लघुकथा : मीठो चिया

~प्रेम के. ‘निडर’~

अफिसमा हाजिर भएदेखि हाकिम आफ्नो काममा व्यस्त भए। कोठाबाहिर कारिन्दाहरू पनि व्यस्त नै थिए। छलफल गर्नुपर्ने भएर कारिन्दा कृष्णलाई हाकिमले भित्र बोलाए। कृृष्ण कोठाभित्र पस्यो। धेरैबेरको छलफलपछि दुवैजना अनौपचारिक गफमा लागे। दुईजनाको हँसीठट्टा भइरह्यो। ‘चिया खाआंै है, कृष्णजी’ भन्दै हाकिमले घण्टीको स्वीच दबाए। पिउन अञ्जु ढोका खोलेर हाँस्दै आइपुगिन्। हाकिमले दुईकप चिया अर्डर गरे। अञ्जु ढोका बन्द गर्दै गइन्। पिउन अञ्जु दुुई बच्चाकी आमा हुन्। अझ पनि उनको सुुन्दरतामा कुनै कमी देखिएको छैन। पुष्ट शरीर, मिलेको जीउडाल, ठिक्कको उचाइ अनि उनको गफ गर्ने कला र चतुुर्‍याइँ साथै प्रत्येक कुरामा हाँस्न सक्ने खुबीले सबैलाई चकित पार्ने गर्दथ्यो।

शाखामा हाकिम नयाँ थिए। सबैसँग राम्ररी परिचय हुन पाएको थिएन। उनी परिचयकै क्रममा थिए। अञ्जु ढोका खोलेर हाँस्दै चिया लिएर आइपुगिन्। चियाको कप हाकिमको टेबुलमा राख्दै हाकिमलाई पुलुक्क हेरिन्। अर्को कप कृष्णको अगाडिको टि–टेबुलमा राख्दै हिंड्न के खोजेकी थिइन् कृष्णले अन्जुको तारिफ गर्दै भन्यो ‘अञ्जु मान्छे पनि रमाइली, अनि सधैं खाइरहुँजस्तो लाग्ने गरी चिया पनि मीठो बनाउनु हुन्छ। अञ्जु हाँस्दै ढोकातिर अगाडि बढिन्। ढोका खोल्न के खोजेकी थिइन् हाकिमको ‘अञ्जु’ भन्ने शब्दले अञ्जु टक्क अडिन् र फरक्क फर्किदै सोधिन् ‘हजुर, सर..’। हाकिमले चियाको चुस्की लिएर कप टेबुलमा राख्दै भने चिया त सार्‍है मीठो बनाउनु हुँदोरहेछ। एउटा कुरा सोधूँ है अप्ठेरो र अन्यथा नसम्झनू।’ कृष्ण सरले जस्तै हाकिमले पनि तारिफ गरेको सुनेर उनी लजाउँदै हाँसिन् र भनिन् ‘सोध्नुस् न सर, किन अप्ठेरो मान्नु।’ हाकिम अञ्जुको थर थाहा पाउन चाहिरहेका थिए। सोध्न अप्ठेरो भएर कृष्णकै अगाडि उनले सोध्ने आँट गरे। ‘तपाईंको थरचाहिँ के हो नि’ हाकिमले सोधे। ‘विवेक सर’ अञ्जुले भनिन्। ‘हाकिम अलमल्ल पर्दै भने ‘यो विवेक भन्ने थर आजसम्म मैले कतै सुनेको छैन, कुुन थर हो यो? अञ्जुलाई हाकिमको सोधाइमा अनौठो लाग्यो। किन थर सोध्नु परेको हो बुझ्न सकिनन्। सोचिन् म बाहुनजस्तो नदेखिएर मेरो गोलो अनुहार अनि थेप्चो नाकले कतै कामीजस्तो देखेर त सोधेको होइन…सोच्दै हाकिमको पनि एकचोटि मन चोर्ने विचारले विस्तारै अन्जान अभिनय गर्दै अञ्जुले भनिन् विवेक भनेको बि.क. हो सर, किन र सर?”

अञ्जुको मुखबाट निस्केको ‘बि.क.’शब्द भुर्इंमा खस्न नपाउँदै हाकिमले आफूले खाइरहेको चियाको कप टेबुलमा राख्दै हात निधारमा पुर्‍याए। ग्लानिको महसुस गर्दै उनले भने ‘ओहो.., आधा कप खाइसकेको छु….’। हाकिमको निधारबाट चिटचिट पसिना निस्कँदै थियो। उनको अनुुहार रातोपिरो भई हेर्नलायकको भइसकेको थियो। अञ्जु र कृष्ण दुईजनाको आपसमा हेराहेर भयो। दुवैजना बोल्न सकेका थिएनन्। हाकिमलाई शङ्का लागेर फेरी सोधे ‘साच्चै बि.क. नै हो अञ्जु?’ मुखसम्म आएको हाँसोलाई दबाएर अञ्जुले फेरि अन्जान अभिनयमै भनिन् ‘हो सर, बि.क.नै हो’। अञ्जु हाँसो थाम्न नसकेर बाहिर निस्किन्। कृष्ण हाकिमलाई हेर्दै अचम्म परिरहेका थिए। रुमालले निधारको पसिना पुछ्दैं हाकिमले अर्धबेहोसको अवस्थामा झैं कृष्णलाई भने ‘कृष्ण, आधा कप त खाइसकेँ, अब के गरौं..। कृष्ण अचम्मित थिए, एकाइसौं शताब्दीमा पनि हाकिमको रुढिवादी भावना देखेर। पढेलेखेको अनि यो गणतान्त्रिक अवस्थासम्म आइपुग्दा पनि हाकिमलाई छुतअछूतको भावनाले आत्माग्लानीको महसुस भइरहको अवस्था देख्दा उसलाई दया लाग्यो। तैपनि हाकिमको मन हेरेर कृष्णले भन्यो ‘चिया मीठो छ हाकिम सा’ब, छोड्न हुन्न, खानुपर्छ, खाइदिऊा। केही फरक पर्दैन।”

(स्रोत : मजदुर दैनिक)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.