लेख : रिमाल, भूपी र विमल निभा

~शार्दूल भट्टराई~shardul-bhattarai

कवि र कविता ! यी दुई विशिष्ट अर्थमा आफैँमा पर्याय हुन् । कवि भए कविता हुन्छ , कविता भए कवि हुन्छ । तर पनि कविताको नाममा सबै कवि र कविता पर्याय बन्न सक्दैनन् ।

कवि राम्रो नभई कविता हुँदैन । कविता राम्रो नभई कवि हुँदैन । किनभने कविताको नाममा सबै कवि बन्न सक्दैनन् । कविताको नाममा लेखिएजति सबै कविता नबन्न पनि सक्छन् ।

राम्रा कवि र राम्रा कविता आफैँमा पर्यायजस्ता लाग्छन् । कवि सम्झँदा कविताको पनि सम्झना हुन्छ र कविता सम्झँदा कविको पनि सम्झना हुन्छ ।

रिमाल र कविता ! दुवै पर्यायजस्ता लाग्छन् । रिमाल र आमाको सपना पर्यायजस्तै  छन् । रिमाल, कविता र आमाको सपना ! यी एक–अर्काका पर्यायकै रुपमा सम्झना गरिन्छन् ।

भूपी र कविता ! यी पनि दुवै पर्यायजस्ता लाग्छन् । भूपी र घुम्ने मेचमाथि अन्धो मान्छे पनि पर्यायजस्तै  छन् । भूपी, कविता र घुम्ने मेचमाथि अन्धो मान्छे ! यी पनि पर्यायकै रुपमा सम्झना गरिने विषय बनेका छन् ।

नेपाली गद्य कविताका विराट व्यक्तित्व गोपालप्रसाद रिमाल क््रmान्तिकारी कवि हुन् । विद्रोही भावनाका  साथ कविता सिर्जनामा लागेका रिमालले नेपाली कवितामा आफ्नो मौलिक विशिष्टतालाई स्थापित गरेका छन् । उनको त्यो विशिष्टता धेरैका लागि अनुकरणीय रहँदै आएको छ । क्रान्तिकारी कवि हुँदाहुँदै पनि प्रजातन्त्रका लागि लडेको नाममा राजा त्रिभुवनको प्रशंसा गरेको दोष भने उनीमाथि छँदैछ । तर उनको त्यो दोषलाई उनकै अपार गुणहरुले लुकाएका छन् । उनका क्रान्तिकारी भावनाहरुले उनको दोषलाई यसरी छोपेका छन् जसको उत्खनन गर्ने जाँगर पाठकहरुमा पलाउँदैन । आलोचनाका लागि त्यही पनि एउटा विषय त बन्ला तर असल नियतले रिमाललाई पढन–बुझ्न चाहनेहरुका लागि त्यो दोष चर्चायोग्य नरहन पनि सक्छ ।

रिमालको तुलनामा बढी नै विवादमा रहन पुगे भूपी । कुनै बेला राजतन्त्रका विरुद्ध ‘धनवाद तिम्रो जनवाद हाम्रो एक दिन दाँजौँला’ भनेर साम्यवादी क्रान्तिको पक्षमा कविता लेख्ने भूपी पछिल्लो समय साम्यवादका विरुद्ध राजाका स्तुतिगायक बने । साम्यवादी दर्शनको धरातलमा उभिएकै कारण आवेगपूर्ण कवितामा चर्चित बन्न पुगेका भूपी जीवनको उत्तराद्र्धमा आएर राजापरस्त मात्र बनेनन् आफू कम्युनिस्ट हुँदा लेखिएका कवितालाई समेत दुत्कार्न पुगे । उनी साम्यवादी रहुञ्जेलसम्मका उनका कविताको  महत्वलाई कहिल्यै पनि अस्वीकार गर्न सकिन्न । तर उत्तराद्र्धमा उनीद्वारा व्यक्त राजापरस्त विचारहरुमा उनलाई इतिहासले क्षमा गर्न गाह्रै छ ।

पूर्वार्द्धमा साम्यवादी हुँदाका भूपीका कविता जति प्रशंसनीय छन् , उत्तराद्र्धमा उनीबाट अभिव्यक्त राजावादी विचारहरु त्यत्तिकै आलोच्य छन् । दुई क अर्थात कम्युनिस्ट र कवि भएर आफू बिग्रिएको कुरा समेत उनले व्यक्त गरे । तर उनका कविताहरु नै प्रमाणका रुपमा छन् – उनी कविको रुपमा जे थिए त्यो साम्यवादी हुँदा नै थिए । उनी जतिबेलासम्म साम्यवादी थिए, त्यतिबेलासम्म उनका कविता आवेगको उत्कर्षमा थिए । उनले जतिबेला आफू साम्यवादी नरहेको घोषणा गरे त्यही बेलादेखि उनका कविताको स्फुरण समाप्त भयो ।

कुनै पनि स्रष्टाको जीवन–चिन्तन उसको लेखनसँग जोडिने गर्छ । यस अर्थमा रिमाल र भूपीलाई पनि तिनको जीवन–चिन्तनसँग अलग गर्न मिल्दैन । तिनका सम्बन्धमा रहेका विवादहरुबारे बहस हिजो पनि थियो , आज पनि चलिरहेछ , भोलि पनि चलिरहला । तर तिनले एउटा कालखण्डमा गरेको  योगदानलाई भने कसैले पनि अस्वीकार गर्न सक्दैन । आधुनिक नेपाली कवितामा रिमाल र भूपी यस्ता नाम हुन् जसले कविताबाटै आफ्नो समयलाई प्रभावित गरेका छन् । यी दुई कविले नेपाली कवितालाई सफल प्रयोगसहित नयाँ उचाइमा पुर्याएका छन् ।

क्रान्तिकारी  रिमाल र साम्यवादी रहुञ्जेलसम्मका भूपीको सिर्जनात्मक विशेषताको सेरोफेरोमा धेरै कविहरु जन्मिए । तिनकै प्रभावमा धेरै कविहरु हुर्किए । तिनकै शिल्पशैलीलाई पछ्याएर कति कवि चर्चित पनि बने । तिनकै परम्परा र प्रवृत्तिलाई अझै अगाडि बढाउने काममा कति कविहरु लागिरहेका छन् ।

विमल निभा र कविता ! विमल निभा र आगोनेर उभिएको मानिस ! विमल निभा, कविता र आगोनेर उभिएको मानिस ! यी पनि आफैँमा पर्यायजस्ता लाग्छन् । विमल निभा नामको सम्झना गर्दा उनका कविताको पनि सम्झना हुन्छ । उनका कविताको सम्झना गर्दा आगोनेर उभिएको मानिसलाई बिर्सन सकिन्न ।

कवि विमल निभाको एउटा टड्कारो परिचय हो – आगोनेर उभिएको मानिस । रिमाल र भूपीको परम्परामा कवितामा विचारोत्तेजक आवेगलाई स्थापित गर्नका लागि यो कृतिको उपस्थिति अर्थपूर्ण छ । विमल निभाको कविता–यात्राको मापदण्ड निर्धारण गर्ने कृति पनि यही नै हो । यस कृतिबाट विमल निभा को हुन् र के हुन् भन्ने कुरा सजिलै बुझ्न सकिन्छ । तर बुझ्न जति सजिलो छ, त्यसलाई व्यक्त गर्न भने त्यत्तिनै गाह्रो छ । किनभने कृतिका अन्तर्विषयहरु असामान्य छन् ।

अङ्ग्रेजीका रोमान्टिक कवि जोन किट्सको आयु निकै छोटो रह्यो । उनलाई बाँचुञ्जेल मन नपराउनेहरु धेरै थिए । कतिपयबाट उनको निन्दा पनि भयो । मरेपछि तिनै व्यक्तिहरु उनका प्रशंसक बने । कवि उही, कविता उही । जीवित रहुञ्जेल विरोध गर्नेहरु मरेपछि प्रशंसक बन्न पुग्नुमा कुनै तार्किक आधार थिएन ।

अङ्ग्रेजीकै अर्का कवि वाल्टर डे ला मेयरको कवितालाई लिएर समर्थन र विरोधमा ठूलै विवाद चल्यो । उनको ‘अरेबिया’ भन्ने कविताका बारेमा त उधुम हङ्गामा मच्चाइयो । अङ्ग्रेजीकै अर्का कवि रबर्ट ग्रेभ्सले मेयरको कवितालाई ‘भावशून्य’ माने भने समालोचक जोन मिडल्टन मुरीले मेयरलाई  ‘कल्पनाशक्तिका अद्वितीय’ कवि माने ।

एब्गिनी एब्तुसेन्को तत्कालीन सोभियत सङ्घका चर्चित कवि हुन् । उनी नाटककार र उपन्यासकार पनि हुन् । तर पनि उनले जे जति चर्चा पाए कवितामै पाए । सुरुमा भ्लादिमिर मायाकोव्स्कीबाट प्रभावित उनी किशोर अवस्थामा जोसेफ स्टालिनका घनघोर प्रशंंसक रहे । उनले स्टालिनको प्रशंसामै कविता लेखे । त्यतिबेला स्टालिनविरोधी कम्युनिस्ट र गैह्रकम्युनिस्टहरुले उनलाई कविको रुपमा स्वीकार गरेनन् । उनी स्टालिनवादीहरुका मात्र कवि बने । पछि उनी स्टालिनका घनघोर विरोधी भए र स्टालिनको विरोधमै कविता लेख्न थाले । त्यसपछि स्टालिनवादीहरुले उनलाई कवि मान्नै छोडे । स्टालिनविरोधी कम्युनिस्ट र गैह्रकम्युनिस्टका लागि उनी धेरै ठूला कवि बन्न पुगे । उनलाई राम्रो मानेर प्रशंसा गर्नेहरु पनि भए, उनलाई नराम्रो ठानेर निन्दा गर्नेहरु पनि भए ।

यी दुई फरक–फरक प्रवृत्ति हुन् । प्रवृत्तिगत रुपमा यस किसिमको सिलसिला पहिलेदेखि चल्दै आएको छ । नेपालमा पनि त्यस्तो प्रवृत्ति छँदैछ । धेरै कवि त्यस प्रवृत्तिको सिकार हुनबाट मुक्त छैनन् । विमल निभा पनि त्यस प्रवृत्तिको प्रताडनालाई झेल्दै आएका कवि हुन् ।

साहित्य–कलाका सम्बन्धमा आफ्नो विचार व्यक्त गर्ने क््रmममा रचनाको स्तर, त्यसको महत्व र मूल्यबोधका सम्बन्धमा कार्ल माक्र्सले महत्वपूर्ण कुरा व्यक्त गरेका छन् । उनी भन्छन् – ‘धातुको विक्रेताले धातुको बजार मूल्यलाई मात्र हेर्छ, त्यसको सौन्दर्य तथा अन्य विशेष गुणहरुलाई होइन ।’

सर्वोच्च स्तरको नाटकको अनुभूति ग्रहण गर्ने सन्दर्भमा माक्र्सले उक्त विचार व्यक्त गरेका थिए । निराशा वा चिन्ताले जीवनप्रति निरपेक्ष बनेको मानिसले त्यस खालको अनुभूति प्राप्त गर्न नसक्ने प्रसङ्ग माक्र्सले उठाएका थिए । तथापि उनको त्यो भनाइ त्यतिमै मात्र सीमित छैन । रचनाको रुप, अन्तर्वस्तु र कलात्मकताका आधारमा आग्रहरहित भएर कुनै पनि सिर्जनाको मूल्याङ्कन गर्नुपर्ने विषयमा समेत उनले सङ्केत गरेका छन् । सिर्जनाको मूल्य बजारले होइन सिर्जनाकै सौन्दर्यले निर्धारण गर्ने भएकाले सौन्दर्य–शक्तिका आधारमा मात्र सिर्जनाको मूल्यबोध गर्नु पर्ने विचार माक्र्सले व्यक्त गरेको पाइन्छ ।

माक्र्सको यो दृष्टिकोण कुनै पनि रचना वा रचनाकारको गुण–दोषको यथार्थपरक मूल्याङ्कनका लागि महत्वपूर्ण छ । धातुको बिक्रेताले बजार मूल्यलाई हेरेर धातु विक््रmी गरेजस्तो खुल्ला बजारले निर्धारण गर्ने  मूल्यलाई हेरेर कवि र कविताको निन्दा वा प्रशंसा गर्न मिल्दैन । विमल निभामात्र होइन कुनै पनि स्रष्टा र उसका सिर्जना मनपरी मूल्य तोक्दै हिँड्ने बजारिया आग्रह, पूर्वाग्रह र दुराग्रहको सिकार हुनु हुन्न ।

सबै कविको सोच एउटै हुँदैन । जीवनलाई बुझ्ने कुरामै भिन्नता हुन्छ । त्यस भिन्नतामा कवि र कविताको प्रभाव पनि एउटै हुँदैन । प्रभावलाई महसुस गर्ने कुरा पनि भिन्नाभिन्नै हुन्छ । प्रभावमै पनि परिवर्तन आइरहेको छ । किनभने – विषयमा परिवर्तन भइरहेको छ, समयमा परिवर्तन भइरहेको छ र कवितामै पनि परिवर्तन भइरहेको छ ।

भानुभक्त आचार्य र विमल निभा ! दुवै कवि हुन् । तर उनीहरुका बीच केही कुरा पनि मिल्दैन । दुबै फरक–फरक समयका हुन् । दुबैको दृष्टिकोणमा आकाश–पातालको भिन्नता छ । दुबैका कविता पनि फरक छन् । देश–काल–परिस्थिति, कविता चेतना, युगीन बोध र भाषाशैलीमा आनतानको फरक छ यी दुईमा । कविताको कुनै एउटा परिभाषाले बाँध्न सक्दैन यी दुईका कवितालाई । किनभने उहिले र अहिलेमा धेरै परिवर्तन आइसकेको छ । समय क्रममा कविताले ठूलो फड्को मारिसकेको छ । कविताको त्यो फड्कोमा सामेल भएका छन् रिमाल, भूपी र विमल निभाजस्तै अनेकौँ कविहरु ।

नेपाली कवितामा पद्य कविताको परम्परा लामो छ भने गद्य कविताको परम्परा छोटो छ । आधुनिक गद्य कविताका शिखर व्यक्तित्व गोपालप्रसाद रिमालदेखि सुरु भएर समकालीन कविताका विमल निभासम्म आइपुग्दा गद्य कवितामै पनि धेरै परिवर्तन आइसकेको छ । यस सन्दर्भमा पूर्वीय र पाश्चात्य दुवै मान्यताले अहिलेका कवितालाई अथ्र्याउन सकेका छैनन् । ती पुराना परिभाषाले अहिलेका युगीन कवितालाई समेट्न त झनै सक्दैनन् । विमल निभाका कविता ती पुराना परिभाषाको परिधिभित्र पर्दैनन् । कवितासम्बन्धी नवीन दृष्टिकोण, विषय–सन्दर्भ र संरचनागत शिल्पका आधारमा उनका कविताको परिभाषा हुनु पर्छ ।

जसले कवितालाई कविताकै रुपमा सोच्छ – उसले मूलभूतरुपमा विचार पु¥याउने कुरा कविताको शक्तिमा हो । त्यो शक्ति कविताको संरचनामा मात्र भर पर्दैन । त्यो शक्ति भनेको विषय र प्रस्तुति पनि हो, शैली पनि हो । कवितामा निहित विचार र कलाले नै त्यो शक्तिको निर्धारण गर्दछ । विमल निभाका कविताको शक्ति भनेको पनि उनको अन्तर्मनमा रहेको विचार र त्यसलाई व्यक्त गर्ने कला नै हो । उनको त्यही शक्तिले नेपाली कवितामा नयाँ फड्को मार्न योगदान पु¥याएको छ ।

कविता लेख्ने औसत हैसियत धेरैले राख्न सक्छन् । तर जो काव्य–संवेदनाले ओतप्रोत छ त्यही मात्र कवि हुन सक्छ । काव्य–संवेदनाको जागरण कारणवश कसैमा पनि पैदा हुन सक्छ । त्यसमध्येमा पनि जसमा आफ्नै मौलिकता छ, उसैमा भिन्न विशेषता पनि हुन्छ । जसमा आफ्नो भिन्न विशेषता हुन्छ, उसैमा बढी शक्ति पनि हुन्छ । कविहरुको भीडमा जसले आफूलाई फरक परिचयसहित स्थापित गर्न सक्छ, त्यसले मात्र आफ्नो ठाउँ आफैँ बनाउँछ ।

पाब्लो नेरुदाका अङ्ग्रेजी अनुवादक थिए – एलिस्टेयर रिड । उनी आफैँ अङ्ग्रेजीका कवि थिए । अनुवादका क्रममा उनले नेरुदालाई निकै नजिकबाट चिने । त्यसै प्रसङ्गमा रिडले भने – कवि हुनुको पहिलो सर्त हो – काव्य संवेदना । यो काव्य–संवेदना नेरुदाले आफ्नी आमाका कारण पाएका थिए । जन्मिए लगत्तै आफ्नी आमालाई गुमाएका नेरुदाले पछि उनकी आमा कविता लेख्थिन् भन्ने थाहा पाए । उनलाई आफ्नी आमालेजस्तै कविता लेख्ने प्रेरणा प्राप्त भयो । त्यो प्रेरणा काव्य–संवेदनाको रुपमा जागृत भयो । उनी कविता लेख्न थाले । बिस्तारै मानवीय सरोकारका विषयहरु उनको काव्य–संवेदनासँगै कवि व्यक्तित्वको विकासका कारक तत्व बनेर देखापरे । उनले लौकिक विवेकलाई नै आफ्ना कविताको जीवनदृष्टि बनाए । त्यही लौकिक जीवन–दृष्टि उनका कविताको सत्य र सौन्दर्य बन्यो ।

विमल निभा कुनै घटनाविशेषबाट काव्य–संवेदनाले ओतप्रोत बनेका होइनन् । उनी काव्य संवेदित हृदयबाटै कवि बनेका हुन् । उनको त्यो संवेदनामा जीवन र जगत्का मानवीय सरोकारका विषयहरुले प्रवेश पाएका छन् । देश, समाज र जीवनका सुख,दुःख,अभाव,उत्पीडन, विपन्नता, सङ्घर्ष, त्याग, बलिदान, क्रान्ति, मुक्तिजस्ता विषयहरु उनको काव्य–संवेदनाका कारक बनेका छन् ।

काव्य–संवेदनासँग धेरै विषयहरु गाँसिएका हुन्छन् । कविताको प्रभाव र शक्ति पनि कविको संवेदनासँगै जोडिएको हुन्छ । टी.एस. इलियटले आफ्नो निबन्ध ‘द मेटाफिजिकल पोएट्स’मा विचार तथा भाव, बौद्धिकता तथा भावुकता, वैयक्तिकता तथा परम्परा, समकालिकता तथा शाश्वतताको संयोजन कवि र काव्यमा हुने र तीमध्ये कुनै एउटा पक्षको अभावमा कवित्व र काव्यको शक्ति कमजोर रहने विचार अगाडि सारे । उनले कविको संवेदनशीलतालाई बढी महत्व दिएका छन् । उनका विचारमा कविको मन र संवेदनशीलता, जसलाई बुद्धि र हृदयको रुपमा पनि अथ्र्याइन्छ, ती दुई अभिन्न हुन्छन् । काव्य–संवेदित कविले आफ्ना विचारलाई भावनामा रुपान्तरण गरेर प्रस्तुत नगरेमा कविता बन्न नसक्ने धारणा पनि उनको छ । विमल निभा विचारको ठाडो अभिव्यक्तिलाई कवितामा कहिल्यै स्वीकार गर्दैनन् । उनको काव्य–संवेदित हृदयमा कुनै पनि विषय वा विचार भावनामा रुपान्तरित भएपछि नै काव्यात्मक रुपमा व्यक्त हुने गरेको छ ।

बिम्बको चर्चाविना विमल निभाका कविताको चर्चा निरर्थक हुन्छ । किनभने विमल निभा बिम्बवादी कवि नभए पनि बिम्ब–कवि हुन् । उनले साबित गरेका छन् – बिम्बबिना सुन्दर कविताको निर्माण असम्भव छ ।

कविताका कला अनेक छन् । बिम्ब भनेको पनि कला नै हो । कवितामा त बिम्बमै अझ राम्रोसँग कलाको उपस्थिति पाइन्छ । किनभने कला भनेको पनि अनुभूति नै हो । हामीले कला के हो, कस्तो हो भनेर देख्ने र बुझ्ने पनि अनुभूतिकै बिम्ब हो । बिम्बलाई प्रतीक र उपमाकै रुपमा पनि हेर्ने गरिएको छ । तर बिम्ब, प्रतीक र उपमा एकै होइनन् । यिनका बीचमा केही समानताजस्तो देखिए पनि यी भिन्न हुन् । बिम्बले एक वा अनेक अर्थबोध गराउँछ । प्रतीकले जे भन्न खोजिएको हो त्यही अर्थबोध गराउँछ । उपमा खासगरी उदाहरणद्वारा प्रस्तुत हुन्छ । यद्यपि प्रतीक र उपमा बिम्ब–विधानका विपरीत कुरा होइनन् ।

कविताका सैद्धान्तिक व्याख्याताहरुमध्ये धेरैको अभिमतका आधारमा कविताको प्राणरुप तीन कुरालाई मानिन्छ । ती हुन् – शब्द, प्रतीक र शब्दचित्र । यीमध्ये शब्दचित्रलाई चित्रकल्प वा चित्रात्मक भाषा पनि भन्ने गरिएको छ । यही चित्रकल्प, शब्दचित्र वा चित्रात्मक भाषा भनेकै बिम्ब हो । अर्को अर्थमा भन्नु पर्दा – कविले आफ्नो कल्पनाशील दिमागमा सङ्गृहीत गरेको विचार, भाव र अनुभूतिलाई अभिव्यक्त गर्ने शब्दचित्र, चित्रकल्प अथवा चित्रात्मक भाषा नै बिम्ब हो । कल्पनाद्वारा कुनै विषयको काव्यिक चित्राङ्कन गर्नुमै बिम्बको महत्व रहने विचार धेरैले व्यक्त गरेका छन् ।

बिम्बको अवधारणा पाश्चात्य जगत्बाट, त्यो पनि विशेषतः कविताबाटै सुरु भएको हो । बिम्ब भन्ने बित्तिकै काव्य–बिम्बको चर्चाबाटै पाश्चात्य साहित्यमा ‘इमेज’को सैद्धान्तिक व्याख्या गर्ने गरेको पाइन्छ । कविताको एउटा महत्वपूर्ण संरचक घटककै रुपमा बिम्बलाई लिने गरिएको छ । नेपाली कवितामा बिम्बलाई गहिरोसँग बुझ्ने केही कविमध्येका हुन् विमल निभा । बिम्बप्रतिको गम्भीर बुझाइकै कारण कवितामा बिम्ब प्रयोग उनको अलग विशेषता बनेको छ ।

केहीले बिम्बवादलाई स्वच्छन्दतावादी भावुकताको परिणाम मानेका छन् भने केहीले प्रगतिशील अभियानको रुपमा पनि लिएका छन् । त्यस्तै, ध्वंसात्मक अवस्थाप्रति अस्वीकृति जनाउँदै नवीनतम अभियानको थालनी गर्ने ध्येयले बिम्बवादी आन्दोलन सुरु भएको मान्नेहरु पनि छन् ।  फ्रान्समा लोकप्रिय रहेको प्रतीकवादबाट प्रभावित टी. इ. ह्युम र एज्रा पाउन्डको नेतृत्वमा सुरु भएको बिम्बवादी आन्दोलनमा टी. एस. इलियट पनि थपिए । यो आन्दोलनबाट बिम्बवादले केही सैद्धान्तिक मान्यताहरुलाई स्थापित गरेको मानिन्छ । आडम्बरयुक्त शब्दको अस्वीकार, मूर्त अभिव्यक्ति, कविताको अर्थमा स्पष्टता, विषयको स्पष्ट चित्रण, चित्रमयता, साङ्केतिकताजस्ता कुरामा आधारित भएर बिम्बवादी आन्दोलन अगाडि बढेको थियो । यो आन्दोलन मार्फत टी. इ. ह्युम र एज्रा पाउन्डले निर्वैयक्तिक परम्परालाई सहयोग पुर्याएका थिए भने टी. एस. इलियटचाहिँ पाश्चात्य साहित्यमा स्वच्छन्दतावादको जगजगी चलिरहेका बेला त्यसको व्यक्तिवादी चिन्तनलाई अस्वीकार गर्न पुगेका थिए ।

सारसङ्क्षेपमा बिम्बलाई अथ्र्याउने क्रममा टी. इ. ह्युमले विचार सम्प्रेषण घटकको रुपमा बिम्बलाई अथ्र्याएका छन् । एज्रा पाउन्डले बिम्बलाई तुरुन्तै अनुभूत हुने ज्ञान–बुद्धि र समन्वयको संवेगका रुपमा अथ्र्याएको पाइन्छ । त्यस्तै टी. एस. इलियटले स्पष्ट देखिने अनुभूतिजन्य जीवनको प्रत्यक्षीकरणका रुपमा बिम्बलाई परिभाषित गरेका छन् । मौलिक प्रतिभाको प्रमाण भनेकै बिम्ब हो भन्ने मान्यता कलरिजमा पाइन्छ । लुइस म्याकसिनले बिम्बलाई भावको सम्प्रेषकका रुपमा लिएका छन् । अल्बर्ट कामुले बिम्ब र प्रतीकका बीच निकटतम सम्बन्ध रहने बताएका छन् । रुपक, प्रतीक र मिथकलाई बिम्बका समधर्मी घटकका रुपमा लिएका छन् मार्क सेररले ।
बिम्ब आफैँ एउटा आकार हो । त्यसैले बिम्बको निर्माण कठिन पनि छ । बिम्बहरुको निर्माण वास्तविक र काल्पनिक दुवै अनुभूतिबाट गर्न सकिन्छ । वस्तुको आधारमा, सोचको आधारमा र संवेदनाको आधारमा बिम्बको निर्माण हुन्छ । त्यसरी हुने बिम्ब निर्माणमा दर्शक, स्रोता र पाठकको रुचिले पनि भूमिका खेलेको हुन्छ । आत्मगत र वस्तुगत तत्वको उपस्थिति कला–बिम्बमा अनिवार्य हुनुपर्ने मान्यता छ । आत्मगत तत्व र वस्तुगत तत्व एक–अर्काका विरोधीजस्ता लागे पनि कलामा यी दुबैका बीच द्वन्द्वात्मक एकता हुने कुरा सौन्दर्यशास्त्रीहरुले बताउँदै आएका छन् । वस्तुगत र आत्मगत तत्वको अभावमा यथार्थको उपस्थिति शून्य रहन्छ र बिम्ब खण्डित बन्न पुग्छ । खण्डित बिम्ब सौन्दर्यपरक हुँदैन । त्यस्तो बिम्बको विचारधारात्मक महत्व पनि रहँदैन । विमल निभा कविताको सिर्जनात्मक प्रकृयाका क्रममा कला–बिम्बमा आत्मगत र वस्तुगत तत्वको उपस्थितिलाई अनिवार्य ठान्छन् । त्यसैले उनका बिम्बहरुमा सौन्दर्यपरक शक्तिसँगै विचारधारात्मक महत्व पाइन्छ ।

कला–बिम्बको अभिव्यक्ति भावमय हुन्छ भन्ने कुरालाई विमल निभाका कविताले प्रस्तुत गरेका छन् । भावमय सन्देश दिनु नै उनका बिम्बहरुको विशेषता हो । उनका बिम्बहरु प्रमुखरुपमा जीवन–सत्यसँग सरोकार राख्छन् । त्यही जीवन–सत्यमा आधारित छ उनको कला–सत्य । कला–बिम्बका सन्दर्भमा कतिपय लेखकका सिर्जनाहरु कला–सत्य र जीवन–सत्यमा अन्तरविरोधी पनि हुन्छन् । तर विमल निभाका कविता जीवन र कला–सत्यमा कतै पनि अन्तरविरोधी छैनन् । त्यस्तो नहुनुमा विमल निभामा रहेको यथार्थप्रतिको विश्वास नै हो , जीवनप्रतिको विश्वास नै हो । किनभने उनी बिम्ब निर्माणमा पनि कल्पनाभन्दा बढी यथार्थमै, कृत्रिमताभन्दा बढी जीवनमै आधारित बन्ने गरेका छन् ।

विमल निभाले बिम्बलाई कविताको संरचक घटककै रुपमा ग्रहण गरेका छन् । बिम्ब प्रयोगका दृष्टिले उनी टी.इ. ह्युमको धारणासँग बढी नजिक देखिन्छन् । उनले विचारलाई सम्प्रेषण गर्ने सन्दर्भमा नै बिम्बको प्रयोगलाई ज्यादा महत्व दिएका छन् । उनले आफ्नै मान्यताअनुकूल बिम्बहरुको प्रयोग गरेका छन् । उनका बिम्बहरु नवीन हुन्छन् जसलाई बिम्बभेदका आधारमा यथार्थपरक बिम्ब र क््रmान्ति बिम्बका रुपमा लिन सकिन्छ । भाव अनुकूलका बिम्बहरुको प्रयोगबाट कवितालाई बिम्बमय बनाउनु उनको पृथक परिचय हो । बिम्बको प्रयोगमात्र नगरेर बिम्बको सिर्जना नै गर्नु पनि उनको विशेषता हो । भावसँग बिम्ब र बिम्बसँग भावको अर्थ–अन्तरनिर्भरतालाई कवि विमल निभाले कवितामा उदाहरणीय रुपमा प्रस्तुत गरेका छन् । भाव र बिम्ब दुवैप्रति उनको सचेतता यस्तो देखिन्छ:

यहाँ
रुखहरुको मुख बन्द गराइएको छ
र हावा भूमिगत छ
यहाँ
पुतलीहरुको प्वाँखको नाउँमा
वारन्ट छ
र फूलहरुको सौन्दर्य गैरकानुनी
साबित भइसकेको छ
यहाँ
शीतको थोपाको चमक
खतरनाक ठहर भएको छ
र सुगन्धको लागि
हत्कडी तयार छ ।

विमल निभाका कवितामा बिम्बको प्रधानता रहने भएकाले बिम्बकै कारण शब्दहरुको चयनले प्रधानता पाएको छ । शब्दकै कारण भावले प्रधानता पाएको छ । यस सन्दर्भमा उनका कवितामा शब्दको चयनले पनि विशेष अर्थ राख्ने हुन्छ । भावाभिव्यक्तिका दृष्टिले पनि शब्द चयनको महत्व हुन्छ । लाक्षणिक एवं व्यञ्जनात्मक शब्दहरुको प्राथमिकताबाट बिम्बमात्र होइन भावमा पनि प्रभाव पारेको हुन्छ । त्यो प्रभावलाई ख्याल गरेका छन् विमल निभाले । उनले बिम्ब र भाव दुवैलाई ख्याल गरेर शब्द चयन गरेका छन् । उनको यो सचेतताले पनि उनका कविताको प्रभावशालीता बढेको छ । कवितामा भावको शक्तिलाई बिम्बले बढाउँछ र बिम्बको शक्तिलाई शब्दले बढाउँछ भन्ने उदाहरण विमल निभाले दिएका छन् । यसै अर्थमा पनि विमल निभा बिम्ब–कवि हुन् । तर उनका कवितामा प्रयुक्त बिम्बलाई सही अर्थमा नबुझ्ने हो भने उनको एउटा महत्वपूर्ण विशेषता नै बुझ्न सकिँदैन । उनका बिम्बलाई प्रतिबिम्बको रुपमा बुझ्न सकिन्छ । प्रतिमूर्तिका रुपमा बुझ्न सकिन्छ । पानी वा ऐनामा देखिने रुप पनि बिम्ब नै हो । तर दृश्य–बिम्ब र कला–बिम्बमा कतिपय समानता र कतिपय भिन्नता पनि छन् । दृश्य–बिम्ब प्रकाशसँग सम्बन्धित हुन्छ भने कला–बिम्ब सौन्दर्यसँग । सौन्दर्यशास्त्रको सर्वाधिक महत्वपूर्ण प्रवर्ग नै कला–बिम्ब हो । विमल निभा कला–बिम्बका पारखी र प्रयोक्ता हुन् ।

रिमाल र भूपी प्रतीक र बिम्बमा धेरै खेले । प्रतीक र बिम्बको प्रयोग विमल निभाको विशेषता नै बनेको छ । रिमाल र भूपीको जस्तै उनका प्रतीक र बिम्बहरु सरल छन्, सार्थक छन् र अर्थपूर्ण छन् । बिम्ब–विधान र प्रतीक संयोजनको अनुपम कला विमल निभाका सबै कवितामा देख्न पाइन्छ । एउटा उदाहरण यस्तो छ :

तपाईँको बारीमा एउटा रातो गुलाबको फूल छ
त्यो हामीलाई दिनोस्   
तपाईँसँग परेवाको एउटा सेतो प्वाँख छ
त्यो पनि हामीलाई दिनोस्
तपाईँको गालामा एउटा साह्रै उज्यालो गीत छ
त्यो पनि हामीलाई दिनोस्
तपाईँसँग रातो गाता भएको एउटा पुस्तक छ
त्यो पनि हामीलाई दिनोस्
तपाईँको आँखामा एउटा रङ्गीन इन्द्रेनी छ
त्यो पनि हामीलाई दिनोस् ।

मूलतः कविता साधना हो । तर त्यो साधना कल्पनाशक्तिसँग जोडिएको हुन्छ । कविता भनेकै कल्पनाशीलता पनि हो । यो अक्षर, शब्द र वाक्यहरुको जोडघटाउमा जन्मिँदैन । कविता जन्मिनका लागि मस्तिष्कको कल्पनाशक्तिमा भर पर्नु पर्ने हुन्छ । त्यस्तो कल्पनाशक्ति जुन कलात्मक हुन्छ, त्यो सबैमा हुँदा पनि हुँदैन । त्यो शक्ति जो कवि हो त्यसैमा मात्र हुन्छ ।

विमल निभा कल्पनाशीलतालाई कविता सिर्जनाको प्रारम्भिक शक्ति स्वीकार गर्छन् । उनको स्वीकारोक्ति स्वाभाविक छ । किनभने कल्पनाशीलताको अभावमा कविता जन्मन सक्दैन । कवितामा  कल्पनाशक्तिलाई सिर्जनात्मक क्षमताको विशिष्ट पक्ष मानिएको छ । वर्डस्वर्थ र कलरिजले त यसबारेमा वादविवाद नै गरे । आन्तरिक कल्पना र बाह्य कल्पनाका बारेमा उनीहरुबीच गम्भीर बहस नै चल्यो । कला समालोचक जन रस्किनले बाह्य कल्पनाबाट सोच्ने कविले विषयको बाहिरी तस्विरमात्र प्रस्तुत गर्ने र आन्तरिक कल्पनाबाट सोच्ने कविले विषयको आन्तरिक चित्र पनि प्रस्तुत गर्ने विश्लेषणसहित कल्पनाशक्तिको भेदलाई प्रस्ट्याए । विमल निभाले आन्तरिक कल्पनालाई कविता सिर्जनाको विशेष पक्ष मान्दै आएका छन् ।

कविताको सम्प्रेषण शल्पनाशक्तिसँगै जोडिएको छ । सम्प्रेषण अनुभूतिसँगै जोडिएको छ । कवि आफ्नो अनुभूतिलाई कवितामा उतार्छ । त्यो पनि सम्प्रेषण नै हो । कविता लेखिएपछि त्यसको सम्प्रेषण पाठकमा हुनु पर्छ । पाठकले पनि अनुभूतिकै रुपमा लिने प्रक््िरmया सम्प्रेषण हो । यसलाई मनोवैज्ञानिक प्रकृयाका रुपमा पनि लिने गरिन्छ । कविताको स्वायत्तताको बीज पनि सम्प्रेषणमै रहेको मानिन्छ । विमल निभा यही सम्प्रेषणमा आलङ्कारिक कविता रचनाको प्रक््िरmया सुरु हुने मान्यता राख्छन् ।

कविताको सम्प्रेषणका सन्दर्भमा – कविको कल्पना जतिसुकै जटिल होओस्, कविताको विषय जतिसुकै क्लिष्ट होओस्, त्यसको प्रस्तुति दुर्बोध नभएर सुबोध भएमा नै त्यो प्रभावशाली हुन्छ । कविताको प्रस्तुति जतिसक्दो सरल भएमा नै सशक्त हुन्छ । त्यो प्रस्तुति सहज भएमा नै प्रभावकारी हुन्छ । विमल निभाका कविता स्तरीय भैकन सरल, सुबोध र सहज भएकाले प्रभावशाली लाग्छन् ।

पूर्वीय मान्यतामा कुनै पनि पूर्ण कविता आफैँमा एउटा छुट्टै अलङ्कार मानिन्छ । तथापि त्यसमा सफल सम्प्रेषण वा प्रभावका दृष्टिले कवितामा उपमा, रुपक, प्रतीक र कल्पनाशक्तिको अवलोकन जस्ता विषयलाई आलङ्कारिकताका मानकका रुपमा लिने गरिएको छ । यिनलाई कविताको शृङ्खलाबद्ध आलङ्कारिक चरणको रुपमा पनि लिइन्छ । उपमाले चेतनाको जागृत अवस्थालाई अभिव्यक्त गर्दछ भने रुपकले अनुभूतिलाई आन्तरिकीकरण गरेर सौन्दर्यलाई अनुभूत गर्ने अनुकूल अवस्थाको सिर्जना गर्दछ । त्यस्तै प्रतीकले अनुभूति सम्प्रेषणलाई गम्भीर बनाएर गहिराइमा पु¥याउँछ भने कल्पनाशक्तिको अवलोकनबाट अनुभूतिको साक्षात्कारको अवस्था सिर्जना हुन्छ ।

सरलता र बौद्धिकतालाई समानान्तर रुपमा बुझ्ने प्रचलन छ । अस्पष्ट, क्लिष्ट र जटिलतामा बौद्धिकता देख्ने र सरल तथा सहज अभिव्यक्तिमा बौद्धिकता नदेख्ने भ्रमबाट मुक्त छैन नेपाली कविता । नबुझिने कुरा ‘बौद्धिक’ हुने र बुझिने कुरा ‘अबौद्धिक’ हुने धारणा आफैँमा बौद्धिक टाटपल्टाइ हो । कविता आफैँमा बौद्धिक विधा भएकाले यसको सिर्जनामा अतिरिक्त प्रतिभाको आवश्यकता पर्दछ । कवितामा बौद्धिकताको प्रयोग कसरी गर्ने र कतिसम्म गर्ने भन्ने कुरा कविमै निर्भर गर्दछ । बौद्धिकताको नाममा बौद्धिक गफको प्रदर्शन गर्दा त्यो कविता नभएर अर्कै चीज बन्न पुग्छ । शिल्प र संरचनाले पनि बौद्धिकताको प्रयोगलाई स्वीकार गर्नु पर्ने भएकाले राम्रा कविहरु संरचना र शिल्पप्रति नै बढी सचेत रहन्छन् । विमल निभा संरचना र शिल्पप्रति सचेत रहँदै बौद्धिकताको प्रयोग गर्ने कवि हुन् । उनका कवितामा बौद्धिकताको नाममा कुनै पनि किसिमको आडम्बर र क्लिष्टता पाइँदैन । बौद्धिकताको स्वाभाविक प्रयोग नै उनका कविताको विशेषता हो । प्रगतिवादी चिन्तन आफैँ दर्शन विशेषसँग सम्बन्धित भएको र यसले बौद्धिक विमर्शमै आफूलाई विकसित गर्दै ल्याएकाले यस चिन्तनसँग सरोकार राख्ने कविता अबौद्धिक हुन सक्दैनन् ।

विमल निभाको महत्वपूर्ण विशेषता बौद्धिक व्यङ्ग्य प्रयोग हो । उनका कतिपय कविता उच्चस्तरीय व्यङ्ग्यचेतनाबाट सिर्जित  छन् । कवितामा उनको व्यङ्ग्य प्रयोग निकै कलात्मक छ । उनको कलामै पनि व्यङ्ग्य छ र व्यङ्ग्यमै पनि कला छ । कलाहीन व्यङ्ग्यलाई उनले आफ्ना कवितामा कतै पनि स्वीकार गरेका छैनन् । उनका व्यङ्ग्यहरु कतै कोमल र करुण लाग्छन् भने कतै कठोर पनि लाग्छन् । तर सबै व्यङ्ग्य शक्तिशाली छन् । कविताका सन्दर्भमा भूपी र विमल निभाको व्यङ्ग्यधर्मितामा केही समानता पनि पाइन्छन् । तथापि व्यङ्ग्य सिर्जनाको शिल्प र व्यङ्ग्यप्रयोगको बान्कीमा भने केही भिन्नता पनि छ र केही समानता पनि छ । भूपीको व्यङ्ग्य बढी टड्कारो भईकन प्रतीकात्मक महसुस हुन्छ भने विमल निभाको व्यङ्ग्य पनि प्रतीकात्मक भईकन सन्दर्भ अनुसार टड्कारो लाग्दछ । जस्तै :

असन्तोष, क्रोध, निराशा
क्रान्ति र मेलमिलापको टिकट टाँसेर
तिनीहरुले मागपत्र पेश गरिसकेका छन्
‘श्रीमान् हाम्रो नम्र निवेदन छ
कृपया हामीलाई प्रजातन्त्र दिनोस्
कलात्मक फूलदानमा सजाएर
रङ्गीचङ्गी फूलहरुको
एक थुङ्गा दिनोस्
बक्सिस् दिनोस् ।’    

यस्तै, अभाव र विपन्नताले दीनहीन जीवन पिल्सिरहेका बेला फूल, बगैँचा, नदी, हिमाल र चन्द्रमाको प्रशंसामा कविता लेख्ने कविप्रति कवि विमल निभाले गरेको कठोर व्यङ्ग्य यस्तो छ:

चन्द्रमा शीतलता छरिरहेछ
रात सुगन्धित छ
मन प्रफुल्लित छ
तन हलुङ्गो छ
तर मलाई खेद छ कविजी
म फेरि तपाईँको कवितामा हस्तक्षेप गर्न गइरहेछु
के बजारमा चामल धेरै सस्तो भइसक्यो ?

कविको कल्पना निजी भए पनि उसको सिर्जना निजी हुँदैन । कविले आफ्नो सिर्जनालाई साधारणीकृत गर्दछ । त्यसैमा महत्व रहन्छ सिर्जनाको । कविको निजी अनुभूति सार्वजनिक चासो र सरोकारको विषय बन्न सकेन भने सिर्जनाको सार्थकता रहँदैन । विमल निभा निजी कुरालाई महत्व दिँदैनन् । उनी निजी कुरालाई विषय बनाउन पनि चाहँदैनन् । जुन कुरा सामाजिक चासोमा छैन त्यसलाई उनी महत्व दिँदैनन् । निजी, सूक्ष्म र सामान्य विषयलाई पनि साधारणीकृत गर्न सकिन्छ भनेमात्र उनी त्यस्ता विषयमा प्रवेश गर्छन् । विषयलाई साधारणीकृत गर्न र सामाजिक सरोकारको रुपमा प्रस्तुत गर्नमा उनी सिपालु छन् ।

आगोनेर उभिएको मानिसमा सङ्गृहीत कविताहरुको पाठकीय प्रभाव ग्रहण गर्ने क््रmममा विमल निभा भारतीय कवि धूमिलबाट प्रभावित रहेको महसुस हुनसक्छ । धूमिलको सरोकार सधैँभरि सामाजिक क्रान्ति र मुक्ति नै रह्यो । भारतीय साहित्यमा धूमिलका कविता निकै आक््रmामक र विचारोत्तेजक मानिन्छन् । उनका कवितामा परिवर्तनकामी विचार र कलाको शक्तिशाली आवेग पाइन्छ । विमल निभा पनि सधैँभरि सामाजिक क्रान्ति र मुक्तिसँगै सरोकार राख्दै आएका छन् । उनी पनि कवितामा त्यतिकै आक्रमक र विचारोत्तेजक छन्. । उनका कवितामा क्रान्तिकारी आवेग छ । धूमिलबाहेक विमल निभा क्रान्ति र परिवर्तनसँग सरोकार राख्ने अन्य कविहरु बर्तोल्ड बे्रख्त,नाजिम हिक्मत,पाब्लो नेरुदा, मुक्तिवोध, सर्वेश्वरदयाल सक्सेना, फैज अहमद फैजका कविताबाट पनि प्रभावित रहेको अनुभव गर्न सकिन्छ । यद्यपि कसैको प्रभावको अनुकरण र अनुसरण भने उनका कवितामा पाइँदैन । उनी कसैको अनुकरण पनि गर्दैनन् , कसैको अनुसरण पनि गर्दैनन् । अरुका कृति वा रचनाहरु पढ्ने, बुझ्ने,अनुभूत गर्ने र प्रभावित हुने बानी उनमा छ । तर त्यस्तो प्रभावलाई उनी आफ्ना सिर्जनामा समेत प्रभाव पर्ने गरी ग्रहण गर्दैनन् । आफूले पढेका धेरैभन्दा धेरै स्रष्टाहरुबाट उनी प्रभावित रहे पनि त्यसको अनुकरणात्मक प्रभाव उनका कवितामा पाइँदैन । त्यसैले उनी भिन्न छन् । उनका रचनाको आफ्नै मौलिक विशिष्टता छ ।

जे हो जीवन नै हो, हरेक कुरा जीवनकै लागि हो, सबै कुरा जीवन अस्तित्वका लागि नै हो भन्ने मान्यता जीवनपक्षीय मान्यता हो । जीवन केही पनि होइन, यो शून्य छ, यो निस्सार छ भन्नु जीवनविरोधी कुरा हो । हामी जे गर्छौँ सबै कुरा जीवनका लागि हो । राजनीति, अर्थनीति, सिद्धान्त, दर्शन, शिक्षा, संस्कृति, संस्कार, नियम, अनुशासन सबै जीवनका लागि हुन् । त्यसैले सबै कुरा जीवनमुखी हुनु पर्छ । साहित्य पनि त्यही हो । कला पनि त्यही हो । कविता पनि त्यही हो । विमल निभाले जीवनका लागि कविताको सिर्जना गरेका छन् ।

विमल निभा फूललाई सुन्दर ठान्छन् । तर बगैँचाका कविता लेख्दैनन् । उनी हिउँ देखेर रमाउँछन् । तर हिमालको प्रशंसा गाउँदैनन् । नदी, चन्द्रमा, जून, तारा, पहाड, जङ्गल, उकाली, ओरालीजस्ता यावत् प्राकृतिक सौन्दर्यका उनी पारखी हुन् । तर कवितामा प्रकृतिलाई प्रेम गर्ने र तिनैको वर्णन गरेर रमाउने फुर्सद उनमा छैन । उनी मानव जीवनमै हरेक सौन्दर्य देख्छन् । श्रम र सङ्घर्षमै हरेक सौन्दर्यका शक्तिहरु भेट्छन् ।

शेलीले कविलाई दायित्व र प्रभावसँगै आकर्षणले बाँध्न सक्ने अर्थमा संसारकै विधायक माने । उनले भने – ‘कविहरु संसारकै विधायक हुन् ।’ उनको भनाइको आशय कविको शक्तितिर पनि सङ्केतित छ । कविको विचार अरुको भन्दा तीक्ष्ण र सही हुने भएकाले र कविले गुण–दोष समेत छुट्याएर समाजलाई मार्गदर्शन गराउने भएकाले पनि शेलीले कविलाई संसारकै विधायक मानेका हुन् । यस अर्थमा  साहित्यकारको सामाजिक दायित्वलाई पनि उनले सङ्केत गरेका छन् ।

कवि र कविताको मात्र कुरा होइन, समग्र साहित्यकै प्रभाव र शक्ति कति हुन्छ भन्ने विषयमा अनेकौँ दृष्टान्तहरु पाउन सकिन्छ । जस्तै: बेलायतमा बाल श्रममाथि कानुनी बन्देज थिएन । त्यसैले उद्योगधन्दा र कलकारखानाहरुमा काम गर्ने बालबालिकाको सङ्ख्या ठूलो हुन्थ्यो । उपन्यासकार चाल्र्स डिकेन्सलाई यो कुरा पटक्कै मन परेन । उनले बालश्रमिकका रुपमा कार्यरत तिनै बालबालिकालाई आफ्ना उपन्यासहरुमा मार्मिक ढङ्गले चित्रित गरे । उनको लेखन बेलायती समाजमा एउटा शक्तिको रुपमा देखापर्यो । बेलायती सरकार बालबालिकालाई काममा लगाउन नपाउने गरी बालश्रम विरुद्धको कानुन निर्माण गर्न बाध्य भयो । यस घटनाले समाज र साहित्यको सम्बन्ध कस्तो हुन्छ भन्ने दृष्टान्त प्रस्तुत गरेको छ ।

सामाजिक जीवनमा दृष्टिकोणको निर्माण गर्ने आधार सामाजिक सम्बन्ध हो । सामाजिक सम्बन्धकै आधारमा मान्छेमा चेतना र विचारको निर्माण हुन्छ । आफ्नो वरिपरिको सामाजिक अवस्था, राजनीतिक परिस्थिति, पारिवारिक परिवेश, वर्ग, वर्गीय पक्षधरता,सांस्कृतिक पहिचान, पेसा–व्यवसाय लगायतका कुराहरु दृष्टिकोण निर्माणका प्राथमिक विषय हुन् । मान्छेले सुरुमा आफ्नो वरिपरि जे देख्छ र जे भोग्छ त्यसैको प्रभाव ग्रहण गर्छ । आफ्नो वरिपरिको परिवेशबाट बाहिर निस्कने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गतिविधिलाई बुझ्दै जाने क्रममा उसको सामाजिक सम्बन्ध विस्तृत बन्दै जान्छ । उत्पादनसँगको सम्बन्धले उसको दृष्टिकोणलाई अझै परिमार्जित गर्छ । मान्छेमा आफ्नो समाजलाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने क्षमताको विकास हुन्छ । त्यो हेराइ र बुझाइ क्रमशः विचारमा विकसित हुन्छ । अन्ततः त्यही नै विचारको आधारमा मान्छे हरेक कुरालाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने अनि ठीक–बेठीक, सत्य–असत्य छुट्याउने तहमा पुग्दछ ।

विमल निभा मध्यम वर्गीय परिवारमा जन्मिए । उनको परिवार पढाइ–लेखाइप्रति सचेत थियो । त्यसैले उनी सानैदेखि अध्ययनप्रति अभिप्रेरित बने । औपचारिक–अनौपचारिक अध्ययनको सिलसिलामा उनको गहिरो अभिरुचि साहित्यमा रहन गयो । उनी जतिबेला साहित्य सिर्जनातिर अग्रसर भए त्यतिबेला देशमा पञ्चायती शासन थियो । त्यस शासनको बर्बरतालाई उनले देखेनन् मात्र, भोगे पनि । पञ्चायती निरङ्कुशता विरुद्ध लाग्नु र सामाजिक रुपान्तरणमा सहभागी हुनु आफ्नो दायित्व ठाने उनले । त्यही क्रममा माक्र्सवादी दर्शनबाट प्रभावित बन्दै निरङ्कुश शासनको विरुद्धमा उभिन पुगे उनी ।

वर्ग विभेद र सामाजिक असमानताको अवस्थाप्रति विमल निभा निकै संवेदनशील बने । वर्गीय समाजमा वर्गीय प्रेममात्रै न्यानो र स्वच्छ हुनसक्छ भन्ने मान्यताका साथ उनी वर्गीय मुक्तिको पक्षमा लागे । उनी एउटा कम्युनिस्ट कविको छविसहित लेखनमा सक्रिय रहे । उनी अहिलेसम्म आफ्नो निष्ठामा अडिग छन्, अविचलित छन् । माक्र्सवादी दर्शनबाट प्रभावित बन्दा उनी जहाँ थिए अहिले पनि त्यहीँ छन् । उनको यो प्रतिबद्धता प्रशंसनीय मात्र छैन, अनुकरणीय पनि छ ।

‘गैरपार्टी लेखक – मुर्दावाद, साहित्यिक महामानव – मुर्दावाद !’ पार्टी साहित्य र पार्टी लेखकलाई अस्वीकार गर्नेहरुको विरोध गर्ने सिलसिलामा लेनिनले भनेका थिए । उनको आशय सम्पूर्ण गैह«पार्टी लेखकप्रति लक्षित थिएन । उनले जुन समयमा, जुन सन्दर्भमा जसरी यो अभिव्यक्ति दिएका थिए, त्यो सत्य कुरा नै हो । तर असल, इमानदार, निष्ठावान र स्तरीय लेखकलाई गैरपार्टी लेखकको रुपमा दुत्कार्ने काम लेनिनले कहिल्यै गरेनन् ।

उदाहरणका रुपमा लिओ टाल्सटायलाई लिन सकिन्छ । विचारमा प्रतिकृयावादी हुँदाहुँदै पनि लेखनमा उत्कृष्ट रहेकामा लेनिनले टाल्सटायको प्रशंसा नै गरेका छन् । यसबाट पनि लेनिनको आशय गैरपार्टी लेखकको निन्दा गर्ने होइन भन्ने बुझिन्छ । उनको भनाइ खासगरी जनविरोधी लेखनप्रति लक्षित रहेको देखिन्छ । लेखकहरु कम्युनिस्ट पार्टीसँग आबद्ध रहेर क्रान्तिमा लागिदिए क्रान्तिलाई छिट्टै र सजिलै सम्पन्न गर्न सकिन्छ भन्ने मान्यता लेनिनमा थियो । त्यसमाथि तत्कालीन सोभियत सङ्घमा माक्र्सवादी हुनु भनेकै कम्युनिस्ट पार्टीमा लाग्नु भन्ने थियो । पार्टीमा नलागीकन पनि मान्छे माक्र्सवादी रहन सक्छ भन्ने धारणा स्वीकृत थिएन । तर अहिले सन्दर्भ र परिस्थिति फेरिएको छ । विमल निभाजस्ता कवि कम्युनिस्ट पार्टीमा नलागीकनै लगभग पाँच दशकदेखि कम्युनिस्ट विचारमै बाँचेका छन्, माक्र्सवादी कविको रुपमा लोकप्रिय बनेका छन् । यो यथार्थलाई आजको माक्र्सवादले अस्वीकार गर्नै सक्दैन ।

अहिले पनि विभिन्न कम्युनिस्ट पार्टीहरु छन्, तिनका पार्टी लेखकहरु पनि छन् तर विमल निभाका सन्दर्भमा कुरा गर्दा उनी कुनै कम्युनिस्ट पार्टीमा नरहे पनि कम्युनिस्ट लेखकको रुपमा सुपरिचित छन् ।  उनको लेखनको स्तर, निरन्तरता र वैचारिक प्रतिबद्धता पार्टीका लेखकको भन्दा कमजोर कतै पनि छैन, बरु झनै बलियो छ । उनी कम्युनिस्ट पार्टीभन्दा बाहिर रहे पनि कम्युनिस्ट विचारभन्दा बाहिर कहिल्यै रहेनन् । बरु उनी नै कम्युनिस्ट कविका उदाहरण बनेका छन् । कम्युनिस्ट पार्टीको सदस्य हुँदैमा माक्र्सवादप्रति प्रतिबद्ध लेखक मानिने परम्परालाई विमल निभाले तोडेका छन् । उनी स्वतन्त्र रहेर पनि माक्र्सवादप्रति प्रतिबद्ध छन् । लामो समयसम्म माक्र्सवादी विचारप्रति आस्थावान् भएर बाँच्न सकेकोमा उनी अघोरै गर्व गरिरहेका छन् ।

पाश्चात्य जगत्मा पहिले दर्शन र कवितामा झगडा थियो । त्यो झगडालाई प्लेटोले अथ्र्याउन खोजे ।  ‘कला कलाका लागि’ ठान्ने प्लेटो कविताका विरोधी थिए । उनले कवितालाई ‘पाठकको चरित्र बिगार्ने एउटा असत्य कुरा’ बताए । ‘ईश्वरको भजन’ र ‘प्रतापी पुरुषको कीर्ति–गाथा गाउने’ बाहेकलाई उनले कविको रुपमा आफ्नो कल्पनाबाट फाल्ने निर्णय गरे । कविता यो सत्य संसारबाट दुई खण्ड टाढा रहेको भनाइ उनको रह्यो । उनको आशय छ – दर्शनका अगाडि कविता भनेको केही पनि होइन । प्लेटोले यस्तो ठान्दाठान्दै पनि दर्शन र कविता (काव्य) को सम्बन्ध पहिलेदेखि नै रहँदै आएको छ । दर्शनमा साहित्य र साहित्यमा दर्शन भन्ने कुराले पछि आएर अझै महत्व पायो । कवि र दार्शनिकहरुको आपसी सम्बन्ध सहयात्राकै रुपमा रहँदै आएको छ । जर्मन दार्शनिक हेगेलको सहयात्रा कविहरुसँगै रह्यो । गेटे दार्शनिक हुँदाहुँदै स्रष्टा पनि थिए । लियो टाल्सटाय साहित्यिक स्रष्टा मात्र होइन, धार्मिक एवं नैतिक चिन्तकका रुपमा पनि चर्चित छन् । जर्ज बर्नार्ड शा पनि सिर्जना र दर्शन दुवैमा कहलिएका छन् । टाल्सटाय र बर्नार्ड शा त अझ प्लेटोकै मतका प्रशंसक समेत हुन् । यिनीहरुका विचारमा कविता दर्शनको एउटा अङ्ग हो ।

दर्शनलाई अन्तर्दृष्टिको रुपमा अथ्र्याइन्छ । त्यो अन्तर्दृष्टिबाट विमल निभा टाढा छैनन् । उनका कवितामा दर्शनका बिम्बहरु छन् । ठाउँठाउँमा दर्शनका झिल्काहरुले आफ्ना कवितालाई बौद्धिक ढङ्गले उजिल्याउने काम उनले गरेका छन् । तर दार्शनिकताको जलप लगाउने नाममा कवितालाई बौद्धिक अमूर्तीकरणतर्फ धकेल्ने पक्षमा उनी छैनन् । कविहरु दर्शनभन्दा पनि कविताको सौन्दर्य वा अलङ्कारप्रति सचेत हुन्छन् । स्वाभाविक पनि हो । कवितामा दर्शनको समायोजनका लागि पनि सौन्दर्य  आवश्यक हुन्छ । त्यसैले कविहरु दर्शनमा उभिएर सौन्दर्य प्रस्तुत गर्ने होइन, सौन्दर्यमा उभिएर दर्शनलाई प्रस्तुत गर्ने गर्छन् । जस्तो – बर्तोल्ड ब्रेख्त, अक्टोभियो पाज, मुक्तिबोध आदिलाई उदाहरणका रुपमा लिन सकिन्छ । कतिपय कवि यस्ता छन् जो दार्शनिक कवि नभएपनि तिनका बिम्बहरु भने दार्शनिक खालका लाग्छन् । जस्तै – किट्सका बिम्बहरु । किट्स दार्शनिक कवि होइनन् । तर पनि उनका कवितामा दर्शनका बिम्बहरु पाइन्छन् । जस्तै उनी लेख्छन् – ब्युटी इज ट्रुथ, ट्रुथ इज ब्युटी अर्थात् सौन्दर्य नै सत्य हो , सत्य नै सौन्दर्य हो । विमल निभा स्वयं दर्शनसँग जोडिएका कवि हुन् । उनका कविता त्यही दर्शनबाट प्रभावित छन् । तर उनका कविता दर्शनमा उभिएर प्रस्तुत हुँदैनन् । कवि विमल निभा सौन्दर्यमा उभिएर दर्शनलाई प्रस्तुत गर्ने गर्छन् । त्यसैले उनका कविता कलात्मक छन् । काव्यात्मक अभिव्यक्तिको त्यही कलात्मकताभित्र दर्शनको पनि अभिव्यक्ति पाइन्छ । माक्र्सवादी दर्शनको अभिव्यक्ति उनका कविताको प्रमुख विशेषता हो ।

महाकवि देवकोटाका विचारमा शब्द भनेको ध्वनिसँग सम्बन्धित छ । यो ध्वनि भाषिक वर्णमा अर्थयुक्त भएर प्रस्तुत हुन्छ । ध्वनि शब्दकोटिमा रुपान्तरित नभएसम्म कुनै अर्थ भेटिँदैन । अर्थ–सञ्चार र सम्प्रेषणका दृष्टिले पनि यो आवश्यक छ । शब्द अनुभूतिकै आधारमा बन्ने भएकाले यसको प्रयोगले पनि गम्भीर अर्थ राख्दछ । कुन ठाउँमा, कस्तो प्रसङ्गमा, कस्तो शब्दको प्रयोग गर्ने भन्ने कुराले महत्व राख्दछ । साहित्यका विधाहरुमध्ये कवितामा शब्द प्रयोगले विशेष महत्व राख्दछ । शब्द आफैँमा अर्थ हो, आफैँमा भाव हो र आफैँमा सौन्दर्य पनि हो । शब्द प्रयोग शब्द–चिन्तनसँग सम्बन्धित छ । केही अर्थमा यो ध्वनि विज्ञान र शैली विज्ञानसँग पनि गाँसिएको छ । विमल निभा शब्द–चिन्तनमा निकै सचेत छन् । शब्दहरुको प्रयोगले पनि उनका कवितामा अर्थ र महत्व बोकेको छ ।

माक्र्सवादी चिन्तनका आधारमा यथार्थवादी रचनाविधिको समुन्नत रुपलाई नै प्रगतिवाद मान्ने गरिएको छ । सोही मान्यताअनुसार विमल निभा यथार्थलाई प्रतिबिम्बित गर्छन् । जीवनको सत्यलाई बुझेर उनी कविताको रचना गर्छन्; वस्तुगत पक्षलाई सत्यनिष्ठ ढङ्गबाट उजागर गर्छन्; वस्तुगत यथार्थलाई अनेकौँ बिम्बहरुमा पुनरुत्पादन गर्छन् । रचनाविधि र वैचारिक दृष्टिकोणमा उनी रचनाको आधार माक्र्सवादी दर्शनलाई बनाउँछन् । सोहीअनुसार यथार्थवादी रचनाविधिमा उनका कविताको सिर्जना हुने गरेको छ । वस्तुगत यथार्थलाई त्यसैको गतिशीलतामा पुनरुत्पादन गर्ने र प्रतिबिम्बित गर्ने यथार्थवादी रचनाविधिको माक्र्सवादी दृष्टिकोण नै प्रगतिवाद हो भन्ने मान्यता विमल निभामा पाइन्छ । त्यसैले त उनी यथार्थको अभिव्यक्तिमा सामाजिक सम्बन्ध र सरोकारहरुलाई उपस्थित गराउने सन्दर्भमा कतै पनि विचारविहीन लाग्दैनन् ।

हावर्ड फास्टले यथार्थलाई ज्यादै महत्व दिएका छन् । विचार–विश्लेषणका क्रममा उनले यथार्थको गम्भीर वकालत गरेका छन् । संसारमा सबैभन्दा महान्, सुदृढ र समुन्नत कला भनेकै यथार्थको प्रतिबिम्बन हो भन्ने विचार उनले अगाडि सारे । यथार्थको गतिशील प्रकृयालाई राम्रोसँग बुझ्न सकेमा मात्र साहित्यमा वास्तविक जीवनमूल्यको प्रतिबिम्बन सम्भव हुने धारणा उनको छ । यथार्थको प्रतिबिम्बनमै कलात्मक आकर्षणको शक्ति रहन्छ भन्ने उनको विचार सजीव अभिव्यक्तिसँग जोडिएको छ । त्यसमा द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको आग्रह अपरिहार्य मानिन्छ । त्यसपछि मात्र कुनै पनि एउटा रचना विचार र कलाको उदाहरणीय संयोजनका रुपमा देखापर्दछ । विमल निभाको कविता सङ्ग्रह आगोनेर उभिएको मानिस यसै सेरोफेरोमा संरचित कृति हो ।

विमल निभा भावनामा प्रबल छन् । उनको भावना नै उनका कविता हुन् । आफ्नो भावनालाई कृत्रिम पाराले प्रस्तुत गर्ने ढोङ उनमा छैन । उनको सोच असल छ । असल सोचकै कारण उनका कवितामा अभिव्यक्त भावना शक्तिशाली छ । उनको भावना भनेकै जीवन हो, जगत् हो । जीवन र जगत्को यथार्थसँग उनको सम्बन्ध छ । त्यसैले उनको भावना बलियो छ । प्रकृतिसँगै एकाकार वर्डस्वर्थले आफ्नो भावनालाई प्रकृतिमै समर्पित गरे । उनको चर्चित ‘लुसी ग्रे’ कविता प्रकृतिजन्य प्रेम भावनाको परिणाम थियो । प्रजातन्त्र रुचाउने अमेरिकी कवि वाल्ट ह्विटमैन पनि भावनामा प्रकृतिप्रेमी थिए । उनले ‘दूबो’कै बारेमा कविता लेखेर पनि चर्चा पाए । तर अनीश्वरवादी शेलीले भावनात्मक रुपमा प्रकृतिभन्दा पनि जीवन,प्रेम, सङ्घर्ष र विद्रोहलाई रुचाए । विमल निभा पनि प्रकृतिप्रेमी त हुन् तर   कवितात्मक अभिव्यक्तिमा जीवन र जगत्लाई आफ्नो लेखनको विषय ठान्छन् । उनी जीवनका सुखदुःख र सङ्घर्षहरुसँगको आफ्नो भावनात्मक सम्बन्धलाई कहिल्यै पनि टाढा हुन दिँदैनन् ।

विमल निभा सिर्जनामा वस्तुतालाई महत्व दिन्छन् । वस्तुता नै उनको सिर्जनाको मूल प्रवृत्ति हो । आत्मपरक अभिव्यञ्जनाबाट उनी टाढा छन् । ब्यङ्ग्य निबन्धहरुमा आत्मपरक शैलीलाई अपनाएर पनि कवितामा उनले त्यसलाई ज्यादा महत्व दिएका छैनन् । कवितामा वस्तुता नै विमल निभाको रचनात्मक प्रवृत्ति बनेको छ ।

कविहरु स्वभावैले भावुक हुन्छन् भन्ने गरिन्छ । कतिपयमा यो भनाइ लागू होला । आमरुपमा नहुन सक्छ । भावुकता कल्पनाशीलतासँग पनि जोडिन सक्ने भएकाले धेरथोर भावुकता सबैमा होला । तर कवि हुनकै लागि भावुक हुनु पर्ने वा अत्यन्तै भावुक मान्छेमात्र कवि हुन्छन् भन्ने कुरालाई सत्य मान्न सकिन्न । विमल निभा पनि भावुक छन् तर कमैमात्र । अर्थहीन भावुकता उनमा छैन । भावुकता निरर्थक पनि हुन्छ । त्यस्तो निरर्थक भावुकता उनमा पाइँदैन । उनमा भावुकताभन्दा पनि तीव्रतर संवेदनशीलता र उच्चतर कल्पनाशीलता पाइन्छ । त्यसैले उनका कवितामा भावनाको प्रवाह भए पनि भावुकताको अभिव्यक्ति पाइँदैन ।

कवितामा विमल निभाको विशेषता चिन्तनशीलता पनि हो । उनको चिन्तनशीलता कतै विचारमा प्रखर छ भने कतै अलि सुषुप्त । उनको चिन्तनशीलता भनेकै विचारशीलता हो भन्ने पनि लाग्छ । किनकि उनी विचारप्रति यति सचेत छन् कि उनको संवेदनशीलतामा पनि विचार हुन्छ, उनको कोमलतामा पनि विचार हुन्छ, भावुकतामा पनि विचार हुन्छ, भावसंवेदनामा पनि विचार नै हुन्छ । विचारलाई कवितामा कुन ढङ्गले प्रस्तुत गर्ने भन्ने उनको आफ्नै शिल्प छ । त्यो शिल्प शक्तिशाली भएकैले उनका कविताका विचारहरु पनि कलात्मक बन्न पुगेका छन् ।

आफ्नो मूल मान्यता माक्र्सवाद भएकैले विमल निभा शोषण, उत्पीडन, अन्याय, असमानताको विरुद्धमा रहेका छन् । उनी क्रान्ति र परिवर्तनको पक्षमा उभिएका छन् । लेखनमा मात्र हैन, व्यवहारमा पनि उनी निरन्तर सङ्घर्षमा सामेल हुँदै आएका छन् । उनको त्यो सङ्घर्ष उनका सिर्जनाहरुमा पनि अभिव्यक्त भएको छ ।

विमल निभा देशभक्त कवि हुन् । उनी देशलाई माया गर्छन् । राष्ट्रिय स्वाधीनताका भावनाहरुलाई उनले आफ्ना कवितामा समेटेका छन् । राष्ट्रिय स्वतन्त्रता र स्वत्वबोधका पक्षमा विमलको कलम निर्भीक छ । जनता, सङ्घर्ष, बलिदान वा मुक्ति जे भने पनि त्यहाँ देशको माया जोडिएको कुरा उनी गर्छन् । प्रेम, समानता, प्रगति वा न्याय, जे सुकै कुरा गरे पनि त्यो पनि देशकै माया भएको भावना उनी पोख्छन् । देश भनेकै एउटा देशभक्तको जीवन हो र जीवन भनेकै देशको नाम हो भनेर उनी देशभक्तिको उच्चतम चिन्तनलाई समेट्छन् । विमल निभा सबै किसिमका माया, मोह, त्याग, बलिदान, सङ्घर्ष, युद्ध र मुक्तिलाई देशसँग जोड्छन् , देशको मायासँग गाँस्छन् ।

कृत्रिमताको विपक्षमा छन् विमल निभा । उनी विषय, प्रस्तुति र भाषाशैलीमा अकृत्रिम छन् ।  स्वाभाविक विषय, प्रस्तुति र भाषाशैली उनको लेखन प्रवृत्ति अन्तर्गतकै कुरा हुन् । उनमा भावाभिव्यक्तिको आफ्नै भाषा छ, आफ्नै शैली छ । उनको शिल्प मौलिक छ । उनी कवितालाई शब्द, वाक्य वा समग्र भाषाशैलीका कारण जटिल बनाउन चाहँदैनन् । उनी सरलता र सहजताका एक उदाहरण हुन् । ‘बनावटी कलाभन्दा प्राकृतिक कला रोचक हुन्छ’ भनेर महाकवि देवकोटाले भनेझैँ कवि विमल निभा पनि त्यही नै मान्यतामा देखिन्छन् ।

भावअनुसारको भाषा वा भाषाअनुसारको भाव उनका कवितामा पाइन्छ । भाषाको अतिरञ्जनाबाट भावलाई अत्युक्तिपूर्ण बनाउने काम उनी गर्दैनन् । उनले भाषाशैलीको प्रयोगमा पनि आफ्नोपनलाई स्थापित गरेका छन् । उनको भाषा जादूमय छ जसले कविताको भावोत्कर्षतामा प्रभाव पारेको हुन्छ ।

माक्र्सको उदय हुनुभन्दाअघि नै ‘इङ्ल्यान्डका मानिसप्रति गीत’ जस्ता विद्रोही कविता लेख्ने पर्सी विस शेलीजस्ता कविको जन्म नभएको होइन । दान्ते, सेर्भान्तेस, गेटे, सेक्सपियर, बाल्जाक र लगत्तैका चाल्स डिकन्स, वाल्ट ह्विटमैन, गुस्ताभ फ्लोबेअर, फ्यदोर दास्तोएभ्स्की, हेनरिक इब्सन, लियो टाल्सटाय आदिको पनि आ–आफ्नै खालको प्रगतिशील भूमिका पाइन्छ । यद्यपि साहित्यका क्षेत्रमा सैद्धान्तिक दृष्टिले स्पष्ट दिशाबोध गराउने काम कसैबाट भएको थिएन ।

माक्र्सको उदयपछि राजनीतिसँगै कला, साहित्य र संस्कृतिका क्षेत्रमा पनि नयाँ अवधारणाको जन्म भयो । साहित्यलाई राजनीतिसँग जोडेर व्याख्या–विश्लेषण गर्ने र स्पष्ट दिशाबोध गर्ने काम व्यवस्थित रुपमै सुरु भयो । माक्र्स÷एङ्गेल्स राजनीतिक सिद्धान्तकार र दार्शनिक मात्र थिएनन्, किशोर अवस्थासम्म आफैँ पनि कविता लेखनमा रुचि राख्थे र कला–साहित्यका मर्मज्ञ पनि थिए । कला–साहित्यका क्षेत्रमा माक्र्स÷एङ्गेल्सले पूर्ण र आंशिक रुपमा जे जति अभिव्यक्तिहरु दिएका छन् तिनले उनीहरुको त्यसप्रतिको गम्भीर सरोकारलाई व्यक्त गरेको पाइन्छ । कला–साहित्यसम्बन्धी उनीहरुका मान्यता कलात्मक आग्रहका दृष्टिले आफैँमा उल्लेखनीय छन् ।

कला साहित्यलाई वर्गहरुको बीचमा वैचारिक सङ्घर्षको महत्वपूर्ण हतियार मान्ने मानवचिन्तनसम्बन्धी द्वन्द्ववादी दर्शनका प्रतिपादक माक्र्स ‘कला कलाका लागि’ ठान्ने बुर्जुवा चिन्तनविरुद्ध जति कठोर छन् , कुनै पनि रचना वा रचनाकारको मूल्याङ्कनका विषयमा भने निकै उदार पनि छन् । विशेषतः कला–साहित्यका रचनाहरुको मूल्याङ्कनमा माक्र्सको सोचाइ निकै फराकिलो देखिन्छ । कुनै पनि रचनालाई विचारका हिसाबले मात्र होइन, कलाका दृष्टिले पनि मूल्याङ्कन गर्ने काम माक्र्सले गरेका थिए । बाल्जाक र जोलाको मूल्याङ्कनका सन्दर्भमा उनको मूल्याङ्कनलाई एउटा उदाहरणका रुपमा लिन सकिन्छ ।

दान्तेको एउटा भनाइ छ – ‘तिमी आफ्नो बाटोमा लाग, मान्छेहरु जे मन लाग्छ, भन्दै गरुन् ।’ यही भनाइबाट कार्ल माक्र्सले ‘पुँजी’को भूमिकाको अन्त गरे । माक्र्स दान्तेलाई प्रतिभाशाली कवि र विचारकका रुपमा लिन्छन् । उनले दान्तेलाई गेटे, एस्खिलुस र शेक्सपियरजस्तै आफ्ना प्रिय लेखकको पङ्क्तिमा राखेको पाइन्छ । माक्र्सले स्पेनका उपन्यासकार, ‘डान क्विजोट’ का लेखक सेर्भान्तेसलाई सर्वोच्च तहमा राख्ने गरेका थिए । जर्मन लेखक गेटे, फ्रेन्च लेखक बाल्जाक र अङ्ग्रेज लेखक शेक्सपियरको चर्चा माक्र्सले ठाउँठाउँमा गरेका छन् । यी तीन उनका सबैभन्दा प्रिय लेखक थिए । उनी बाल्जाकबारे भन्छन् – ‘जब म ओछ्यानमा पल्टन्थेँ तब बाल्जाकलाई छोडेर मैले अरु केही पढिन र यी विलक्षण बुढाका रचनाहरु पढेर अत्यन्तै आनन्द प्राप्त गरेँ ।’ अङ्ग्रेजी साहित्यमा माक्र्सका सबैभन्दा प्रिय लेखक शेक्सपियर थिए । फ्रान्सेली विचारकका रुपमा चिनिएका देनी दिद्रोका विचारसँग माक्र्स पटक्कै सहमत थिएनन् । तर उनको उपन्यास ‘रामोको भतिजो’ बाट माक्र्स अत्यन्तै प्रभावित थिए । यो उपन्यासलाई उनले ‘अनुपम कृति’ को संज्ञा दिएका थिए ।

यी केही उदाहरण मात्र हुन् । माक्र्स विचारमा मात्र होइन कलाप्रति पनि कति सचेत थिए भन्ने कुरा यी उदाहरणहरुबाट स्पष्ट हुन्छ । कुनै पनि लेखक र उसका कृतिको मूल्याङ्कन गर्दा कला पक्ष होइन, विचार पक्षकै मात्र पक्षपोषण गर्ने गरेको भए माक्र्सले बाल्जाक होइन, जोलाको प्रशंसा गर्ने थिए । किनभने जोला कम्युनिस्ट थिए । त्यस्तै दान्ते, सेर्भान्तेस, गेटे, एस्खिलुस, शेक्सपियरजस्ता लेखक पनि उनको प्रशंसामा पर्ने थिएनन् । यसले साहित्यबारे माक्र्सको फराकिलो दृष्टिकोणलाई झल्काउँछ ।

अग्रगामी चिन्तन, क्रान्तिकारी भावना, यथास्थितिप्रति विद्रोह, वर्गीय चेतना, शोषण–उत्पीडनको विरोध,  सामाजिक न्याय, आमूल परिवर्तन र मुक्तिप्रतिको प्रतिबद्धतापूर्ण उद्बोधन नै माक्र्सवादी साहित्यका मूल प्रवृत्तिहरु हुन् । यी कुरालाई व्यक्त गर्ने कविहरुको आआफ्नै कला हुन्छ, शिल्प हुन्छ । प्रगतिवादका मूलभूत विशेषताहरुलाई बोकेर तिनलाई कवितामा व्यक्त गर्ने कुरामा विमल निभाले आफ्नो क्षमता, कला र शिल्पलाई प्रभावपूर्ण ढङ्गले प्रस्तुत गरेका छन् । विचारलाई कलाले कसरी सजाउन सकिन्छ भन्ने क्षमताको प्रदर्शन उनले आफ्ना कवितामा गरेका छन् ।

पहिलोपटक २०४० सालमा प्रकाशित आगोनेर उभिएको मानिस विमल निभाको पहिलो कविता सङ्ग्रह हो । यस सङ्ग्रहमा तीस वटा कविता सङ्गृहीत छन् । कवि विमल निभाका अहिलेसम्मका कृतिहरुमध्ये उनका सिर्जनालाई वैचारिक दृष्टिले मुखरित गर्ने सन्दर्भमा प्रस्तुत सङ्ग्रह निकै सशक्त छ । यस सङ्ग्रहले नै कवि विमल निभालाई प्रगतिवादी कविको रुपमा चर्चित बनाएको छ । आफ्नो धरातल कहाँ हो र आफ्नो सिर्जनात्मक मान्यता के हो भन्ने कुरामा उनी खुलेरै व्यक्त भएका छन् यस सङ्ग्रहमा ।

यस सङ्ग्रहले विमल निभाका केही खास विशेषताहरुलाई उजागर गरेको छ । यस सङ्ग्रहका कविताका आधारमा भन्नै पर्ने हुन्छ – विमल निभा विचारका कवि हुन् । उनी कलाका कवि हुन् । उनी क््रmान्तिकारी कवि हुन् । उनी व्यङ्ग्य–कवि हुन् । उनी बिम्ब–कवि हुन् । उनी विचार र कलाको संयोजनमा अत्यन्तै सिपालु काव्य–कर्मी हुन् । उनी कविता–कर्मका एक विशिष्ट शिल्पी हुन् । उनी माक्र्सवादी कवि हुन् । उनी कविताका एउटा मानक हुन् । समष्टिमा समकालीन कविताका एक नायक हुन् – विमल निभा ।

आगोनेर उभिएको मानिसमा सामाजिक विषयका कविता छन्, राजनीतिक विषयका कविता छन्, दुःखका कविता छन्, पीडाका कविता छन्, श्रमका कविता छन्, क्रान्तिका कविता छन्, घृणाका कविता छन्, क्रुरता विरुद्धका कविता छन्, देशप्रेमका कविता छन्, जनप्रेमका कविता छन् । समग्रमा यस सङ्ग्रहमा जीवन र जगत्का कविता छन् । प्रगतिवादी चेतनामा उन्नत कविताहरुको सङ्कलन नै यस सङ्ग्रहको विशेषता हो । नाम, साथी जनार्दनलाई, कविता, जुत्ता, त्यो पनि हामीलाई दिनोस्, साइकल, भाषा, जीवन, टोल, जुम्ला, सूर्यलाई, वसन्त, इतिहास, शहीद, सूर्य र कविता, तिम्रो नाउँ जस्ता क्रान्तिकारी कविता यस सङ्ग्रहमा छन् । उनका यी कविताले सचेतनता, क््रmान्ति र परिवर्तनको माग गरेका छन् । उनले जनतामाथि विश्वास गरेका छन्, श्रमिक वर्गप्रति प्रतिबद्धता जनाएका छन्; कुण्ठा र निराशा होइन, न्याय, निष्ठा, सङ्घर्ष र त्यागलाई जीवनको उच्चतर गन्तव्य मानेका छन् ।

पञ्चायती कालमा राजनीतिक व्यवस्था र मन्त्रीहरुको विरोधमा लेख्नका लागि ठूलै साहस चाहिन्थ्यो । जेल, नेल र यातनाका डरले धेरै साहित्यकार तत्कालीन विकृति–विसङ्गतिका बारेमा समेत लेख्न डराउँथे । तर पनि प्रगतिवादी कविहरुले निरङ्कुशता र यथास्थितिवादका विरुद्ध धेरै लेखे । यद्यपि, राजतन्त्रकै विरुद्धमा लेख्ने आँट गर्नु निकै कठिन र खतरापूर्ण कुरा थियो । तर विमल निभाले त्यो खतरापूर्ण काम पनि गरे । उनी निर्भीक भएर राजतन्त्रकै विरुद्धमा समेत कविता लेख्न पुगे । उनले राजाका विरुद्ध छत्तीस सालमै लेखेको एउटा कविताको अंश यस्तो छ:

हिजो सडकमा हत्यारो
खुल्लमखुल्ला हातमा चक्कु लिएर
डुलिरहेको थियो
देख्नेहरु त भन्छन्
उसको कोटको माथिल्लो पकेटमा पनि
एउटा अर्कै चमकदार चक्कू थियो

हो, चक्कु किसिम–किसिमको हुन्छ
कुनै कुनै चक्कु त कलात्मक पनि हुन्छ
जस्तो कि बादशाहको हातमा
चम्किरहेको बुट्टेदार चक्कु ।

कवि विमल निभाका विचारमा सूर्य पनि कविता हो , कविता पनि सूर्य जस्तै हो । किनकि दुवैसँग उज्यालो छ , दुवैसँग प्रकाश छ र दुवैसँग रापिलो ताप पनि छ । दुवै अन्धकारको विरुद्धमा छन् । सूर्य र कविता दुवै अन्धाकारका कट्टर दुश्मन हुन् । सूर्य कलात्मक, भावपूर्ण र लययुक्त कविता हो भने कविता चम्किलो, तापपूर्ण र प्रकाशयुक्त सूर्य हो । कवि विमल निभा कविताको तेज र क्रान्तिकारी ध्वनिबाट सामाजिक परिवर्तन चाहन्छन् ।

कुनै बेला सामन्तवादका विरुद्ध पुँजीवाद प्रगतिशील थियो । सौन्दर्यचिन्तनमा पुँजीवादका सकारात्मक पक्षहरु ग्राह्य बने । सिर्जनामा पनि त्यसको प्रभाव प¥यो । पुँजीवाद आफैँ कुरुप बनेर साम्राज्यवादमा फेरिएपछि त्यसबाट सिर्जनाको क्षेत्र पनि अप्रभावित रहेन । सौन्दर्यचिन्तनका क्षेत्रमा माक्र्सवादी सौन्दर्यशास्त्रको सान्दर्भिकता युगीन सापेक्षता बन्न पुग्यो । त्यही सापेक्षतामा उपस्थित भएका छन् कवि विमल निभा । उनी पुँजीवादी कुरुपता विरुद्ध साम्यवादी सुन्दरताको धरातलमा उभिन पुगेका छन् । आगोनेर उभिएको मानिस उनको त्यही धरातलको अभिव्यक्ति हो ।

भाषा वा शब्दको आन्तरिक चलखेलबाटै कविताको निर्माण हुन्छ र त्यहाँ कवि गौण रहन्छ भन्ने कुरा  उत्तरआधुनिकतावादी सोच अन्तगर्तको मान्यता हो । कवि विमल निभा त्यस किसिमको सोचसँग  पटक्कै सहमत छैनन् । उनी कविताको निर्माणमा कवि नै प्रमुख रहने मान्यता राख्छन् । उनको मान्यताअनुसार कविताको भाषा, शब्द, शैली, अर्थ र अभिप्राय कविकै सीप र क्षमतामा भर पर्ने कुरा हो । जब कविता परिभाषाको बन्धनबाट मुक्त हुन्छ तब मात्र कविताले पूर्णता प्राप्त गर्छ भन्ने मान्यतासँग पनि विमल निभा सहमत छैनन् । किनभने उनी शब्द र शैलीको आग्रह मात्र राख्दैनन्, विचारको पनि आग्रह राख्छन् कवितामा । त्यस्तो आग्रह राख्ने कविले कवितालाई ‘परिभाषाको बन्धनबाट मुक्त’ राख्ने सोचाइ राख्दैनन् ।

विमल निभा साहित्यलाई विधागत मूल्यको रुपमा अस्वीकार गर्ने चिन्तनको पनि विपक्षमा छन् । साहित्यलाई विधागत अर्थमा नहेरी पाठका रुपमा मात्र हेर्ने कुरा पनि उत्तरआधुनिकतावादी सोच नै हो । यस्तो सोचसँग पनि विमल निभा सहमत छैनन् । विधागत मूल्यलाई अस्वीकार गर्नुको अर्थ कलाको विधागत अस्तित्वलाई नै अस्वीकार गर्नु हो । उनी कविता विधाका स्रष्टा भएकाले आफ्नो विधालाई नै श्रेष्ठ र सर्वोत्तम ठान्छन् । यो विधालाई विधा होइन ‘पाठ’ को रुपमा स्वीकार गरेर कविताको ओजलाई समाप्त पार्ने पक्षमा उनी छैनन् । उनी यो विधाको मूल्य र मान्यतालाई अझै बढाउने पक्षमा छन् । किनकि उनी कवितालाई सामाजिक चेतनाको विशिष्ट अभिव्यक्ति मान्छन् । त्यस्तो अभिव्यक्तिको विधागत मूल्य कहिल्यै लोप हुन सक्दैन । सामाजिक चेतनाको विशिष्ट स्वत्व कहिल्यै अस्तित्वहीन बन्दैन । कला साहित्यको कर्म भनेकै जीवन र जगत्को सौन्दर्यात्मक बोध हो । माक्र्सवादी सौन्दर्यशास्त्रले श्रमलाई नै कलाको स्रोत र सामाजिक चेतनाको विशिष्ट अभिव्यक्ति मानेको सन्दर्भमा कला साहित्यले यथार्थको प्रतिबिम्बन मात्र गर्दैन प्रतिबिम्बित यथार्थको पुनर्सिर्जना पनि गर्दछ । यसले पुरानो अवस्थाको मात्र कुरा गर्दैन, नयाँ भविष्यको पनि कुरा गर्दछ । हिजो र आजलाई मात्र हेर्दैन, भोलिलाई पनि हेर्छ । परिवर्तन र आमूल परिवर्तनको चेतना हो कला साहित्य । कला साहित्यभित्रकै एउटा शक्तिशाली विधा हो कविता । त्यही चेतनाको अभिव्यक्तिको रुपमा रहेको कविता आफ्नो स्वत्व गुमाउने हैसियतमा रहनै सक्दैन । विमल निभा कविताको स्वत्वलाई समाप्त गर्ने मान्यतालाई अस्वीकार गर्छन् । कविताको जीवन र जगत्प्रतिको दायित्वलाई स्वीकार नगर्ने मान्यतालाई उनी बहिष्कार गर्छन् ।  आगोनेर उभिएको मानिस सामाजिक जिम्मेवारीका साथ उनले अङ्गीकार गरेका यिनै विचारहरुको प्रखर अभिव्यक्ति हो ।

रचना, संरचना, सिर्जना, चिन्तन, सौन्दर्यजस्ता कुराहरु मूल्य निर्माणसँग जोडिएका हुन्छन् । क्रान्ति र शान्ति पनि मूल्य निर्माणसँगै जोडिएका छन् । परिवर्तन, अग्रगमन र रुपान्तरण पनि मूल्य निर्माणसँगै जोडिएका कुरा हुन् । सिर्जनामा यथास्थितिका विरुद्ध अग्रगमनको सोच नै मूल्य निर्माण हो । कुरुपता विरुद्ध सुन्दरताको वकालत नै मूल्य निर्माण हो । क्रान्ति र परिवर्तनसँग सौन्दर्य जोडिएको हुन्छ । सौन्दर्यचिन्तनको यात्रा आफैँमा मूल्य निर्माणको यात्रा हो । आगोनेर उभिएको मानिस कवि विमल निभाको त्यही मूल्य निर्माणको यात्रामा उभिएको कृति हो ।

कलामा एउटै मात्र विशेषता हुँदैन,अनेकौँ विशेषताहरु हुन्छन् । ती सबै विशेषताहरु साहित्यको कुनै एउटा रचनामा संस्थापित गर्न सम्भव छैन । कुनै एउटा सिङ्गो कृतिमा पनि सम्भव छैन । एउटा विधामै पनि सम्भव छैन । विभिन्न विधाअनुसार कलाको संयोजन गर्ने कार्य आफैँमा कठिन छ । त्यसमा पनि कविता विधामा त झनै कठिन छ । तर त्यो कठिन काम पनि सजिलै पूरा गरेका छन् विमल निभाले । कलाका विशेषताहरुको व्यवस्थापन उनका कवितामा प्रभावपूर्ण ढङ्गबाट भएको छ । कलाका गुण र विशेषताहरुको स्थापनाका दृष्टिले पनि उनका कविता उदाहरणीय छन् । मान्छेको कला–चेतना जस्तो छ, उसले त्यस्तै कलाको कल्पना गर्दछ । कला–चेतनाले कल्पना गर्ने कला असुन्दर र कुरुप हुँदैन । त्यो सुन्दर हुन्छ र प्रभावशाली हुन्छ । साहित्यमा हाम्रो कला–चेतनाले त्यस्तै आग्रह गरेको हुन्छ – सुन्दर र प्रभावशाली कृतिको आग्रह । त्यो आग्रहको सम्मान गर्ने काम विमल निभाले यस कविता–कृतिमा गरेका छन् ।

शारीरिक र गुणगत हिसाबले मान्छेको परिचय अनेक ढङ्गले दिन सकिएला । तर पनि प्रमुख रुपमा मान्छेको परिचय भनेको विचार हो । विचार मान्छेमा मात्र हुन्छ । अन्य कुराहरु जस्तै भोक, निद्रा, दुःख, सुख, क्रोध, लोभ, आनन्द, पीडा, रोग, मृत्यु आदिलाई मान्छेले मात्र होइन पशुपन्क्षी र जनावरहरुले पनि भोगेका हुन्छन् । तर मान्छेमा जस्तो विचार उनीहरुमा हुँदैन । विचारकै कारण मान्छेले मानवीय मूल्य र परिचय निर्माण गरेको हुन्छ । कविताको निर्माण पनि विचारकै कारण हुन्छ । यो कुरालाई विमल निभाले  महसुस गरेका छन् । कवि विमल निभाले विचारकै आधारमा मानवीय मूल्यको कविता रचनालाई आफ्नो रचना–कर्म ठानेका छन् भन्ने कुरालाई पनि यस कविता–कृतिले पुष्टि गरेको छ । यो कृति मानवीय मूल्यकै काव्यात्मक अभिव्यक्ति हो ।

प्रगतिवादी साहित्यमा एउटा आरोप लाग्दै आएको छ । त्यो आरोप हो – प्रगतिवादी साहित्यमा कोरा विचारमात्र पाइन्छ , शोषक र शोषितको द्वन्द्वमा शोषितको पक्ष लिई शोषकलाई खत्तम गर्ने र शोषित वर्गलाई विजयी बनाउने एकै खालको ढर्रामा प्रगतिवादी साहित्य रहेको छ । यस्तै यस्तै ढर्रामा प्रगतिवादले साहित्यलाई नाराका रुपमा सूत्रबद्ध गर्ने गरेको छ ।

विशेषगरी माक्र्सवादका विरोधीहरुबाट लाग्दै आएको यस किसिमको आरोपमा एकाध सत्यता रहेको होला । तर त्यसैलाई लिएर सिङ्गो प्रगतिवादी आन्दोलनलाई नै कोरा विचार वा नाराका रुपमा प्रस्तुत गर्नु दूराग्रही कुरा हो । किनभने माक्र्सवादको उदयदेखि नै प्रगतिवादी साहित्यकारहरुले नवीन सन्दर्भको खोजी गर्दै आएका छन् । कलात्मक दृष्टिले विश्वचर्चित र विश्वसाहित्यमै सर्वाधिक उत्कृष्ट कृतिहरुको रचनासमेत माक्र्सवादी साहित्यकारहरुबाट भएको छ । माक्र्सवाद आफैँ गतिशील विज्ञान हो । आफ्नो गतिशील विशेषताकै कारण यसले कलामा पनि गतिशीलता खोज्छ । कलामा गतिशीलता खोज्नुको अर्थ त्यसको शक्ति र आकर्षणमा नवीनताको खोजी गर्नु हो । त्यस्तो खोजी गर्ने माक्र्सवादी लेखक–साहित्यकारहरुको पङ्क्ति निकै ठूलो छ र शक्तिशाली पनि छ । कवि विमल निभा माक्र्सवादी कलामा त्यस्तै नवीनताको खोजी गर्ने कवि हुन् । जीवन र जगत्को सौन्दर्यात्मक प्रतिबिम्बन नै कला हो भन्ने मान्यतालाई उनले आत्मसात गरेका छन् । उनका विचारमा श्रमको प्रक््िरmयामा जीवनको कलात्मक पुनरुत्थान नै कला हो । चेतना, अनुभूति, आवेग र कल्पनाशीलतामै कला प्रतिबिम्बित हुन्छ । कलात्मक बिम्बको अनुचिन्तनमा सामेल भएर र कलात्मक प्रतिबिम्बनको प्रक््िरmया पूरा गरेर विमल निभा कलाको निर्माण गर्छन् । कलाको निर्माणसँगै उनले कविताको रचना गरेका छन् । आमाको सपनाका रिमाल र घुम्ने मेचमाथि अन्धोमान्छेका भूपीजस्तै  कलाका तीक्ष्ण कालिगढ बनेका छन् विमल निभा आगोनेर उभिएको मानिसमा ।

‘साहित्य भोजनालय हो भने राजनीति शौचालय हो’ भन्ठान्ने र ‘साहित्य राजनीतिबाट अलग्गै रहन्छ’ भन्नेहरुका लागि विमल निभा एउटा चुनौती बनेर खडा भएका छन् । किनभने उनी राजनीतिलाई नै सबैभन्दा महत्वपूर्ण कुरा ठान्छन् । उनी साहित्यमा पनि राजनीतिलाई नै सबैभन्दा महत्वपूर्ण विषय मान्छन् । राजनीतिक विषयहरु कसरी कविताका विषय बन्न सक्छन् भन्ने कुरालाई उनले आफ्नो शैलीगत विशेषतासहित प्रस्तुत गरेका छन् । राजनीति कसरी कविताको विषय बन्न सक्छ भन्ने एउटा जवर्जस्त उदाहरण हो – आगोनेर उभिएको मानिस । यस सङ्ग्रहका आधारमा राजनीतिक–कविता उनको विशेषता नै हो । तर त्यो विशेषता कलापूर्ण छ, विचारपूर्ण छ र व्यङ्ग्य–वाणहरुले भरिपूर्ण छ । कलाहीन विचार र विचारहीन कलाका विपक्षमा छन् विमल निभा । राजनीतिक कविताको कलात्मक अभिव्यक्तिमा उनले नवीनता स्थापित गरेका छन् । कवितामा आफ्नो यही विशेषताका कारण पनि उनी चर्चित छन् । नेपाली समाजको वास्तविकतालाई विशेषतः राजनीतिक परिदृश्यलाई नियाल्ने उनको दृष्टि निकै सूक्ष्म छ । त्यो कतै सामान्य रुपमा व्यक्त भएको छ , कतै असामान्य रुपमा । उनी सामान्य ढङ्गले नियाल्छन् तर विशेष ढङ्गले अभिव्यक्त गर्छन् ।

समाजमा कलाभन्दा पहिले श्रम रहेको र श्रमबाट नै कलाको सिर्जना भएको विश्लेषण प्लेखानोभको छ । यस्तै अर्नेस्ट फिसरले पनि कला र श्रमको विश्लेषणमा त्यही कुरालाई दोहो¥याएका छन् । कलाको सिर्जनामा श्रमको महत्वबारेमा धेरै विद्वान्हरुले प्रस्ट्याएका छन् । यसै प्रसङ्गमा कडबेलले कविता (साहित्य) को चर्चा गर्ने सन्दर्भमा कवितालाई समाजरुपी सिपीबाट उत्पन्न मोती मानेका छन् । उनले कवितालाई मानव मनको प्राचीनतम कलात्मक व्यापार मान्दै यसको जन्मको आधार समाज नै भएको निष्कर्ष प्रस्तुत गरेका छन् । कडबेलले भनेजस्तै विमल निभा समाजरुपी सिपीबाट मोती उत्पन्न गराउँछन् । यस सङ्ग्रहका कविता तिनै सिपी हुन् जसमा सामाजिक चेतनाको रुप पनि छ र श्रमबाट सिर्जित कला पनि छ ।

आगोनेर उभिएको मानिसभित्र विमल निभा यथार्थमा उभिएका छन् । तर उनको यथार्थ लुनाचास्र्कीले भनेजस्तै गतिशील छ । त्यो यथार्थ स्थिरतावादी र गतिहीन छैन । यथार्थलाई एउटा कार्यभारका रुपमा र विकासशील सङ्घटनाका रुपमा बुझेका छन् विमल निभाले । हाबर्ड फास्टको मान्यताजस्तै नयाँ मापदण्डहरुको प्रयोगमा विमल निभाका कविताले मान्छेलाई समुन्नत जीवनतर्फ अग्रसर गराउँछन् । परिवर्तनतिर प्रेरित गर्छन् । उनका कविता संसार बदल्ने कुरा गर्छन् । यो उनको स्वप्नमात्र होइन । उनी स्वयं त्यो सङ्घर्षमा सामेल हुँदै आएका छन् ।

माक्र्सवादी दर्शनमा सौन्दर्यशास्त्रका आफ्नै सिद्धान्तहरु छन् । मानिस, समाज, विचार, जीवन, श्रम, गति, चेतना, चिन्तन आदिसँग ती सिद्धान्तहरु गाँसिएका छन् । माक्र्सवादले श्रम, वर्ग सङ्घर्ष, श्रमको शोषण, मुक्तिको सिद्धान्तजस्ता विषयको संश्लिष्ट अङ्गका रुपमा सौन्दर्यशास्त्रलाई लिएको छ । माक्र्सवादको यही मान्यतालाई आत्मसात गर्छन् विमल निभा । वर्ग, वर्ग सङ्घर्ष, विचार र चेतनाको अभिव्यक्तिमा उनका कविता माक्र्सवादी सौन्दर्यशास्त्रको कसीमा माझिएका छन् । माक्र्सवादी सौन्दर्यशास्त्रले प्रकृति, मानवजीवन र कलामा रहेको सुन्दरताको अध्ययन गर्दछ । विमल निभा त्यही सुन्दरताको अभिव्यक्तिमा कविताको रचना गर्दछन् । उनको प्रस्तुत सङ्ग्रहका कविता माक्र्सवादको त्यही सौन्दर्यशास्त्रमा संरचित छन् ।

नेपाली गद्य कवितामा परम्परा र प्रयोग दुबै प्रचलित छन् । रिमाल र भूपीको आरम्भ पनि प्रयोग नै थियो । त्यो आरम्भ एउटा परम्परा नै बन्यो । त्यही नै परम्परामा देखापरेका विमल निभा त्यही नै परम्परामा मात्र सीमित भने छैनन् । उनले पनि केही नवीनता भिœयाएका छन् । कविताको संरचनालाई सहज बनाउनु र बिम्बहरुलाई शिल्पकै रुपमा स्थापित गर्नु विमल निभाको निजी विशेषता हो । त्यो पनि नेपाली कवितामा एउटा सफल प्रयोग बन्न पुगेको छ । आधुनिक नेपाली कविताको परम्परा र प्रयोग दुवैको संयोजनमा सफलतापूर्वक उभिएका छन् उनी । परम्पराका कतिपय अर्थहीन सीमाहरु भत्किरहेको र प्रयोगका कतिपय निरर्थक मान्यताहरु निष्फल बन्दै गएको अवस्थामा विमल निभा दुवैको सार्थक संयोजनमा सफल कवि हुन् ।

नेपाली कवितामा युगीन संवेदनालाई प्रखर ढङ्गले अभिव्यक्त गरे कवि गोपालप्रसाद रिमालले । यी कविको क््रmान्ति र परिवर्तनको आह्वानमा साथ दिने काम अरु धेरै कविले गरे । त्यही पङ्क्तिमा उदाएका भूपी शेरचनले नेपाली कवितालाई वैचारिक धरातलबाट उठाएर परम्परा र प्रवृत्तिमा नयाँ मोड  ल्याए । उनी साम्यवादी रहुञ्जेलसम्म कवितामा निकै शक्तिशाली रहे । तर उनी आफ्नो धरातलबाट चिप्लिने बित्तिकै वैचारिक विचलनसँगै उनी कवितामा पनि स्फुरणरहित बन्न पुगे । त्यसरी, उनी विचलित बने पनि उनका त्यस अवधिका कविताले नेपाली कविता परम्परामा जुन मोडलाई स्थापित गरेको छ, त्यस मोडमा लामबद्ध कविहरुको पङ्क्ति निकै ठूलो छ र त्यो निकै शक्तिशाली पनि छ । रिमाल र भूपीको त्यही परम्परा र प्रवृत्तिको पङ्क्तिमा उभिने कवि धेरै छन् । तीमध्येका एक अग्रणी कवि हुन् विमल निभा ।

मानवजीवन र समाजलाई कविताले कसरी स्पर्श गर्ने भन्ने बारेमा हिजो पनि बहस थियो । त्यो बहसमा प्रगतिशील कविहरु नै अगाडि रहे । जीवनलाई छुने कवितामा उनीहरु नै सफल भए । रिमाल, भूपीेलगायतका धेरै कविहरु उदाहरणका रुपमा प्रस्तुत भए । समकालीन कवितामा पनि जीवन र जगत्का पक्षमा लेख्ने कविहरु धेरै छन् र तिनीहरु शक्तिशाली पनि छन् । रिमाल र भूपीको परम्परामा समकालीन कविताको नेतृत्वमा विमल निभा उभिएका छन्  । एउटा सशक्त प्रगतिवादी कविका रुपमा मात्र उनी स्थापित छैनन्, कवितामा समकालीन स्वरहरुको नेतृत्व गर्नेमा पनि उनी नै प्रभावशाली देखिएका छन् ।

विद्रोही रिमाल,साम्यवादी रहुञ्जेलसम्मका भूपी र माक्र्सवादी विमल निभा फरक–फरक कालखण्डका प्रतिनिधि कवि हुन् । यी तीन जनाको समय फरक छ, सामाजिक परिवेश पनि केही फरक नै छ र राष्ट्रिय चेतनाको स्तर पनि अलि फरक नै छ । सिर्जनात्मक दृष्टिले केही निजी विशेषता हुँदाहुँदै पनि नेपाली कविताको एउटा परम्परा र प्रवृत्तिलाई अगाडि बढाउनमा यिनका बीच कतिपय समानता पनि छन् । रिमाल प्रगतिशील भावभूमिमा उदाए । भूपी साम्यवादी धरातलमा उभिएकै बेला कवि बने । विमल निभा माक्र्सवादी कविका रुपमा चर्चित छन् । रिमालले क््रmान्ति र परिवर्तनका पक्षमा बोले । भूपीले साम्यवादी क््रmान्तिकै पक्षमा लेखे । विमल निभा साम्यवादी क््रmान्ति र मुक्तिको पक्षमा लेखिरहेका छन् । रिमालले नेपाली कवितामा सफल गद्यको पहिलो प्रयोग गरे । त्यसलाई अझै नयाँ प्रयोगमा लगेर लोकप्रिय बनाउने काममा भूपी लागे । गद्य प्रयोगको लोकप्रियतासँगै त्यसलाई सुदृढ बनाउने काममा विमल निभा लागिरहेका छन् । रिमालले सरलताको खोजी गरे । भूपीले त्यसलाई अझै अगाडि बढाए । विमल निभा त्यसको व्यापकतामा सक््िरmय रहेका छन् । रिमालले गद्य कवितामा प्रतीकात्मक  अभिव्यक्तिलाई महत्व दिए । भूपीले प्रतीकात्मकतामा पनि टड्कारो अभिव्यक्तिलाई महत्व दिए । विमल निभा अभिव्यक्तिको त्यही शैलीलाई बलियो बनाइरहेका छन् । जनक्रान्तिलाई जून र त्यसका विरोधीलाई जडताको रुपमा लिने रिमाल सामाजिक खालका सरल प्रतीक, बिम्ब र उपमाहरुलाई रुचाउँछन् । ज्यादै सरल बिम्ब, उपमा र प्रतीकहरुको प्रयोग भूपीको विशेषता नै रह्यो । विमल निभा जटिल र नबुझिने बिम्ब, उपमा र प्रतीकहरुलाई बहिष्कार नै गर्छन् । रिमालले सामाजिक कुरीतिहरुप्रति छेड हान्ने नयाँ शैलीको सुरुवात गरे । भूपीले सामाजिक विसङ्गतिप्रति व्यङ्ग्यहरुको वर्षा नै गराएका छन् । विमल निभा कवितामा व्यङ्ग्यको त्यही प्रयोगलाई तीक्ष्णतासाथ अगाडि बढाइरहेका छन् । रिमालले कवितामा मान्छेको जीवनलाई बोके । भूपीले कवितामा जीवनको प्रतिनिधित्व गराए । विमल निभा जीवन र जगत्कै लागि लेखिरहेका छन् । कवितामा प्रचलित भावुक प्रेम र कुण्ठालाई तिरस्कार गर्दै रिमाल विचारको भूमिमा उभिएर यहाँ ‘लेनिन जन्माउनु छ’ भन्दै कवितामै बोल्न थाले । विचारकै मैदानबाट भूपी हो चि मिन्हलाई चिट्ठी लेख्न थाले । विचारकै जगमा उभिएर विमल निभा आफू कम्युनिस्ट भएकोमा गर्व गरिरहेका छन् । रिमालले विचारमात्र राम्रो लिएनन्, शैली पनि नयाँ लिए । भूपीले पनि राम्रो विचारलाई राम्रै शैलीबाट सजाए । विमल निभा त्यही राम्रो विचारलाई सुन्दर शैलीमा व्यक्त गरिरहेका छन् । समष्टिमा राम्रो विचार र नयाँ शैलीको संयोजन रिमालदेखि विमल निभासम्म एउटा परम्परा र प्रवृत्तिकै रुपमा स्थापित हुन पुगेको छ ।

नेपाली कवितामा विभिन्न प्रयोगका नाममा मनोगत प्रयोगहरु पनि भए । कवितालाई आफ्नो सम्प्रेषणीय विशेषताबाट च्युत गर्ने, दुरुह बनाउने र सामाजिक सरोकारभन्दा बाहिरको विषय ठान्ने प्रवृत्ति पनि नेपाली कवितामा देखियो । त्यस विपरीत कविताको सम्प्रेषणीयता, सरलता एवं सरसताका गुणहरुलाई संरक्षित गरेर कवितालाई सामाजिक चेतना, वर्गीय चिन्तन र अग्रगामी अभिव्यक्तिको रुपमा स्थापित गर्ने प्रवृत्ति पनि देखियो । अन्ततः यही नै प्रवृत्ति नेपाली कवितामा बढी सम्प्रेषणीय र प्रभावशाली बन्न पुगेको छ । यो त्यही प्रवृत्ति हो जुन रिमालबाट सुरु भएको थियो, त्यसलाई अर्को उचाइमा लैजाने काम भूपीले गरे । समकालीन कवितामा यो प्रवृत्तिलाई उजागर गर्ने कवि विमल निभाको कविता–कृति हो आगोनेर उभिएको मानिस । तीस वर्षअघि प्रकाशित यसै कृतिबाट विमल निभा रिमाल र भूपीको परम्परामा समाकालीन कविताको नेतृत्वमा उभिन पुगेका थिए ।

नेपाली कविताको समकालीन धारा अग्रगामी छ । यो नै अहिलेका कविताको मूलस्वर पनि हो । तर यसको शृङ्खला पनि रिमालका क््रmान्तिकारी कविताहरुबाटै सुरु हुन्छ । रिमालदेखि सुरुभएर विमल निभासम्म आइपुग्दा नेपाली कविताको अग्रगामी स्वरले अझै उत्कर्ष र व्यापकता पाएको छ । नेपाली कविताको समकालीन स्वर समाज र समयलाई प्रभावित गर्नसक्ने हैसियतमा रहेको छ ।       आजपर्यन्त माक्र्सवादी विचारमा बाँच्न सकेकामा गर्व गर्ने कवि विमल निभा समकालीन नेपाली कविताको नेतृत्वमा रहेर अग्रगामी स्वरलाई नयाँ शक्तिशाली बनाउने सिर्जनामा सक््िरmय छन् । रिमाल र भूपीको परम्परामा समकालीन कवितामा उनले एउटा मानक स्थापित गरेका छन् । उनको त्यही मानक अभिव्यक्ति हो – आगोनेर उभिएको मानिस । यस कृतिलाई माक्र्सवादी कविताको एउटा मानक प्रस्थापनाका रुपमा लिनु पर्छ । यस कृतिमा विमल निभा एउटा माक्र्सवादी कविका रुपमा प्रस्तुत भएका छन् । नेपाली प्रगतिवादी आन्दोलनमा क्रान्तिकारी कविताहरुको एउटा प्रभावशाली सिर्जनाका रुपमा यो कृतिको महत्व स्थापित छ ।

विमल निभा र कविता ! कविताका लागि विमल निभा र विमल निभाका लागि कविता – यो स्थापित प्रभाव हो । आफ्ना खास विशिष्टताकै कारण कविताको पर्यायका रुपमा उनी उभिएका छन् । समकालीन नेपाली कवितामा विमल निभाको प्रभाव–बिम्ब एउटा नायककै रुपमा स्थापित बन्न पुगेको छ ।

पूर्वाग्रह–दुराग्रहको दृष्टि विद्यमान रहँदारहँदै पनि कवि विमल निभाको प्रभाव समकालीन नेपाली कवितामा निकै दर्बिलो बनेको छ । उनले आफ्नो वैचारिक प्रतिबद्धताको वकालत निरन्तर गरिरहँदा र आफ्नो वैचारिकताको रक्षाका लागि कविताबाटै कडा प्रतिवाद गरिरहँदा पनि उनलाई अस्वीकार गर्ने हिम्मत कसैले गर्न सकेको छैन । कवितामा उनको शक्तिशाली उपस्थितिकै कारण उनलाई पूर्वाग्रही आँखाले हेर्न र उनको क्षमतालाई न्यून आँक्न चाहनेहरु आफैँ निर्बल बनेका छन् । यसबाट नै विमल निभाको बलशाली र अपरास्त कवि–व्यक्तित्वको आकलन गर्न सकिन्छ ।

(कवि विमल निभाको कविता संग्रह आगोनेर उभिउको मानिसको भूमिकाबाट)

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.