~रुमानी राई~
सबभन्दा पीडा त,
घर छोड्नुमा रहेछ ।
तेसो त,
घर कसले पो छोड्दैन र ?
जस्तो की,
कोही साहु छल्न घर छोड्छन्
कोही कमाउनलाई छोड्छन् घर /
कोही,
बाबा-आमालाई दङ्याएर छोड्छन् घर
कोही,
श्रीमानलाई तर्साउन माइत पुग्छन् छोडेर घर
कोही,
श्रीमती छल्दै कान्छीको भट्टी
धाउँछन् घर छोडेर ।
छोड्न त,
चराहरुले पनि छोड्छन् आफ्नो गुँड
जानावरहरुले पनि आफ्नो बास्स्थान छोड्छन् ।
हो,
घर छोडेर
यात्रामा निक्लिसके पछि
गन्तव्य नभेटिएसम्म
जो कोहीले पनि केही समय छोडिन्छ घर
जस्तो की,
नदीहरु बगिरहन्छन् समुंद्र भेट्नलाई
र, बादलहरु बर्सिन्छन् आकासबाट
वर्षात बनेर धर्ती चुम्नलाई ।
वास्तवमा,
घर छोड्नु – घर छोड्नुमात्र होइन रहेछ
घर छोड्नु – घरदेखि टाढिनु पनि रहेछ
र, घर छोड्नु – घर छोडिनु मात्र होइन रहेछ
घर छोड्नु – घरसंग अझ नजिकिनु पनि रहेछ ।
घर छोडेपछि,
घरसंगै छोडिदारहेछन्
जीवनका केही सुन्दर आयामहरु
र, छोडिदारहेछन् आफ्नै हातले सुम्सुम्याएका
आफ्नै लाग्ने प्याराप्यारा चिजहरु
जस्तो की,
जब मैले घर छोडें
त्यही घर-आँगनमै छोडिए
उमेर निख्रिदै गएका मामा-पापाको बुढेसकाल
आफैले हुर्काएका वैशालु भाइबहिनीहरु
घर फर्कदा – सधैं मेरो स्वागतमा मुँस्कुराउने
गमलाका सुन्दर फूलहरु
र, छोडिए – मेरा सुन्दर बालापन अनि रुमानी रुमानी वैंश ।
अन्ततः
आज म आफ्नै घरमा छु
र, म पनि छोडिने छु यही घरमा भोलि ।
घर छोड्नु पनि नयाँ घरको सुरुवात रहेछ ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)