बाल कथा : बसाइँ सर्ने चटारो

~रञ्जुश्री पराजुली ~Ranjushree Parajuli

मिर्मिरे सूर्यको किरणसँगै चराचुरुंगी पनि मानव समुदायजस्तो चल्मलाउन थाल्छन्। उनीहरूलाई पनि बिहानीको चटारोले व्यस्त बनाउँछ। मान्छे शुभप्रभात भनेर एकआपसमा आदरसत्कार व्यक्त गर्दै नौलो बिहानीलाई स्वागत गर्छन्।

समय भएपछि आआफ्ना कार्यक्षेत्रतिर क्रियाशील हुन्छन्। घरबाहिर पनि चराचुरुंगीको संसारमा त्यस्तै प्रकारको वातावरण हुन्छ। उनीहरू पनि चाराको खोजीमा परपरसम्म हावामा कावा खाँदै उडेर जान्छन्।

चराचुरुंगी र मानव जाति एकअर्काका पूरक हुन्। वातावरण स्वच्छ राख्न चराचुरुंगीको पनि योगदान हुन्छ। ठूला खाले पन्छी मानवबस्तीदेखि पर वनजंगलमा हुन्छन्। साना खाले भने मान्छेकै परिवेशभित्र रहेका रूखहरूका हाँगामा गुँड बनाएर बसेका हुन्छन्।

पुराना पुस्ताले बनाएका घरका भित्तामा पनि चराचुरुंगीहरूमध्ये भंगेरा, गौंथली, परेवा आदिले गुँड बनाएर बसेका हुन्थ्ये। तर, हिजोआज पुराना प्रविधिबाट सहरमा कसैले पनि घर बनाउँदैनन्।

एक दिन बिहान सारौं चराका जोडी चाराको खोजीमा पखेटा फिजाएर गुँडबाट उड्ने तर्खरमा थिए। उनीहरूकै गुँड भएको रूखको अर्को हाँगामा जुरेलीका जोडीले पनि गुँड बनाएर बसेका थिए। त्यस बेला जुरेलीका जोडी पनि उड्ने तरखरमा थिए।

त्यस दिन त्यो जोडीको चालचुल नदेखेर सारौं चराले ‘ए, जुरेली दाइ-भाउजू आज चारा खोज्न नजाने कि क्या हो? किन तिमीहरूको चालचुल, अत्तोपत्तो केही छैन नि? नयाँ बचेरा बिरामी छन् कि क्या हो?’ भनेर सोध्यो।

‘हैन त्यस्तो केही पनि हैन। बचेरा ठीक छन्। हिजो यहाँ धेरै मान्छे आएर जमिन नाप्दै थिए। अब यहाँका सबै ठूलासाना रूखहरू काट्ने रे। यहाँ भएका रूख र झाडीहरू सबै मासेर यो ठाउँमा २० वटा आधुनिक घरहरू बनाउने रे।

तिमीहरूलाई यो कुरा थाहा छैन? त्यो कुरा सुनेदेखि हामी अब कहाँ बसाइँ सर्ने होला भनेर चिन्तित भएका छौं’ जुरेलीले भन्यो।

‘हो र भन्या? हामीलाई त यस्तो कुरा केही थाहा छैन। यी मान्छे जातिलाई पनि कति घर चाहिएको होला? एउटा पाटो जमिन पनि यिनले सग्लो राख्ने भएनन्। सबैतिर घरैघर बनाएर हामीचाहिँ कहाँ बस्ने नि?’ सारौंले अचम्म मान्दै भन्यो।

त्यसै बेला कोइलीका जोडी पनि त्यही बाटो उड्दै थिए। तिनले पनि जुरेली र सारौं चारा खोज्न नगएर रूखको हाँगोमा कुरा गरेर बसेको देखेर ‘ के भयो जुरेली दाइ र सारौं भाइ? कुरा त धेरै गहिरो जस्तो छ नि’ भनेर सोधे।

‘कुरा गहिरोमात्र होइन, चिन्तालाग्दो पनि छ। यो ठाउँका सबै रूख मास्ने रे। अब हाम्रो बिल्लिबाठ हुने भयो। हामी कहाँ बस्ने? हाम्रो त बास नै नासिने भयो ‘ दिक्क हुँदै सारौंले कोइलीलाई कुरा प्रस्ट पार्‍यो।

‘त्यसो पो ! वसन्त ऋतुको याममा बिहानीपख यो ठूलो रूखको हाँगोमा बसेर को हो… को हो… भनेर हामीले मीठो बोली बोल्दा वातावरण नै रमणीय हुन्थ्यो। यहाँका बासिन्दाले पनि त हामीलाई मन पराउँथ्ये। अब कहाँ बसाइँ सर्ने?’ कोइली चरी पनि दु:खी हुँदै बोली।

काठमाडौंदेखि केही टाढा उत्तरतर्फ एकजना धनीमानी व्यक्तिको ठूलो कम्पाउन्डमा बनेको एउटा राम्रो घर थियो। घर धनी सोखिन व्यक्ति थिए। उनले आफ्नो घर कम्पाउन्डलाई ठूलो पर्खालले घेरेर भित्रपट्टि जातजातका ठूला, साना, मझौला खाले रूखहरू रोपेका थिए।

घरअगाडि फूलबारी थियो। त्यहाँ मौसमअनुसार वर्षभरि नै रंगीविरंगी फूलहरू झुलिरहेका हुन्थ्ये। घरपछाडि करेसाबारी थियो। त्यहाँ पनि मौसमअनुसार तरकारी फलेका हुन्थे।

उनले घरमा ठूला र साना जातका पाल्तु कुकुरहरू पनि राखेका थिए। खोरमा पाल्ने चराहरू बट्टाई, कालिज, मयूर पनि पालेका थिए। दिउँसो बगैंचामा मयूर चरा पखेँटा फिँजाएर नाच्थ्यो। कारणवश घरधनी त्यो सुन्दर र मोहक घर बेचेर अन्त बसाइँ सरे।

त्यो ठाउँ जहाँ एउटामात्र घर थियो, बाँकी जमिन हरियालीले ढाकिएको थियो। त्यहीँ नै विभिन्न चराचुरुंगीले सुरक्षित स्थान देखेर आआफ्ना बासस्थान बनाएका थिए। दिनभरि चारा खोज्न गए पनि आफ्ना बचेराहरू सुरक्षित हुने भएकाले उनीहरू ढुक्क थिए।

तर अब आफूहरू त्यहाँबाट अन्यत्र बसाइँ सर्नुपर्ने भएकाले सबै चराचुरुंगी चिन्तित भए। त्यहाँ फिस्टे चरो, भंगेरा, सारौं, जुरेली, परेवा, काग कोइली आदि चराचुरुंगी एकअर्काका असल छिमेकी भएर बसेका थिए।

ठूलो रूखको बाक्लो झ्याङ भएको हाँगामा त चमेरा पनि झुन्डिएका देखिन्थे। दिनभरि मस्त निद्रामा डुब्ने लाटोकोसेरो चरो राति क्रियाशील हुन्थ्यो। उसले पनि त्यहाँ गुँड बनाएको थियो।

अगाडिको फूल बगैंचामा मौरी, भवँरा, पुतली, कमिला देखिन्थे। कहिलेकाहीँ त झुसिलकीरा र शंखेकीरा पनि देखिन्थे। पछाडिको करेसाबारीमा गड्यौला, लेडीवर्ड, भ्यागुतो, फट्यांग्रो पनि देखिन्थे।

रोग लागेको बेला गोभ्रे कीरा, लाही कीराजस्ता कीराले बिरुवालाई दु:ख दिन्थे। त्यस्तो बेला घरमालिक बिरुवामा तीतेपाती झारको झोल र खरानी छरेर तिनलाई निको तुल्याउँथे।

यसरी त्यो ठूलो ठाउँमा घरभित्र मालिक र तिनका सहयोगीहरू अनि घरबाहिर चराचुरुंगी, कीटफट्यांग्रा, कुकुरबिराला सबै मिलेर एकअर्कालाई बाधा नपुर्‍याईकन बसेका थिए। बसाइँ सर्दा घरधनीले आफ्ना पालुवा जनावरजति सबै सँगै लिएर गए।

कीट फट्यांग्रा जमिनमुनि बस्ने भएकाले तिनलाई केही फरक परेन तर रूखमा आश्रय लिएर बस्ने चराचुरुंगीलाई भने विपत् नै प:यो। उनीहरू सबै चिन्तित भएर अब कहाँ बसाइँ सर्न जाने…? भन्ने चिन्तामा डुबे।

२०७१ फाल्गुन १६ शनिबार

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.