कथा : स्काइपमा जया र रमोला

~भावना परिष्कृत सुनुवार~Bhawana Parishkrit Sunuwar

काठमाडौँ ।
जया हातमा चियाको कप लिँदै बेडरुममा बस्छिन् । टेवलमाथि चियाको कप राख्छिन् एक सुरुप पिएर । कुर्सीमा आरामले बस्दै ल्यापटप खोल्छिन् । ‘ल हेरन ! तिमीभन्दा अगाडि नै म अनलाइनमा आइसक्छु भन्थिन् । निर्धारित समयभन्दा म ढिला हुँदा नि मेडमको अत्तोपत्तो छैन । चकाप नै बढी केटीको ।’ (मुख फुलाएर भुत्भुताउँदै)

बेलायत ।
बैठक कोठामा सोफामा बस्दै मोबाइलमा कुरा गर्दै, कफीको चुस्की लिन्छिन् रमोला । ‘ल है त त्यसै गरौँला । तिम्रो मेरो अफ मिलाएर भेटौँला । सेल पनि लाइर’छ, केही मन परेको सस्तो मस्तो पाएमा किनमेल नि गरम्ला, बरु मेरै टाउन घुमौँला, यतै आउ न है बिना ! खाना पकाई राख्छु । अहिले मलाई स्काइपमा बोल्नु छ । नेपालमा मेरो एक जना धेरै पुरानो साथी छिन्, जया हो उनको नाम । अनलाइन आइ होली, मलाई नभेट्दा सत्तोसराप गर्न लागि होली । म पछि कल गर्छु नि है तिमीलाई, बाइ बाइ… टेक केयर । (मोबाइल सेट टी टेवलमाथि राख्दै नजिकै रहेको ल्यापटप अन गर्छिन् ।

(दुवैतिरबाट स्काइप अनलाइनले जया र रमोलालाई जोडी दिन्छ)

जयाः के हो नक्कली ! समय दिएर गायब ? पर्पपर गर्दै तैँ भन्दा म अगाडि आउँछु भन्थिस् त अस्ति । किन ढिला ? के गर्दै थिइस् ? परपरे थुतुनो कहीँ नभाकी… ।

रमोलाः जति घोक्रो फुलाए नि फुला, नाक खुम्च्याए नि खुम्च्या, तेरो गाली घुर्की, धम्की खाइखाइ मेरो इम्युन सिस्टम झन् बढेको छ, केही फरक पर्नेवाला छैन । म यता फोनमा थिएँ । ल भन के छ तेरो खबर ?

जयाः जाडो सुरु भइसक्यो, छिप्पि नै सक्यो भनौँ न, माघ लाग्यो । श्रीमान अफिसको कामले भ्याली बाहिर जानुभा’छ । छोरी ऋचा र छोरा ऋषभ साथीहरू थुपारेर भान्सामा व्यस्त छन् । केटाकेटीहरू आज मःम पार्टी गर्ने अरे, खाना हामी पकाउँछौँ भनिरा’छन् । बुवा आमा गाउँ जानुभएको छ, अलि समय उतै बस्नु हुन्छ रे । मेरो काम घर भित्रै हो, चुलाचौका सम्हाल, लन्ड्री सम्हाल… बस ! बाँकी सुनाउन लायक केही छैन, बरु तेरै सुना प्रगतिका कुराहरू । अनि कैले आउने हो देशभित्र ?

रमोलाः मेरो त्यस्तो केही छैन साथी सुनाउन लायकको प्रगति । छोरा प्रभु यूनी पढ्न गयो । उतै अपार्टमेण्ट लिएर बसेको छ, टाढा छ घरबाट । महिनाको अन्तिम शुक्रबार आउँछ । पढाई र कामले ऊ पनि व्यस्त छ । मेरो श्रीमानको अझैसम्म राम्रो जब लाग्न सकेको छैन । होटलमा पार्टटाइम गर्नुहुन्छ । हप्ताको तीन दिन कलेज पनि जानु हुन्छ । भोकेश्नल सब्जेक्ट लिएर पढ्दै हुनुहुन्छ यो बुढेसकालमा । अलि भन्या जस्तो काम पाउनको निम्ति कुनै न कुनै सीपमूलक शिक्षा र तालिम अनिवार्य छ यो ठाउँमा । म बिरामी परेर काममा जान सकेकी छैन आज चार दिन भयो । यहाँ त एक दिन काम गएन भने हिसाब किताब धेरै फरक पर्छ केटी ! घरको मोरगेज गलाको पासो हो कि फलामको चिउरा कुन्नि के भन्ने उखान झैँ भा’को छ ।

जयाः बल्ल बल्ल तिम्रो समय मिलेको मसँग बोल्नलाई । ब्याड न्यूज पो भयो त । के बिमारी परिस् त ? हेर्दा त झन् झन् सुन्दरी भइछस् अनि मोटाएर ह्रष्टपुष्ट पनि देखिन्छेस् त ।

रमोलाः मन त लाग्छ नि हप्ता दश दिनमा बोलिर’न पाम भनी । अब यता रात दिन काम गरिन्छ । थाकेर घर पसिन्छ । कहिले बाहिरैबाट टेकअवे बोकी ल्याउँछु, खाएर भुक्लुक्क सुतिन्छ । सकेको बेला पकाइ तुलाई खाने हो । दिनभरि त घरै खालि हुन्छ, कामैमा माम जे मिल्छ त्यही हाम गर्नुपर्छ । अस्ति चार दिन अगाडि टाउको एकदमै भारी भयो । ढाड पिठ्यु त पहिलेदेखि नै दुखेको थियो । यो पटक झनै सारो भयो दुखाई । बसेको एरियाको स्वास्थ्य परीक्षण केन्द्रलाई यहाँ (जीपी) भनिन्छ । त्यहाँ गए फोनबाट डेट मिलाएर समस्या बताएपछि जीपी (जनरल प्राक्टिस्नर) डा.ले सिधै पेनकिलर लेखेर दियो । ‘मलाई रक्तचाप बढ्यो कि भन्ने शङ्का छ । एक पटक ब्लड प्रेशर चेक गरिदिनु हुन्छ कि’ भनी अनुरोध गरेँ । नभन्दै प्रेशर बढेको रहेछ १६०÷१०० देखायो । ‘ल यो प्रेशर कन्ट्रोल गर्ने दवाइ पनि खानु भनेर प्रिस्काइव ग¥यो ।

जयाः अनि कस्तो हौ अचम्म ? तँ त अस्पतालमै काम गर्ने स्टाफ हैन र ? आफैले काम गरेको अस्पतालमा उपचार सजिलै हुनुपर्ने हैन र ?

रमोलाः त्यहाँ नेपालको जस्तो केही मिल्दैन यो ठाउँमा । म आफु बसेको एरियाभन्दा फरक ठाउँमा काम गर्छु । आफ्नै एरियामा जचाउन जानुपर्छ । त्यस्तो सिरियस नभएसम्म अस्पतालमा सम्बन्धित विशेषज्ञहरूलाई रिफर गरिँदैन र’छ । इमरजेन्सी केशमा भने डाइरेक्ट अस्पताल जानुपर्ने हुन्छ । नेपालमा जस्तो स्टाफलाई सुविधा भन्ने हुँदैन र फाइदा लिन उठाउन मिल्दैन । सबैलाई समान व्यवहार गरिने नियम छ । पैसा हुने धनीहरू प्राइभेटमा जान्छन् यता पनि । अनि अष्टे«ेलिया, अफ्रिका र इण्डियाको अस्पतालमा उपचारका लागि जाने पनि गरेको देखेकी छु मैले धेरै ब्रिटिशहरूलाई । अनि बिमा सिमा गरेको छ भने चाहीँ मजाले प्राइभेटमा देखाउन मिल्छ आफ्नै समयमा । सरकारी अस्पताल त डेट मिलाएको हुनुपर्छ र यहाँ पनि घन्टौँ पर्खनुपर्छ । बिरामीको चाप बढी नै भएकोले हाम्रो देशमा संयमता हुँदैन होहल्ला गर्छन्, अस्पताललाई, स्वास्थ्यकर्मीहरूलाई दोष दिन्छन् तर यता त्यत्रो भिड भएको ठाउँमा पनि हल्ला सुनिदैन, चुपचाप अनुशासनपूर्वक आफ्नो पालो कुरी रहेका हुन्छन् जति नै समय लागे नि ।

जयाः हैन, हामी यहाँ बस्नेले त त्यो ठाउँ मोति हीरा फल्ने स्वर्गीय बगैँचा होला, हर कुरामा सुविधा सम्पन्न होला, आधुनिक बिकास र टेक्नोलोजीले चरम सीमा पार गरेको राष्ट्र… भनी सोच्छौँ त ! हामी त झण्डै दुई सय वर्ष नै पछि छौँ अरे हो ?

रमोलाः हो, सही कुरा हो । सबै कुरामा सुविधा सम्पन्न छ । म काम गरेको पन्ध्र सोह्र वर्ष भयो । टलक्क टल्केको भुईँ र चमक्क चम्केको बेड कोठामा बिरामीलाई सुताइन्छ, केयर हुन्छ, पोषिलो खानाको कमी हुँदैन । बाहिरबाट हेर्नेलाई हाम्रो देशको अस्पतालसँग दाँज्दा स्वर्ग नै मान्नु पर्छ । डा., नर्स र अरू स्टाफहरूको बोली कहिल्यै रुखो हुँदैन । बनावटी माया र कृतिम हाँसो सधैँ हरेकको गोजीमा टन्न हुन्छ यहाँ । जो कहिले नि रित्तिन्न बरु भरिरहन्छ निरन्तर । जो मानसिक स्थिति ठीक भएका चल्ने फिर्ने बिरामी छन् तिनका लागि कुनै समस्या छैन । फेरि तिनलाई त अति सतर्क भएर सिहार सुसार गर्नुपर्छ, खुशी तुल्याउनुपर्छ बाबै ! नत्र त… कुरो बुझिहालिस होली… ! तर जो बुढाबुढी, मानसिक सन्तुलन गुमेका, डिप्रेशनले ग्रस्त, डिमेन्सीया, स्ट्रोक आदि जस्तो अवस्थाका रोगीहरूको यहाँ पनि कन्तविजोग छ साथी । उनीहरू सुतेको बेड र बसेको कोठा हेर्दा स्वर्ग लाग्छ । त्यो ओढेको कम्बल हटाएर हेर्दा दिसा पिसाबले लतपतिएको, ढाड कम्मर खुइलेर घाउ भएको, अँध्यारो पक्ष कसैले देख्न सक्दैन । मगमग बसाएको परफ्यूम र फूलको सुगन्धले सत्यतालाई खर्लप्पै निलेको हुन्छ । आहा ! कति आनन्दको साथमा राखेको रै’छ भन्ने लाग्छ । हप्ता, महिना पछि आउने तिनका आफन्तहरूलाई आफ्नो हाथले सिहार्ने, मायाले सुम्सुमाउने बानी हुँदैन आफ्नै आमा बाबुको निम्ति पनि यो ठामका मानिसहरूलाई ! जहिले पनि आफैमा मस्त र ब्यस्त रहनेहरू बिना प्रेम र जिम्मेवारीको खोक्रो औपचारिकता पूरा गर्न केही बेर झुल्कने सन्तानहरूको भेटले ति बिरामी मनहरूलाई कुनै खुशी दिएको देखिनँ मैले त बुढेसकालमा केयर होम र अस्पतालको सैयामा मृत्यु कुर्दै गरेका हतास जिन्दगीहरू देख्दा यहाँको दुनियाँ अति बिरक्त लाग्छ । (अनुहार मलिन पार्दै भावुक आवाजमा)

जयाः लौ लौ, हैन म त सारै अचम्ममा परेँ त हौ ! (ठूलो ठूलो आँखा पार्दै अचम्भित हुँदै, चाख दिएर कान थाप्दै)

रमोलाः कस्सम होला, मत आफ्नै देश स्वर्ग सम्झन्छु । मानवीय सम्वेदना र भावनात्मक नाता यो देशमा पाइँदैन । बृद्धबृद्धा र रोगी भएपछि आफन्त जति सक्दो टाढिन थाल्छन् । आफ्नोको हातबाट स्याहार पाउने भाग्यमानी ज्यादै कम मात्र छन् यहाँ । धनी पैसावालाहरू र संयुक्त परिवारमा बस्नेहरूको जीवन अलग छ त्यो बेग्लै कुरा हो तर सर्व साधारण आम मानिसहरूको व्यथा कथा मन कुँडाउने लाग्छ । यहाँको कानुन हरेक ठाउँमा छ, कानुन नै कानुनले बाँधिएर बनेको छ देश । जनताहरू सबै सचेत छन् । आफ्नो लागि मात्र ध्याने दिने, उमेर वैँश हुन्जेल कमाउँदै उडाउँदै र मनोरञ्जन गर्दैमा बित्छ धेरैको जीवन । बृद्ध भएपछि, रोगी भएपछि सरकारको जिम्मेदारी देखियो । हुन त उपचार खर्चमा भने कुनै कमी हुँदैन तर मान्छेलाई चाहिने त प्रेम नै रहेछ मेरो बुझाइमा ।

जयाः त्यसो त राम्रो पनि रै’छ नि । हामीकहाँ त कि त आफैले कमाएर पूँजी जम्मा गर्नु प-यो, कि त छोरा छोरीले व्यहोर्नु पर्छ । सरकार त जनताबाट चुस्ने मात्र हो । उपचार गर्ने पैसा नभएर मर्नुपर्छ सर्वसाधारणलाई यहाँ त ।

रमोलाः भनि हालेँ नि मैले हेर्दा र भोग्दा धेरै फरक छ । हेर्दा सुविधा छ र सुन्दर पनि तर भोगाइ कुरूप छ । जब म ड्यूटीमा पुग्छु २५/३० जना बिरामीको निम्ति २÷३ जना केयररले खटिनु पर्छ । दुई जना नर्सले कतिलाई भ्याउन् । डा., नर्स सबैको पेपर वर्क नै ज्यादा हुन्छ । हामी केयररले पनि बिरामीसँग भएको हर कुराको रिपोर्ट दिनु पर्छ । रिपोर्ट र रेकर्ड नै ज्यादा हुन्छ यहाँको काममा । तेत्रो २५÷३० जना बिरामीहरू हुन्छन् एउटा वार्डमा । आफुले सक्दो प्रयास त गरिन्छ स्पेशल केयर दिनको निम्ति । डिमेन्सीया र स्ट्रोक भएकाहरूलाई केयर गर्न ज्यादै गाह्रो छ । उनीहरूलाई उचाल्दा, फर्काउँदा, बेडबाट झार्दा, फेरि बेडमा सुताउन मद्दत गर्दा कति पटक मेरो आफ्नै ढाड दुखेर साह्रो भएको छु । पिठ्यूँ दुख्छ, हात गल्छ । काम सम्झ्यो कि जान मन लाग्दैन । नजाउ जीवन गुजारा गर्न गाह्रो छ । घर मोरगेजमा किनियो । यो पनि घाँडो नै छ । पैसा तिरी रहनु पर्छ महिनै पिच्छे । यिनै कारणहरूले गर्दा म त बिरामे परेँ । ती डिमेन्सीयालाई स्याहार्दा स्याहार्दा म नै डिमेन्सीया भइसके जस्तो लाग्यो ।

जयाः अनि काम फेरेर गर्दा त राम्रै होला नि ।

रमोलाः काममा प्रकृति फरक हुन्छन् खटाइ भने उस्तै हो । श्रमिक काम ननस्किल जब गर्नेकै सङ्ख्या ज्यादा छ हामी नेपालीहरूको विदेशतिर ।
जयाः त्यसो भए खुरुक्क देश फर्कि न, किन रुँदै चिच्याउँदै बस्नु ? कर त छैन होला नि कसैले लगाएको ?

रमोलाः भन्नलाई सजिलो छ, कर छैन मलाई कसैले गरेको । देशमा सधैँ राजनैतिक अस्थिरता, असुरक्षा र अव्यवस्थित माहोलले उछिट्टिएर पलायन भएका हौँ हामी प्रायजसो, रहरले हैन । मैले जीवनमा धेरै सङ्घर्ष गरेँ । दुई वर्षको दुधे बच्चा र श्रीमान छाडेर सोह्र वर्ष अगाडि बिदेशिन पुगेँ । बिस्तारै श्रीमान र छोरा झिकाई एकै ठाउँ बस्न सकेँ । अब थाह भयो, जति कमाएँ, त्यो सबै यतै लगाएँ बाँकी छैन साथमा । बढी कामको खटानले ढाड कम्मर दुख्ने, डिप्रेशनको शिकार पनि भइयो । अब छोरा प्रभुले माष्टर्स गरोस् भन्ने चाहना छ । के हुन्छ समयले भोलि थाह त छैन तर म बृद्ध भत्ताको लोभमा यहाँ कुहिएर अस्पतालमा जीवन बिताउँदिनँ । मिठो वचन बोल्छन्, गालामा चुम्दै, अङ्गालो हाल्दै ‘फलाना डार्लिङ आई मिस यू, लभ यू’ ।।।।।भन्छन् । मुखले मीठो बोलेर ठिक्क पार्ने ठाउँ यो । आफ्नै छोराछोरी पनि भेट्न आउँदा फूल ल्याए भने ढोकैमा राखी फर्कन्छन् । मुखले नभने नि, मनमा बृद्धा रोगी बाउ आमाको मृत्यु चाहेको हुन्छन् जस्तो छ । उनीहरूलाई बोझ लाग्छ हप्ताको एक पटक भेट्न आउनलाई नि । बिरामीहरू पनि छोराछोरी र आफन्त आउँदा खुशी हुने देखिएन । उनीहरूको मनमा पनि सत्य के हो पक्कै थाह भएर होला । कोही नआउँदा नि गुनासो गरेको भने पाइँदैन । हाम्रो देशमा जस्तै मलाई छोराले हेरेन, बुहारीले टेरिन, फलाना ढिस्कानाले मलाई गनेन… आदि गुनासो यता सुन्न पाइँदैन । जति आशा लगायो उति दुःख कष्ट आफैलाई हाम्रो देशमा भने । आफ्नो लागि बढी महत्व दिने, पारिवारिक बन्धनमा बाँधिन नरुचाउने भएर यो देशकाहरू चाहिँ एक्लिएर दुःखी छन्, डिप्रेशनको शिकार छन् । संसार प्रेमले नै चलेको छ, प्रेमको जहाँ कमी छ, त्यहाँ जीवन दुःखदायी छ, भयङ्कर छ मैले बिस्तारै बुझ्न थालेँ साथी ! मेरो र श्रीमानको पनि वृद्ध अवस्थाका बाबु हुनुहुन्छ, उहाँहरूलाई पैसा पठाएर मात्र सेवा हुँदैन भन्ने मैले बुझ्न थालेँ । अब आफ्नै हातले… (आँखामा झरेको आँसु पुछ्दै)

जयाः ल हेर लाटी ! किन रोएकी ? चिया हो कि कफी हो सेलाए जस्तो छ । मेरो त अदुवा मरिचवाला चिया थियो कुरा सुन्दै पिई सकेँ । अब राम्रोसँग चेकअप गर, मिल्छ भने लामो बिदामा रेष्ट गर । दिनौँ केही समय बोलेर मन हल्का गरौँला । म विदेश कहिले नगए पनि विदेशिनेहरूको पीडालाई महसुस गर्न सक्छु । यतिखेर तेरो कुराले हामी नेपालहरू संस्कारले, मानवीयताले निकै सम्पन्न रहेछौँ भन्ने बुझेँ । बाहिरबाट हेर्दा सुविधा सम्पन्न र फूलको सुगन्धयुक्त कोठामा सुतेकाहरूको आत्मा कति दुःखी रहेछ, जीवन कति अँध्यारो रहेछ… मेरो पनि मन ननिको चालले चस्कियो । बास्तवमा संसारका सबै मानिसहरूको आवश्यकता प्रेम रहेछ । प्रेमबिनाको जीवन र सुख सम्पन्न वैभवहरू असली खुशी नभई एक्लो औँसीको अँध्यारो झैँ खोक्रो साँझ पो रहेछ । तिम्रो पाखुरी छ, काम छ अनि तिमी छौ । पाखुरी छैन, काम छैन तिमी पनि छैनौँ… मैले बुझे साथी । संसार निर्दयी छ, खोक्रो साँझ जस्तो छ तर हामीभित्रको हौसला, साहस र आफ्नोहरूको प्रेमले त्यो अँध्यारो खोक्रो साँझलाई चिरेर उज्यालो छर्न सकिन्छ मज्जाले । सुख सम्पन्न र पैसाले खुशी पटक्कै मिल्दैन । खुशी र आनन्द प्रेमबाट नै मिल्छ । परिवार बिचको प्रेममा, आफन्त साथी भाइबिचको प्रेममा । सबैभन्दा परिवारबिचको प्रेम नै सर्वोपरी हुन्छ । हाम्रो सामाजिक संस्कारको यो ठूलो र महत्वपूर्ण विशेषता हो । हामीले यसप्रति गर्व गर्नुपर्छ । ल अब भोलि पर्सी फेरि कुरा गरौँला । साँझ परेछ यता त छुटौँ है ?

रमोलाः युके त जाडो भयङ्कर छ र छिट्टै रात पर्छ ढीला उज्यालो हुन्छ । मौसम जस्तै मन धमिलिएको हुन्छ तर अहिले तँसँगको कुराले म ठीक छु, मेरो मन छ्याङ्ग खुलेको आकाश जस्तो लाग्यो बिस्तारै बिस्तारै ! मनका धेरै मैलाहरू मज्जाले आज धोइए, प्रवाशको बेदनालाई केही हदसम्म हामी दुईको कुराकानीले मलम लेप लगायो… बाई ! फेरि पछि कुरा गरौँला । (दुवै जना सँगसँगै साइन आउट गर्छन् ।)

(फार्नबोरो, युके)

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.