~अविरल थापा~
तलव,
नपाएर सय दिन पुगेको उपलक्ष्यमा
एक विहान
उसले आत्मविद्रोह गर्ने
विचार गर्यो
र
लेख्न बस्यो
आजसम्म लेख्न
नसकेको समाचार
आजसम्म
लेख्न नसकेको आत्मपीडा
र
लेख्यो हेडलाइन्
भोकभोकै मर्दैछन् पत्रकार
समाचार सार यस्तो थियो
घरबेटीहरु
साँढे भएका छन्
श्रीमतीहरु
कालीमाता भएका छन्
प्रेमिकाहरु
लोडसेडिङ्ग भएका छन्
पसलेहरु
पञ्चायतकालका
मुखिया भएकाछन्
भट्टी साहुनीको
हाँसोमा मादकता छैन
सागको सुकुटी सकिएको पनि
एक हप्ता भइसक्यो
छिमेकीका प्रेसरकुकरहरु
हरेक विहान
टियर ग्याँस फ्याँक्छन्
र
रुवाँउछन् मेरा निर्दोष
छोराछोरीलाई
हाकिमको अनुहार
र बाउको अनुहार
उस्तै लाग्छ
दुवैले चाहेको बेला कहिल्यै
पैसा दिएनन्
बाउ पढदै जा भन्थे
हाकिम लेख्दै जा भन्छ
कस्को लेखिएनर समाचार
जिन्दगीमा आफ्नो बाहेक
कस्को देखिएनर अत्याचार
जिन्दगीमा आफ्नो बाहेक
पहिला यो कलम
हतियार
जस्तो लाग्थ्यो
आजकल
निगालोको ठूटो जस्तो लाग्छ
भो अब लेख्दिन
समाचार
र गर्दिन
आत्मघात
पछि लाग्दिन
भाषण गर्ने जुकाहरुको
र गर्दिन
अक्षरहरुको खेती
बाँझा पन्नाहरुमा
र
गर्दिन बलात्कार
मेरा कुमारी सपनाहरुको ।