~निरज लवोजु~
चौडा छात्ती बनाएर
मोफसल आफ्नो थातथलोलाई
बिदाको हात हल्लाउँछ
भन्छ–’काठमाडौं जाँदैछु।’
तर नागढुङ्गाको डाँडो उक्लिन नपाउँदै
काठमाडौंलाई धिक्कार्छ मोफसल
भन्छ –’थुइक्क काठमाडौं !’
काठमाडौं मोफसलका
–धनीको रवाफ बोक्छ
–गरिबको ख्वाफ बोक्छ
– स्वप्नदर्शीका सपना बोक्छ
– विद्रोहीका रिस बोक्छ
राम्रा–नराम्रा सबै–सबै बोक्छ – काठमाडौं।
ठेग्छ – काठमाडौं।
तर आफ्नै बुइँको मोफसलले दुत्कार्छ काठमाडौंलाई
कठै विचरा ! काठमाडौं
मोफसल र मोफसलको बिगबिगीले
काठमाडौंभित्र काठमाडौं मोफसलिएको छ
तरै पनि मोफसल काठमाडौंलाई पेच कस्छ
काठमाडौंसँग मेच खोस्छ
र भन्छ – ‘तेरी मा काठमाडौं !’
काठमाडौंमा
बागमती गन्हाउँछ
गल्लीमा फोहर पलाउँछ
सडकमा ट्राफिक जाम हुन्छ
खानेपानीको हाहाकार हुन्छ
माइक्रोबसमा कोचाकोच हुन्छ
बेरोजगारीले रित्तो पेट
आकासतिर देखाउँदै ढुङ्गाको सिरानी लगाउँछ
सबै–सबै देखेर मोफसल
चिढिएर भन्छ –
‘नरकजस्तो यस्तो काठमाडौं !’
विचरा ! काठमाडौं
मोफसलको हल्लाले
तिम्रो आवाज सुनिंदैन
नभए तिमी भन्थ्यौ –
‘मोफसलिकृत म काठमाडौंलाई
नरकजस्तो बन्ने रहर थिएन।’
काठमाडौंको छात्तीमा डेरा बसेका
सिंहदरवार, शीतलनिवास, बालुवाटार
र अरु धेरै दरवार र निवासहरूका
घातक छुरा प्रहारले
काठमाडौंलाई काठमाडौं बन्ने रहर मर्दो हो
तर काठमाडौं काठमाडौं नबने मोफसलले कसलाई भन्ने?
–’हदै भयो काठमाडौं, मरी जा !’
कठै ! विचरा काठमाडौं
(स्रोत : Samyantra.com)