~सरिता तिवारी~
उसित हिँड्नलाई छैनन् गोडा
बलजफ्ती खोसेर
लगेको छ उसले मेरा गोडाहरु
र तिनैले टेकेर
उक्लिरहेको छ सुपरमार्केटको सिँढी
चढिरहेको छ मल्टिनेशनल कम्पनीको लिफ्ट
र मानिसका आङ्आङ्मा फड्किँदै
मरिरहेको छ सभ्यताको चेतनामा बुर्कुसी
उसित हात पनि छैनन्
मेरै हातले उभ्याउँछ कर्पोरेट बिल्डिङ्
मेरै हातले घुमाउँछ माउस
मेरै हातले थिच्छ किबोर्ड
मेरै हातले जोड्छ, घटाउँछ र ठीक पार्छ हिसाबकिताब
र रचना गर्छ मेरै हातले
कस्मेटिक अर्थतन्त्रको
घुमीघुमी नसिद्धिने भुलभुलैया
अनुहार त झन् छँदै छैन उसको
त्यसैले
बनाएको छ मेरै अनुहारको मुखौटो
त्यहाँ फिट गरेको छ उसले
मेरै नापका गुच्चाजस्ता आँखा
गुच्चाका आँखाले
मान्छे मान्छे देखिन्नँ
देखिन्छ केवल बजारतन्त्रको गुलाम
ती आँखाले हेर्दा
एउटै देखिन्छ गुहेकीरो र मान्छे
गुहेकीरो
जो आजन्म डुबिबस्छ आदिम रछ्यानमा
र रछ्यानलाई नै भाषा भन्ठानेर
रछ्यानलाई नै देश भन्ठानेर
त्यसैको अखण्डताका नाममा
बजाइरहन्छ भक्तिसङ्गीत
गाइरहन्छ राष्ट्रिय गीत
यतिबेला
छैनन् मसित कर्मशील हात
छैनन् गतिशील गोडा
बनाएर नितान्त निरीह र एक्लो
उसले छोडिदिएको छ मसित केवल
मुख र मलद्वारको बीचमा
एउटा अगस्ती पेट
खोपडी उप्काएर निकाल्नुअघि उसले
मेरो अन्तिम पुँजी
सोच्दै छु
उसलाई पराजित गर्न सक्ने
रकेट लन्चरजस्तो कविताको भाषा
तपाईंलाई के लाग्छ साथी
सम्भव छ बजारलाई
भाषाले परास्त गर्न ?
(स्रोत : ई-समता डट कम)