कविता : अल्लाहलाई निवेदन

~सुबेश घिमिरे~subesh-ghimire

घना गृहै युद्ध, मुलुक भर नै बादल सरी
अनिश्‍चित प्राणै यो, अव शिव हरे ज्‍युनु कसरी ?
भरै के ? गोली त्यो ! पट – पट कतैबाट उदर-
फुटाई प्राणै यो, हरण सहजै गर्न सबल ॥१॥

म एक्‍लो श्रोतै त्यो, बिकल घरमा गाँसहरुको
सुराकी, बिद्रोही पनि फगत मै लक्ष्य सबको
तगारो सत्ताको पनि दिन दिनै मैं हुन गएँ
मुटु यो भारी भो, छटपट ! ब्‍यथा नै बढि भए ॥२॥

पिता – माता बृद्धा, सकल अबुझा सन्‍ततीहरु
जहानै मेरी ती, हर – बखत शेवै गरी अरु
सघाँउथिन्‌ मै लाई सकुशल रथै तान्‍न घरको
थियो यात्रा गाह्रो जीवन पथमा यो अबलको ॥३॥

अघोरी आतंकै सहन सजिलै मुश्‍किल हुँदा
मुलुकै त्यागी त्यो झट – पट बिदेशी सरणमा
गएको देखेथें दिन – दिन चिनेकाहरु सब
गरेंथे निर्णयै ‘म पनि गई हालौं !’ भनि तब ॥४॥

छिचोली पर्वतै, नदी अनि समुन्द्रै, बन पनि
गती ली वायूको गगन भर नै गर्जन गरी
घटा ती मेघैको पनि पल – पलै देख्‍न सकियो
अभागी पुर्पूरो सहज सित जोर्डन पुगि गयो ॥५॥

मिलाई जम्मा दर्जन – जन थियौं जान फगत
“इराकै जाओ लौ !” दिइकन कठै उर्दि सहज
कुदाए गाडीमा पथभर धुलो बुङ्ग उडी गो
अहो ! कस्तो रुक्‍खो ! मन‍, पवन मृगै-मरिचिको ॥६॥

उजाडै भूमी त्यो, दुर – दुर ताहाँ बृक्ष न लता
न देखिन्थे पंक्षी नभ भर ! न ता जन्तु फगत
न पानी नै त्याँहा ! सुदुर तक रेतै गरम त्यो
डढेलै लागेथ्यो मन भितर देखी नजर त्यो ॥७॥

विभासा गर्भैमा दूर क्षितिजको सुस्त गतिले
बिलाए पोती त्यो अबनि पनि लालै किरणले
न भूमी आफ्‍नो त्यो न त थिए कुटुम्बै पनि कुनै
मनै यो भन्दैथ्यो, “अब मरण भो लौ अनाहकै”॥८॥

नभन्दै आए ती अमनुजहरुका दुतहरु
बनाए बन्दी नै नबुझिकन हाम्रा मनहरु
भनेको, “अल्लाहा !” सिवाय अरु केही नबुझिने
जबानै अप्ठ्‍यारो सहजसित बोल्नै नसकिने ॥९॥

सुनायौं खोली त्यो मन भितरका दु:ख र पिर
बुझायौं ज्‍यामी हौं भनिकन मनैका बह सब
चिनाई नक्शामा मुलुक अति सानो भनिकन
बतायौं बुद्धैको जनम – थलका हौं भनिकन ॥१०॥

पुकारा देशैको निरिह सरकारै सित पनि
‘बचाओ प्राणै यो ! गरिकन अपीलै अब !’ भनी
‘भरोसा त्यत्ति मै अब फगत प्राणै रहनको !’
गरेथ्यौं टिभी मै पटक पटक त्यो अरबको ॥११॥

नहुँदा देशै त्यो, जगत भर नै खास सबल
नगर्दा रत्ति नै पनि जबरले खोज खबर
कठै यी प्राणैको, हबिगत हुने भो अब छिटै
बिदेशी भूमीमा, अब सिंचन भो लौ रगत कै ॥१२॥

लडाई बालूमा, नयन पनि छोपी फगत यी
न हातै नै खुल्ला, न त सकिनु चल्नै अलिकति
नबोल्नै पाइयो, मरण पलमा अन्तिम घडी
अहो कस्तो भाग्यै, कति कठिन भो जीवन गति ॥१३॥

छुरा ली धारीला, झटपट अहो ! रेट्न अब त
बसे ती ‘अल्लाहा !’ लिइकन कठै नाम फगत
भिजायो बालू त्यो, रगत जमिनैमा बगि दिंदा
सकियो चोला त्यो, अनि सुरु भयो यात्रा नविन ॥१४॥

पुगी दैवी लोक्‌मा सहज सित भेटै गरिकन
निवेदन्‌ अल्लाहासित ‘किन ! कठै मानविपन !”
‘हरायो धर्तीमा ! अब अरु कतिन्जेल तक ?’ भनी
गरौंला प्रार्थाना, ‘मनुज सबको हृदय भरी’ ॥१५॥

‘दया माया मात्रै, सकल भरि देऊ अब अनि,
नदेऊ रत्ति नै, फिंजिन असहिष्णुपन पनि
फुलाऊ धर्ती त्यो ! सबजन रहुन् हर्षित भई
कसैको मेरो झैं, मरण अब नहोस् लौ अनाहकै ॥१६॥

२००४।०९।१५
– साप्पोरो, जापान !

-इराकमा अनाहकमा प्राण गुमाएका निर्दोष नेपालीहरुको आत्माको चीर शान्तिको कामना गर्दै यी शब्द सुमन सश्रद्धा र्समर्पण गर्दछु ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.