~दण्डपाणि जैसी~
‘मदन दाजु ! किशोरको कुनै खबर पाउनुभयो ?’
आज पनि ममता मदनको कोठामा किशोरको बारेमा खबर लिन आएकि थिर्इ। धेरै दिनदेखि किशोरसँग उसको भेट भएको थिएन। करिब एक हप्ता अगाडिदेखि ऊ मदनको कोठामा किशोरको बारेमा थाहा पाउन लगातार आइरहेकि थिई।
हुन त मदनलार्इ किशोरको बारेमा सबै कुरा थाहा थियो तर, उसले ममतालार्इ उसको बारेमा केही थाहा नभएको भन्दै ढाँट्दै आइरहेको थियो। फाटेको लुगा र ढाँटेको कुरा धेरै दिन लुकाउन सकिँदैन भन्छन्। मदनले पनि झुठो कुरो धेरै दिनसम्म लुकाउन सकेन। आज उसले ममतालार्इ सबै कुरो साँचोसाँचो बताइदिने निश्चय गरिसकेको थियो।
‘ममता ! अब ऊ तिमीलार्इ भेट्न आउने छैन’, मदनले मुटु दह्रो पार्दै भन्यो।
ममताको शरिरको सबै रगत एकत्रित भएर मुखमा पुग्यो। उसको शरीर थरथर काम्न थाल्यो। पिलपिल आँखा पार्दै उसले भनी, ‘विन्ती दाजु त्यसो नभन्नु होस्। मेरो किशोरलार्इ के भयो ?’
‘तिम्रो किशोर अब तिम्रो रहेन बैनी, उसले अर्कै केटीसँग बिहे गरिसक्यो, उनीहरु अहिले पोखरा गइसके, उतै बस्छन्।‘ मदनले मुटु दह्रो पार्दै एकै सासमा सबै कुरा भन्यो।
ममताको वाक्य नै बन्द भइसकेको थियो। आँखाहरुले एकटकसँग भित्तामा हेरिरहेका थिएँ। आँखाबाट आँसुका धारा बगिरहेका थिए।
‘मेरो साथी निष्ठुरी हो बैनी, त्यस्तालार्इ बिर्सिदेउ, यसैमा तिम्रो कल्याण हुनेछ।‘ मदनले सम्झाउँदै भन्यो।
‘कसरी बिर्सिनु दाजु। उसले मलाइ बर्बाद पार्यो, अब म यहीँ मर्छु’, उसले भक्कानिँदै भनी।
मदनले ठूलो अनिष्टको आशंका गर्न थाल्यो। यस्तै कुनै अनिष्ट होला भनेर नै उसलार्इ साँचो कुरा बताउन सकिरहेको थिएन।
‘आफै थाहा पाइहाल्थी नि, मैले उसलार्इ यो कुरा नसुनाएको भए पनि हुन्थ्यो होला’ उसले मनमनै भन्यो।
मदनले आफ्ना मायालुबाट धोखा पाएका युवतिहरुको दारुण कथा पत्रपत्रिकाहरुमा दिनहुँजसो पढेको थियो। उसको आँखा अगाडि कहिले रानी पोखरीमा डुबेको ममताको लास अगाडि आउन थाल्यो, कहिले घरको दलिनमा पासो लगाएर झुण्डिएको ममताको निर्जीव शरीर। ममता रोइरहेकी थिइ। मदन उसलार्इ सम्झाउँदै थियो।
लाख कोशिसका वावजुद पनि उसले ममतालार्इ सम्झाउन सकिरहेको थिएन। साँझ परिसकेको थियो। बाहिर सिमसिम पानी परिरहेको थियो। खाटको एउटा छेउमा बसेर ममता रोइरहेकी थिई। उता कोठाको एउटा कुनामा मदन किमकर्त्यव्यविमुढ बसिरहेको थियो। मदनले बल्लतल्ल सम्झाएर उनलार्इ घर पठायो। तर, उसको मनमा थरिथरिका तर्कनाहरु आउन थाले।
‘कतै ममताले साँच्चिकै आत्महत्या गरी भने मैले के गर्ने होला ?’ मनमा यस्तै यस्तै आशंकाले गर्दा मदन रातभरि निदाउन सकेन। किशोर र ममता बीचको प्रेमकथा सिनेमाको पर्दामा जसरी एकएक गरेर उसको आँखा अगाडि आउन थाल्यो।
किशोर मदनको स्कुलदेखिकै अत्यन्तै मिल्ने साथी। किशोर केही रोमान्टिक थियो। मदनचाँही त्यसको ठीक विपरीत। सेमेष्टर परीक्षा सकिएपछि काठमाण्डौँबाट उनीहरु सँगै घर जान्थे। सँगै काठमाण्डौ फर्किन्थे।
तेस्रो सेमेष्टरको परीक्षा सकेर उनीहरु पोखरा जाँदै थिए। छेवैको सिटमा दुइजना महिला थिए। एकजना अलि वयस्क र एकजना किशोरी। किशोर झ्यालतिरको सिटमा थियो, मदन ‘आइल’ सिटमा बसेको थियो। पल्लो ‘आइल’ सिटमा बसेकि युवतिसँग किशोरका आँखा जुधे। हामीहरु चढेको बस नौबीसे भन्दा अगाडि बढेपछि किशोरले मदनसँगको सिट साट्यो। अब उनीहरु नजिक नजिक भए। किशोरले विस्तारै कुराकानी सुरु गर्यो।
‘कहाँ जान लाग्नु भएको हो कुन्नी ?’
‘पोखरा ।’
‘पोखरा घर हो कि?’
‘हैन, फुपुको घर जान लागेकी।‘
‘ए!’
‘तपाइँको घर कहाँ नि?’
‘पोखरा ‘
‘काठमाण्डौँमा पढ्दै हुनुहुन्छ ?’
‘हो, महाराजगञ्ज क्याम्पसमा पढ्छु।‘
‘त्यसो भए डाक्टरसा’ब भन्नु पर्यो होइन त?’ ऊ विस्तारै किशोरसँग जिस्किन थालिसकेकी थिई।
मुग्लिन पुग्दा नपुग्दा उनीहरुले आफ्नो मुटु साटिसकेका थिए। मुग्लिनमा खाना खान सबै यात्री झरे। उनीहरु बसभित्रै थिए।
यहाँ किशोर र ममता बीचको सामीप्यता झन् बढेको थियो। दुवै एकअर्कालार्इ निकै माया गर्थे। एकपटक त किशोरले ममतालार्इ घुमाउन आफ्नो घर पनि लगेको थियो। ममताका दाजु नारायणगढमा जागिरे थिए। दाजुलार्इ भेट्न जाने बहाना बनाएर ऊ किशोरसँग पोखरा घुम्न गएकि थिई। ‘किशोरले काठमाण्डौंकी केटीलार्इ भगाएर ल्याएको’ भनेर पोखरामा उसका छिमेकीले कुरा गर्थे। किशोरका बाबु आमाले पनि ममतालार्इ मन पराएका थिए। किशोरको पढाइ सकिने बित्तिकै दुवैले विहे गर्ने निर्णय गरेका थिए।
ममतालार्इ भेट्न सजिलो होस भनेर पोखराबाट फर्केको केही समय पछि किशोरले आफ्नो डेरा ममताको घर नजिक सार्यो। यसपछि दिनहुँ जसो दुवैको भेट हुन थाल्यो। उनीहरुको माया झन् झन् गहिरो हुँदै गएको थियो।
भनिन्छ समय सधैँ एकै रहँदैन। नयाँ डेरामा सरेको केही दिनपछि उनीहरुको प्रेम कथामा बिस्तारै ग्रहण लाग्न थाल्यो। नयाँ घरबेटीकी छोरी कमलालार्इ उसको रुप र बोलीले मोहनी लगाइसकेको थियो। विहान-विहान बरण्डामा कुचो लगाउने बहाना बनाएर किशोरलार्इ भेट्न आउँथी।
किशोर र ममता बीचको प्रेम कहानी उनलार्इ थाहा नभएको होइन तर, ऊ कुनै पनि हालतमा किशोरलार्इ पाउन चाहन्थी। यसको लागि सबैभन्दा पहिले उसलार्इ किशोर र ममता बीचको मायाको डोरी टुक्रा पार्नुपर्ने थियो।
छलकपट बिना त्यो सम्भव थिएन। उसले यही छलकपटको बाटो अपनाउने निर्णय लिई। एकदिन विहान बरण्डामा कुचो लगाउँदा लगाउँदै कमला किशोरको कोठामा सुटुक्क छिरी। किशोरलार्इ ममताको बारेमा भए नभएको कुरो लगाई।
किशोर सोझो थियो। कमलाको कुरो पत्यायो। विस्तारै विस्तारै किशोर कमलाको मायाजालमा फँस्दै गयो। उसले ममतालार्इ भन्दा कमलालार्इ मन पराउन थालिसकेको थियो।
किशोरको पढाइ सकियो। पढाइ सके लगत्तै उसले पोखरातिर एउटा जागिर पनि पायो र उतै गयो। त्यसको एक महिनापछि किशोरले कमलालार्इ सुटुक्क भगाएर पोखरा लग्यो। उसले ममतालार्इ धोखा दियो।
किशोरले ममतालार्इ छोडेको पनि करीब पाँच बर्ष भइसकेको थियो। एकदिन किशोर र कमला रन्जना हलमा सिनेमा हेर्न गएका थिए। सिनेमा हलको मूलगेटमा ‘हाउस फुल’ लेखिएको थियो। भित्र टिकट सकिएको थियो तर, बाहिर ब्ल्याकमा किन्न पाइन्थ्यो।
त्यतिकैमा किशोरले पछाडिबाट एउटा महिला स्वर सुन्यो, ‘दाइ टिकट चाहिन्छ ?’ उसले आवाज आएतर्फ फर्केर हेर्यो। त्यहाँ ममता उभिएकि थिई। उसका कपडा मैला थिए। ऊ निकै दुब्ली भइसकेकि थिइ। आँखा गाडिएका थिए। हातमा चुरोटको ठूटो लिएकि थिइ। बीच बीचमा खैनी खाएर थुक्दै थिइ। चुरोट र खैनीले गर्दा ओठ काला भइसकेका थिए ।
मुखबाट लोकल रक्सीको गन्ध आइरहेको थियो। किशोर छाँगाबाट खसेजस्तो भयो। उनीहरु सिनेमा नहेरी घर फर्के।
आज किशोरको आँखामा निद छैन। छेउमा कमला मस्तसँग निदाइरहेकी थिई। ऊ पनि निदाउन कोसिस गर्दै थियो तर, रन्जना हलको बाहिर देखेको ममताको त्यो बिरुपले उसलार्इ झकझकाइ रहेको थियो। उसले ममतासँग बिताएका पलहरु सम्झ्यो। उसलार्इ पोखरा घुमाउन लिएर गएको दृष्य सम्झ्यो। विगतमा ममतासँग विहे गर्ने भनेर दिएका अनगिन्ती बाचाहरु सम्झ्यो। उसको आँखाका डिलहरु धकेल्दै आँसुका दाना बाहिर निस्किए। उसले मनमनै भन्यो, ‘म धोकेवाज हुँ, विश्वासघाती हुँ।’
(स्रोत : सेतोपाटी डट कम)