज्न थालेको हुनुपर्छ मैले ।
एकदिन,
कफीसपको खिड्कीनिर
त्यसको हातबाट खसेको
चुरोटको अन्तिम ठुटा
मेरो आफ्नै लाश थियो ।
त्यसदिनदेखि यता
मैले आफैलाई कहिले खोजिन ।
वास्तवमा
त्यतिबेला मैले
ठीक त्यहीँ मान्छेको
अनुकरण गरिरहेथेँ ।